डा शरदको उपचार अनुभव : भारतमा ४० लाख सकिँदा रोग पहिचान नभएकी महिला नेपालमा २० हजार खर्चमै 'तगडा'
अहिले झापाको बिर्तामोडस्थित ‘पूर्णटुंग विर्तासिटी अस्पताल’मा कार्यरत डा. शरद भट्टराई ‘इन्टरनल मेडिसिन’ विशेषज्ञ हुन्। विराटनगरका उनले ११ वर्ष यता विशेषगरी पूर्वी भेगवासीको स्वास्थ्य समस्या नजिकबाट नियालेका छन्।
अध्ययनको क्रममा पाकिस्तानको त्रासद अवस्था भोग्नेदेखि उपचारका क्रममा विविध स्वास्थ्य समस्या भएर अस्पताल आएकाहरुसँग उनको अनगिन्ती तीता अनि मिठा अनुभव छन्। उनै डा. शरदले चिकित्सकीय पेसाको सिलसिलामा देखे भोगेका अनुभव उकेरासँग साटेका छन्।
OOO
घटना करिब १२ वर्ष अघिको हो। डा. शरद चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा इन्टरनल मेडिसिन विषयमा एमडी अध्ययनको अन्तिम वर्षमा थिए। उनी न्याम्स अन्तर्गत रहेको वीर अस्पतालको इन्टरनल मेडिसिन विभागमा एमडी रेजिडेन्ट चिकित्सकका रूपमा काम गरिरहेका थिए।
एक दिन रातको करिब ११ बजेतिर स्वास्थ्य अवस्था जटिल बनेकी महिला वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना भएको भन्दै ड्युटीमा रहेका डा. शरदलाई खबर पुग्यो।
डा. शरद आकस्मिक कक्षमा पुगे, बिरामीको स्वास्थ्य अवस्था हेरे। करिब ४० वर्षकी महिलालाई श्वास नलिमा मुखबाट पाइप राखेर ‘एम्बु ब्याग’को सहायताले श्वास प्रश्वास गराइएको थियो। यस्तो आकस्मिक किसिमको उपचार विधिलाई ‘इन्कुबेशन’ भनिन्छ।
सिन्धुपाल्चोक घर भएकी उनलाई काठमाडौँको एक निजी अस्पतालमा उपचारका लागि लगिएको रहेछ। तर, उपचारका लागि ल्याएको पैसा एकै दिनमा सकियो। पैसा सकिएपछि उनलाई वीर अस्पतालमा रिफर गरियो।
महिला अचेत अवस्थामा बेडमा सुतिरहेकी थिइन्। करिब ६ र ८ वर्षका देखिने कलिला छोरीहरू सिकिस्त आमाको हातखुट्टा मुसारिरहेका थिए। बेडसँगै करिब ४५ वर्षका देखिने श्रीमानले पुरानो अनि मैलो तन्नाले कम्मरमा बाँधेर अगाडि र पछाडि दुई जना बच्चा बोकिरहेका थिए। खुट्टाको पुरानो चप्पलले उनको आर्थिक अवस्था देखाइरहेको थियो।
डा शरदले ती महिलाको श्रीमानलाई ‘के समस्या भएर ल्याउनु भएको?’ भनेर सोधे। श्रीमानले एकै सासमा भने ‘सुनमाया धेरै दिनदेखि बिरामी अस्पताल ल्याएको, ज्वरो आयो, खोकी लाग्यो, सास फेर्न गाह्रो हुन्छ, खुट्टा पनि सुन्नियो।’
डा शरदले पुन सोधे ‘तपाईँसँग कति पैसा छ?’ ती महिलाका श्रीमानले भने ‘२० रुपैयाँ मात्रै छ डाक्डरसाप।’
चार कलिला छोराछोरी च्यापेर अस्पताल पुगेका पुरुषले ‘२० रुपैयाँ मात्रै छ’ भनेको सुन्दा डा. शरद एकैछिन अवाक् भए।
‘महिलाको उपचारको व्यवस्थापन कसरी गर्ने होला? अनि यी कलिला बालबालिका कति भोकाएका होलान्’ उनको दिमागमा प्रश्न घुम्न थाल्यो।
डा. शरदलगायत चिकित्सकको टिमले सल्लाह गरेर महिलालाई अस्पतालको पुरानो आइसियुमा भर्ना गरे। आइसियुमा राखेर उपचार गर्न पनि सुरुमा नै अस्पतालमा पाँच सय रुपैयाँ धरौटी राख्नुपर्ने थियो। त्यो पैसा चिकित्सकको टिम मिलेर जम्मा गरे।
महिलाको उपचार त सुरु भयो, उता ती महिलाका श्रीमानदेखि कलिला छोराछोरी पनि भोकै थिए। डा. शरदसहितको टिम मिलेर उनीहरूका लागि खानाको व्यवस्था पनि मिलाए।
महिलाको स्वास्थ्य परीक्षण अनि आवश्यक औषधी र उपचार निःशुल्क गर्न सबै टिम सक्रिय भयो। स्वास्थ्य परीक्षण रिपोर्टले शरीरमा रगतको मात्रा कम भएको र रक्तचाप सामान्य अवस्थामा नभएको देखायो।
रिपोर्टमा बाथको समस्याको कारण मुटुको भल्भ खराब भएको देखियो । खराब भएको भल्भमा सङ्क्रमण समेत भइसकेको थियो। भल्भमा भएको सङ्क्रमण रगतको माध्यमबाट शरीरभरि फैलिएर फोक्सो, मिर्गौला, कलेजो जस्ता शरीरका अङ्गलाई बिगार्न थालेको थियो। त्यसैको असरले महिलाको शरीरका विभिन्न अङ्गले काम गर्न छोड्दै गएको देखियो। यसरी शरीरका विभिन्न अङ्गले काम गर्दै जान छोड्नुलाई चिकित्सकीय भाषामा ‘मल्टी अर्गान फेलियर’ भनिन्छ।
महिलाको उपचार प्रक्रिया जारी नै थियो। महिलालाई बचाउन चिकित्सक, नर्सलगायत टिमले पैसा जुटाउँदै गए।अस्पतालका विभिन्न वार्डलगायतमा रहलपहल रहेका सामग्री मागेर जोरजाम गर्दै उपचार प्रक्रिया अगाडि बढ्यो। महिलालाई रगत दिइयो। आवश्यक औषधी र उपचार नि भइरहेको थियो।
केही दिन आइसियु तथा भेन्टिलेटरमा राखेर उपचार गरेपछि स्वास्थ्यमा सुधार हुँदै गयो। रक्तचाप सन्तुलित हुँदै गयो। मुटु, कलेजो, फोक्सो, मिर्गौलाजस्ता अङ्गमा भएको समस्यामा सुधार हुँदै गयो। उपचार थालेको केही दिनमा महिलाको होस् खुल्यो।
वीरमा आइपुग्दा स्वास्थ्य अवस्था नाजुक भइसकेकाले उनलाई तङ्ग्रिन केही समय लाग्यो। बिस्तारै उनी तङ्ग्रिँदै गइन् र बोल्न सक्ने भइन्। आफैँ उठ्ने, बस्ने अनि खान सक्ने भइन्।आमा बोल्न थालेपछि कलिला छोराछोरी अस्पतालमा आमासँग रमाउन थाले। महिलाका श्रीमानको अनुहार उज्यालो हुँदै गयो। अस्पतालमा रहुन्जेल उनीहरू सहयोगबाटै चलिरहेका थिए।
ती महिलाको मुटुको भल्भ नै फेर्नुपर्ने अवस्था थियो। तर, आर्थिक लगायतका कारण तत्कालै भल्भ फेरिहाल्ने अवस्था थिएन। महिलाको स्वास्थ्यमा सुधार आएकाले मुटुको भल्भमा सङ्क्रमण हुन नसक्ने लगायतको औषधी दिएर डिस्चार्ज गर्ने निर्णय गर्यो टिमले।
अन्य खर्च छाडेर उपचारकाक्रममा अस्पतालमा तिर्नुपर्ने रकम एक लाख भएको थियो। पैसा तिर्ने क्षमता थिएन ती महिलाका श्रीमानको। डा. शरदलगायतको टिमले वीर अस्पतालका तत्कालीन निर्देशक डा. बुलन्द थापालाई महिलाको उपचारमा लागेको खर्च मिनाहा गरिदिन अनुरोध गर्यो। डा. थापाले उपचारमा संलग्न डा शरदसहितको टिमलाई धन्यवाद दिए अनि वीर अस्पतालले सबै उपचार खर्च मिनाहा गर्दा अप्ठेरो पर्ने भन्दै उनले स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर सबै रकम मिनाहा गरिदिए।
करिब दुई महिनाको उपचारपछि ती महिला तङ्ग्रिएर अस्पतालबाट बिदा भइन्। श्रीमान्–श्रीमती उपचार गरिदिने चिकित्सक, नर्स, स्वास्थ्यकर्मीलगायतसँग कृतज्ञ हुँदै बिदा भए। डा शरद नियमित काममा फर्किए।
एक दिन डा. शरद वीर अस्पतालको ओपिडीमा काम गरिरहेका थिए। सुरक्षा गार्ड आएर ‘डाक्टरसाप तपाईँलाई भेट्न एक जना मान्छे आउनु भएको छ’ भन्दै सुनाए। उनले सामान्य रूपमै ‘हुन्छ, पठाउनु न’ भने। सुरक्षा गार्डले एक जना पुरुषलाई डा. शरद भएको ठाउँमा पठाइदिए।
ती पुरुष एक बोराको भारी बोकेर डा. शरद भएको कोठामा पुगे। ती पुरुषले डा. शरदको अगाडि बोरा बिसाउँदै भने ‘डाक्टर साप यो आलु कोसेली ल्याइदिएको।’
आलु कोसेली ल्याइदिने पुरुष उनै महिलाको श्रीमान् थिए। उनी दुई महिनासम्म अस्पतालमा राखी श्रीमतीको निःशुल्क उपचार गरेर ज्यान बचाइदिने चिकित्सक र स्वास्थ्यकर्मीका लागि सिन्धुपाल्चोकबाट आलु कोसेली बोकेर आएका थिए। त्यति टाढाबाट प्रेमपूर्वक ल्याएको कोसेली डा. शरदले स्वीकार गरे।
श्रीमतीको स्वास्थ्य अवस्थाबारे सोध्दा उनले खुसी हुँदै घर धन्दा गर्न सक्ने भएको सुनाए। केही बेरको कुराकानीपछि उनी सिन्धुपाल्चोक जान अस्पतालबाट बाहिरिए। डा. शरदले एक-डेढ किलो आलु झोलामा राखे अनि बाँकी आलु अस्पतालका कर्मचारीहरूलाई छाडे।
एमडीको अध्ययन सकिएपछि उनले वीर अस्पताल छोडे। त्यसपछि ती महिला फलोअपमा लागि वीर अस्पताल पुगिन् या पुगिनन् उनलाई थाहा छैन। अहिले पनि त्यस्तै समस्या परेर उपचारका लागि आउनेहरू भेटिँदा उनी अचेत महिलाको वरिपरी उभिएका परिवारका सदस्य अनि त्यो कोसेली सम्झिहाल्छन्।
४० लाख खर्च हुँदा ठिक नभएको समस्या सामान्य औषधीमै ठिक
यो प्रसङ्ग पनि करिब दश वर्ष अघिको हो। डा शरद झापाको कन्काइ अस्पतालमा थिए। इलामकी करिब २८ वर्षकी एक महिला ज्वरो आउने लगायतको समस्यामा सिकिस्त भएपछि उपचारका लागि भारत पुगिन्।
भारतको विभिन्न अस्पतालमा स्वास्थ्य परीक्षण र उपचार गरिन्। भारतमा अस्पताल भर्ना भएर उपचार गर्दा पनि समस्या समाधान भएन। करिब ४० लाख सकिदा पनि रोग के लागेको हो सम्म पत्ता लागेन। स्वास्थ्य अवस्था खस्कँदै थियो। अन्तमा भारतको एक अस्पतालले अब घरै लैजानु भनेर पठाइदियो।
भारतको अस्पतालले घर फर्काएपछि परिवारमा उनी बाँच्छिन् भन्ने आशा निकै कम हुने नै भयो। तर, सास रहेसम्म आस त हुन्छ नै। उनको परिवारले केही चमत्कार भई पो हाल्छ कि भनेर झापाको कन्काई अस्पतालको आकस्मिक कक्षमा पुर्याइयो।
डा. शरदले महिलाको स्वास्थ्य अवस्था हेरे। २८ वर्षकी महिलाको स्वास्थ्य अवस्था निक्कै नाजुक बनिसकेको थियो। बिरामी भएकै करिब चार महिनाको अवधिमा शरीरको तौल घटेर करिब २५ किलोमा झरेको थियो। थला परिसकेकी थिइन्।
डा. शरदले ती महिलाको स्वास्थ्यमा के समस्या रहेछ भनेर पहिला चेकजाँच लगायतको कागजपत्र हेरे। परिवारका सदस्यहरूसँग के के हुन्छ भनेर समस्या सोधे। उताको कागजपत्र अनि लक्षणको आधारमा उनलाई लाग्यो ‘यो बाथसँग सम्बन्धित ‘एसेली’ नामक स्वास्थ्य समस्या हुनसक्छ।’
त्यही समस्याका कारण महिलाको शरीरका विभिन्न अङ्ग कमजोर भएको हुनसक्ने उनले अनुमान लगाए। डा. महिलाको लक्षण अनुसारको स्वास्थ्य परीक्षण गराए। उनले जुन रोग हुनसक्छ भन्ने अनुमान गरेका थिए स्वास्थ्य परीक्षण प्रतिवेदनले त्यही देखायो। महिलालाई बाथसँग सम्बन्धित ‘एसेली’ नामक स्वास्थ्य समस्या देखियो।
स्वास्थ्य समस्याको कारण पहिचान भएपछि उनले औषधी र उपचार सुरु गरे। औषधि खासै महँगो पनि थिएन। औषधी उपचार सुरु भएको केही दिनमा नै ती महिलाको स्वास्थ्यमा सुधार हुँदै गयो। उपचार थालेको केही दिनमा ती २८ वर्षे महिला तङ्ग्रिन थालिन्।
‘एसेली’ नामक रोगकै कारण महिलाको मिर्गौलामा पनि केही समस्याको सङ्केत देखियो। मिर्गौलाको अवस्थाको जाँचका लागि वीर अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा. अनिल बरालसँग समन्वय गरेर उनले महिलालाई काठमाडौँको वीर अस्पताल पठाए।
मिर्गौला जाँचमा केही सामान्य समस्या देखियो। औषधी उपचारपछि मिर्गौलाको समस्या पनि ठिक भयो।
नेपालमा उपचार गरेको केही महिनापछि ती महिला करिब पूर्ण रूपमा नै ठिक भइन्। उनी विवाहित थिइन् । तर स्वास्थ्य समस्याका कारण बच्चा जन्मिएका थिएनन्।
उपचारपछि ठिक भएर ती महिलाले जुम्ल्याहा छोरी जन्माइन्। उनी अझै पनि बेलाबेलामा फलोअपका लागि डा. शरदकहाँ पुग्छिन्। अहिले ती महिलाको स्वास्थ्य ठिक रहेको डा शरद्ले सुनाए।
भारतमा उपचारकोक्रममा ४० लाख सक्काउँदा पनि समाधान नभएको समस्या नेपालमा बढीमा २० हजार खर्चमा समाधान भएको सुनाए उनले। अहिले उनले औषधी खानु पनि पर्दैन।
विराटनगरमा जन्म, भारतमा एमबिबिएस
डा. शरद भट्टराई २०३४ मा मोरङको विराटनगरमा जन्मिए। घर विराटनगर भए पनि खेतीपाती मोरङकै उर्लाबारीमा भएकाले उनका बुवा आमा उर्लाबारीमै बस्थे। त्यसैले बीचबीचमा उनले उर्लाबारीको पशुपति बोर्डिङ स्कुलमा पनि पढे। तर, धेरैजसो समय उनले विराटनगरमा नै पढे।
विराटनगरकै अरनिको बोर्डिङ स्कुलबाट उनले २०५० मा एसएलसी उत्तीर्ण गरे। उनले भारतको आन्ध्र प्रदेशमा पुगेर विज्ञान सङ्कायमा प्लस टु गरे।
अध्ययनमा तीक्ष्ण उनलाई डाक्टर बन्ने रहर थियो। त्यसैले ‘प्लस टु’पछि एमबिबिएस अध्ययनको तयारीमा लागे। शरद छनोट भएर एमबिबिएस अध्ययनका लागि सन् १९९७ मा पाकिस्तानको कराँची विश्वविद्यालय अन्तर्गत ‘डाउ मेडिकल कलेज’मा भर्ना भए। सन् २००२ मा एमबिबिएस अध्ययन सकेर उनी नेपाल फर्किए।
नेपालमा एमडी अध्ययन
एमबिबिएस अध्ययनपछि नेपाल फर्केर उनले इन्टर्नसिप गरे। काठमाडौँ मेडिकल कलेजमा करिब दुई वर्ष मेडिकल अधिकृतको पदमा करार जागिरे भए।
त्यसपछि थप अध्ययनका लागि अमेरिका जान यूएस एमएलई पनि पढे। तर, उनी अमेरिका गएनन्। पुनः पाकिस्तानकै लाहोरस्थित ‘किङ्ग इडवार्ड मेडिकल युनिभर्सिटी’मा चिकित्सा शास्त्रको स्नातकोत्तर तहको मुटुरोग विषय पढ्न गए।
पाकिस्तानमा भर्ना भएर करिब दुई वर्ष पढे पनि। तर, त्यो बेला पाकिस्तान चरम द्वन्द्वको चपेटामा पर्यो। त्यहाँ मरिने भय बढ्यो । अनि उनी पढाई छोडेर नेपाल फर्किए।
उनलाई जसरी पनि अध्ययन गर्नु त छँदै थियो। उनी काठमाडौँको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा २०६७ मा चिकित्सा शास्त्रको स्नातकोत्तर तहको ‘इन्टरनल मेडिसिन’ विषयमा एमडी अध्ययनका लागि छनोट भएर भर्ना भए। २०६९ मा उनले एमडी अध्ययन सकियो।
अनि लागे झापातिर
एमडी अध्ययनपछि डा. शरद कामकै सिलसिलामा २०७० मा झापा त्यहाँको बिर्तामोडस्थित कन्काई अस्पतालमा करिब डेढ वर्ष काम गरे। उनलाई काठमाडौँ फर्कन मन लागेन, झापामै रमाउन थाले।
कन्काई अस्पतालपछि झापाकै बिर्तामोड स्थित ‘पूर्णटुंग विर्तासिटी अस्पताल’मा काम गर्न थाले। विर्तासिटी अस्पतालमा उनले काम गर्न थालेको करिब नौ वर्ष भयो।
उनको घर भक्तपुरको बालकोटमा समेत छ। तर, उनी झापामा नै बस्छन्। उनी झापामा गएको पनि करिब ११ वर्ष भयो। अब त लगभग रैथाने भइसकेछन् उनी त्यतै।
हाल उनी विर्तासिटी अस्पतालको ‘मेडिसिन’ विभागको प्रमुखको जिम्मेवारीमा छन्। ‘इन्टरनल मेडिसिन’ विशेषज्ञ, ‘क्रिटिकल केयर मेडिसिन’ विशेषज्ञ र ‘कोरोनरी केयर युनिट’मा समेत सक्रिय भूमिकामा रहेर उनी काम गर्छन्।
डा. शरदको टिमले हुनेसम्म बिरामीको त्यहीँ उपचार गर्ने नै भयो। रिफरको आवश्यकता परेमा बिरामी पठाउने अस्पतालसम्म समन्वय गरेर सहजिकरण गर्छन्।
स्वास्थ्य समस्या निम्तने जोखिम समूहका व्यक्तिको निम्तन सक्ने स्वास्थ्य समस्या पहिचान गरेर स्वास्थ्य समस्या निम्तनै नदिने काममा इन्टरनल मेडिसिन विशेषज्ञ डा. शरद सक्रिय हुन्छन्।
जुनसुकै स्वास्थ्य समस्या भएका बिरामी अस्पताल पुगेपनि ती बिरामीको प्राथमिक रूपमा उपचार गर्नु र परामर्श दिनु उनको चिकित्सकीय कर्म हो, डा. शरदको दैनिकी हो। तीन सन्तानका बाबुसमेत रहेका उनी आफ्नो दैनिकीमा रमाइरहेका छन्।
भदौ १५, २०८१ शनिबार १९:४५:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।