डा. प्रकाशको मृत्युबाट फर्किएको छ अनुभव : दाँत निकाल्दै माओवादी महिला कमान्डरसँग ठट्टा गर्दा आएको त्यो सङ्कट

डा. प्रकाशको मृत्युबाट फर्किएको छ अनुभव : दाँत  निकाल्दै माओवादी महिला कमान्डरसँग ठट्टा गर्दा आएको त्यो सङ्कट
तस्बिर : कृष्पा श्रेष्ठ

डा. प्रकाश बुढाथोकी चिकित्सकीय पेसाकै सिलसिलामा नेपालको ७७ वटै जिल्ला पुगिसकेका छन्। विशेष गरी तत्कालीन माओवादी विद्रोहको समयमा पनि उनी स्वास्थ्य शिविर लिएर दुर्गम ठाउँहरूमा पुगे।

त्यो बेला गाउँ पुग्ने चिकित्सकको सङ्ख्या दुर्लभै थियो। तर, उनी पुगे अनि तिता-मिठा अनुभव बटुले। स्वास्थ्य शिविरमा जाँदाका केही घटनाहरू अहिले सम्झँदा पनि उनलाई कसरी बाँचियो होला जस्तो लाग्ने रहेछ।

उनी पेसाकै सिलसिलामामा ६ पल्ट मृत्युको मुखमा पुगेर पनि सकुशल फर्किन सकेका भाग्यमानी चिकित्सक हुन्। मृत्युको मुखबाट बाँचेका केही घटना सुनाउन थाले उनले।

पहिलो घटना : माओवादी युवतीको दाँत फुकालिदिएपछिको केरकार

बिरामीले पिडा भुलुन् भनेर ठट्टा गर्दा आइपरेको सङ्कट रहेछ यो। एक छापामार युवतीको दाँतको उपचार गर्दा पीडा भुलुन् भनेर उनले ठट्टा गरे। तर त्यही ठट्टा झन्डै उनको काल बन्यो।

घटना २० वर्ष अघिको रहेछ। द्धन्द्धकालको समय थियो। डा. प्रकाश स्वास्थ्य शिविर लिएर सङ्खुवासभा धुपुको दुर्गममा पुगेका थिए।

त्यो शिविरमा करिब २१ वर्षकी युवती दाँत किराले खाएर दुख्यो भन्दै उपचारका लागी आइन्। परीक्षणमा युवतिको दाँत निकाल्नुपर्ने देखियो।

युवती दाँत निकाल्न सहमत भइन्। डा. प्रकाशले दाँत निकाल्दा नदुखोस् भनेर युवतिलाई सुइबाट लट्ठ्याउने औषधी दिए अनि दाँत निकाल्न थाले।

दाँत निकाल्नेक्रममा युवतीले दुख्यो भनिन्। उनले ठट्टा गर्दै ‘तपाईँलाई दुई वटा सुई लगाइसकेँ, ओठ बाक्लो भइसकेको छ, जिब्रो पनि लट्ठी सकेको छ। बोली लट्टिएको छ। सुइले त काम गरिरहेको छ। कि तपाईँले ढाँट्नु भएको?’ भनेछन्।

त्यसपछि उनले गिजा, दाँत औजारहरूले थिचेर हेरे। त्यसरी दाँत निकाल्नेक्रममा थिच्दा ती युवतिले ‘दुखेको छैन तर, थिचेको थाहा पाएकी छु’ भनिछन्।

त्यसपछि डा. प्रकाशले फेरी तपाईँले त दुखेको छ भनेर ढाँट्नु मात्रै भएको रहेछ भन्दै दाँत निकालिदिए।

दाँत निकालिसकेको करिब तीन घण्टा पछि पो थाहा भयो ती युवती त माओवादी कमान्डर रहिछन्। डा. प्रकाश लगायतको टिमले स्वास्थ्य शिविर गरेको ठाउँबाट माओवादीको शिविर नजिकै रहेछ।

ती माओवादी कमान्डरको दाँत निकालिसकेपछि स्वास्थ्य शिविरको आयोजना गर्ने एक जना व्यक्तिलाई माओवादी शिविरमै बोलाएर लग्यो।

अनि ती आयोजकलाई माओवादी लडाकुले घेरेर भनेछन्,‘हाम्रो कमान्डरको दाँत निकल्नेक्रममा दुख्यो भन्दा ढाँटिस् भन्ने डाक्टर को हो?’

विभिन्न प्रश्न गरेर केरकार गरेपछि आयोजकलाई माओवादीले छोडिदिए। त्यो सबै थाहा पाएपछि डा. प्रकाशको मन डरायो। त्यसपछि शिविर सकेर टिम हिँड्यो। धन्न त्यो बेला माओवादीले केही गरेनन्।

दोस्रो घटना : हतियारधारीले चढेको गाडी नै जलाइदिए

दोस्रो घटनामा पनि माओवादीबाट धन्न बचेको महसुस हुन्छ डा. प्रकाशलाई। यो पहिलो भन्दा अलि डरलाग्दै रहेछ।

सशस्त्र द्धन्द्धकालमा नै उनी स्वास्थ्य शिविरको सिलसिलामा दैलेख जाँदाको घटना रहेछ यो।

डा. प्रकाश एक संस्थाको आयोजनामा स्वास्थ्य शिविर लिएर दैलेख जाँदै थिए। शिविरमा जान करिब १५ जनाको टिम थियो।

दैलेखको चुप्रा बजारमा पुगेपछि साँझ पर्यो। तीन वटा गाडी लहरै होटेल छेउमा रोकेर डा. प्रकाश लगायत स्वास्थ्य शिविरमा हिँडेको टिम चुप्रा बजारमा बास बस्यो। सदरमुकाम धेरै टाढाको थिएन।

रातको करिब १० बजेको थियो। होटेलमा बास बसेका डा. प्रकाश आगो तापिरहेका थिए। त्यही बेला हतियारसहितका केही माओवादी लडाकु उनी बसेकै ठाउँमा पुगेर अलि कड्के स्वरमा सोधे,‘यी गाडीका ड्राइभरहरू कहाँ छन्?

डा. प्रकाशले ‘किन र?’ भन्दै चालकलाई बोलाइदिए।

‘यी गाडी थोरै उता लगेर साइड लगाउनु त’ भनेर ती माओवादीहरूले चालकलाई निर्देशन दिए। चालकले गाडी होटेल भन्दा केही पर सारिदिए।

त्यो बेलासम्म डा.  प्रकाशलाई माओवादीले कुनै कार्यक्रम गर्न ठाउँ खालि गरेका होलान् भन्ने लागेको थियो। तर, गाडी साइट लगाएपछि माओवादीहरूले होटेलमा मट्टितेल मागे। एकै माओवादीले तीन वटासम्म हतियार बोकेका थिए।

‘यस्सो एकातिर फर्कँदा राइफल देखिन्थ्यो। अर्कोतिर फर्कँदा अर्को हतियार देखिन्थ्यो,’डा. प्रकाशले सुनाए,‘एउटैले तीन वटा हतियार बोकेको देखिन्थ्यो।’

एकै छिनमा माओवादीहरूले तीन वटै गाडीमा मट्टितेल लगेर छर्किहाले अनि सलाई कोरेर आगो लगाए।

त्यति मात्रै कहाँ हो र? केही कफ, सिरप तथा झोल जस्ता औषधी गाडीमा किन छोड्ने भनेर कार्टुनै होटेलमा राखेका रहेछन्। ती सबे औषधी समेत माओवादीले झिक्दै आगोमा हालिदिए।

गाडी जलिरहेकै समयमा डा. प्रकाशलाई एक जना माओवादी कमान्डरले ‘केही भन्नु छ?’ भन्दै प्रश्न गरेछन्।

डा. प्रकाशलाई पनि झनक्क रिस उठेछ। उनले ‘काम बिगारिसकेपछि केही भन्नु छ भनेर किन सोध्नु हुन्छ, काम बिगार्नुभन्दा पहिले एक पटक सोध्नु पर्दैन’ भन्ने जवाफ दिएछन्।

अनि माओवादीहरू मिसन सफल भयो भन्दै त्यहाँबाट हिँडे। हेर्दा हेर्दै गाडी जलेर ध्वस्त भयो। पछि थाहा भयो, गाडी जलाउन आउनु अगाडि सयभन्दा बढी माओवादी लडाकुले होटलै घेरेका रहेछन्।

माओवादीले उनीहरूलाई सुर्खेतको रातामाटादेखि नै फलो गर्दै आएका रहेछन्। माओवादी त्यहाँबाट हिँडेपछि डा. प्रकाशले सोचे,‘त्यत्रो हतियार भएका माओवादीसँग वादविवाद गरियो। ड्याङ एक गोली हानेका भए, हैट।’

डा प्रकाशसहितको टिम रातभर डराउँदै होटेलमा बसे। उनीहरूले भाडामा लगेका तीन वटा गाडीमध्ये तीनै वटा फरक रङ्गका रहेछन्। एउटा गाडीको रङ्ग सेनासँग मिल्दोजुल्दो परेछ।

एउटा सशस्त्र प्रहरी अनि अर्को नेपाल प्रहरीसँग मिल्दोजुल्दो रङ्गको गाडी परेछ। सायद त्यसैले कतै सेना अनि प्रहरीको गाडीमा हातहतियार लगिँदै छ भनेर माओवादी कमान्डरलाई ब्रिफिङ भएको हुनुपर्ने उनी अहिले अनुमान गर्छन्।

भोलिपल्ट मिडियाहरूमा शिविरमा गएका गाडीमा माओवादीले आगो लगाएकाले जलेर नष्ट भए भन्ने समाचार आए। तर, गाडीमा बस्ने मान्छेको अवस्था के छ भन्ने विषयमा मिडियाले समाचार दिएनन्। गाडीमा बस्ने मान्छे पनि जले होलान् भनेर घर परिवारमा रुवाबासी सुरु भयो।

टिम भोलिपल्ट सखारै दैलेख सदरमुकाम पुग्यो। त्यहाँबाट डा. प्रकाशले घरमा फोन गरेर आफू सकुशल रहेको खबर गरे। त्यसपछि शिविरमा गएको संस्थाको समन्वयमा सदरमुकामबाट हेलिकप्टरमा उनीहरू शिविर नगई नेपालगन्ज फर्किए।

तेस्रो घटना : माओवादीले बन्दुक देखाएर आफूसँगै लगे

त्यसै गरी तेह्रथुममा स्वास्थ्य शिविरकै सिलसिलामा गएको समयको घटना पनि उनले सम्झिए।

माओवादी द्धन्द्धकालकै समय थियो। स्वास्थ्य शिविरका लागि तेह्रथुममा पुगेका थिए उनी। स्वास्थ्य शिविर चलिरहेको थियो। केही हतियारधारी माओवादीहरू स्वास्थ्य शिविर चलिरहेको ठाउँमा आए।

साँझ परिसकेको थियो। माओवादीहरूले भनेछन्,‘ल हामीलाई जाँच्न हिँड्नुहोस्।’

अब जान्न भन्न सक्ने आँटै भएन। डा. प्रकाश र अर्का एक स्वास्थ्यकर्मीलाई लिएर माओवादी हिँडिहाले। सुरुमा त डरले उनको मुटु कामिरहेको थियो। उनीहरूलाई गुफा पोखरी भन्ने माओवादी शिविरमा पुराइयो।

त्यहाँ त पाँच हजार जति माओवादी रहेछन्। डा. प्रकाश र उनका साथीले रातभरि दर्जनौँ माओवादीहरूको स्वास्थ्य परीक्षण गरे। जसमा समस्या देखियो उपचार पनि गरे।

करिब नौ घण्टा माओवादी शिविरमा बिताएर बिहान करिब तीन बजे उनी फर्किए। माओवादीले नै ल्याएर छाडेका थिए। लैजाँदा र फर्काउँदा त्यस्तो नराम्रो व्यवहार त भएन। तर अब विद्रोही भनेपछि कतै सेना पो आउँछ कि, दोहोरो भिडन्त भएर मरिन्छ कि भन्ने त लागिहाल्छ। त्यसमा पनि उनीहरूले हतियार देखाएर कब्जाकै शैलीमा उनलाई लगेका रहेछन्।

'जता हेरे पनि हतियार मात्रै देखेपछि डर त लाग्ने नै भयो। उपचार सक्काएर नफर्किएसम्म कतिखेर मरिन्छ भनेर डर लाग्यो' उनले भने।

चौथो घटना एम्बुसबाट बाँचेपछि...

चैतको महिना हुनुपर्छ। तेह्रथुमको स्वास्थ्य शिविर र तिनै माओवादीको शिविरमा स्वास्थ्य परीक्षण तथा उपचारपछि अव चाहिँ बाँचियो भनेर डा. प्रकाश लगायतको टिम काठमाडौं फर्किरहेको थियो।

फर्कने दिन नै लिम्बुवान या खम्बुवान् कसले हो पूर्वमा बन्द गरेछन्। स्वास्थ्यकर्मी भएकाले कसैले केही गर्दैनन् होला भनेर बाटो लागेको थियो उनीहरूको टिम।

तर, वसन्तपुरमा आएपछि अर्को दुर्घटनामा परेर झन्डै ज्यान गएन उनीहरूको। डा. प्रकाश चढेको गाडी अगाडि कटिहाल्यो। ठिक पछाडिको उनीहरूकै टिमको स्वास्थ्य सामग्री भएको अर्को गाडी भने एम्बुसमा पर्यो।

भाग्य नै भन्नुपर्छ। गाडीमा क्षति भए पनि कसैलाई ठुलो चोटपटक भने लागेन।

'मसहितको टिम भएको गाडी पनि एम्बुसमा पर्न सक्थ्यो नि। परेको भए मानवीय क्षति हुन सक्थ्यो। धन्न सामाग्री भएको गाडी परेकाले मानवीय क्षति हुन पाएन' सम्झँदै उनले भने।

पाँचौँ घटना भूकम्पको दश दिनपछि उद्धार

२०७२ वैशाख १२ को भूकम्पको समयमा डा. प्रकाश स्वास्थ्य शिविरकै सिलसिलामा सिन्धुपाल्चोक पुगेका थिए। वैशाख १२ गते उनी चीनको सिमाना नजिक पर्ने छगम भन्ने ठाउँमा बिरामीको स्वास्थ्य परीक्षण गरिरहेका थिए।

भूकम्प गयो। हेर्दाहेर्दै सिन्धुपाल्चोक खण्डहर बन्यो। चिकित्सक भए पनि मर्न त डर लाग्छ नै। उनी आत्तिए। धन्न केही भएन। घरमा फोन गरेर ‘सकुशल छौँ है’ भन्ने खबर दिए।

साँझपछि फेरी ठुलो पराकम्प गयो। त्यसपछि मोबाइल पनि नलाग्ने भयो। इन्टरनेट चल्ने कुरै भएन। त्यसपछि १० दिनसम्म घरपरिवारसँग सम्पर्कै भएन।

उता उनी तनावमा। यता परिवार तनावमा। सातौँ दिनमा बल्ल करिब आठ घण्टा जति उकालो चढेपछि एक जना भूपू ब्रिटिस आर्मीसँग स्याटलाइट फोन फेला पर्यो। अनि उनले घरमा फोन गरेर हालखबर सोधे।

घरमा फोन गरेपछि डा. प्रकाशको टिमलाई उद्धार गर्न सिन्धुपाल्चोकमा सेनाको हेलिकप्टर पुग्यो। तर, खण्डहर बनेको सिन्धुपाल्चोकमा उनीहरू बसेको ठाउँसम्म पुग्नै सकेन। दोस्रो पटक फेरी सम्पर्क गरेपछि हेलिकप्टर ठाउँमा पुग्यो।

तर, हेलिकप्टर बस्ने ठाउँ थिएन। हेलिकप्टरबाट डोरी खसालियो। त्यही डोरीमा झुन्डिएर उनी दसौँ दिन काठमाडौं आइपुगे।

‘त्यो बेला दश दिनसम्म मेरा आफन्तको नजरमा म यो संसारमा थिइन,’भूकम्पमा सिन्धुपाल्चोकमा भएको घटना सम्झँदै उनले भने।

 छैटौँ घटना कोरोनाले आइसियुमा पुर्यायो

उनको जोखिम हराइसकेको थिएन। बेहोर्न अझै बाँकी थियो। कोरोना भाइरस सङ्क्रमणको समयमा उनी स्वास्थ्य मन्त्रालयबाट खटिएर अनुगमन लगायत उपचार व्यवस्थापनको सिलसिलामा मेची महाकाली घुम्नु परेको थियो। तर, त्यो बेला उनी आफैँ कोरोना सङ्क्रमित भएर थलिए।

सङ्क्रमण भएर टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका उनको केही दिन आइसियुमै उपचार गर्नु परेको थियो।  त्यो बेला धन्न बाँचियो जस्तो लाग्ने रहेछ उनलाई।

जीवनमा धेरै आरोह अवरोह भोग पनि यी ६ वटा घटनाबाट भने नयाँ जीवन नै पाएझैँ लाग्ने रहेछ उनलाई।

 पैसा नभएर छात्रवृत्तिको भर

प्रकाश ५० वर्ष अघि दाङको घोराही नगरपालिकाको वडा नं. १३ सेवार गाउँमा जन्मिएका हुन्। उनले स्थानीय ‘सेवार वनगाउँ स्कुल’ बाट नै एसएलसीसम्मको अध्ययन गरे। २०४४ मा एसएलसी उत्तीर्ण गरे।

एसएलसीपछि काठमाडौं आएर त्रिचन्द्र क्याम्पसमा आइएस्सी भर्ना भए। प्रथम श्रेणीमा आइएस्सी उत्तीर्ण भए।

डाक्टर नै पढ्नुपर्ने तर खर्च गर्ने आर्थिक क्षमता छैन। विकल्प छात्रवृत्ति मात्रै। बङ्गलादेश र म्याक्सीकोमा आंशिक छात्रवृत्तिमा पढ्ने मौका नपाएका हैनन्। तर, आइएस्सी गर्नासाथ पूर्ण छात्रवृत्तिमा एमबिबिएस अध्ययन गर्न पाएनन्। त्रिचन्द्रमै बीएस्सी अध्ययनका लागि भर्ना भए।

राजनीतिले पढाई नै गोलमाल

छात्रवृत्ति कोटा पाउने प्रयास भने जारी थियो उनको। वीएस्सी पहिलो वर्षको परीक्षा दिने तयारीमा थिए। शिक्षा मन्त्रालयको छात्रवृत्ति कोटामा नेपालगन्जस्थित ‘डिवाई पटिल मेडिकल कलेज’ मा एमबिबिएस अध्ययन गर्ने मौका पाए उनले। भर्ना भए।

यो निजी क्षेत्रको पहिलो मेडिकल कलेज थियो। उनी त्यहाँका पहिलो ब्याच। भारतको महाराष्ट्रको मुख्यमन्त्रीको नामबाट त्यो मेडिकल कलेज खोलिएको थियो।

करिब ६ महिना पढेपछि राजनीति घुस्यो। त्यो मेडिकल कलेजले अनुमति पाउने विषयमा नै समस्या सुरु भयो। परीक्षा समेत अन्यौलता पर्यो। प्रकाश लगायतका विद्यार्थीहरू काठमाडौं फर्किएर शिक्षा मन्त्रालयमा धर्ना दिए।

त्यही बेला पोखरामा ‘मणिपाल कलेज अफ मेडिकल साइन्सेस’ र भरतपुरमा ‘वेस्ट भर्जिनिया’ खुलेको थियो। त्यहाँ शिक्षा मन्त्रालयले परीक्षा लिएको थिएन। डिवाई पटेलमा समस्या भएपछि मन्त्रालयले त्यहाँका विद्यार्थीलाई मणिपालमा पढ्न पठाए।

पोखराको मणिपालमा पनि किचलोमा परेर परीक्षा दिन नपाइने हो की भन्ने पिर लाग्यो उनलाई। उनले शिक्षा मन्त्री अनि शिक्षा सचिवसँग भेटेर 'फेरी ६ महिना ढिला हुने हो कि?' भन्ने जिज्ञासा राखे। जवाफमा शिक्षा सचिवले ‘त्यसको  त के ग्यारेन्टी लिन सकिन्छ र?’ भनेछन्।

अब मन्त्री र सचिवले नै मणिपालको पढाइको ठोस जवाफ दिन नसकेपछि जहाँ सहज पढ्न पाइन्छ त्यही पठाउन भनेछन्। शिक्षा सचिवले डेन्टल पढ्न भारत जाने हो? भनेर सोधे। उनले हुन्छ भने।

वीडिएस पढ्दा सात लाख पुरस्कार

शिक्षा मन्त्रालयले पोखराको मणिपाल कलेजकै एउटा सिटमा भारतको मणिपाल कलेज अफ मेडिकल साइन्सेसमा बीडिएस (ब्याचुलर अफ डेन्टल सर्जरी) अध्ययन गर्न प्रकाशलाई पठाइदियो। त्यहाँ गएर प्रकाश सन् १९९५ मा भर्ना भएर बीडिएस पढ्न थाले।

प्रकाशको पढाइ अब्बल थियो। त्यहाँ प्रकाशको अध्ययनको नतिजा राम्रो आउँथ्यो। भारतमा बीडिएस पढ्दा खेलकुद लगायत विभिन्न कार्यक्रममा अध्ययनरत मेडिकल कलेजको तर्फबाट उनी भाग लिन्थे। नगद पुरस्कार पाउँथे। त्यहाँ पढुन्जेल पुरस्कार बापत मात्रै उनले करिब सात लाख नगद पाएछन्। सन् १९९९ मा भारतबाट बीडिएस अध्ययन सकेर प्रकाश नेपाल फर्के।

नेपाल फर्केपछि डा. प्रकाशलाई सरकारी सेवामा नै काम गर्ने इच्छा थियो। तर, लोकसेवा खुलेको थिएन। उनले निजी अस्पतालमा काम सुरु गरे।

दाँतको डाक्टर भनेर चिनाउनै सङ्घर्ष

निजीमा काम गरेको केही वर्षपछि लोकसेवाको परीक्षा खुल्यो। परीक्षा दिएपछि सोचे अनुरूपै नतिजा आयो। उनी २०६१ मा लोकसेवा मार्फत सरकारी स्थायी चिकित्सक सातौँ तहको मेडिकल अधिकृतका रूपमा जागिरे भए।

सकारी जागिरे भएपछि पहिलो पोस्टिङ तत्कालीन लुम्बिनी अञ्चल अस्पताल, बुटवलमा भयो। लुम्बिनी त पुगे। तर, त्यहाँ डेन्टल डिपार्टमेन्ट र कोठाको त कुरै छाडौँ दाँतको समस्या लिएर अस्पताल पुग्ने बिरामी जाँच्ने कुर्सीको समेत थिएन।

त्यो बेला नाक, कान, घाँटी (इएनटी) का विशेषज्ञ एक जना चिकित्सकले सँगै बसेर एउटै कोठामा बिरामी जाँचौँ भनेका थिए। तर, डा. प्रकाशले एनटी र डेण्टल छुट्टाछुट्टै विषय भएकाले छुट्टै कोठा चाहिन्छ भने।

मेहनतपछि छुट्टै कोठा र एउटा कुर्सीको व्यवस्थापन भयो। उनले दाँतको समस्या भएका बिरामी जाँच्न थाले। औषधि उपचार गर्न थाले। तर दाँत हेर्ने छुट्टै डाक्टर हुन्छ भन्ने बुझाउनै उनलाई निकै समय लागेछ।

चीनमा विशेषज्ञ अध्ययन

डा. प्रकाश छात्रवृत्ति पाए थप अध्ययन गर्न चाहन्थे। सन् २००८ मा शिक्षा मन्त्रालयको छात्रवृत्ति कोटामा छनोट भएर चीनमा स्नातकोत्तर तहको एमडिएस पढ्न जाने मौका पाए।

चीनको ‘सेन्ट्रल साउथ युनिभर्सिटी’ मा ‘म्याक्जिलो फेसियल प्रोस्थोडेस्सिया’ विषयमा ‘एमडिएस’ अध्ययन गरे। अनि विशेषज्ञ दन्त चिकित्सक बने।

सन् २०१२ मा चार वर्षे एमडिएस सकेर उनी नेपाल फर्किएर बुटवलमै नै काम गर्न थाले। त्यहाँ एउटा कुर्सीबाट सेवा थालेका उनले दाँतसम्बन्धी समस्याको उपचारका लागि विशेषज्ञ सेवा तथा सुविधाको बिस्तारै गरे।

दाँतको सामान्य उपचारदेखि कृत्रिम दाँत राख्नेसम्मको काम सम्भव भयो। चीनबाट फर्केर करिब तीन वर्ष बुटवलमा नै काम गरे।

वीर हुँदै विभागमा

सन् २०१५ मा उनी वीर अस्पतालमा सरुवा भए। वीरमा करिब एक वर्ष काम गरेपछि स्वास्थ्य सेवा विभाग अन्तर्गत ‘आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्य शाखा’ खुल्यो।

तत्कालीन निमित्त स्वास्थ्य सचिवले उनलाई त्यो शाखामा काम गर्न अनुरोध गरे। उनी काजमा गएर काम गर्न थाले।

डा. प्रकाशले दिउँसो करिब दुई बजेसम्म वीर अस्पतालमा बिरामी जाँच्थे अनि विभागमा गएर काम गर्थे। तर, सेवा सुविधा भने एक तिरबाट मात्रै लिन्थे।

विभागमा कन्सल्टेन्ट डेन्टल सर्जनको दरबन्दी भएको थियो। तर, त्यो बेला कर्मचारी समायोजनको समस्याका कारण सरुवा भइहाल्न मिलेन। तर, दुईतिर काम गरेको भन्दै उनको आलोचना भने भयो।

उनलाई दुई तिर काम गर्न झन्झट लाग्यो। करिब एक वर्षपछि समायोजन भयो अनि विभागमा मात्रै काम गर्न थाले।

त्यहाँ करिब दुई वर्ष काम गर्दा ‘आँखा, नाक, कान, घाँटी र मुख स्वास्थ्य शाखा’ मा रहेर नीति तथा धेरै कार्यक्रमको सुरुवात गर्न पाएको सम्झन्छन् उनी।

अरूलाई अवसर छाड्दै बढुवा

नवौँ, दसौँ हुँदै गत वर्ष डा. प्रकाश ११ औँ तहमा बढुवा भए। रमाइलो पक्ष त आठौँबाट नवौँमा बढुवा हुँदा होस् वा १० औंबाट ११औँ तहमा बढुवा हुँदा नै किन नहोस्। उनी दुवै पटक खुला, आन्तरिक प्रतिस्पर्धा (आप्र) र कार्यसम्पादन मूल्याङ्कन (कासमु-फाइल बढुवा) बढुवा तीन वटामा परीक्षा दिएका थिए। तीन वटैमा पहिलो नम्बरमा नाम निस्किएछ।

तर, नवौँमा बढुवा हुँदा पनि खुलाको सिटमा आफू बढुवा भए। त्यो वर्ष नयाँ डेण्टल सर्जनले सरकारी जागिरमा छिर्न नपाउने भएकाले नयाँले  जागिर खान पाउन भनेर डा. प्रकाश आन्तरिक प्रतियोगिताबाट बढुवा भएछन्।

११औंमा फाइल बढुवाबाट बढुवा भएछन्। तर, खुलाका लागि अन्य उम्मेदवार योग्य नै नभएकाले त्यो कोटा खेर गयो। नयाँ आउन् भन्ने उनको प्रयास काम लागेन।

११औँ तहमा बढुवा भएपछि स्वास्थ्य सेवा विभागमा दरबन्दी भएन। वीर अस्पताल पदस्थापन भयो। त्यहाँ गएपछि फेरी विभाग र वीर अस्पताल दुवै ठाउँमा काम गर्नुपर्ने जिम्मेवारी आइलाग्यो। किनकि विभागमा उनले कामको राम्रो अनुभव लिइसकेका थिए। तर, मन्त्रालयमा अनुरोध गरेर उनले गत असारपछि विभागको जिम्मेवारी छोडेर वीर अस्पतालमा मात्रै काम गर्न थाले।

कैदीका डाक्टर

गत भदौमा उनले केन्द्रीय कारागार अस्पतालको प्रमुख मेडिकल सुपरिटेण्डेन्टको जिम्मेवारी पाए। हाल उनी कारागार अस्पतालमै छन्। कैदी बन्दीको स्वास्थ्योपचारको व्यवस्थापन गर्नु अहिलेको उनको मुख्य जिम्मेवारी हो। उनी नेपाल चिकित्सक सङ्घका उपाध्यक्षको भूमिकामा समेत छन्। 

प्रकाशित मिति : फागुन २७, २०७९ शनिबार