मालती- मंगले : अभिनेत्री वर्षाको अब्बल अभिनय रहेको औसत फिल्म
हरि र मंगलेको कथामा फिल्म बनाएका रामकृष्ण ढकालले रवि लामिछानेसँगको आफ्नै मित्रता बताउनेक्रममा भदौ २४ को ध्वंस अनि जेल ब्रेकको दिनको घटना सविस्तार खुलाए।
भदौ २४ को घटना केवल रामकृष्ण र रविबीचको सम्बन्धमा मात्र केन्द्रित घटनाक्रम हैन, त्यो राजनीतिमा विरोध प्रदर्शन कुन हदसम्ममा गर्न सकिन्छ अनि नेताहरूको भूमिकाको लक्ष्मण रेखा कहाँबाट सुरु हुन्छ भन्ने पनि देखाएको घटनाक्रम हो।
त्यो लक्ष्मण रेखा रवि लामिछानेले नाध्दा नख्खु मात्र हैन देशभरका कारागारमा रहेका १४ हजार बढी कैदीबन्दी जेल ब्रेक गरेर हिँडेका थिए। रवि नख्खुबाट हात हल्लाउँदै घर गएको गाडी रामकृष्णको हो भन्ने त पहिला नै खुले पनि उनीबाटै सार्वजनिक भएको थिएन।
तर फिल्म प्रचारकोक्रममा उनले घटनाक्रम यति सविस्तार बताइदिए कि त्यसको ट्रमा फर्किएर उनी आलोचनाको केन्द्रमा परे। फिल्म बहिष्कारसम्मका अभियान चले। उनी हैरान भएर साइबर ब्युरोसम्म जानु पर्यो।
‘कु’ समयमा सविस्तार ‘बहादुरी’ व्याख्या गर्दा मारमा परेको फिल्म हो मालती मंगले जुन शुक्रवारबाट हलमा लागिरहेको छ।
अब फिल्मतर्फ लागौँ।
श्रीमान् श्रीमतीबीच जब शंकाको जन्म हुन्छ त्यसपछि सम्बन्धमा आइपर्ने संकटलाई नै केन्द्रमा राखेर बनेको फिल्म हो मालती मंगले। फिल्मको कथाको टाइमफ्रेम नखुले पनि टेलिभिजनमा देखिने ‘चिनो’ फिल्म अनि टेलिभिजनको प्रकारले यो ३० वर्ष पुरानो कथा हो भन्ने बुझ्न सघाउँछ।
सामान्य शंकाले पनि सम्बन्धमा कुन तहसम्मको प्रभाव पार्छ भन्ने सामान्य कथालाई बुनेर सामाजिक फिल्म निर्माणको प्रयास भएको छ।
अब लागौँ कथासारतर्फ,
फरक गाउँका दुई पात्र मंगलप्रसाद अधिकारी (विजय बराल) र कमला थापा (वर्षा राउत) छन्। विजयको सुखदुखको साथी आफ्नै भाइ हरि प्रसाद अधिकारी (मेक्सम गौडेल) छन्। मंगलले आफ्नो सबै कुरा सुनाउने भनेको भाइलाई हो।
गाउँमा ब्ल्याक एन्ड ह्वाइट टिभीमा फिल्म देखाउने र पैसा २–३ रुपैयाँ उठाउने गरिन्छ। रातको समयमा मंगल पनि भाइ हरिलाई लिएर फिल्म हेर्न जान्छ। टिभीमा एकतर्फ महिला र अर्कोतर्फ पुरुष राखिएका छन्। सोही ब्ल्याक एन्ड ह्वाइको फिल्म नै कमला र मंगलेको प्रेमको मुना पलाउने काम गराउँछ।
कमला साहरुख खान भनेपछि हुरुक्कै हुन्छिन्। उनी सुत्ने कोठाका भित्ताभरि साहरुख खानको पोस्टर टाँसिएका छन्। सोही कुरा बुझेर हरिले दाजु मंगलेलाई साहरुखकै स्टायलमा डाइलग घोकाउँछन्। उनी शाहरुख बन्न खोज्छन्।
अचानक घरमा बिहेको कुरा चलेपछि कमला मंगलेसँग भाग्छिन्। उनीहरू बस्ने घरमा कमला नाम गरेकी एक युवती छिन्। अनि सल्लाहमा उनको नाम मालती राखिन्छ।
वर्षा मिहेनती अनि मंगले भने चोक चौतारामा बसेर तास खेल्ने,रक्सी पिउने। एक सन्तान हुर्काउँदैको हैरानीले दुबैबीच अब दोस्रो सन्तान नजन्माउने सल्लाह हुन्छ। तर मालतीको कोखमा दोस्रो बच्चा आउँछ। त्यो भ्रूणसँगै श्रीमान् र श्रीमतीबीचको सम्बन्धमा शंकाको जन्म हुन्छ। त्यसपछिको उतार चढाव नै यो फिल्मको मुख्य पक्ष हो।
बलियो पक्ष
पुरानो कथा र ब्ल्याक एन्ड ह्वाइट टेलिभिजनबाट निर्देशकले दर्शकलाई फ्ल्यासब्याक लगेर पुराना दिन सम्झाउने प्रयास गरेका छन्। सरकारले ल्याएको बन्ध्याकरण अभियानको सकारात्मक र नकारात्मक पक्ष फिल्मले देखाउने प्रयास गरेको छ।
फिल्म मुख्य कलाकार विजय बराल,वर्षा राउत र मेक्सम गौडेलको अभिनय निकै बलियो देखिन्छ। फिल्मका केही गीत कर्णप्रिय सुनिन्छन्। संवादहरू पनि निकै बलिया छन् फिल्मको। यो फिल्मको सबैभन्दा बलियो पक्ष अभिनेत्री वर्षाको अभिनय हो।
यो फिल्मबाट वर्षाले आफूमा अभिनयको समस्या नभई फिल्मका निर्देशकहरूमा समस्या थियो भन्ने प्रष्ट देखाएकी थिइन्। यो मानेमा भने निर्देशकलाई मान्नु पर्छ। अर्को पक्ष भनेको नेपाली फिल्ममा चरित्र अभिनेताको रुपमा मेक्समले देखाएको बलियो सम्भावना हो। बराललाई टक्कर दिने तहको अभिनय देखिनु बलियो पक्ष हो उनको।
कमजोर पक्ष
फिल्मको सबैभन्दा कमजोर पक्ष नै कथाको गति हो। निर्देशकले कथ्य शैली निकै सुस्त छान्दा फिल्मको कथा हलको पर्दामा बामे सरे जस्तो अनुभव हुन्छ। मुख्य कलाकारहरूमा बढी ध्यान दिएर हो या कास्टिङको समस्या हो, सहायक कलाकारहरूको अभिनय निकै कमजोर देखिन्छ। ब्यकग्राउन्ड म्युजिकले फिल्मलाई कमजोर बनाउन सघाएको छ।
हाफ अगाडिको कथा र त्यसपछिको कथा भन्ने क्रममा कताकता सम्बन्ध नै चुँडिएको अनुभव हुन्छ। अब के हुन्छ भनेर दर्शकले सहजै अनुमान गर्नसक्ने तहको पटकथा छ।
फिल्मका पात्र मंगलेको अनुहार बिक्छ की भन्ने निर्देशकलाई भ्रम देखिन्छ। तर यो फिल्ममा वर्षाको अभिनय अगाडि मंगले बनेका विजय बरालको अभिनय नै फिक्का देखिन्छ।
फिल्ममा ‘पानी मुनी लेउ’,‘झ्याइँ पारुम’,‘सुनैको सपनी छैन नि मसँग’लगायतका गीत छन्। तर यसले फिल्मको कथा बगाउन भन्दा अवरोध गर्न भूमिका खेलेको अनुभव हुन्छ।
फिल्मको छायाङ्कन पनि बलियो हैन। फिल्मको सम्पादनमा पनि उस्तै समस्याहरू देखिन्छ। सामान्य दर्शकले नै सम्पादनमा भएको कमजोरी पहिल्याउन सक्ने तहको कमजोरी हुनु भनेको हेलचेक्र्याइँ नै हो।
गायनमा परिचित निर्माता भन्दैमा गीतै गीत राखेर फिल्म चल्दैन भन्ने हेक्का निर्देशकले राख्न सकेको देखिएन। फिल्म कुनै एक पात्रको अभिनयको बलमा मात्र अगाडि बढ्न सक्दैन, त्यसमा सबै कलाकारको उत्तिकै महत्त्व हुन्छ भन्ने पनि चटक्कै बिर्सिएको देखियो निर्देशकले।
२५ वर्षअघिको कथा भन्दा निर्देशकले टेलिभिजन जसरी ब्ल्याक एन्ड ह्वाइट देखाउने ख्याल गरे त्यसरी नै कलाकारहरूको पोशाकमा ध्यान दिन सकेनन्। त्यसैले अभिनेत्री वर्षाको अब्बल अभिनय हुँदाहुँदै पनि फिल्म पनि औसत बनिदियो।
वैशाख २७, २०८३ आइतबार २०:३१:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।