डा. आरतीको उपचार अनुभव : दोस्रो बिहे गर्न नपाएको भन्दै ७४ वर्षका बाजेले विष खाएपछि...

डा. आरतीको उपचार अनुभव : दोस्रो बिहे गर्न नपाएको भन्दै ७४ वर्षका बाजेले विष खाएपछि...

कन्सल्टेण्ट जनरल प्राक्टिसनर (एमडीजिपी) डा. आरती शाहले एक अकल्पनीय घटनाबाट प्रेरित भएर डाक्टरी विषय पढेकी रहिछन्। 

त्यसबेला आरती ५ वर्षकी थिइन्। आफन्तको घरमा गएको बेला तीनतला माथिको झ्यालबाट बाहिर हेर्ने क्रममा हुत्तिएर भुइँमा खसिछन्। उनको शरीर माटोमा धसियो। धन्न, जमिनको खाली भागको विरुवा रोप्न तयार गरेको हुनाले त्यहाँ ढुंगा थिएन। खुट्टा सिमेन्टको प्लास्टरमा बजारिन पुग्यो। उनी बेहोस भइन्। आफन्तले उनलाई सुनाएअनुसार लडेर खसेपछि उनको शरीर नीलो हुनुकासाथै लल्याकलुलुक भइसकेको थियो। लडेको थाहा पाएपछि आरतीलाई हतारहतार गरेर वीर अस्पताल पुर्याइयो। अनि त्यहाँ उनको उपचार सुरू भयो। 

अस्पतालमा औषधि उपचार सुरू भएको केही बेरमा आरतीको होस आएछ। उनी रोइन्। आफूलाई अस्पतालमा देख्दा कहाँ ल्याइएको हो भनेर उनी आत्तिइन्। माटोमा परेकाले आरतीको टाउकोमा चोट खासै चोट लागेनछ। आरती होसमा आउँदा सबै खुसी भए नै। तर, तीन तलामाथिबाट उनको खुट्टा सिमेन्टको प्लास्टरमा परेको हुनाले खुट्टामा चोटपटक लाग्नुको साथै मर्किएको कारण असर परेछ। अनि चिकित्सकले आरतीको खुट्टामा प्लास्टर गरिदिए। खुट्टालाई निको बनाउन र सही दिशामा ल्याउनका लागि चिकित्सकले उनको खुट्टामा प्लास्टर गरिदिए।

सिमेन्टको प्लास्टरमा खुट्टा मात्रै परेकाले आरतीको ज्यान बाँच्यो। उनलाई अस्पतालले डिस्चार्ज गर्यो। त्यही भएर उनलाई घर, परिवार तथा आफन्तबीच कुरा हुँदा ‘मरेर बाँचेकी मान्छे, डाक्टर बनी’ भन्दै खुसी मान्छन्। प्लाष्टर गरेको खुट्टाको फोटो भने अहिले पनि रहेको डा. आरतीले सुनाइन्।

खुट्टालाई सहि दिशामा ल्याउनका लागि चिकित्सकले गरिदिएको प्लास्टर देखाएर कसैले यो के हो भनेर सोध्यो भने उनी ‘यो डाक्टरले लगाइदिएको जुत्ता हो। भोलिपर्सि म पनि डाक्टर बन्छु’ भन्दै जवाफ दिन्थिन् रे। त्यो पाँच वर्षको उमेरको बाल मस्तिष्कमा डाक्टर भनेको के हो? भन्ने उनलाई के थाहा। तर, उनको बाल मस्तिष्कले डाक्टर भन्ने शब्द टिपेको थियो।

‘म डाक्टर बन्छु’ भन्दाभन्दै उनले बढ्दै र पढ्दै जाँदा डाक्टर नै पढ्ने सपना बुनिन्। र, डाक्टरी विषय नै अध्ययन गरेर उनी डाक्टर नै बनिन् पनि। उनी डा आरतीले आफ्नो चिकित्सकीय पेशाका क्रममा भोगेका अनुभव उकेरासँग यसरी साटिन् :

000

विवाह गर्न नपाएको भन्दै ७४ वर्षका ती बाजेले ज्यान फाल्न खोजेपछि...
महाराजगञ्ज चिकित्सा क्याम्पस (त्रिवि शिक्षण अस्पताल)मा स्नातकोत्तर तहको एमडीजिपी विषय अध्ययन गर्ने क्रममा भएको एउटा घटना डा. आरतीको मानसपटलमा ताजै छ। उनको शोधपत्र ‘आत्महत्याको प्रयास गरेर बाँचेका व्यक्ति’कोे विषयमा थियो।

घटना करिब ७ वर्षअघिको हो। जतिबेला उनी शिक्षण अस्पतालको आकस्मिक कक्षमा ड्युटी गरिरहेकी थिइन्। त्यहीबेला उपत्यका बाहिरका करिब ७४ वर्षका बाजेलाई अस्पतालको आकस्मिक कक्षमा पुर्याइयो। त्यसपछि ती बाजेको स्वास्थ्य परीक्षण तथा औषधि उपचार सुरू भयो। 

सोधखोज गर्दै जाँदा बाजेले मुसा मार्ने विषादी चाटेका रहेछन्। त्यही मुसाको विष सेवन गरेर बाजेले आत्महत्या गर्ने प्रयास गरेका रहेछन्। तर, कस्तो हुँदोरहेछ भनेर मुसा मार्ने विषादी चाट्नेबित्तिकै बाजे रन्थनिएर थप विषादी सेवन गर्न सकेनछन्। बाजे घाइते मात्रै बनेछन्। 

केही दिनको औषधि उपचारपछि बाजेको स्वास्थ्यमा सुधार हुँदै गयो। उनको ज्यान बाँचेपछि ती बाजेलाई डा. आरतीले ‘किन आत्महत्या गर्न खोज्नु भएको?’ भनेर सोधखोज गरिन्। छोरा, बुहारी र नातिनातिना समेत भइसकेका ती बाजेले जवाफ दिँदै भनेछन्, ‘बुढी छैन। छोराबुहारीले अर्को विवाह गर्न दिएनन्। त्यसैले मर्न खोजेको। मर्न पनि सकिँन।’

ती बाजेको जवाफ सुन्दा त्यो बेला त डा. आरतीलाई अचम्म र हाँसो पनि लाग्यो। तर, उनले विवाह गर्न नपाएकैले मर्न खोजेको भन्दै दिएको त्यो जवाफ सम्झँदा अझै डा. आरती सोचमग्न हुन्छिन्। केही समय अस्पतालमा औषधि उपचारपछि ती बाजे त डिस्चार्ज भएर घर गए। तर, डा. आरती अझै मनमनै सोच्छिन्, ‘ति बाजेले त्यो उमेरमा पनि विवाह गर्न खोज्नुको खास कारण के थियो होला त?’

पाको उमेरका व्यक्तिलाई घरपरिवार तथा सन्ततिले राम्रोसँग हेरचाह नगरेका कारणले सहारा नपाएपछि ती बाजेले आत्महत्या गर्न खोजेको हुनसक्ने उनको अनुमान छ।

बिरामीलाई परामर्श दिने बुवाको त्यो प्रेरणा
डा. आरती बिरामीलाई सकभर राम्रोसँग समय दिएर बिरामीको समस्या सुन्ने र बुझ्ने कोशिश गर्छिन्। बिरामीलाई परामर्श दिने विषय आफ्नो प्राथमिकतामा पर्ने गरेको उनले सुनाइन्।

आरती घरकी जेठो सन्तान हुन्। उनी र उनका बुवाको उमेरको अन्तर झण्डै ५० वर्षको थियो। विशेषगरी प्लटु पढ्दादेखि धेरैपटक उनले बुवालाई उपचारका लागि अस्पताल लगेकी छन्। अनि बुवाले उनलाई बेलाबेलामा भन्नेगर्थे, ‘छोरी डाक्टरले बिरामीलाई छुँदा नै आधि रोग निको भयो भने पो उ डाक्टर भयो त, डाक्टरले बिरामीलाई सम्झाउन सकेन भने के काम लाग्यो र? तिमी चाहिँ डाक्टर पढेर राम्रो गर्नु है।’

उनका बुवालाई कोही डाक्टरले राम्रो परामर्श दिन्थे त कोही डाक्टरले हतारहतार गर्दै औषधि लेखिदिएर पठाउँथे। राम्रोसँग परामर्श नपाउँदा उनका बुवा खिन्न हुन्थे। अनि छोरीसँग गुनासो पोख्थे। बुवाको त्यो भनाइले आरतीको युवा मस्तिष्क सोच्न बाध्य हुन्थ्यो। 

तर, आफ्नो एमबीबीएस अध्ययनको अन्तिम समयमा ७५ वर्षको उमेरमा डा. आरतीका बुवा फोक्सोको क्यान्सरका कारण बिते।

बुवाको अहिले पनि उनी ‘तिमी चाहिँ डाक्टर पढेर राम्रो गर्नु है’ भनेको वाक्य सम्झिरहन्छिन्। बुवाले दिएको त्यो प्रेरणा तथा उपदेशका कारणसमेत बिरामी तथा बिरामी पक्षलाई राम्रोसँग परामर्श दिने सवालमा उनी कन्जुस्याइँ गर्दिनन्।

ती ६० वर्षे आमैले आरती नभइ शल्यक्रिया गर्दिनँ भनेपछि..
एकजना करिब ६० वर्षकी आमैले डा. आरतीबिना शल्यक्रिया नै गर्न नमानेको घटना उनले सुनाइन्। उनी एमबीबीएसको अन्तिममा इन्टर्नसिपको रुपमा काम गर्दा नेपाल मेडिकल कलेजमा काम गर्न थालेकी थिइन्। उनको सर्जरी विभागमा पोष्टिङ भएको थियो। ती आमैको शल्यक्रिया गर्नुपर्ने भएछ। शल्यक्रिया जटिल किसिमको थिएन। ‘माइनर’ किसिमकै शल्यक्रिया थियो। तर, शल्यक्रिया गर्ने तयारी भइरहँदा ती आमैले ‘म त डाक्टर आरती नभई अप्रेशन गर्दै गर्दिनँ’ भनिछन्। 

ती आमैले त्यसो भनेपछि सबैले ‘को हो आरती’ भन्दै सोधखोज गरेछन्। सोधखोजपछि ड्युटी सकेर घर पुगिसकेकी आरतीलाई अस्पतालका एकजना चिकित्सकले नै फोन गरेर बोलाएछन्। त्यसपछि उनी पनि अस्पताल पुगिन्। आरतीलाई देखेपछि ती आमै अप्रेशन गर्न तयार भइन्। अनि आरती लगायतले नै उनलाई शल्यक्रिया कक्षमा लगे। सिनियर चिकित्सकको टिमले उनको समस्याको शल्यक्रिया गर्यो। शल्यक्रिया सफल भयो।

त्यो घटनाबाट पनि डा. आरतीले बिरामीलाई दिने परामर्श महत्वपूर्ण हुन्छ भन्ने थप महसुस गरिन्। 

८० वर्षका बाजेलाई बचाउँदा अनि २१ वर्षकी युवतीको मृत्यु हुँदा
एमडीजिपी अध्ययनका क्रममा अस्पतालमा काम गर्ने क्रममा करिब ८० वर्षका बाजेलाई आकस्मिक कक्षमा उपचारका लागि अस्पताल पुर्याइयो। स्वास्थ्य परीक्षणका क्रममा ती बाजेको मिर्गौलाले काम नगर्नुका साथै अन्य विभिन्न स्वास्थ्य समस्याका कारण उनलाई आइसीयुमा राखेर उपचार गर्नुपर्यो। बाजेको ज्यान बाँच्यो। क्रमशः उनको स्वास्थ्यमा केही सुधार हुँदै गएपछि डा आरतीलाई आनन्द नलाग्ने कुरै भएन।

त्यसैको भोलिपल्ट करिब २१ वर्षकी युवती नुहाउन बाथरुममा पस्दा गिजरको ग्याँस लिक भएर वेहोस अवस्थामा भेटिएपछि अस्पताल पुर्याइएछ। तर, अस्पताल पुर्याउनुअघि नै ग्यासका कारण ती युवतीको मृत्यु भइसकेको थियो। ८० वर्षका बाजेलाई बचाएर खुसी भएको भोलिपल्ट ती युवतीको मृत्युको घोषणा गर्नुपर्दा उनलाई निक्कै दुःख लाग्यो।

किला घाँटीमा अड्किएर ती पाँच वर्षीय बालिकाको मृत्यु भएपछि...
घटना केही वर्षअघिको हो। ती ५ वर्षीय बालिकाका बुवाआमा विदेशमा बस्थे। बालिकालाई हजुरबुबा-हजुरआमाले हुर्काइरहेका थिए। एकदिन खेलिरहेको अवस्थामा ती बालिका ढलिछन्। त्यसपछि बेहोसी अवस्थामै ती बालिकालाई मेडिकेयर अस्पताल पुर्याइयो। अनि उपचार पनि सुरू भइहाल्यो। 

तर, ती बालिकाको अस्पताल नपुर्याउँदै मृत्यु भइसकेको थियो। त्यसपछि उनको के कारणले मृत्यु भयो भनेर पोस्टमार्टम गरियो। अनि थाहा भयो- बालिकाको घाँटीमा फलामको किला (काँटी) अड्किएको रहेछ। त्यही किला अड्किएकै कारण श्वासप्रश्वासमा समस्या भएर मृत्यु भएको निष्कर्ष निस्कियो। ती कलिली बालिकालाई बचाउन नसकेको त्यो घटना सम्झँदा अझै पनि डा. आरतीको मन कटक्क हुन्छ। 

छनोटमा समग्र रोगको उपचार
२०४१ मा काठमाडौंको पुरानो बानेश्वरमा जन्मिएकी आरतीले मिनभवनस्थित इङ्ग्लिस प्रिपेरेटोरी हाइस्कुल (इपीएस) २०५७ मा एसएलसी गरिन्। थापाथलिस्थित क्लासिक एकेडेमीबाट उनले प्लस टु गरिन्। 

त्यसपछि आरतीलाई डाक्टरी विषय नै अध्ययन गर्नुथियो। त्यसैले आरती सन् २००६ मा काठमाडौं विश्वविद्यालय अन्तर्गत काठमाडौंको जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा एमबीबीएस अध्ययन गर्न थालिन्। सन् २०११ मा उनको एमबीबीएस पूरा भयो। अघि भनेजस्तै डा. आरतीको एमबीबीएस गर्नुको खास कारण भने दुर्घटनापछिको उपचारको विषय थियो। एमबीबीएस अध्ययन सक्नासाथ डा. आरतीले आफू पढेकै नेपाल मेडिकल कलेजमा मेडिकल अधिकृतका रुपमा करार जागिर भएर केही महिना आकस्मिक कक्षमा काम गरिन्। त्यसपछि उनले काठमाडौंको चाबहिलस्थित मेडिकेयर अस्पतालमा काम गर्न थालिन्। मेडिकेयरमा उनले करिब एक वर्ष काम गरिन्।

त्यसपछि उनले मेडिकेयर छोडेर काठमाडौंकै नोबेल अस्पतालमा पार्टटाइमर जागिरेका रुपमा काम गर्दै थप अध्ययनको तयारी गरिन्। डा. आरतीले त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गतको महाराजगञ्ज चिकित्सा क्याम्पसमा सन् २०१४ मा स्नातकोत्तर तहको जनरल प्रास्टिस्नर तथा आकस्मिक चिकित्सा शास्त्र (एमडीजिपी) विषय अध्ययन गर्न थालिन्। स्वास्थ्य समस्याका कारण उनले एउटा वर्षको परीक्षा दिन पाइनन्। अर्को वर्ष परीक्षा दिइन्। सन् २०१८ मा उनको एमडीजिपी अध्ययन पूरा भयो।

एमडीजिपी अध्ययनपछि डा. आरतीले काठमाडौं मेडिकल कलेजमा लेक्चररको रुपमा काम गर्न थालिन्। त्यसपछि बिरामीको स्वास्थ्य परीक्षण, औषधि उपचार र चिकित्सा शास्त्रका विद्यार्थीलाई पढाउनु उनको दैनिकी भयो। त्यहाँ उनले केही महिना काम गरिन्। त्यसपछि उनी मेडिकेयर अस्पतालमा नै काम गर्न थालिन्। त्यहाँ उनले मेडिकल कोर्डिनेटरको जिम्मेवारी र कोभिड–१९ फोकल पर्सनको रुपमासमेत काम गरिन्। मेडिकेयरमा उनी आकस्मिक, आइसीयु, प्रसूति वार्ड लगायत गरी सन् २०२१ सम्म करिब तीन वर्ष काम गरिन्।

मेडिकेयरपछि कन्सल्टेण्ट जनरल प्राक्टिस्नर (एमडीजिपी) डा. आरती काठमाडौं महानगरपालिको वडा नम्बर ३० मा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा काम गर्न थालिन्। हाल उनी काठमाडौं महानगरपालिको वडा नम्बर ३० मा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको कार्यालय प्रमुख (मेडिकल डाइरेक्टर)को भूमिकामासमेत छिन्। सो केन्द्रको समग्र व्यवस्थापन र त्यहाँ पुग्ने विरामीको स्वास्थ्य परीक्षण, औषधि, उपचार तथा उपचार व्यवस्था गर्नु उनको दैनिकी हो।

एमडीजिपी सबै किसिमको रोगको उपचार गर्ने चिकित्सकीय विषय हो। यो विषय अध्ययन गरेका विशेषज्ञ चिकित्सकले सुरुमा सबै किसिमका स्वास्थ्य समस्या भएका बिरामीको स्वास्थ्य जाँच गर्ने तथा औषधी उपचार गर्नुपर्ने हुन्छ। त्यसपछि थप विशेषज्ञता आवश्यक परेको खण्डमा आवश्यकता अनुसारको विशेषज्ञ चिकित्सककहाँ बिरामी रेफर गर्नु एमडीजिपी अध्ययन गरेकी डा. आरतीको दैनिकी हो। 

उनले मधुमेह (सुगर)रोगको विषयमा भारतबाट फेलोसिपसमेत गरेकी छन्। आजकाल घर-घरमा सुगरका समस्या भएका बिरामी देखिने गरेकाले यो रोगको विषयमा पनि आफूले अध्ययन गरेको उनले अनुभव सुनाइन्। सुगरको समस्या भइहालेको खण्डमा व्यक्तिले बेलैमा औषधि उपचार नगरेको खण्डमा अंग-भंग हुने तथा ज्यानै जाने जोखिम हुने उनले सुनाइन्।

असार ७, २०८१ शनिबार १७:१६:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।