डा. पोमावतीको उपचार अनुभव : नगरकोट हत्याकाण्डका १० बढी बीभत्स शवको पोस्टमार्टम गर्दा मनै विच्छिप्त, अझै झस्किन्छ मन

डा. पोमावतीको उपचार अनुभव : नगरकोट हत्याकाण्डका १० बढी बीभत्स शवको पोस्टमार्टम गर्दा मनै विच्छिप्त, अझै झस्किन्छ मन

वरिष्ठ कन्सल्टेन्ट मेडिकल जनरलिष्ट (एमडीजिपी) डा. पोमावती थापा करिब १८ वर्षअघि भक्तपुरको जिल्ला अस्पतालमा थिइन् उनी। डा. पोमावती लोकसेवा परीक्षामार्फत मेडिकल अधिकृतका रूपमा सरकारी स्थायी चिकित्सकको रूपमा भक्तपुर जिल्ला अस्पतालमा पहिलो पोस्टिङ भएको थियो।

काम गर्न थालेको धेरै समय भएको थिएन। भक्तपुर अस्पतालमा खासै सुविधा थिएनन्। राती आकस्मिक कक्षमा खासै बिरामी पनि आउँदैनथे। त्यसैले राती ड्युटी परेको बेला चिकित्सक तथा स्वास्थ्यकर्मीहरू आलोपालो सुत्न पाउँथे।

त्यो दिन डा. पोमावतीको रातीको ड्युटी थियो। उनी आकस्मिक कक्षकै छेउमा ढल्केर बसिरहेकी थिइन्। घरीघरी निदाउँथिन्। झ्यापझ्याप निन्द्रा लागिरहेको थियो।

बिहान २-३ बजेको थियो। एक महिला करिब १२ वर्षको छोरा लिएर अस्पताल पुगिन्। उनी ‘मेरो छोरालाई गोली लाग्यो’ भन्दै छोराको खुट्टातिर देखाउँदै आत्तिइरहेकी थिइन्।

डा. पोमावती अर्ध निन्द्रामा थिइन्। गोली लाग्यो भन्ने आवाज सुन्दा सपनामा सुनिरहे जस्तै लागेछ। प्रायः यस्तो घटना आउँदैनथ्यो। ती महिला आत्तिँदै कराइरहेपछि उनको निन्द्रा भाग्यो। विपनै रहेछ। उनीसहित स्वास्थ्यकर्मीको टिम बालकको उपचारमा खटियो।

सुरुमा बालकलाई गोली लाग्यो भन्ने कुरा पत्याउनै मुस्किल परेको सम्झिन्छिन् उनी। १० वर्षको बालकलाई कसरी गोली लाग्छ? अन्य केही भएको हो कि भन्ने पनि लागेछ।

तर बालकको एउटा खुट्टाको तिघ्राको भाग क्षतविक्षत थियो। बालकको खुट्टाबाट तीव्र रक्तस्राव (म्यासिभ बिल्डिङ) भइरहेको थियो। चिकित्सकको टिमले बालकको खुट्टाको उपचार प्रक्रिया अगाडि बढाउँदै रक्तस्राव रोक्ने कोसिस गर्यो।

उपचार गर्दै जाँदा ती बालकको खुट्टामा गोली नै लागेको खुल्यो। बालकको खुट्टा टेक्न सक्ने अवस्थामै थिएन। अधिक रक्तस्रावका कारण बालकको ज्यान जोखिममा परिसकेको थियो।

‘बालकको खुट्टाको माथिल्लो भाग नै थिएन,’डा. पोमावतीले त्यो बेलाको घटना सम्झँदै भनिन्' हैन होला भनेको गोली नै लागेको रहेछ।'

गोली नै लागेको थाहा पाएपछि डा. पोमावती अलमलमा परिन्। त्यो बेला उनी मेडिकल अधिकृत चिकित्सक भएकाले विशेषज्ञ तहको ज्ञान र सीप खासै थिएन। त्यो बेला अहिलेको जस्तो विपद् व्यवस्थापन (डिजास्टर म्यानेजमेन्ट) गर्ने बलियो संयन्त्र पनि थिएन।

घाइते बालकलाई भर्ना गरेर उनले तुरुन्तै अस्पतालको क्वाटरमा भएका शल्य चिकित्सकलाई बोलाइन्। चिकित्सकको सबै टिम मिलेर ती बालकको खुट्टाबाट बगिरहेको रगत रोक्ने कोसिस गर्यो।

बालकको रक्तस्राव रोकिनेक्रममा नै थियो, केही बेरमै गोली लाग्यो भन्दै एकपछि अर्को गर्दै १२-१५ जना घाइते अस्पताल आइपुगे। हेर्दाहेर्दै अस्पतालको आकस्मिक कक्ष नै भरियो।

त्यसपछि डा. पोमावती लगायतका चिकित्सकको टिम आत्तियो। त्यो बेलासम्म के कारणले, कहाँ गोली चलेर यतिधेरै घाइते भए भन्ने खुलेकै थिएन।

तर कसैको टाउकोमा, कसैको छातीमा त कसैको शरीरका विभिन्न भागमा गोली लागेको थियो। केही बेरमै नेपाली सेनाको एम्बुलेन्स अस्पतालमा आइपुग्यो। उनीहरूले फटाफट बिरामी लिएर एम्बुलेन्सबाट थप उपचारका लागि अन्य अस्पताल लैजान थाले।

किन कि स्रोत, साधन र जनशक्तिको सीमितताका कारण सबै घाइतेलाई भक्तपुर अस्पतालमा पूर्ण उपचार गर्न मुस्किल थियो। सुरुमा नै आइपुगेका बालकको पनि बिहान अन्य अस्पतालमा रिफर भयो।

त्यहाँबाट रिफर गरेपछि ती बालकको कहाँ उपचार भयो उनलाई थाहा छैन। तर, ती बालक खतरामुक्त भइसकेकाले ज्यान जोगियो होला भन्ने लाग्छ उनलाई। उनी बाँचे कि बाँचेनन् होला भन्ने अझै मनमा लागिरहन्छ उनलाई।

घाइतेको उपचार गर्दागर्दै ४-५ जना चिकित्सक, नर्सिङ स्टाफ, प्यारामेडिक्सलगायत अस्पतालका स्वास्थ्यकर्मीले बिहान भएको पत्तै भएन।

आकस्मिक उपचारपछि बिहान अबेरसम्म सबै घाइते भक्तपुर अस्पतालबाट थप उपचारका लागि रिफर भइसकेका थिए। घाइतेको उपचार त छँदैछ, घटनामा परी मृत्यु भएकाहरूलाई मृत घोषणा गर्दै शव अस्पतालकै पोस्टमार्टम गृहमा राखियो। तर, कति जना घाइतेको मृत्यु भएको घोषणा गरियो भन्ने उनलाई एकिन याद थिएन।

घाइतेलाई रिफर र मृतकको मृत्यु घोषणा गरिसकेपछि बिहान अबेर उनले चिया पिइन् अनि लामो श्वास फेर्दै अस्पतालको कम्पाउन्डमा निस्किइन्।

त्यो बेलासम्ममा घटनाको विषयमा विभिन्न सञ्चार माध्यममा समाचार आइसकेका थिए। अस्पतालमा पत्रकार, मानव अधिकारकर्मी लगायतको भिड भइसकेको थियो। नगरकोटको एउटा मेलामा स्थानीय र सेनाबीचको विवादमा गोली चल्दा रक्तपातै मच्चिएको रहेछ। अस्पताल आएका त्यही घटनाका घाइतेहरू रहेछन्।

त्यो दिनको रक्तपातको घटना अहिले पनि नगरकोट हत्याकाण्डका रूपमा परिचित छ। मदिरा पिएर गोली चलाउने सेनाका जवानलाई सेनाले नै नियन्त्रणमा लियो। अनाहकमा सर्वसाधारण मारिए।

०००

अब घटनामा मृत्यु भएकाको पोस्टमार्टम गर्नुपर्ने भयो। अस्पतालले उनैलाई पोस्टमार्टमका लागि खटायो। डा. पोमावती र अर्का एक चिकित्सक अस्पतालकै पोस्टमार्टम गर्ने भवनतर्फ लागे।

रातीदेखि नै घाइतेको उपचारमा खटिएकी डा. पोमावतीले पोस्टमार्टम गृहमा  राखिएका कम्तीमा पनि १० वटा क्षतविक्षत भएका शव देखिन्। शवगृहमा खुट्टा टेक्ने ठाउँ थिएन। क्षतविक्षत शवको दृश्यले उनको मान विच्छिप्त भयो। मन आत्तियो।

डा. पोमावती र अर्का एक जना चिकित्सक साथीले घटनामा परी मृत्यु भएकाको शवको पोस्टमार्टम गर्न थाले। दिनभरि उनी र उनका साथीले पोस्टमार्टम गरे। पोस्टमार्टम गर्दा बेलाबेलामा मन चिसो हुन्थ्यो।

बेलुकाको करिब तीन बजे पोस्टमार्टम सकियो। त्यो दिन नगरकोट घटनामा परी मृत्यु भएका १० भन्दा बढी शवको पोस्टमार्टम गरेको डा. पोमावती सम्झन्छिन्।

उनको जीवनमा हालसम्मको त्यो नै एकैदिन सबैभन्दा धेरै शवको पोस्टमार्टम गरेको पहिलो र अन्तिम घटना थियो। त्यो घटना सम्झँदा अहिले पनि उनको मन आत्तिने रहेछ। मन भारी हुने रहेछ।

पोस्टमार्टम गरिसकेपछि अर्को डाक्टरलाई ड्युटी जिम्मा लगाएर डा. पोमावती घर फर्किइन्। भोकै थिइन् उनी। खाना खाने प्रयास गरिन् तर सकिनन्। निन्द्रा पनि लागेन।

घटना भएको निकै पछिसम्म कहिले पत्रकार त कहिले को घटनाबारे सोध्न आइरहन्थे। उनी त्यो दिन बिर्सन चाहन्थिन्। तर बिर्सन दिइरहेका थिएनन्। त्यसले उनमा मानसिक दबाब बढिरहेको थियो।  दैनिक काममा नै समस्या हुन थाल्यो। चिकित्सकको काम यस्तै हो भनेर उनले बिस्तारै घटना बिर्सने कोसिस गरिन्। तर, अझै त्यो वीभत्स घटनाले डा. पोमावतीलाई झस्काइरहन्छ।

अविवाहित युवतीको गर्भपतन सफल नभएपछि...

करिब १४ वर्षअघि चिकित्सा विज्ञान राष्ट्रिय प्रष्तिष्ठानमा स्नातकोत्तर तहको मेडिकल जनरलिष्ट (एमडीजिपी) विषय अध्ययन गर्ने क्रममा पोस्टिङ भएर गोरखाको जिल्ला अस्पताल पुगिन् उनी। त्यहाँ उनले करिब ६ महिना काम गरिन्।

त्यो बेला गोरखा जिल्ला अस्पतालमा अनिच्छित गर्भ बसेर गर्भपतन गर्न पुग्ने युवती तथा महिलाको सङ्ख्या बाक्लै हुने गरेको सम्झिन्छन् उनी।

उनी अस्पतालमा ड्युटीमा नै थिइन्, करिब १८ वर्षकी अविवाहित युवतीलाई अस्पताल ल्याइयो। ती अविवाहित युवतीले गाउँघरको कुनै जडीबुटी खाएर गर्भपतनको प्रयास गरेकी रहिछिन्। तर, गर्भपतन सफल भएन। अत्यधिक रक्तस्राव हुन थालेपछि गोरखा जिल्ला अस्पताल ल्याइएको थियो।

युवतीको स्वास्थ्य अवस्था जटिल बनिसकेको थियो। युवतीलाई पहिला तुरुन्तै रगत दिइयो। अनि असुरक्षित गर्भपतनको प्रयास गर्दा पाठेघरमा अड्किएको मृत भ्रूण निकालियो। 

धन्य। ती युवतीको ज्यान बाँच्यो। केही दिनको अस्पताल बसाइपछि युवतीको डिस्चार्ज भयो। पछि फलोअपमा आउँदा ती युवतीकी आमाले काँक्रा र केराजस्ता गाउँमा फलेका कोसेली बोकेर आउँथिन्। छोरीको ज्यान बचाइदिएकोमा उनी धन्यवाद दिन्थिन्।

सामान्य टाँका काट्न नपाएकी सुत्केरी

केही वर्ष अघि शल्यक्रिया (सिजरियन सेक्सन) गरी बच्चा जन्माएकी सुत्केरीले शल्यक्रिया गरेको पेटको भागमा टाँका काट्न पाएको दुःख डा. पोमावती कहिल्यै भुल्दिनन्।

प्रसङ्ग सिन्धुपाल्चोकस्थित चौतारा जिल्ला अस्पतालमा काम गर्दाको हो। वर्षाको मौसम थियो, अस्पतालबाट एक दिन स्वास्थ्य शिविरका लागि गाडीमा उनी गाउँतर्फ लागिन्। तर, बीच सडकमा हिलोमा गाडी फस्यो। गाडी फसिरहेकै अवस्थामा नजिकै स्वास्थ्य चौकी देखिन्। गाडी निकालुन्जेल स्वास्थ्य चौकीमा छिरौँ न त भनेर उनी त्यता लागिन्।

स्वास्थ्य चौकीमा करिब २२ वर्षकी सुत्केरी महिला सानो बच्चा च्यापेर पुगेको देखिन्। सोधखोज गर्दा ती महिलाको धुलिखेल अस्पतालमा शल्यक्रिया गरी बच्चा निकालिएको खुल्यो। उनी शल्यक्रिया गरेको भागको टाँका काट्न स्वास्थ्य चौकी आएकी रहिछिन्।

टाँका काट्न पनि ढिला भइसकेको थियो। टाढाबाट हिँडेर स्वास्थ्य चौकीसम्म पुगेकी ती महिलाको सामान्य टाँका काट्न सक्ने जनशक्तिसम्म रहेनछ स्वास्थ्य चौकीमा।

उनले महिलाको टाँका काटिदिइन्। सामान्य सुविधाका लागि ती महिला धुलिखेलसम्म आउनुपर्ने दुःखबाट बचिन्। सुगम ठाउँमा बसेर नीति योजना बनाइरहँदा त्यस्ता स्वास्थ्यको पहुँच नभएकालाई मध्यनजर गरेका छौँ त? अहिले पनि उनको मनमा प्रश्न उठिरहने रहेछ।

पाँचसम्म हङकङत्यसपछि नेपाल

पोमावती स्याङ्जाको हालको पुतलीबजार नगरपालिकामा जन्मिएकी हुन्। उनका बुवा ब्रिटिस आर्मीमा जागिरे। त्यसैले उनले पाँच कक्षासम्म हङ्कङ्मा पढिन्।

बुवा आमाले नेपालकै परिवेशमा पढाउनुपर्छ भनेर काठमाडौँको सिद्धार्थ वनस्थली माविमा भर्ना गरिदिए। उनले त्यहीबाट २०४८ मा एसएलसी उत्तीर्ण गरिन्। एसएलसीमा राम्रो अंक आयो। उनले अमृत साइन्स कलेजबाट आईएस्सी गरिन्।

आइएस्सीपछि पोमावतीलाई डाक्टर पढ्ने रहर जाग्यो। उनले त्यो अवसर पाइन पनि। उनी एमबिबिएस अध्ययन गर्न सन् १९९५ मा बङ्गलादेश पुगिन्।

पोमावती बङ्गलादेशको चिटागोंगस्थित युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीमा एमबिबिएस अध्ययनका लागि भर्ना भएकी थिइन्। सन् २००० मा उनको एमबिबिएस अध्ययन पूरा भयो।

एमबिबिएस अध्ययनपछि नेपाल फर्किएर त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको बाल रोग विभागमा मेडिकल अधिकृतका रूपमा करिब एक वर्ष करारमा काम गरिन्।

२०५९ मा लोकसेवा परीक्षामार्फत सातौं तहको मेडिकल अधिकृतका रूपमा सरकारी स्थायी चिकित्सक भइन्। स्थायी सरकारी जागिरे भएपछि काठमाडौँ उपत्यका बाहिरका जिल्लामा गएर काम गर्ने रहर थियो। तर, त्यो बेला सरकार पक्ष र तत्कालीन विद्रोही माओवादीबीचको द्वन्द्व उत्कर्षमा थियो। उनको परिवार सैनिक पृष्ठभूमिको। माओवादीले दुख दिने सम्भावना थियो। परिवारले उपत्यका बाहिर नजान सल्लाह दिए। त्यसैले उनको पहिलो पोस्टिङ भक्तपुर जिल्ला अस्पतालमा भयो।

छनोटमा पहरेदार डाक्टरी विषय

डा. पोमावतीलाई थप अध्ययन गर्ने भोक मरेकै थिएन। जुन स्वाभाविकै पनि हो। त्यसैले उनी सरकारी स्थायी चिकित्सकका रूपमा केही वर्ष भक्तपुरमा काम गरेपछि चिकित्सा विज्ञान राष्ट्रिय प्रष्तिष्ठानमा स्नातकोत्तर तहको मेडिकल जनरलिष्ट (एमडीजिपी) विषय अध्ययन गर्न थालिन्।

एमडीजिपी अध्ययनकै सिलसिलामा उनको गोरखाको जिल्ला अस्पतालमा पोस्टिङ भयो। त्यहाँ करिब ६ महिना काम गरिन्। अध्ययनको क्रममा ६ महिना ग्रामीण भेगमा गएर काम गर्नुपर्ने थियो। त्यही सिलसिलामा उनले गोरखामा गएर काम गरेकी हुन्।

त्यो बेला गोरखा जिल्ला अस्पतालमा एमडीजिपि अध्ययन गरेकै चिकित्सक डा. गुणराज लोहनी प्रमुख थिए। डा. लोहनीको निगरानी (सुपरभिजन) मा काम गर्न पाउँदा थप हौसला मिलेको उनले सुनाइन्।

सन् २०१० मा उनको तीन वर्षे एमडीजिपी अध्ययन पूरा भयो। एमडीजिपि अध्ययन सकेपछि उनी भक्तपुर जिल्ला अस्पतालमा नै फर्किइन्। त्यहाँ केही दिन काम गरेपछि डा. पोमावती सरुवा भएर २०६७ मा कपिलवस्तुको तौलिहवास्थित जिल्ला अस्पतालमा पुगिन्।

त्यहाँ अस्पताल प्रमुखको रूपमा साढे चार वर्ष भन्दा धेरै समय काम  गरिन्। त्यो बेला स्वास्थ्य कार्यालयको मातहतमा अस्पताल हुन्थ्यो। तौलिहवामा रहँदा नै उनी नवौँ तहमा बढुवा भइन्। त्यसपछि डा. पोमावती भक्तपुर अस्पतालमा नै पोस्टिङ भएर फर्किइन्।

तौलिहवामा काम गर्दा उनको छुट्टै किसिमको अनुभव छ। त्यहाँ अस्पताल पुगेका महिला बिरामीहरू पुरुष डाक्टर देख्यो की अस्पतालको ढोकाबाट चियाउँदै चेकजाँच नै नगरी बाहिर निस्कन्थे। अनि परिवारका पुरुषहरूले भनेको भरमा पुरुष डाक्टरले महिलालाई औषधी लेखिदिनुपर्ने अवस्था थियो।

तर, डा. पोमावती कपिलवस्तु पुगेपछि भने त्यहाँका महिलाहरू खुसी भए। उनीहरू अस्पतालभित्रै आएर समस्या सुनाउन थाले। उनलाई त्यहाँका महिलाले ‘एक पहाडी डाक्टर लड्की’ भन्दै चिनाउँथे रे। त्यहाँबाट सरुवा भएर काठमाडौँ फर्कँदा त्यहाँका महिलाहरू निकै दुःखी भएका रहेछन्।

भक्तपुरमा सरुवा भएर उनले करिब डेढ वर्ष काम गरेपछि डा. पोमावतीको सिन्धुपाल्चोकको चौतारा जिल्ला अस्पतालमा सरुवा भयो। सिन्धुपाल्चोकपछि २०७५ मा स्वास्थ्य सेवा विभागको आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवा व्यवस्थापन शाखामा शाखा प्रमुखमा उनको सरुवा भयो। 

करिब पाँच वर्ष त्यहाँ काम गरेपछि डा. पोमावती माघको पहिलो साता इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा सरुवा भएकी छन्। महाशाखामा उनी नसर्ने रोग तथा मानसिक रोग शाखा प्रमुखका रूपमा कार्यरत छिन्। अहिले भने उनी नीति निर्माण तहमा काम गर्ने ठाउँमा छिन्।

गाउँको डाक्टर

सानैदेखि उनलाई नेपालका गाउँ गाउँमा गएर सेवा गर्ने इच्छा थियो। त्यसैले देशको कुना कुनामा गएर बिरामीको उपचार गर्ने विषयको खोजीकै कारण आफूले एमडीजिपी अध्ययन गरेको उनले सुनाइन्। उनी त यो एमडीजिपी अध्ययन गरेका चिकित्सकलाई गाउँको डाक्टर भन्न रुचाउँछिन्।

एमडीजिपी सबै किसिमको रोगको उपचार गर्ने चिकित्सकीय विषय हो। यो विषय अध्ययन गरेका विशेषज्ञ चिकित्सकले सुरुमा सबै किसिमका स्वास्थ्य समस्या भएका बिरामीको स्वास्थ्य जाँच गर्नुकासाथै औषधी उपचार गर्नुपर्ने हुन्छ। त्यसपछि थप विशेषज्ञता आवश्यक परेको खण्डमा आवश्यकता अनुसारको विशेषज्ञ चिकित्सककहाँ बिरामी रिफर गर्नु एमडीजिपी अध्ययन गरेका चिकित्सकको दैनिकी हो।

त्यसैले एमडीजिपि अध्ययन गरेका चिकित्सकलाई स्वास्थ्य सेवाको गेट किपर (पहरेदार) का रूपमा समेत चिनिन्छ।

एमडीजिपी अध्ययन गरेका चिकित्सकले सबै किसिमको रोगको उपचार गर्ने भएकाले सुरु सुरुमा डा. पोमावतीलाई आफूलाई कस्तो चिकित्सक भनेर चिनाउने होला भन्ने लाग्ने रहेछ। तर, उनलाई बिस्तारै बानी पर्दै गयो। नेपालजस्तो मुलुकमा धेरै बिरामीको उपचार गर्न सकेकोमा उनी गर्व गर्छिन् अहिले पनि।

डा. पोमावतीका श्रीमान् पनि चिकित्सक नै हुन्। उनीहरूका १५ वर्षकी एक छोरी छन्।  

१३ माघ, २०८०, २०:५३:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।