मनोचिकित्सक डा. वासुदेवको उपचार अनुभव : दिउँसो उपचार गरेर पठाएकी महिला साँझ इन्द्रावतीमा हामफालेपछि...

मनोचिकित्सक डा. वासुदेवको उपचार अनुभव : दिउँसो उपचार गरेर पठाएकी महिला साँझ इन्द्रावतीमा हामफालेपछि...

मनोचिकित्सक डा. वासुदेव कार्कीले मानसिक रोगसम्बन्धी समस्या भएका धेरै बिरामीलाई बचाएका छन्। विशेषगरी मानसिक रोगको समस्या भएका बिरामीलाई परामर्श दिनु तथा आवश्यकता अनुसार औषधि उपचार गर्नु उनको चिकित्सकीय धर्म र कर्म हो। उनै मनोचिकित्सकले चिकित्सकीय पेशाको शिलशिलामा देखे भोगेका केही अनुभवहरु उकेरामा सोटेका छन्।

ती महिलाले आत्महत्या गरेपछि...
मानसिक रोग लागेका कतिपय व्यक्तिले आत्महत्या गर्न सक्छन्। आफूले उपचार गरेकी एक महिलाले पनि आत्महत्या गरेको सुन्दा मनै कटक्क भएको डा. वासुदेवले सुनाए।

करिब तीन वर्षअघिको घटना हो। काभ्रेकी करिब ४३ वर्षकी महिलालाई मानसिक रोग(मेनिया)को समस्या थियो। ती महिलाका बालबच्चा पनि थिए। महिलालाई मानसिक अस्पतालमा भर्ना गरेर समेत डा. वासुदेवको टिमले उपचार गरेको थियो।

औषधि उपचारपछि ती महिलाको रोग ठीक हुँदै गएको थियो। पहिलो पटक भर्ना हुँदा समस्या ठीक हुँदै गएपछि उनलाई डिस्चार्ज गरिएको थियो।

पुनः रोगले च्यापेपछि ती महिलालाई अस्पताल ल्याइयो। भर्ना गरेर उपचार थालियो। चिकित्सकको टिमले अझै केही समय अस्पतालमा नै राखेर उपचार गर्नुपर्ने सुझाव दिएका थिए। तर, आफन्तले घरमा कामको अप्ठेरो छ भन्दै कर गरेर फर्काएर लगे।

घर पुर्याएकै दिन बेलुका ती महिलाले घर नजिकै इन्द्रावती नदीमा हाम फालेर आत्महत्या गरिछन्। पछि डा. वासुदेवले पनि थाहा पाए। त्यो खबर सुन्दा उनलाई साह्रै नमज्जा लाग्यो। मन भारी भयो।

आफैँले उपचार गरेका बिरामीले आत्महत्या गरेको खबर सुन्दा साह्रै ग्लानि हुने गरेको उनले सुनाए।

‘छोरीलाई उपचार गर्न आउने बाजेले नै आत्महत्या प्रयास गरे’
डा. वासुदेव बेला-बेलामा सिन्धुपाल्चोकमा मानसिक समस्या भएका बिरामीको परामर्श तथा औषधि उपचारका लागि पुग्छन्। 

केही वर्षअघि स्वास्थ्य शिविरमा जाँदा सधैँ एक जना बुवाले करिब २४ वर्षकी छोरीलाई लिएर उपचारका लागि आउने गर्थे।

ती बाजेकी छोरीलाई मानसिक समस्या थियो। उपचारपछि छोरीको स्वास्थ्य समस्या ठीक हुँदै गएको थियो। एक दिन ती छोरीलाई आमाले उपचारका लागि शिविरमा लिएर आइन्।

छोरीलाई लिएर आमा आएपछि डा. वासुदेवले ती आमालाई सोधे, ‘किन आज बुवाले लिएर नआएर तपाइँ आउनुभएको?’

डा. वासुदेवको जिज्ञासापछि ती आमाले निकै दुःखी भएर रुँदै भनिन्, ‘डाक्टरसाप यसका बुवाले आज विष सेवन गर्नुभो, अस्पतालमा भर्ना गरेका छौँ।’

ती आमाको कुरा सुनेपछि डा. वासुदेव झसङ्ग भए। उपचार गर्न छोरी ल्याउने बुवाले नै आत्महत्या प्रयास गरेको घटना सुन्दा उनी सोचमग्न भए। पछि उपचारको क्रममा ती बाजेको मृत्यु भएको उनले सुनाए।

त्यो घटनापछि थप बिरामीको आफन्तको पनि दुःख तथा बेदना सुन्नु र बुझ्नुपर्ने रहेछ भन्ने उनलाई महसुस गरे। त्यसैले आजकाल उनी उपचारका लागि बिरामी लिएर पुग्ने बिरामीका आफन्तको पनि अवस्था बुझेर राम्रो परामर्श दिन्छन्।

सम्बन्ध विच्छेदको अवस्थामा पुगेको जोडीमा फर्किएको खुसी
त्यसैगरी एक वर्षअघि श्रीमान्लाई मानसिक समस्या पो हो की भनेर एक जना महिलाले अस्पताल ल्याएको प्रसङ्ग पनि डा. वासुदेव कहिल्यै भुल्दैनन्।

काठमाडौंमा नै घर भएका ती पुरुष व्यापार गर्दा रहेछन्। श्रीमती भने बैंकको ब्रान्च म्यानेजर रहिछन्। अरुले हेर्दा ती पुरुषकोे जीवनशैली सामान्य नै देखिन्थ्यो। ती जोडीका एक जना छोरा पनि थिए।

तर, ती पुरुष घर पुग्नेबित्तिकै श्रीमतीसँग झगडा गरिहाल्थे। श्रीमतीलाई विभिन्न शंका गरिरहन्थे। जहिल्यै खटपट र मनमुटाव हुँदा उनीहरूको सम्बन्ध बिच्छेद हुने अवस्थामा पुगिसकेको रहेछ।

तर, सम्बन्ध विच्छेदअघि श्रीमान्लाई लगेर जचाउने सोचिन् श्रीमतीले। मानसिक रोगको शंका लागेपछि ती महिला अस्पताल गएर डा. वासुदेवसँग श्रीमान्को अवस्था सुनाइछन्। डा. वासुदेवले श्रीमान्लाई लिएर आउन भने।

केही दिनपछि श्रीमान्सँगै ती महिला अस्पताल पुगिन्। डा. वासुदेवले ती पुरुषको स्वास्थ्य परीक्षण गर्दा उनमा मानसिक समस्या देखियो। उनले मनोपरामर्श र औषधि दिएर ती पुरुषलाई घर पठाए।

केही महिनाको परामर्श र औषधि सेवनपछि ती पुरुषले श्रीमतीप्रति गर्ने व्यवहार निक्कै परिवर्तन भएछ। ती पुरुषको मानसिक समस्या नै ठिक हुँदै गएपछि त श्रीमान्-श्रीमतीबीचको सम्बन्ध पनि सुमधुर भयो।

अहिले पनि ती पुरुषले औषधि सेवन गरिरहेको र बेला-बेलामा फलोअपका लागि आउने गरेको डा. वासुदेवले सुनाए।

बाँधेर राखिएका पुरुष ठीक भएपछि..
पाँच वर्षअघि एक जना पुरुषलाई उपचार गरेर ठीक भएको प्रसङ्ग पनि डा. वासुदेव कहिल्यै भुल्दैनन्। धादिङका एक जना मानसिक रूपमा विक्षिप्त भएका पुरुषलाई उपचारका लागि मानसिक अस्पताल पुर्याइयो। लामो समय भारतमा बसेर काम गरेपछि उनी नेपाल फर्किएका रहेछन्। तर, घर फर्कँदा उनी मानसिक रूपमा विक्षिप्त भइसकेका थिए।

घर परिवारका सदस्यलाई आक्रमण गरिहाल्ने उनको स्वभाव थियो। जसरी पनि परिवारलाई सिध्याउनुपर्छ भन्ने सोच भएपछि परिवारले उनलाई डेढ वर्ष बाँधेर राखेछन्।

अस्पताल लगेपछि डा. वासुदेवको टिमले स्वास्थ्य परीक्षण गर्दा ती पुरुषलाई मानसिक रोग लागेको पुष्टि भयो। अस्पतालमा भर्ना गरेर उपचार थालेको केही समयपछि उनको स्वास्थ्यमा क्रमशः सुधार हुन थाल्यो। अहिले ती ४२ वर्षीय पुरुषको स्वास्थ्य अवस्था ठीक भएर सुरक्षा गार्डको काम गरिरहेको डा. वासुदेवले सुनाए।

डा. वासुदेवसँग अहिले पनि बेला-बेलामा ती पुरुषको भेट भइरहन्छ। बिरामी भएको बेलामा गरेको दुर्व्यवहार सम्झँदा ती पुरुष डा. वासुदेवलाई भेट्दा अलि लजाउँछन् अनि असहज महसुस गर्छन्। त्यहि भएर उनी अहिले अन्य चिकित्सककहाँ फलोअपमा जाँदा रहेछन्।

मानसिक स्वास्थ्यमा समस्या भएको व्यक्तिलाई अझै नेपाली समाजमा अझै लान्छना लगाउने, विभेद गर्ने अवस्था रहेको उनले अनुभव सुनाए। तर, यो रोग पनि अन्य धेरै रोगजस्तै उपचारपछि ठिक हुन्छ।

ठीक भएका ती युवा
करिब पाँच वर्षअघि मानसिक समस्या भएकै करिब १८ वर्षका एक युवा पनि उपचारपछि ठीक भएको प्रसङ्ग सुनाए डा. वासुदेवले। पूर्वी नेपालका एक जना युवालाई मानसिक समस्या भएछ। ती युवाको पनि आक्रामक व्यवहार देखाउँथे।

घर परिवारले समेत आशा मारिसकेका थिए। तर, कसो-कसो ती युवालाई उपचारका लागि मानसिक अस्पतालमा ल्याइएछ। स्वास्थ्य परीक्षण गर्दा उनमा मुड डिसअर्डर (मेनिया) सम्बन्धी मानसिक समस्या भएको थाहा भयो।

लागूऔषध पनि सेवन गर्ने कारणले उनको मानसिक समस्या झन् बल्झिएको रहेछ। पहिलो पटक अस्पताल ल्याएर उपचार गरेपछि केही समस्या ठीक भए पनि पुनः उस्तै भएछ।

तीन महिनाको अवधिमा तीन पटक ती युवालाई अस्पतालमा भर्ना गर्नुपरेको डा. वासुदेवको अनुभव छ। तर, तीन महिनाको औषधि उपचारपछि भने ती युवा पूर्ण रूपमा ठीक भएर घर फर्किएको उनले सुनाए।

विज्ञान कसले पढ्छ भनेर थाहा नपाउँदा
वासुदेव दोलखा जिल्लाको शैलुङ गाउँपालिका-८ मा २०३८ सालमा जन्मिएका हुन्। दोलखाको तत्कालीन काटाकुटी गाविसस्थित दुर्गा माध्यमिक विद्यालयबाट २०५४ मा एसएलसी पास गरेपछि उनी अलमलमा परे। के विषय पढ्ने उनलाई ज्ञान नै थिएन।

तर, अब्बल विद्यार्थी भएकाले विज्ञान विषय पढ्नुपर्छ भन्ने उनले सुनेका थिए। उनलाई नौ, दश कक्षामा विज्ञान र गणित विषय पढाउने शिक्षकहरू तराई मुलका थिए। त्यसैले उनलाई एसएलसी अध्ययन गर्दासम्म लाग्थ्यो, ‘विज्ञान भनेको तराई मुलका मान्छेले पढ्ने विषय होला। हामीले पढ्ने हैन होला।’

तर, वासुदेवका नाता पर्ने गाउँका एक जना व्यक्ति त्यो बेला काठमाडौंको अमृत साइन्स कलेजमा क्यान्टिन चलाउँथे। ती नातेदारबाट नै काठमाडौंमा विज्ञान पढ्ने कलेज छ भन्ने वासुदेवले थाहा पाए।

चिनेकै मान्छे त्यहाँ भएपछि उनले पनि अमृत साइन्स क्याम्पसै पढ्ने निर्णय गरे अनि काठमाडौं आएर कलेजको होस्टलमा बस्न थाले। चिनेका नातेदार भएकाल कारण पनि आफूलाई केही सहज भएको उनले सुनाए।

अंग्रेजी नजान्दाको त्यो प्रसङ्ग
गाउँमा पढेर आएकाले उनलाई सुरुवाती दिनमा अंग्रेजी पढ्न निक्कै कठिन भयो। आइएस्सी पढ्दा नेपालीमा उल्था गर्न नजान्दाको एउटा प्रसङ्ग उनी कहिल्यै भुल्दैनन्।

‘प्रोपर्टीज् अफ ग्याँस’ भन्ने पढ्नुपर्थ्यो। उनले डिस्नेरी हेर्दा ‘प्रोपर्टिज्’ अर्थ ‘सम्पत्ति’ भेटे। त्यसैले उनी ‘प्रोपर्टिज् अफ ग्यास’लाई ‘ग्यासको सम्पत्ति’ भनेर उल्था गरेर पढ्थे। तर, वास्तविक रूपमा यसको अर्थ अर्कै थियो। अंग्रेजी नजान्दाको त्यो प्रसङ्ग सम्झँदै उनी कुराकानीमै बेस्सरी हाँसे।

वासुदेवले राम्रै अंकका साथ आईएस्सी गरे। आईएस्सी अध्ययन गर्ने क्रममै विज्ञान विषय अध्ययन गरेपछि डाक्टरी विषय पढ्न पाइन्छ भन्ने थाहा पाए उनले।

मट्टितेलको भाउ १७ पुग्दा तनाव, छात्रवृत्तिमा एमबीबीएस अध्ययन
आईएस्सीपछि उनले पनि डाक्टरी विषय अध्ययन गर्ने सोच बनाए। तर, उनी आईएस्सीपछि खेतीपातीको काम गर्न घर गए। फर्केर आउँदा त डाक्टरी अध्ययनको तयारी कक्षाका लागि साथीहरू भर्ना भइसकेछन्। उनी छुटे। त्यसैले साथीहरूसँग भेटेर उनले एउटा इन्स्टिच्युटमा तयारी कक्षाका लागि भर्ना भए।

तर, कलेजबाट छुटिसकेकाले होस्टलबाट छुटेर उनी एउटा कोठा लिएर बस्न थाले। होस्टेल छोडेपछि उनलाई काठमाडौं पराइजस्तै लाग्थ्यो। उनी सस्तो भाडामा पाइने कोठा खोज्दै नैकापमा पुगेर बसेर बसे। त्यो बेला स्टोभमा खाना बनाएर खाने चलन ह्वात्तै बढेको थियो।

त्यो बेला स्टोभ बाल्ने मट्टितेल लिटरको दश रुपैयाँमा पाइन्थ्यो। तर, एक्कासी भाउ बढेर मट्टितेल मूल्य लिटरको १७ पुगेछ। मट्टितेलको भाउ बढेपछि आर्थिक रूपले आफूलाई खर्च धान्नै बडो कठिन भएको उनले सुनाए। त्यो बेला दाइ तत्कालीन साही सेनामा भएकाले दाइले उनको खर्चबर्चमा सहयोग गर्थे।

संघर्षका बावजुद वासुदेवले एमबीबीएस अध्ययनका लागि छनोट परीक्षा दिए। उनी सरकारी छात्रवृत्ति कोटामा नै एमबीबीएस अध्ययनका लागि छानिए।

सरकारी छात्रवृत्ति कोटामा २०५८ मा काठमाडौंको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा एमबीबीएस अध्ययनका लागि उनी भर्ना भए। २०६४ मा उनको एमबीबीएस अध्ययन पूरा भयो। आईएस्सी अध्ययन गर्दासम्म यो उनको नसोचेको विषय थियो।

गाउँ फर्कने सोच आएपछि...
एमबीबीएस अध्ययन गरेपछि डा. वासुदेवलाई अरु कुनै सोच आएन। उनलाई एउटै सोच आयो, ‘म गाउँ फर्कनुपर्छ, गाउँमा गएर काम गर्नुपर्छ।’

उनले सरकारी छात्रवृत्तिमा अध्ययन गरेवापत सरकारी स्वास्थ्य संस्थामा दुई वर्ष अनिवार्य रूपमा छात्रवृत्ति करारमा काम गर्नुपर्ने थियो। छात्रवृत्ति करारमा काम गर्ने उनी पहिलो ब्याचका विद्यार्थी रहेछन्।

त्यसैले उनी दोलखाको हालको गौरीशंकर गाउँपालिका (सुरी)वडा नं. ५ को प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेर काम गर्न थाले। जुन दुर्गम ठाउँ हो।

त्यहाँ पुग्न चरीकोटबाट काठमाडौं आउनुभन्दा बढी गाडीमा कच्ची सडक यात्रा गर्नुपर्थ्यो। गाडीबाट झरेर थप पाँच घण्टा ठाडो उकालो हिँडेपछि मात्रै त्यो स्वास्थ्य चौकीमा पुगिन्थ्यो। उनलाई अझै त्यहीँ काम गर्ने इच्छा थियो।

तर, त्यहाँ एक वर्ष काम गरेपछि डा. वासुदेव सरुवा भएर रुपन्देहीको तत्कालीन लुम्बिनी अञ्चल अस्पताल भयो। त्यो बेला एक वर्ष दुर्गममा काम गरेपछि अर्को एक वर्ष सुगममा काम गर्न दिने प्रावधान थियो।

तर, दुर्गम नै भए पनि गृह जिल्ला भएकाले उनलाई त्यहाँ सहज भइसकेको थियो। दुर्गम नै भए पनि उनले अनुरोध गरेर दोलखाको सुरीमा नै उनले दुई वर्ष काम गरे।

सरकारी जागिरे भएपछि...
दोलखामा नै काम गरिरहँदा लोकसेवा परीक्षा खुल्यो। डा. वासुदेवले पनि परीक्षा दिए। उनको नतिजा राम्रो आयो।

डा. वासुदेव २०६६ मा लोकसेवा परीक्षामार्फत आठौं तहको मेडिकल अधिकृतका रूपमा स्थायी सरकारी जागिरे भए। स्थायी सरकारी जागिरे भएपछि समेत उनले कार्यथलो दोलखालाई नै रोजे।

सरकारी जागिरे भएपछि उनले दोलखामा पोष्टिङ पाएनन्। तर, उनलाई दुर्गम नै जानु थियो। त्यसैले दोलखा जान नपाएपछि उनले रामेछापको खिम्ती प्राथमिक स्वास्थ्य केन्द्रको पोष्टिङ मागेर त्यहाँ पुगे। त्यहाँ उनले करिब अढाइ वर्ष काम गरे।

छनोटमा मानसिक रोग
दोलखामा अढाइ वर्ष काम गरेपछि डा. वासुदेव चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा चिकित्सा शास्त्रको स्नातकोत्तर तहको मनोरोग विषयमा एमडी अध्ययनका लागि २०६९ मा भर्ना भए।

२०७२ मा उनको एमडी अध्ययन पूरा भयो। उनी एमडी अध्ययनकै क्रममा नेपालमा भूकम्प गएको थियो। त्यो भूकम्पपछि प्रभावित विभिन्न क्षेत्रमा मनोपरामर्श लगायतका लागि नुवाकोट, धादिङ, दोलखा, रामेछाप लगायतका क्षेत्रमा पुगे।

दोलखाको दुर्गम क्षेत्र र रामेछापमा काम गर्दाको अनुभवका कारण नै थप अध्ययनको विषय मानसिक रोग छानेको उनले सुनाए।

मनोरोग विषयमा एमडी अध्ययन पूरा भएपछि डा. वासुदेव पोष्टिङ भएर ललितपुरको लगनखेलस्थित मानसिक अस्पतालमा पुगे। त्यहाँ उनले तीन वर्ष काम गरेपछि समायोजन भएर २०७५ मा स्वास्थ्य सेवा विभागमा पुगे।

त्यहाँ उनले मानसिक स्वास्थय सम्बन्धी नीतिगत सुधारका काम गर्ने अवसर पाए। विभागमा उनले करिब एक वर्ष काम गरेपछि उनी मानसिक अस्पतालमा नै सरुवा भए। २०७६ यता उनी निरन्तर लगनखेलस्थित मानसिक अस्पतालमा नै कार्यरत छन्।

वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. वासुदेव चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा उप-प्राध्यापकका रूपमा समेत कार्यरत छन्। मनोसमस्यामा परेका व्यक्तिलाई मनोपरामर्श दिनु, रोगको प्रकृति अनुसार औषधि उपचार गर्नु उनको दैनिकी हो।

त्यसैगरी मनोरोग अध्ययन गर्ने विषयका विद्यार्थीलाई आफूले सिकेको ज्ञान तथा सीप सिकाउनु उनको शैक्षिक काम हो। त्यसो त उनी मनोसमस्याका लागि परामर्श तथा उपचार गर्ने उदेश्यले विभिन्न ठाउँमा स्वास्थ्य शिविर लिएर पुग्छन्।

७ पुस, २०८०, १५:३४:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।