बाल मनोचिकित्सक डा. उत्कर्षको उपचार अनुभव: १३ वर्षीय बालिकाले आत्महत्याको प्रयास गरेपछि...

बाल मनोचिकित्सक डा. उत्कर्षको उपचार अनुभव: १३ वर्षीय बालिकाले आत्महत्याको प्रयास गरेपछि...

डा. उत्कर्ष कार्की बालबालिका तथा किशोर किशोरी सम्बन्धी मनोचिकित्सा विषयमा विशिष्टिकृत अध्ययन गरेका चिकित्सक हुन्। उनी हाल कान्ति बाल अस्पतालको बालबालिका तथा किशोर किशोरी मनोरोग विभागमा कन्सल्टेन्ट बालबालिका तथा किशोर किशोरी मनोचिकित्सकका रूपमा कार्यरत छन्।

मानसिक समस्याबाट बच्ने उपायका विषयमा डा. उत्कर्ष परामर्श दिन्छन् नै, विशेषगरी मानसिक समस्या भएर अस्पताल पुगेका बालबालिका तथा किशोरकीशोरीको औषधि, उपचार गर्नुका साथै परामर्श दिनु उनको दैनिकी हो।

मनोरोग प्रौढ उमेरमा आउने समस्याको रूपमा लिन्छ समाजले। तर यो सत्य हैन। बालबालिका अनि किशोर-किशोरीमा पनि यो समस्या हुन्छ नै। अन्य स्वास्थ्य समस्याजस्तै यो पनि परामर्श र उचित उपचारबाट समाधान हुनसक्ने समस्या हो। तर धेरैले यसलाई अलि भिन्न र जटिल रूपमा बुझ्छन्।

उनै डा. उत्कर्षले उकेरासँग चिकित्सकीय पेसाको सिलसिलामा देखे भोगेका दुःखसुख बाँडेका छन्।

ooo

उनले जति बालबालिका र किशोर-किशोरीको उपचार गरे अहिलेसम्म उनीहरूले आत्महत्या गरेको सुनेका छैनन् उनले। तर, प्रयास हुने गरेको भने सुनेका छन्।

आत्महत्याका कारण बालबालिका तथा किशोरकीशोरीले ज्यान गुमाउने गरेको भने उनले सुनेका छन्। उनले आत्महत्याको प्रयास गरेका धेरै बालबालिका अनि किशोर-किशोरीको उपचार गरेका छन्। यस्तै आत्महत्याको प्रयास गरेकी १३ वर्षकी बालिकाको अनुभव सुनाए उनले।

करिब ६ महिनाअघि कान्ति बाल अस्पतालमा ती किशोरीलाई उनको अभिभावकले ल्याएका थिए। ती बालिकाका बुवा विभिन्न मुलुकको दूतावासमा उच्च तहको पदमा काम गरेका कर्मचारी रहेछन्।  आर्थिक रूपमा सम्पन्न।

आफू परराष्ट्र अन्तर्गत दूतावासमा काम गर्ने कर्मचारी भएकाले उनी जता सरुवा भयो श्रीमती र छोराछोरीलाई पनि उतै लिएर जान्थे। आफू जता जता सरुवा भयो छोराछोरीलाई उतै उतै लगेर पढाए। छोराछोरी डेढ-दुई वर्षमा नै ठाउँ परिवर्तन गर्दै कहिले बेलायत, कहिले बेल्जियम, कहिले दक्षिण अफ्रिका र कहिले कता, कहिले कता पुगे।

फिरन्ते जस्तै भएर हिँड्दा कलिली छोरीलाई भने तनाव भएछ। नयाँ ठाउँमा घुलमिल भएर साथी बनाउन पाएको हुन्न देशै बदलिने भएकाले उनी तनावमा परेकी थिइन्।

अस्थिर बसाइले नयाँ ठाउँ, नयाँ भाषा, अनि नयाँ स्कुले साथीसँग घुलमिल हुन नै कठिन भयो। तनाव बढ्दै जाँदा उनी करिब आठ वर्षको उमेरदेखि नै डिप्रेसनको चरणमा पुगिन्।

छोरीलाई मानसिक समस्या देखिन थालेपछि ती कर्मचारीले छोरीको मानसिक समस्याको उपचार गराए।

बाबुआमाले करिब एक वर्ष अघि नेपाल फर्किए सन्तानसहित। ती बालिकालाई नेपालमा पनि घुलमिल हुनै समस्या भयो। नेपाल फर्किएपछि ती बालिका कोठामा एक्लै बस्ने, कोहीसँग नबोल्ने, रुने गर्थिन्। विद्यालय जान मन नलाग्ने, साथीभाइ बनाउन नसक्दा पिडा हुने, खानपिन नमिल्ने जस्ता कारणले ती बालिकालाई चिडचिडापन हुन्थ्यो।

कोठामा मोबाइल र टिभी धेरै हेरेर बस्थिन् बालिका। रातिको सट्टा दिउँसो सुत्ने गर्थिन्। उनको जीवनशैली नै अस्तव्यस्त भयो। उनमा सामान्य हैन गम्भीर (सिभियर) किसिमको डिप्रेसनको लक्षण देखियो।

एक दिन त ती बालिकाले घरमा भएको सबै औषधी खाइदिइछन्। कुन औषधि कति खाइन भन्ने आमाबुवा तथा परिवारका सदस्यले थाहै पाएनन्। एकै चोटि धेरै औषधी खाएपछि ती बालिकाको स्वास्थ्य अवस्था जटिल बनेको थाहा पाएपछि परिवारले बालिकालाई अस्पताल पुर्याए। आइसियुमा उपचार सुरु गरियो। केही दिनको उपचारपछि बालिकाको ज्यान बच्यो र डिस्चार्ज भइन्।

त्यसअघि पनि ती बालिकाले हतियारले आफ्नै हात काट्नेलगायतको तरिका अपनाई धेरै पटक आत्महत्याको प्रयास गरेकी रहिछन्।

६ महिना अघि उनै मानसिक समस्या भएकी बालिकालाई उनका बाबुआमाले कान्ति बाल अस्पतालको बालबालिका तथा किशोर किशोरी मनोरोग विभागमा उपचारका लागि पुर्याए।

डा. उत्कर्षले बालिकाको स्वास्थ्य जाँच गरेर अवस्था बुझे। बालिकामा मानसिक रोग लाग्नुको कारण पत्ता लगाए। त्यसपछि उनले औषधि सुरु गर्दै बाबुआमालाई परामर्श दिए।

अहिले पनि ती बालिका नियमित फलोअपमा छिन्। उनको मानसिक स्वास्थ्य सुधार हुँदै गए पनि विद्यालय भने जान सकेकी छैनन्। घरमा नै ट्युसन पढिरहेकी छिन्। उनलाई सामान्य अवस्थामा फर्काउने प्रयास भइरहेको डा. उत्कर्षले सुनाए।

१२ वर्षका बालकलाई डिप्रेसन भएपछि...

डा. उत्कर्षले दुई वर्ष अघि करिब १२ वर्षका बालकलाई ध्यान केन्द्रित गर्न नसक्ने मानसिक समस्या भएर उपचारका लागि कान्ति बाल अस्पताल पुर्याएको प्रसङ्ग सम्झिए।

ती बालकमा विद्यालय नजाने, नपढ्ने, अटेरी गर्ने, जिद्दी गर्ने, झगडा गर्ने, सामान तोडफोड गर्ने जस्ता व्यवहार देखियो। पहिला त अभिभावकले बच्चाको बानी व्यवहार नै खराब भएको भन्दै कराउने, गाली गर्ने गर्थे। बच्चालाई मानसिक समस्या छ भन्ने विषय बाबुआमाले थाहै पाएनन्।

बच्चाले धेरै नै दुःख दिएपछि केही समस्या पो हो की भनेर बाबुआमाले केही ठाउँमा चेकजाँचको लागि लगे। तर ठिक भएन। एक दिन ती बालकलाई कान्ति बाल अस्पताल पुर्याइयो।

कलिलै उमेरमा आफ्नो बच्चालाई मानसिक समस्या भएकाले ती बालकका बाबुआमा निक्कै निराश र चिन्तित थिए।

डा. उत्कर्षले बालकको स्वास्थ्य परीक्षण गरे। स्वास्थ्य परीक्षणपछि ती बालकलाई उदासीन हुने मानसिक समस्याको लक्षण देखियो। उदासीनताको यस्तो अवस्थालाई मनोचिकित्सकीय भाषामा डिप्रेसिभ डिसअर्डर भनिन्छ। यसको अर्थ ती १२-१३ वर्षका बालकलाई डिप्रेसनको समस्या भएको थियो।

१२ वर्षको उमेरमा डिप्रेसन हुनुलाई अनौठो रूपमा लिँदैनन् डा. उत्कर्ष। किनकि करिब ५० प्रतिशत मनोरोगको समस्या १४ वर्ष उमेरको वरिपरिको समयमा सुरु हुने उनले सुनाए।

कलिलै उमेरमा मनोरोगको समस्या सुरु हुन सक्ने भएकाले बेलैमा रोगको पहिचान गरेर चाँडै उपचार गरेको खण्डमा चाँडै ठिक हुन सक्ने अनि उपचार नपाएको खण्डमा मनोरोगको समस्या जटिल बन्दै जान सक्ने उनले सुनाए।

जैविक तथा वंशाणु, मनोवैज्ञानिक, वातावरणीय तथा सामाजिक गरी मुख्यरुपमा तीन कारणले मानसिक समस्या निम्तिने डा. उत्कर्षले सुनाए। मानसिक रोग निम्तने यी तीन कारणलाई चिकित्सकीय भाषामा बायो, साइको र सोसल कारण भनिन्छ। अधिकांश मनोरोग यी तीनै मिश्रणका कारण मानसिक समस्या हुने उनले सुनाए।

ती बालकलाई भने मानसिक समस्या हुनुमा जैविक कारण नै बढी देखियो। तर, ती बालक डिप्रेसनमा पुग्नुमा मनोवैज्ञानिक तथा वातावरणीय प्रभाव पनि उत्तिकै कारक देखियो।

बालबालिकालाई मनोरोगको समस्या हुने कारण र समाधानको उपायमा बुवा आमा तथा अभिभावक, विद्यालयका शिक्षकको पनि उत्तिकै भूमिका हुने उनी बताउँछन्। त्यसैले मनोरोग भएका बालबालिकाको उपचारमा निक्कै चुनौती समेत हुने डा. उत्कर्ष बताउँछन्।

ती १२ वर्षका बालकलाई डा. उत्कर्षको टिमले औषधि उपचार थाल्यो। औषधि उपचारपछि ती बालकमा भएको डिप्रेसनको मानसिक समस्या ठिक हुँदै गयो। अहिले ती बालक मजाले विद्यालय जान्छन्, पढ्छन्। उनले गर्ने व्यवहार पनि सुध्रिएको छ। छोराको मानसिक अवस्था ठिक भएपछि बुवा आमा दङ्ग नपर्ने कुरै भएन। छोराको समस्या ठिक हुँदै गएपछि ती बालकका बुवा आमा अहिले त छोराको उपचारको सहजताका लागि काठमाडौँ नै आएर बसेका छन्।

बेलाबेलामा उनका बुवा आमा बच्चालाई लिएर फलोअपका लागि अस्पताल आइरहन्छन्। अहिले पनि ती बालकको उपचार जारी नै छ।

पढाइमा ध्यान केन्द्रित मानसिक समस्यापछि...

एक वर्ष अघि करिब १७ वर्षका एक किशोरको उपचार गरेको प्रसङ्ग डा. उत्कर्षले सम्झिए।

करिब १७ वर्षका किशोरलाई बुवाले लिएर कान्तिबाल अस्पताल आएका थिए। अस्पतालमा पुर्याउँदा ती किशोर ११ कक्षामा पढ्थे।

जति ध्यान दिन कोसिस गरे पनि पढाइमा ध्यान नै केन्द्रित नहुने ती किशोरको समस्या थियो। कोसिस गरे पनि पढाइमा ध्यान केन्द्रित नहुँदा ती किशोरको पढाई डामाडोल भएको थियो।

ती किशोरलाई पढ्न कठिनाइ हुनुकासाथै गाह्रो हुन्थ्यो। उनको पढाइको परीक्षा फल झुर हुन्थ्यो। जति मेहनत गरे पनि परीक्षामा नतिजा नै राम्रो आउँदैनथ्यो।

यस्तो ध्यान केन्द्रित नहुने समस्यालाई मनोचिकित्सकीय भाषामा एडिएचडी (अटेन्सन डिफिसिट हाइपरएक्टिभिटी डिसअर्डर) भनिन्छ।

एडिएचडीको मानसिक समस्या भएका व्यक्तिमा विशेष गरी शान्त भएर बस्न नसक्ने, अशान्त हुने, पालो कुर्न नसक्ने, चकचके हुने, अध्ययन तथा काममा ध्यान केन्द्रित गर्न नसक्ने, धेरै बोल्ने, धैर्यता नहुने, छिटो बिर्सने तथा भुल्ने, याद गर्न नसक्ने, योजनाबिना हचुवाको भरमा काम गर्ने जस्ता लक्षण हुन्छन्।

यो समस्या विशेषगरी विद्यालय तहमा पढ्ने बालबालिकामा देखिने गरेको उनले सुनाए।

मस्तिष्क विकासमा नै समस्या भएको अवस्थामा एडिएचडीको यस्तो समस्या देखिने उनले सुनाए। डोपामिन र नरपिनेफ्रिनजस्ता रसायनिक तत्त्वहरूको असन्तुलन र यस्ता तत्त्वले ठिक तरिकाले काम नगरेको खण्डमा एडएचडीको लक्षण देखिने समस्या हुने डा. उत्कर्षले सुनाए।

स्वास्थ्य परीक्षणपछि ती किशोरलाई एडीएचडिकै समस्या भएको डा. उत्कर्षले पत्ता लगाए। किशोरलाई औषधि नै खुवाउनुपर्ने थियो। तर, सुरुमा भने किशोरका बुवाले छोरालाई औषधी खुवाइहाल्न मानेनन्। अर्कोचोटी फलोअपमा आउँदा मात्रै थप परामर्श दिएपछि छोरालाई औषधी खुवाउन किशोरका बुवा सहमत भए।

ती किशोरलाई आवश्यक पर्ने औषधि डा. उत्कर्षले लेखिदिए। तर, त्यो औषधि नेपालमा नपाइने भएकाले भारतबाट मगाएर खुवाउनुपर्यो।

औषधी खान सुरु गरेको करिब डेढ महिनापछि किशोरको मानसिक स्वास्थ्यमा निक्कै सुधार भयो।  पढाइमा ध्यान केन्द्रित हुन थाल्यो। समस्या ठिक हुँदै गयो। अहिले त ती किशोरको मानसिक स्वास्थ्यको अवस्था ठिक भएको र अध्ययन पनि राम्रो भएको उनले सुनाए।

बङ्गलादेशमा एमबिबिएस अध्ययन

उत्कर्ष काठमाडौँको सामाखुसीमा २०४१ मा जन्मिएका हुन्। उनले चार कक्षासम्म काठमाडौँमा नै पढे। त्यसपछि उनका बाबुआमाले भारतको कालिम्पोङ सेन्ट अगस्टिन्स स्कुलमा लगेर पाँच कक्षामा भर्ना गरिदिए। उनी त्यहाँ होस्टेलमा बसेर पढे।

उत्कर्षले त्यही स्कुलबाट आइसीएसई (नेपालको एसएलसी सरह) सम्मको अध्ययन गरे। त्यहीँबाटै उनले सन् २००१ आइएस्सी (११-१२) गरे।

आइएस्सीपछि उत्कर्ष डाक्टर पढ्ने निष्कर्षमा पुगे। उनले एमबिबिएस अध्ययनका लागि तयारी गरे। उनी बंगलादेशको चिटागोंगस्थित युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीमा एमबिबिएस अध्ययन गर्न थाले। एमबिबिएस अध्ययनको अन्तिम पोस्टिङ बालरोग विभागमा नै भएको थियो। सन् २००८ मा एमबिबिएस अध्ययन पूरा गरेर उत्कर्ष नेपाल फर्के।

नेपाल फर्किएपछि डा. उत्कर्षले काठमाडौँको इमाडोलस्थित किष्ट मेडिकल कलेजमा बालरोग विभागमा मेडिकल अधिकृतका रूपमा करिब छ महिना काम गरे। त्यसपछि उनी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गर्न पुगे।

पाटनको बालरोग विभागमा करिब डेढ वर्ष काम गरे। त्यसपछि ईशान बाल अस्पताल, अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा केही समय काम गरे। यसरी विभिन्न अस्पतालमा उनले करिब तीन वर्ष काम गरे।

मनोचिकित्सा विषयमा एमडी

डा. उत्कर्षलाई थप अध्ययन गर्नु छँदै थियो। त्यसैले चिकित्सा शास्त्रको स्नातकोत्तर (एमडी) तहको अध्ययनका लागि विभिन्न ठाउँमा छनोट परीक्षा दिए।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको चिकित्साशास्त्र अध्ययन संस्थानमा स्नातकोत्तर तहको मनोचिकित्सा विषयमा एमडी अध्ययनका लागि डा. उत्कर्ष छनोट भए। उनी त्रिविको चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत सन् २०१२ मा वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा मनोचिकित्सा विषयमा एमडी अध्ययन गर्न थाले। सन् २०१५ मा डा. उत्कर्षको एमडी अध्ययन सकियो।

एमडी अध्ययनपछि डा. उत्कर्ष एमडी अध्ययन गरेकै नेशनल मेडिकल कलेजमा मनोचिकित्सा विभागमा लेक्चररको रूपमा काम गर्न थाले। त्यहाँ उनको बिरामीको औषधि उपचार गर्ने र चिकित्सा शास्त्रका विद्यार्थीलाई पढाउने काम भयो। त्यहाँ उनले दुई वर्ष काम गरे।

विशिष्टिकृत अध्ययनको त्यो अवसर

नेशनल मेडिकल कलेजमा काम गरिरहेकै बेला सन् २०१७ मा डा. उत्कर्षलाई थप अध्ययन गर्ने एउटा सुनौलो अवसर मिल्यो। त्यो अवसरलाई नगुमाउँदै उनले छात्रवृत्तिमा भारतको बैंङ्लोरस्थित नेशनल इन्स्टिच्युट अफ मेन्टल हेल्थ एन्ड न्युरो साइन्सेस (निमह्यान्स) मा बालबालिका तथा किशोर किशोरी सम्बन्धी मनोचिकित्सा विषयमा विशिष्टिकृत (सुपरस्पेशलाइजेशन) तहको अध्ययन सुरु गरे। यो डिएम तहको अध्ययन हो।

बालबालिका तथा किशोर किशोरी सम्बन्धी मनोचिकित्सा विषयमा डिएम गर्ने उनी पहिलो नेपाली चिकित्सक समेत हुन्। यो विषयको अध्ययन गर्न पाउनुलाई उनी निक्कै गर्व गर्छन्। विभिन्न अस्पतालमा काम गर्दा बालरोग विभागमा नै काम गरेका उनलाई बालबालिका सम्बन्धी विषयमा रस बस्यो। त्यसैले आफूले विशिष्टिकृत अध्ययनको क्रममा बालबालिका तथा किशोर किशोरी सम्बन्धी मनोचिकित्सा विषय नै छनोट गरेको सुनाए।

सन् २०२० मा बालबालिका तथा किशोर किशोरी सम्बन्धी मनोचिकित्सा विषयको विशिष्टिकृत डिएम तहको अध्ययन सकेर उनी नेपाल फर्किए। त्यो बेला कोरोना भाइरस सङ्क्रमणका कारण नेपालमा लकडाउनको अवस्था थियो। त्यसैले असारतिर सडक मार्ग हुँदै निक्कै कठिन यात्राका साथ नेपाल फर्किएको उनी सम्झन्छन्।

कान्तिमा काम

विशिष्टिकृत अध्ययन गरेर नेपाल फर्किएपछि डा. उत्कर्षले कान्ति बाल अस्पतालकै बालबालिका तथा किशोर किशोरी मनोरोग विभागमा सन् २०२० मा काम गर्न थाले। उनी हाल कान्ति बाल अस्पतालको यो विभागमा कन्सल्टेन्ट बालबालिका तथा किशोर किशोरी मनोचिकित्सकका रूपमा कार्यरत छन्। उनी यो विभागमा क्लिनिकल प्रमुखको रूपमा समेत कार्यरत छन्।

कान्ति बाल अस्पताल र चाइल्ड वर्करर्स इन नेपाल कन्सर्न सेन्टर (सिविन–नेपाल) को सहकार्यमा यो विभाग सञ्चालित छ। यही माघ महिनाको अन्तिमबाट भने यो विभाग कान्ति बाल अस्पतालले नै लिएर सञ्चालन गर्ने योजना अघि बढेको उनले सुनाए। अहिले बालबालिका तथा किशोर किशोरी मनोरोग विभागमा ओपिडी सेवा मात्र सञ्चालित छ। अब भने यस्तो समस्या भएका बिरामीलाई भर्ना गरेरै उपचार गर्ने तयारी रहेको उनले सुनाए।

मनोरोगको समस्या भएका बालबालबालिका तथा किशोरकीशोरीलाई भर्ना गर्नुपर्ने समेत अवस्था हुने भएकाले भर्ना गरेर उपचारको व्यवस्थापन गर्नुलाई उनी निक्कै सकारात्मक कामका रूपमा लिन्छन्।

बालबालिका तथा किशोरकीशोरीको औषधि उपचार तथा परामर्शका लागि अभिभावकको पनि सहभागिता निक्कै महत्त्वपूर्ण हुने उनले सुनाए। बालबालिका तथा किशोरकीशोरिको उपचारमा बाबुआमा तथा अभिभावकलाई पनि उत्तिकै परामर्शको आवश्यकता हुन्छ।

उपचारपछि बालबालिका तथा किशोर किशोरी ठिक हुँदा बाबुआमा तथा अभिभावकमा आएको मुस्कान देख्दा डा. उत्कर्ष पनि आनन्दित र खुसी हुन्छन्।

बालबालिकालाई पूरै ठिक नहुने किसिमको अटिजम जस्तो समस्या देख्दा भने उनको मन कटक्क हुन्छ। मन भारी हुन्छ। यस्तो विषयमा बाबुआमा तथा अभिभावकलाई परामर्श दिँदा निक्कै संवेदनशील हुनुपर्ने डा. उत्कर्षले सुनाए।

६ माघ, २०८०, २२:५७:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।