डा. वसन्तको उपचार अनुभव : आफ्नै ठूलोबुवाको गिदी देखेर न्यूरो पढ्ने रहर, पिएचडी गरेर नेपाल फर्कँदा ‘बेरोजगार’

डा. वसन्तको उपचार अनुभव : आफ्नै ठूलोबुवाको गिदी देखेर न्यूरो पढ्ने रहर, पिएचडी गरेर नेपाल फर्कँदा ‘बेरोजगार’

प्रा. डा. वसन्त पन्त कलाकार मदनकृष्ण श्रेष्ठको उपचार गरेको प्रसङ्ग पनि कहिल्यै भुल्दैनन्। कलाकार श्रेष्ठको उपचार पनि डा. वसन्तको चिकित्सकीय पेसाको निकै चुनौतीपूर्ण उपचार थियो।

कलाकार मदनकृष्ण श्रेष्ठसँग डा वसन्त पन्तको राम्रै चिनजान थियो। करिब दस वर्षअघि पार्किन्सन्स समस्याले गाँज्दै लगेका कलाकार श्रेष्ठको शल्यक्रियामार्फत मष्तिष्कमा तार अनि छातीमा सानो ब्याट्री (डिभाइस) राखेर उनको शारीरिक तथा मष्तिष्कको अवस्थाले सक्रिय रूपमा काम गर्ने बनाउनु थियो।

यसमा कलाकार श्रेष्ठको टाउकोबाट मष्तिष्कमा एक किसिमको तार हाल्ने अनि छातीमा ब्याट्री राखेर त्यही  ब्याट्रीबाट करेन्ट प्रवाह गराएर मष्तिष्कलाई निरन्तर सक्रिय बनाउनुपर्ने थियो।

नेपालमा त्यस किसिमको शल्यक्रिया पहिला भएको थिएन। डा पन्तले कलाकार श्रेष्ठ र उनका परिवारसँग कुराकानी गरे। उनीहरू राजी भएपछि शल्यक्रिया गर्ने निर्णय भयो।

OOO

प्रा. डा. पन्त न्यूरो (स्नायु) सर्जन त्यसमा पनि विशेष गरी शल्यक्रियाबाट मष्तिष्क तथा नसासम्बन्धी समस्याको उपचार गर्नु उनको दैनिकी नै हो।

उनी नसासम्बन्धी चिरफार गरेर उपचार गर्ने चिकित्सकका रूपमा परिचित। कलाकार श्रेष्ठको उपचारमा उनी पछि हट्थे र।

उनले कलाकार श्रेष्ठसहित समान समस्या भएका पाँच जनालाई तयारी अवस्थामा राखेर जापानबाट आफ्ना गुरु (डा. ताइरा) लाई बोलाए।

शल्यक्रियाको सबै तयारी पुरा भयो। सबैभन्दा पहिले कसको उपचार गर्ने भन्ने दुविधा भने थियो।

चिकित्सकको टिम शल्यक्रिया सफल हुनेमा विश्वस्त नै थियो। तै पनि शल्यक्रिया सफल नभए के गर्ने भन्ने चुनौती त पनि हुने नै भयो।

कलाकार श्रेष्ठ र उनको परिवार चुनौतीलाई स्वीकार गर्न तयार भएकोमा उनी विश्वस्त थिए।

एक दिन डा. ताइराले काठमाडौँ घुम्ने क्रममा कलाकार श्रेष्ठको पोस्टर देखेका रहेछन्। ताइराले उनै कलाकारको मष्तिष्क र छातीको शल्यक्रिया गरेर तार र ब्याट्री राख्नु थियो। मदनकृष्णको उपचार गर्नुपर्ने थाहा पाउँदा पहिला त डा. ताइरा पनि झस्किए रे।

डा. पन्तले सबैभन्दा पहिला कलाकार श्रेष्ठको उपचार गर्ने योजना बनाए। निर्णयअनुसार शल्यक्रिया सुरु भयो। श्रेष्ठको टाउकोमा लोकल एनेस्थेसिया दिएर प्वाल पार्ने भागमा मात्रै लठ्इयो अनि टाउकोमा दुई वटा प्वाल बनाइयो। प्वाल बनाएपछि मष्तिष्क भित्रको मध्य भागमा तार हालियो। त्यो तार हालुञ्जेल कलाकार श्रेष्ठ जोक्स सुनाएर हँसाउँदै थिए।

तार ठीक ठाउँमा पर्यो कि परेन भनेर थाहा पाउन तार हाल्ने क्रममा बिरामीलाई बेहोस नबनाइने उनले सुनाए।

मष्तिष्कभित्र तार राखिसकेपछि त्यो तारमा विद्युतीय तरङ्ग प्रवाह गर्न एनेस्थेसिया दिएर बेहोस बनाइयो। अनि शल्यक्रिया गरेर छातीमा ब्याट्री राखियो। छातीमा राखिएको ब्याट्रीले मष्तिष्कमा राखिएको तारमा विद्युतीय तरङ्ग प्रवाह भएपछि मष्तिष्क सक्रिय भयो। जसले मष्तिष्कलाई सक्रिय बनायो र कलाकार श्रेष्ठको दैनिकी सहज भयो।

धन्य! करिब ६ घण्टाको मेहनतपछि कलाकार श्रेष्ठको शल्यक्रिया सफल भयो। तर, अहिले भएको प्रविधिको विकास र डा. पन्तको टिमको अनुभवले त्यही अप्रेशनको समय घटेर करिब डेढ घण्टामा आइपुगिसक्यो।

यसरी मष्तिष्कमा तार र छातीभित्र ब्याट्री राखिएपछि कलाकार श्रेष्ठलाई हातखुट्टा लगायत शरीरका अङ्ग चलाउन सहज भयो। उनी चिकित्सकहरूप्रति कृतज्ञ हुँदै डिस्चार्ज भए।

यस्तो वायरलेस प्रविधि जडान गरेपछि छातीभित्र राखिएको ब्याट्रीको स्वचालित रूपमा चार्ज गर्ने चार्जर भने ब्याट्री राखेकै छातीको बाहिरी छालामाथि राखिने पन्तले बताए।

करिब २-३ हप्तामा आधा घण्टाजति ब्याट्री चार्ज गर्नुपर्छ। यति हो। यस्तो प्रविधि जडान गरेपछि ब्याट्री अफ गरेको वा चार्ज नगरेको अवस्थामा मान्छेको बोली अड्किने, हातखुट्टा नचल्ने जस्ता समस्या भने हुन्छन्।

पार्किन्सन्स उपचारबाट ठीक हुन नसक्ने समस्या हो। त्यसैले पार्किन्सन्स खलबल्याउने दैनिकीलाई सहज बनाउन यो उपचार विधि अपनाउन सकिने डा पन्त बताउँछन्।

अहिले पनि कलाकार श्रेष्ठ कलाकारितामै संलग्न छन्। उनी बेलाबेलामा फलोअपकालागि अस्पताल आइरहन्छन्।

डा. पन्तका अनुसार टाउकोमा हुने एक किसिमको रसायन उत्पादन नहुँदा विद्युतीय तरङ्गबाट चल्ने मष्तिष्क निष्क्रिय हुँदै जान्छ। जसले गर्दा शरीर कक्क्राकुक्रुक हुने, हातखुट्टा चलाउन गाह्रो हुने जस्ता समस्या देखिन्छन्। कलाकार श्रेष्ठलाई पनि त्यही समस्या भएको उनले सुनाए।

जब श्रेष्ठको शल्यक्रिया सफल भयो अनि  अन्यको शल्यक्रिया गरियो। सबैको शल्यक्रिया सफल भयो। यो १० वर्षको बीचमा डा. पन्तको समूहले कलाकार श्रेष्ठलाइजस्तै समस्या भएका एक सय ७० भन्दा धेरैको उपचार गरिसकेका रहेछन्।

OOO

करिब दश वर्ष अगाडिको अर्को घटना पनि सम्झिए डा. पन्तले। करिब ४५ वर्षका एक सरकारी पुरुष कर्मचारी दैनिक साह्रै धेरै रक्सी पिउने रहेछन्।

रक्सी पिएपछि घरमा झगडा गर्ने अनि श्रीमतीलाई पिट्ने गर्थे उनी। हरेक दिनजस्तै रक्सी पिएपछि श्रीमान् पिट्न लखेट्ने अनि श्रीमती भाग्नेक्रम चलिरहेकै रहेछ।

रातको समय। बिद्युत् पनि थिएन। त्यो दिन उस्तै अवस्थामा उनले श्रीमतीलाई पिट्न लखेटेछन्। लखेट्ने क्रममा उनी घरको माथिल्लो तलाबाट खसेर भुईँमा बजारिए।

गम्भीर घाइते भएका उनलाई श्रीमती र आफन्तले उपचारका लागि अन्नपूर्ण न्यूरो अस्पताल पुर्याए।  डा. पन्तको टिमले स्वास्थ्य परीक्षण गर्यो। उनको टाउकोमा गम्भीर चोट (सिभियर हेड इन्जुरी) भएको देखियो।

टाउकोमा गम्भीर चोट भएकाले उपचारपछि पनि ती पुरुष बाँच्ने आस झिनो मात्रै थियो।

श्रीमतीले अनुरोध गर्दै‘डाक्टरसाप मेरो श्रीमानलाई जसरी भए पनि बचाइदिनुहोस्। उहाँको सास मात्रै छ। उहाँले आँखा मात्रै हेरे पनि पुग्छ’ भनिछन्।

घाइतेको श्रीमतीको अनुरोधले डा. पन्तको मन छोयो। यति धेरै दुख दिएको श्रीमान्को यति धेरै माया! उनलाई अचम्म पनि लागेछ।

चिकित्सकको टिमले घाइतेको टाउकाको शल्यक्रिया गरेर बिग्रेको गिदी (मष्तिष्क) र जमेको रगत निकाल्यो।  जाने र सिपले भ्याएसम्म सबै उपचार विधि अपनायो टिमले। ती कर्मचारीको टाउकाको शल्यक्रिया त सफल भयो तर, सोचे अनुरूप स्वास्थ्यमा भने खासै सुधार हुन सकेन।

शल्यक्रियापछि पनि ती घाइते कर्मचारीलाई करिब दुई महिना अस्पतालमा राखेर उपचार गरेपछि बल्ल ती घाइतेले आँखा खोल्न थाले। अलिअलि प्रतिक्रिया जनाउन थाले। अलिअलि बोलेको जस्तै गरी मुख चलाउन थाले।

त्यसपछि उनलाई डिस्चार्ज गरियो। बिस्तारै उनको स्वास्थ्यमा सुधार हुँदै गयो। केही महिनापछि माया मारि सकिएको उनी पूरै ठीक भए। श्रीमानको ज्यान बचेपछि श्रीमती दङ्ग पर्ने नै भइन्।

ती कर्मचारीको स्वास्थ्य ठीक मात्रै भएन, उनले मदिरा पिउनै च्वाट्ट छाडिदिए। श्रीमती तथा परिवारलाई माया गर्न थाले।

अहिले ती सरकारी कर्मचारी पारिवारिक कलह तथा झै-झगडा नगर्ने, निकै ज्ञानी भएको डा. पन्तले सुनाए।

अहिले पनि उनी बेलाबेलामा फलोअपकालागि अस्पताल आइरहन्छन्। त्यस्तो गम्भीर घाइते भएकाको ज्यान जोगाउन सकेकोमा डा पन्तलाई आनन्द लाग्छ।

त्यति धेरै दुख दिएका घाइते श्रीमानलाई बचाउन सकिन्छ भन्ने ती महिलाको विश्वास सम्झँदा डा. वसन्तलाई अझै पनि अनौठो लाग्ने रहेछ।

डा. पन्तले उकेरासँग ठट्यौली शैलीमा भने,‘चोट लागेपछि कहिलेकाहीँ राम्रो कुरा पनि हुने रहेछ। उहाँको खराब ब्रेन जति सबै गएछ क्यारे।’

पुलिसको छोरो, कहिले यता-कहिले उता

वसन्त काठमाडौँको नयाँ बजारमा २०१७ मा जन्मिएका हुन्। उनले तीन कक्षासम्म लैनचौरस्थित शान्ति विद्या गृहमा अध्ययन गरे। त्यहाँ ६ कक्षासम्म अध्ययन गरेपछि उनी जापान पुगे।

बुवाको एक जना जापानी महिला साथीले पढाउन उनलाई त्यहाँ पुर्याइन्। जापानमा उनले कक्षा घटाएर पढे। करिब तीन वर्ष जापानमा बसेपछि उनी नेपाल फर्किएर तीन महिना बुवासँग सोलुखुम्बुको नाम्चेमा बसे।

त्यसपछि पोखरा पुगे। पोखराको गण्डकी बोर्डिङमा सात कक्षामा भर्ना भएर पढ्न थालेका उनले त्यहीबाट २०३३ मा एसएलसी उत्तीर्ण गरे।

उनको अध्ययन भने औसत रहेछ। दोस्रो श्रेणीमा एसएलसी उत्तीर्ण भएका रहेछन्। उनका बुबा त्यो बेलामा नेपाल प्रहरीका जागिरे थिए। त्यसैले नै उनी बाबुको पोस्टिङसँगै कहिले कता पुग्ने रहेछन्, कहिले कता।

एचए पढेको थाहै नपाएपछि भागेर गोरखा

उनको बुबाको इच्छा छोरालाई डाक्टर नै पढाउने रहेछ। छोरोले एचए पढेर गाउँमा गएर काम गरोस् अनि गाउँले जीवनशैली जानोस् भन्ने उनको बुवाको इच्छा थियो। बुवाको इच्छा अनुसार नै उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको महाराजगन्ज चिकित्सा क्याम्पसमा चिकित्सा शास्त्रको प्रवीणता प्रमाणपत्र तह अध्ययन गर्न थाले।

यो विषयको अध्ययनलाई सामान्य भाषामा हेल्थ असिस्टेन्ट (एचए) भनेर चिनिन्छ।

उनले एचएस अध्ययन त थाले तर करिब एक वर्ष अध्ययन गरेपछि उनलाई एचए पढ्नै मन लागेन। अनि पढ्दापढ्दै घरबाट भागेर पुर्ख्यौली थलो गोरखा पुगे।

छोरो भागेर गोरखा पुगेको थाहा पाएपछि बुवाले पत्ता लगाएर फेरी फर्काएर काठमाडौँ नै ल्याए।

काठमाडौँ फर्कँदा उनको एचएको कक्षा नै छुटिसकेको थियो। महाराजगन्ज चिकित्सा क्याम्पसमा पुन पहिलो वर्षमा भर्ना भएर फेरी एचए पढ्न थाले।

उनले २०३६ तिर तीन वर्षे एचए अध्ययन सक्काए। एचए अध्ययन गरिसक्दा समेत यो विषय किन पढेको भन्ने उनले राम्रोसँग बुझ्नै सकेका रहेनछन्। डाक्टरी विषय किन पढ्दैछु भन्ने उनलाई थाहै भएन। त्यसैले होला एचएमा पनि उनको औसत नम्बर नै आयो।

एचएको अध्ययनपछि भने पन्तलाई डाक्टरी विषय नै पढ्ने रहर बढेछ। त्यसैले एचए उत्तीर्ण पास भएपछि विदेश गएर डाक्टरी विषय पढ्न मन लाग्यो।

तर, उनका बुबाले विदेशमा पढाउन पैसा छैन भनेर पठाउन मानेनन्। ‘विदेशमा पठाएर पढाउने पैसा छैन। तीन वर्ष गाउँमा गएर काम गर। अनि सरकारले नै पढाउने सम्भावना हुन्छ।’

तर विदेश जान नपाएपछि उनलाई बुबादेखि  झ्वाँक चल्यो। अनि स्वास्थ्य मन्त्रालय पुगेर ‘कोही जान नमानेको ठाउँमा मलाई पठाइदिनु’ भन्दै निवेदन दिए। उनको निवेदन देखेर मन्त्रालयका कर्मचारी ‘यस्तो निवेदन त अहिलेसम्म आएको छैन’ भन्दै हाँसेछन्।

मन्त्रालयले दुर्गममा काम गर्न खटाएपछि बुबालाई छोराको पिर हुन्छ अनि बोलाएर विदेशमा पढ्न पठाउँछन् भनेर उनले त्यस्तो निवेदन दिएका रहेछन्।

उनले एचएको अस्थायी जागिर पाए अनि माग अनुसार कालिकोटको दुर्गम ठाउँ चिल्खा स्वास्थ्य चौकीमा खटायो।

उनी जुम्लासम्म हवाइजहाजमा गए। त्यसपछि डेढ दिन हिँडेर स्वास्थ्य चौकी पुगे। त्यो बेला उनको तलब मासिक तीन सय ७५ रूपैयाँ थियो। त्यही बीचमा उनी स्थायी पनि भए। कालिकोटको स्वास्थ्य चौकीमा करिब डेढ वर्ष काम गरेपछि भने वसन्त बैतडीको पाटन स्वास्थ्य चौकीमा काम गर्न पुगे। यी दुवै ठाउँमा पुगेपछि उनले दुर्गम क्षेत्रमा स्वास्थ्यकर्मीको महत्त्व कति रहेछ भन्ने थाहा पाए।

कालिकोट र बैतडी गरी तीन वर्ष काम गरेपछि वसन्त बल्ल काठमाडौँ फर्किए। यी दुवै ठाउँबाट बिदाबारी हुँदा स्थानीयहरू रोएको अहिले पनि झलझली आउने रहेछ उनलाई।

ढोका थुनेर पढ्दा पागलको पगरी

काठमाडौँ फर्कनुको मुख्य उद्देश्य डाक्टर पढ्नु नै थियो। त्यसैले काजमा स्वास्थ्य मन्त्रालयमा सरुवा भएर काठमाडौँ आएका थिए।

काठमाडौँ फर्किएपछि तीन महिना वसन्तले ढोका थुनेर नै एमबिबिएस अध्ययनको छनोट परीक्षाको तयारी गरे। परिवारले उनलाई  खाना पनि कोठैमा ल्याइदिन्थे। उनी सितिमिति बाहिरै निस्कन छाडे।

बाहिर ननिस्किई ढोका थुनेर पढ्न थालेपछि कतिपय छिमेकीले त ‘यो त पागल भएछ क्यारे’ सम्म भने। कसै कसैले पागलको पगरी भिराइदिएको थाहा पाए पनि त्यसले उनलाई भने खासै छोएन।

अब्बल एमबिबिएस

त्यो बेला त्रिभुवन विश्वविद्यालय अन्तर्गतको चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गतको महाराजगन्ज चिकित्सा क्याम्पसमा एमबिबिएस अध्ययनको छनोट परीक्षा दिए। त्यहाँ एमबिबिएस अध्ययनमा छनोट हुन कडा प्रतिस्पर्धा हुन्थ्यो। एचए अध्ययन गर्दा किन पढ्दैछु भन्ने नै राम्रो भेउ नपाएका वसन्तको एमबिबिएस छनोट परीक्षामा भने पहिलो नम्बरमा नै नाम निस्कियो। कोठा थुनेर पढेको काम लाग्यो।

छनोटपछि उनले महाराजगन्ज चिकित्सा क्याम्पसमा एमबिबिएस भर्ना भए। उनमा चिकित्सा शिक्षामा रस बस्दै गयो। सन् १९८९ मा अब्बल अंककासाथ पाँच वर्षे एमबिबिएस अध्ययन पूरा भयो। वसन्तको अंक देखेर परिवारका सदस्यसमेत चकित परे।

पहिलो पटक आफ्नै ठूलोबुबाको गिदी देख्दा 

डा वसन्तले एमबिबिएस अध्ययन सकेर वीर अस्पतालमा इन्टर्न गरिरहेको समयमा उनका ठूलोबुवा (पूर्व सचिव रामराज पन्त)लाई ब्रेन ट्युमर भएको थाहा भयो।

त्यो बेला वीर अस्पतालमा डा. उपेन्द्र देवकोटा काम गरिरहेका थिए। वीर अस्पतालमा ब्रेन ट्यूमरका लागि आवश्यक औजार तथा उपकरण नभएकाले डा. देवकोटाकै सल्लाह अनुसार उनका ठूलोबुबालाई उपचारका लागि भारतको गंगाराम अस्पतालमा लगियो।

भारतको अस्पतालमा शल्यक्रिया गरेर टाउकाको अगाडिको भागको ट्युमर निकाल्ने तयारी भयो। अप्रेसन थिएटरमा शल्यक्रियाको तयारी गरिरहँदा वसन्तले ठूलोबुबाको शल्यक्रिया गर्ने चिकित्सकको टिमलाई आफू एमबिबिएसको इन्टर्न गरिरहेकाले शल्यक्रिया गरेको हेर्न दिन अनुरोध गरेछन्। शल्यक्रियामा खटिएकामध्ये डा. एचएन अग्रवालले नजिकैबाट शल्यक्रिया गरेको हेर्ने अनुमति दिए। उनको ठूलोबुबालाई अप्रेशन थिएटरमा लगेपछि  बेहोस बनाइयो। औजारले ड्रिल गरेर टाउको खोलेर मष्तिष्कमा भएको ट्युमर निकालियो। उनले जिन्दगीमा पहिलो पटक आफ्नै ठूलोबुबाको मस्तिष्क देखे।

‘मैले जिन्दगीमा पहिलोचोटी गिदी देखेकै आफ्नो ठूलोबुबाको हो,’ डा. पन्तले सुनाए'ठूलोबुबाको ब्रेन ट्यूमरको शल्यक्रिया गरेको देख्दा ‘म पनि यति अप्रेसन त गर्न सक्छु होला’ जस्तो लाग्यो।'

चिकित्सकको मेहनतपछि ब्रेनमा भएको ट्यूमरको शल्यक्रिया सफल भयो। केही दिनको अस्पताल बसाइपछि उनका ठूलोबुबालाई पनि अस्पतालले डिस्चार्ज गर्यो।

एक वर्षसम्म बिदा नै नलिई काम

ठूलोबुबाको ब्रेन ट्यूमरको शल्यक्रियापछि भने डा. वसन्तलाई न्यूरो सर्जरीसम्बन्धी काम गर्न मन लाग्यो। त्यसैले एमबिबिएस अध्ययनपछि उनी पोस्टिङ भएर वीर अस्पताल पुगे। वीरमा न्युरो सर्जन डा. उपेन्द्र देवकोटासँग उनले एक वर्ष मेडिकल अधिकृतका रूपमा काम गर्ने मौका पाए। त्यो बेला नेपालमा डा. न्यूरो सर्जन डा. देवकोटा मात्रै थिए।

एमबिबिएसपछि वीर अस्पतालमा नै काम गर्न पुग्नुभन्दा अगाडि डा. पन्तको विवाह भयो। तर वीरमा काम गर्न थालेपछि एक वर्षसम्म एक दिन पनि छुट्टी नलिएको उनले सुनाए।

'दसैँ, तिहार, शनिवार वा कुनै बिदाको दिन पनि म बिदामा बसिन' उनले सुनाए।

त्यो बेला उनी अस्पतालको एउटा पेजर (एक प्रकारको फोन) बोक्थे। विवाह गरेको एक वर्षपछि पहिलो वैवाहिक वर्षगाँठ मनाउनुपर्छ भनेर डा. वसन्त र उनकी श्रीमती पेजरै नलाग्ने ठाउँ धुलिखेलमा पुगे। एक वर्षमा त्यो नै पहिलो दिन थियो बिदा लिएर घुम्न हिँडेको।

जापानबाट न्यूरो सर्जरीमा विद्यावारिधि, नेपालमा बेरोजगार

वीर अस्पतालमा एक वर्षसम्म डा. देवकोटाको नेतृत्वमा काम गरेपछि सरकारी जागिर छोडेर उनी न्यूरो सर्जरी विषय अध्ययनका लागि छात्रवृत्ति कोटामा जापान पुगे। सन् १९९१ मा डा. वसन्तले जापानको हिरोसिमा विश्वविद्यालयमा न्यूरो सर्जरी विषयमा विद्यावारिधि तहको अध्ययन गर्न थाले।

त्यहाँ न्यूरो सम्बन्धी समस्या भएका बिरामीको औषधी उपचार गर्नु अनि अध्ययन अनुसन्धान गर्नु उनको दैनिकी भयो। डा. उनले सन् १०९७ मा पाँच वर्षे विद्यावारिधि अध्ययन पूरा गरे।

विद्यावारिधि पूरा गरेपछि उनलाई जापानमा नै बसेर काम गर्ने अवसर नमिलेको हैन। तर, उनलाई नेपालमा नै फर्केर काम गर्ने इच्छा थियो। त्यसैले विद्यावारिधिको अध्ययन सकेर उनी उत्साहसाथ नेपाल फर्किए। न्य"रो सर्जरी विषयको पाँच वर्ष अध्ययन गरेर नेपाल फर्किएका डा. वसन्त दोस्रो न्य"रो सर्जन थिए। पहिलो थिए डा. देवकोटा।

उनी कामका लागि त्रिवि शिक्षण अस्पतालमा पुगे। अस्पतालले केही समय तलब नलिई काम गर्नुपर्ने सर्त राख्यो। केही महिनापछि जागिरे भइहालिन्छ, ठिकै छ भनेर उनले तलब नलिई काम थाले। तर, आठ महिनासम्म पनि शिक्षण अस्पतालले नियुक्ति दिएन।

आठ महिनासम्म एक रूपैयाँ तलब नदिएपछि उनलाई दिक्क लाग्यो। त्यो बेला नै टाउकोमा चोट लागेका, पक्षघात भएका जस्ता न्यूरो सम्बन्धी आकस्मिक शल्यक्रियाका लागि मात्रै कम्तीमा ३५ जना न्यूरो सर्जनको खाँचो  भएको उनी सम्झन्छन्। तर, उनलाई भने शिक्षण अस्पतालमा जागिर नै दिइएन।

त्यो बेला मोडल अस्पतालका डा. सरोज धितालले उनलाई मोडलमा काम गर्न बोलाए। उनी मोडल आए। तर, त्यहाँ न्यूरो सर्जरी गर्ने सामग्री नै थिएन।

जापानमा अध्ययनका क्रममा न्यूरो सर्जरीका लागि उनले ल्याएका एक ट्यांका सामग्री शिक्षण अस्पतालमा नै छोडिदिएका थिए। उनी न्यूरो सर्जरीका लागि आवश्यक सामग्री खोज्न जापानै पुगे। जापानमा उनले विभिन्न व्यक्ति तथा संस्थासँग सहयोग मागेर न्यूरो सर्जरीका लागि आवश्यक सामग्री लिएर नेपाल फर्किए अनि मोडल अस्पतालमा काम गर्न थाले। त्यहाँ उनले करिब १२ वर्ष काम गरे।

मोडलपछि चिकित्सकलगायतको टिम मिलेर १६ वर्ष अघि काठमाडौँको माइतीघरमा अन्नपूर्ण न्यूरो अस्पताल सुरु गरे। उनी अहिले अन्नपूर्ण न्यूरो अस्पतालको अध्यक्षको जिम्मेवारीमा छन्।

न्युरो सर्जरी, न्यूरोलोजी, रेडियोलोजी, एनेस्थेसिया, अर्थोपेडिक्स विषयका पोस्ट ग्रयाजुएशन (पिजी) तहको शैक्षिक कार्यक्रम पनि चलाइरहेका छन्। त्यो पाकिस्तानी डिग्री भएको उनले सुनाए। त्यसैले न्यूरो सर्जरी सम्बन्धी काम मात्रै नभएर चिकित्सा शास्त्रका विद्यार्थीलाई पढाउनु पनि उनको दैनिकी बनेको छ।

डिप्रेसनमा मस्तिष्कको शल्यक्रिया

उनले मष्तिष्क सम्बन्धी अनौठा अप्रेशनहरू समेत गरेका छन्। त्यस्तै अनौठो अप्रेशन हो डिप्रेसनको। डिप्रेसनको उपचार औषधी सेवन हो। शल्यक्रिया दुर्लभ हो यस्तोमा। तर उनले डिप्रेसन भएकाको मष्तिष्कको शल्यक्रिया गरेर निको बनाएका छन्।

एउटै काम दोहोर्याइरहने (ओसिडी) को समस्या भएका तीन जना व्यक्तिको मष्तिष्कको शल्यक्रिया गरेर समस्या समाधान गरेका छन्। यस्ता किसिमका शल्यक्रिया संसारका कमै मुलुकमा गरिन्छ। उनको साहसले ती कमै मुलुकमा नेपाल पनि परेको छ।

२७ माघ, २०८०, २२:३५:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।