डा. अनुपको उपचार अनुभव : माओवादी द्वन्द्वकालमा श्रीमान गुमाएकी महिलाले १७ वर्षे एक्लो सन्तानलाई पनि गुमाएपछि...

डा. अनुपको उपचार अनुभव : माओवादी द्वन्द्वकालमा श्रीमान गुमाएकी महिलाले १७ वर्षे एक्लो सन्तानलाई पनि गुमाएपछि...

प्राध्यापक डा. अनुप शर्मा शल्य चिकित्सक हुन्। उनी विशेषगरी पेटको क्यान्सर र स्तन क्यान्सरसँग सम्बन्धित शल्यक्रियामा केन्द्रित हुन्छन्। नेपालगञ्जको नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत उनै डा. अनुपले चिकित्सकीय पेशाका शिलशिलामा देखे भागेको अनुभव उकेरासँग साटेका छन् :

000 

माओवादी द्वन्द्वकालमा श्रीमान गुमाएकी महिलाले १७ वर्षे एक्लो सन्तानलाई पनि गुमाएपछि 
एक जना करिब १७ वर्षका युवालाई बचाउन नसकेको घटना सम्झँदा अझै डा. अनुपको मन पोल्छ। घटना करिब पाँच वर्षअघिको हो। झन्डै १७ वर्षीय किशोरलाई उपचारको लागि नेपालगञ्ज मेडिकल कलेजमा पुर्याइएको थियो। ती किशोरमा दिसा गर्दा आन्द्रा नै मलद्वारबाट बाहिर निस्कने समस्या थियो। दा अनुपका अनुसार ती किशोरको दिसा गर्दा आन्द्रा ८/९ सेन्टिमिटर बाहिर निस्कन्थ्यो।

ती किशोरका बुवाको तत्कालीन विद्रोही माओवादी र सरकार पक्षबीच भएको द्वन्द्वकालमा मृत्यु भएको रहेछ। तर, कसरी द्वन्द्वकालमा मृत्यु भएको हो भन्ने विषय त डा. अनुपलाई पनि थाहा रहेनछ। आर्थिक अवस्था कमजोर भएका ती एक्लो सन्तानका रुपमा रहेका छोरालाई एकल आमाले हुर्काएकी थिइन्। 

एकातर्फ ती आमाको सबै सपना भनेको नै ती छोराप्रति थियो भने अर्कातर्फ ती एक्ली आमाको हेरचाहको जिम्मेवारीसमेत उनै छोराको काँधमा आउँदै थियो।

अस्पताल पुर्याइएका ती किशोरको मलद्वारबाट आन्द्रा बाहिर निस्कने समस्याको शल्यक्रिया नै गर्नुपर्ने थियो। त्यसैले डा. अनुपको टिमले उनको शल्यक्रिया थाल्यो। चिकित्सकको टिमले पेट नै खोलेर शल्यक्रिया गरी ती किशोरको मलद्वारबाट बाहिर आन्द्रा खस्ने समस्याको शल्यक्रिया गर्यो। त्यो जटिल शल्यक्रिया सफल भयो। 

शल्यक्रियापछि पोष्ट अपरेटिभ वार्ड हुँदै ती किशोरलाई जनरल वार्डमा सारियो। त्यसपछि उनलाई १/२ दिनमा नै डिस्चार्ज गर्ने तयारी थियो। डा. अनुपलाई याद भएसम्म ती किशोरको शल्यक्रिया गरेको छैठौंं दिन शनिबार परेको थियो। डा. अनुप वार्डमा राउन्ड गर्न गएका थिए। राउन्डमा जाँदा वार्डमा भएका ती किशोरले ‘शरीरको आधा भाग कमजोर भएको छ, बोली पनि लरबरिएको छ’ भन्दै डा. अनुपलाई आफ्नो समस्या सुनाएछन्। त्यसपछि डा. अनुपले उनलाई मस्तिस्कसँग सम्बन्धित समस्या भएको थाहा पाए। 

ती किशोरको भर्खरै मलद्वारबाट आन्द्रा नै निस्कने समस्याको शल्यक्रिया गरिएको थियो। लगत्तै  ती किशोरको अर्को त्यस्तोखाले समस्या सुन्दा डा. अनुपलाई निक्कै खुलदुली लाग्यो नै। ती किशोरको दिसा गर्ने आन्द्रा मलद्वार बाहिर निस्कने समस्या समाधानको शल्यक्रिया पेट खोलेर गरिएको थियो। जुन मस्तिष्कसँग सम्बन्धित समस्या थिएन। तर, कसरी उनलाई मस्तिस्कसँग सम्बन्धित त्यस्तो समस्या  भयो भनेर डा. अनुपले तुरुन्तै कारण खोज्न  थाले। 

ती किशोरको टाउकाको सिटी स्क्यान पनि गरियो। तर, सिटी स्क्यान गर्दा मस्तिष्कमा खासै समस्या नदेखिएपनि हल्का मस्तिष्क सुन्निएको देखियो। तब उनको स्वास्थ्य झन जटिल हुँदै गयो। उनले डा. अनुपलाई समस्या सुनाएको भोलिपल्टै स्वास्थ्य जटिलता निम्तियो, र आइसीयु हुँदै भेन्टिलेटरमा नै राखेर उपचार गर्नुपर्यो। भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै ती किशोरको फोक्सोमा निमोनियाँ भयो। 

चिकित्सकको टिम उनको स्वास्थ्य जटिलताको  कारण पत्ता लगाउँदै बचाउनको लागि अथक प्रयासमा जुट्यो। तर, चिकित्सकको टिमको केही चलेन। भेन्टिलेटरमा राखेको चार दिनमा त ती किशोरले उपचारकै क्रममा प्राण त्यागे। 

ती आमाको एक्लो १७ वर्षीय छोराको उपचारकै क्रममा मृत्यु भएपछि डा. अनुप लगायत चिकित्सकको टिम  मर्माहत बन्यो। जिन्दगीमा कहिल्यै नदेखेको र सोच्दा पनि नसोचेको स्वास्थ्य जटिलता निम्तिई ती किशोरको मृत्यु भएको घटनाले उनको मन पोल्यो।  

के कारणले उनको मृत्यु भएको हो भनेर डा. अनुपले मृत्युको कारण पहिल्याए। उनले चिकित्सा विज्ञानमा हजारौं यस्तो शल्यक्रिया  गरिएका बिरामी मध्ये १/२ जनामा ती युवाको जस्तो स्वास्थ्य जटिलता निम्तिई मृत्यु हुने तथ्य थाहा पाए। तर, के कारणले त्यस्तो स्वास्थ्य  जटिलता निम्तिन्छ भन्ने विषयको भने उनले एकिन अध्ययन तथा तथ्य भेटेनन्। यस किसिमको समस्याको उपचार पनि उनले भेटेनन्। त्यस्तो समस्या हुँदा विस्तारै ठिक हुनुपर्नेमा ती किशोरको भने दुर्भाग्यवश मृत्यु भयो।

ती किशोरका गाउँका मान्छेमा भने ‘पाइल्सको उपचार गर्दा बिरामीको मृत्यु भयो’ भन्ने बुझाई भएछ। त्यसैले ती किशोरको मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालमा सोधखोज गर्न थालेछन्। पछि भने मृतकका आफन्तले पनि मृत्युको कारणबारे बुझेको डा. अनुपले सुनाए। तर, ती किशोरकी आमा भने अस्पताल आएकी थिइनन्। उनका काका लगायतले ती किशोरलाई अस्पतालमा लिएर आएका थिए। छोराको मृत्युले ती आमा एक्ली भएको सम्झँदा अझै डा. अनुपको मन पोल्छ। 

आन्द्राको क्यान्सर भएकी कोरोना संक्रमित ती गर्भवती महिलाको त्यो जटिल शल्यक्रिया गर्दा
अनेक घटनामध्ये अछामकी गर्भवती महिलालाई बचाएको त्यो क्षण पनि डा. अनुपको मानसपटलमा ताजै छ।

प्रसंग केही वर्षअघिको मात्रै हो। दिसा नै हुन नसकेर समस्या भएपछि करिब २७ वर्षकी गर्भवती महिलालाई हेलिकप्टरबाट नेपालगञ्ज मेडिकल कलेज (अस्पताल)मा पुर्याइएको थियो। अस्पताल पुर्याउँदा ती महिला गर्भवती भएको करिब सात महिना भएको थियो। सँगैमा, उनको काखमा करिब चार वर्षका बच्चा थिए। पेटको ठूलो आन्द्रामा भएको क्यान्सर बढेर आन्द्रामा रोकावट भएकाले ती गर्भवती महिलाले दिसा गर्न नसकेको कारण स्वास्थ्य परीक्षण गरेपछि खुल्यो। स्वास्थ्य परीक्षण गर्दा ती गर्भवती महिलालाई कोरोना भाइरस संक्रमणसमेत भएको पुष्टि भयो। 

त्यो अवस्थामा भने चिकित्सकको टिमलाई दुविधा पर्यो। ती गर्भवती महिलाको तुरुन्तै पेटको आन्द्राको शल्यक्रिया गरेर दिसा जाने बाटो नबनाउने हो भने ज्यानै जाने जोखिम थियो भने शल्यक्रिया गरौं कोरोना भाइरस संक्रमण छ। गर्भावस्थाको समयमा कोरोना भाइरस संक्रमण पनि भएकाले ती महिलाको शल्यक्रिया गर्नु निक्कै चुनौतीपूर्ण थियो। कोरोना भाइरस संक्रमणको सुरुवाती चरणमा चिकित्सकको समेत मन आत्तिएको थियो। त्यो समयमा कोरोना संक्रमितको शल्यक्रिया गर्ने भन्ने विषयमा चिकित्सकलाई समेत निर्णय गर्न कठिन हुने अवस्था थियो। किनकी कोरोना भाइरस संक्रमण भएको समयमा शल्यक्रिया गर्दा ज्यान नजाला भन्ने अवस्था थिएन। त्यसमाथि पनि ती महिला त गर्भवती भएकाले शल्यक्रिया गर्नु थप चुनौतीपूर्ण थियो नै। 

तर, शल्यक्रिया नगर्ने हो भने उनको मृत्यु करिब निश्चित थियो। त्यसैले चुनौती मोलेरै भएपनि चिकित्सकको टिमले ती गर्भवती महिलाको शल्यक्रिया गर्ने निर्णय लियो। 

डा. अनुप त्यो बेला सर्जरी विभागको प्रमुख थिए। त्यसैले ती महिलाको पेटको आन्द्राको शल्यक्रियाको लागि उनले सबै व्यवस्थापन गरे। चिकित्सकको टिमले पहिलोपटक त्यसखाले जटिल शल्यक्रिया थाल्यो। त्यसभन्दा अघि नेपालगञ्ज मेडिकल कलेजमा कोरोना संक्रमितको शल्यक्रिया गरेको अनुभव थिएन, चिकित्सकको टिमलाई।

चिकित्सकको टिमले शल्यक्रिया गरी ती महिलाको ट्युमर भन्दा माथिको दिसा गर्ने आन्द्रा पेटबाट निकालेर दिसा गर्ने बाटो बनाइदियो। बायोप्सी गर्दा पेटको ठूलो आन्द्रामा क्यान्सर भएकाले क्यान्सरको ट्युमरका कारण ती महिलाको आन्द्रा नै थुनिएर दिसा बन्द भएको पट्ट लाग्यो। अर्को शल्यक्रियाको योजना बनाउँदै चिकित्सकको टिमले उनलाई केही दिनको अस्पताल बसाइपछि डिस्चार्ज गर्याे।

ती महिलालाई फलोअपमा बोलाइएको थियो नै। त्यही बीचमा उनी सुत्केरी भइन्। सुत्केरी भएको दुई महिनापछि उनी पुनः नेपालगञ्ज मेडिकल कलेज (अस्पताल) पुगिन्। त्यसपछि डा. अनुपको टिमले ती महिलालाई अस्पतालमा भर्ना गरेर पेटको आन्द्राको त्यो जटिल शल्यक्रिया थाल्यो। क्यान्सरको ट्युमर निकालियो। शल्यक्रिया सफल भयो। किमोथेरापी लगायत औषधि उपचार गरियो। महिला सानो शिशु च्यापेर अस्पतालबाट डिस्चार्ज भइन्। 

ती महिला पछि एक पटक फलोअपमा अस्पताल पुगेको डा. अनुपलाई याद छ। बिस्तारै ती महिलाको स्वास्थ्य ठिक थियो। क्यान्सर भएकी ती महिलालाई त्यो जटिल शल्यक्रिया गरी ज्यान बचाएको त्यो प्रसंग डा. अनुप कहिल्यै भुल्दैनन्।  

ती ६ वर्षे बालिकालाई बचाएको त्यो क्षण
आफ्नै नेतृत्वमा पहिलो शल्यक्रिया गरेको प्रसंग पनि डा. अनुप कहिल्यै भुल्दैनन्। प्रसंग करिब १४ वर्षअघिको हो। जतिबेला डा. अनुप शल्यचिकित्सा विषयमा एमएस अध्ययन सकेर भारतबाट फर्किई नेपालगञ्ज मेडिकल कलेजमा लेक्चररका रुपमा काम गरिरहेका थिए। 

करिब ६ वर्षकी  बालिकालाई राती अस्पतालको आकस्मिक कक्षमा पुर्याइएको थियो। उनको स्वास्थ्य परीक्षण गरियो। स्वास्थ्य परीक्षण गर्दा ती  बालिकाको एउटा आन्द्राभित्र अर्को आन्द्रा छिरेर आन्द्रामा रोकावट भएको पत्ता लाग्यो। तुरुन्तै शल्यक्रिया गर्नुपर्ने अवस्था थियो। नत्र बालिकाको ज्यान जान सक्थ्यो। त्यसपछि डा. अनुप नेतृत्वको चिकित्सकको टिमले तुरुन्तै शल्यक्रिया गर्ने निर्णय गरिहाल्यो। सबै तयारीपछि ती  बालिकालाई राती ११ बजे शल्यक्रिया कक्षमा लगियो। आवश्यक चिकित्सकीय प्रक्रिया अपनाएर चिकित्सकको टिमले बालिकाको शल्यक्रिया थालिहाल्यो। बालिकाको आन्द्राको शल्यक्रिया सफल भयो। केही दिनको औषधि उपचारपछि बालिकालाई डिस्चार्ज गरियो। 

राती आकस्मिक कक्षमा पुर्याइएकी ती बालिकाको  ज्यान बचाएर डिस्चार्ज गर्न सकेको त्यो अवस्था सम्झँदा अझै डा. अनुपलाई आनन्द लाग्छ। 

दुई पुरुषलाई बचाउन नसकेको दुई घटना 
करिब सात वर्षअघि पित्त नलीको तल्लो भागको क्यान्सर भएका बझाङका करिब ५५ वर्षका पुरुषलाई शल्यक्रिया गरी बचाएको प्रसंग पनि डा. अनुपको मानसपटलमा ताजै छ। 

अग्नाशय (प्याङ्क्रियाज)को क्यान्सरका कारण पित्त नलीमा नै अवरोध भएर बिरामीमा जन्डिस देखा परेको थियो। शल्यक्रिया गरी अग्नाशयको भाग पनि निकाल्नु पर्ने थियो। जुन पेटको शल्यक्रियामध्येमा ठूलो शल्यक्रिया मानिन्छ। डा. अनुपको टिमले ती पुरुषको त्यो जटिल शल्यक्रिया गर्यो। शल्यक्रिया सफल भयो। बिरामीको ज्यान बाँच्यो। अस्पतालबाट ती पुरुष डिस्चार्ज भए। 

त्यसपछि पनि उनी फलोअपमा आइरहन्थे। तर, दुई वर्षपछि ती पुरुषको क्यान्सर दोहरिएछ। क्यान्सर फैलिसकेको अवस्थामा दोहोरिने डर हुने उनले सुनाए। त्यसैले क्यान्सर दोहोरिएपछि भने चिकित्सकको टिमले ती पुरुषलाई बचाउन सकेनन्। उनको गाउँमा नै मृत्यु भएको डा. अनुपले खबर सुने। आफूले उपचार गरेका ती पुरुषको मृत्युको खबरले डा. अनुपको मन कटक्क भयो। 

त्यसैगरी केही समयअघि आमाशयको क्यान्सरको शल्यक्रिया गरिएका बाँकेका करिब ७७ वर्षका बाजेलाई बचाउन नसकेको घटना सम्झँदा पनि डा. अनुपलाई निक्कै दुःख लाग्छ। ती बाजेको शल्यक्रिया त सफल भएको थियो तर, शल्यक्रिया गरेको करिब तीन हप्तापछि स्वास्थ्य जटिलता निम्तिएर उनको डा. अनुपले सुनाए। 

रसिया पुगेर डाक्टरी अध्ययन
अनुप २०३३ मा काठमाडौंको ताहाचलमा जन्मिएका हुन्। उनले काठमाडौंकै सिद्धार्थ वनस्थली माविबाट २०४९ मा एसएलसी गरे। उनले ११/१२ कक्षा भने भारतको देहरादुनमा पढे। 
 
अनुपलाई पहिल्यैदेखि डाक्टर बन्ने रहर थियो। त्यसैले उनले त्यही अनुसारको तयारी गरे। उनी एमबीबीएस अध्ययनका लागि २०५३ मा रसिया पुगे। रसियाको कालिमिन टिभेयरी एकेडमी अफ मेडिकल साइन्समा एमबीबीएस अध्ययनका लागि भर्ना भए। त्यहाँ एक वर्ष रसियन भाषा र बाँकी छ वर्ष एमबीबीएस अध्ययन गरे। जुन सात वर्षे अध्ययनलाई रसियामा एमडी भनिएपनि नेपालमा त्यसलाई एमबीबीएसको मान्यता दिइन्छ। एमबीबीएस अध्ययन सकेर उनी २०५९ मा नेपाल फर्किए। 

नेपालमा फर्किएपछि उनले वीर अस्पतालमा एक वर्ष इन्टर्नसिप गरे। वीर अस्पतालमा एक वर्ष इन्टर्नसिप गरेपछि डा. अनुपले २०६० देखि २०६२ सम्म भक्तपुर क्यान्सर अस्पतालमा करार जागिरे भएर मेडिकल अधिकृतका रुपमा काम गरे।

पेटसम्बन्धी क्यान्सरको शल्यक्रिया र शैक्षिक काममा केन्द्रित
डा. अनुपलाई थप अध्ययन गर्नु त छँदैथियो। त्यसैले उनी शल्यचिकित्सा विषय अध्ययनका लागि २०६३ मा भारत पुगे। भारतको कर्नाटक स्टेटको मनिपालस्थित कस्तुर्बा मेडिकल कलेजमा भर्ना भएर स्नातकोत्तर तहको शल्यचिकित्सा विषयमा एमएस अध्ययन गर्न थाले। २०६६ मा शल्यचिकित्सा विषयमा तीन वर्षे एमएस अध्ययन सकेर डा. अनुप नेपाल फर्किए। 

एमएस अध्ययन सकेर नेपाल फर्किएपछि डा. अनुप २०६६ मा नै नेपालगञ्जको नेपालगञ्ज मेडिकल कलेजमा लेक्चररका काम गर्न थाले। हाल उनी बढुवा हुँदै प्राध्यापकको शैक्षिक तहमा छन्। त्यति मात्रै हैन, मेडिकल कलेजमा भाइस प्रिन्सिपल हुँदै हाल उनी मेडिकल कलेजको प्रिन्सिपलको भूमिकामा समेत कार्यरत छन्।
  
हाल उनी चिकित्सा शास्त्रका विद्यार्थीलाई पढाउने तथा शैक्षिक गतिविधिका काम अनि बिरामीको औषधि उपचार जस्ता काममा नै व्यस्त हुन्छन्। 

डा. अनुपले २०७२ मा भारतको राजीव गान्धी इन्स्टिच्युटबाट पेट सम्बन्धी क्यान्सरको शल्यक्रियाको विषयमा एक वर्षे फेलोसिप समेत गरेका छन्। त्यसैले उनी अन्य शल्यक्रिया मात्रै नभई विशेषगरी पेटसम्बन्धी क्यान्सरको शल्यक्रियामा समेत केन्द्रित भएर काम गर्छन्।  

५ जेठ, २०८१, १८:०७:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।