डा. धनकेशरको उपचार अनुभव : भिडन्तमा परेर माओवादी लडाकुको खुट्टै छिनेको त्यो दर्दनाक घटना सम्झँदा...

डा. धनकेशरको उपचार अनुभव : भिडन्तमा परेर माओवादी लडाकुको खुट्टै छिनेको त्यो दर्दनाक घटना सम्झँदा...

डा. धनकेशर खड्का छाला तथा यौन रोग विशेषज्ञ हुन्। विशेषगरी छाला तथा यौनजन्य समस्या भएका व्यक्तिको औषधि उपचार गर्नु उनको दैनिकी हो। डा. धनकेशरले चिकित्सकीय पेशाको सिलसिलामा विभिन्न घटना देखेभोगेका छन्। उनले कहिल्यै नभुल्ने केही उपचार अनुभव उकेराको नियमित स्तम्भ डाक्टरका सुख-दुःखमा साटेका छन्।

भिडन्तमा परेर माओवादी लडाकुको खुट्टै छिनेको त्यो घटना
बाँकेको नेपालगञ्जस्थित नेपालगञ्ज मेडिकल कलेजमा एमबीबीएस अध्ययनका गर्दाको एउटा घटना डा. धनकेशरको मानसपटलमा ताजै छ। घटना करिब २१ वर्षअघिको हो। उनलाई याद भएसम्म त्यो बेला उनी एमबीबीएस चौथो वर्षमा अध्ययनरत थिए। दिउँसोको समय थियो। धनकेशर पनि अस्पतालको ड्युटीमा नै थिए।

करिब २८ वर्षका एक जना युवालाई नेपाली सेनाको हेलिकप्टरले उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा पुर्याइयो। ती युवालाई आकस्मिक रूपमा शल्यक्रिया कक्षमा पुर्याइएको थियो। ती घाइते युवालाई अप्रेशन थिएटरको टेबुलमा राखियो। एमबीबीएस अध्ययनरत विद्यार्थी भएकाले धनकेशर पनि चिकित्सकको टिमको सहयोगीका रूपमा शल्यक्रिया कक्षमा नै पुगे।

धनकेशरलाई याद भएसम्म दायाँतर्फकै खुट्टामा हुनुपर्छ। शल्यक्रिया गर्ने टेबुलमा राखेपछि चिकित्सकको टिमले ती युवाको खुट्टामा बाँधिएको सेतो रङको ब्यान्डेज (कपडा) खोल्यो। ब्यान्डेज खोल्दा त ती घाइते युवाको घुँडा भन्दा ठ्याक्कै तलको भाग थोरै छालाले मात्रै अल्झाएको थियो। खुट्टा नै चुँडिन लागिसकेको थियो।

घुँडाभन्दा तलको खुट्टाको भाग क्षत विच्छेद थियो। त्यो देख्दा धनकेशरको मन नै सिरिङ्ग भयो। छाती भारी भयो। शरीर एक तमासको भयो। तर, चिकित्सा पेशा पढेकाले मन थाम्दै उनले अपे्रशन थिएटरमा सहयोगी(अब्जर्भर)को रूपमा काम गरे। उनले बुझ्दै जाँदा थाहा भयो, ती युवा माओवादी लडाकु रहेछन्। सायद रुकुम, रोल्पातिरै हुनुपर्छ।

सेनासँगको भिडन्तमा परेर ती माओवादी लडाकु युवाको खुट्टामा गोली लागेछ। त्यसपछि घाइते युवालाई सेनाले उद्धार गरेर हेलिकप्टरमार्फत नेपालगञ्ज मेडिकल कलेज पुर्याएको रहेछ। ती युवाको खुट्टो जतिसक्दो जाँडै शल्यक्रिया गरी काटेर फाल्नुपर्ने थियो। त्यो बेलासम्ममा खुट्टा बचाउन सक्ने अवस्था नै थिएन। काटेर नफालेको अवस्थामा संक्रमण भएर ती युवाको ज्यानै जाने जोखिम थियो।

त्यसैले चिकित्सकको टिमले कति पनि ढिला नगरी ती युवाको शल्यक्रिया गरी चुँडिन लागेको खुट्टा काट्यो। शल्यक्रिया सफल भयो। ती युवाको खुट्टा बचाउन त सम्भव भएन। तर, ती युवा भने बाँचे। ती युवकलाई अप्रेशन थिएटरबाट निकालेर पोष्ट अपरेटिभ वार्डमा सारियो।

विस्तारै सामान्य (जनरल) वार्डमा सारियो। माओवादी लडाकु युवाको ज्यान बाँच्यो। केही दिन अस्पतालमा औषधि उपचारपछि ती युवा अस्पतालबाट डिस्चार्ज भए। त्यो घटनाबाट धनकेशरलाई शल्यचिकित्सा विषय अध्ययन गर्नुपर्ने रहेछ भन्ने महसुस समेत भयो।

पुरुष डाक्टर देखेपछि महिलाले यौनाङ्गको समस्या नदेखाएपछि...
करिब आठ वर्षअघि २३ वर्षकी मधेसी मुलकी गर्भवती महिला स्वास्थ्य परीक्षणका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगिन्। ती महिलाको यौनाङ्गमा मुसा आएको रहेछ। गर्भवती भएको समयमा यौनाङ्गमा मुसा बढेछ। यौनाङ्गमा मुसा भएको खण्डमा गर्भवती भएको समयमा यौनाङ्गमा मुसा बढ्नसक्ने डा. धनकेशरले सुनाए।

मधेसी मुलकी ती महिला विराटनगरमा पनि उपचारका लागि पुगेकी रहिछन्। तर, त्यहाँ पुरुष डाक्टरलाई देखेपछि स्वास्थ्य परीक्षण नै नगरी धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगिछन्। ती गर्भवती महिलाले टिकट काटेर स्वास्थ्य परीक्षणका लागि ओपिडीमा पुगिन्। ओपिडीमा थिए डा. धनकेशर।

पुरुष डाक्टर देखेपछि ती महिला स्वास्थ्य परीक्षण तथा उपचार नै नगरी घर फर्कन खोजिछन्। डा. धनकेशरले बुझ्दै जाँदा ती महिला पुरुष डाक्टरलाई यौनाङ्गमा भएको मुसाको समस्या देखाउन लाज लागेर स्वास्थ्य परीक्षण नै नगरी घर फर्किन खोजेको थाहा भयो।

यौनाङ्गमा भएको समस्या पुरुष डाक्टरलाई देखाउन लाज भएक कारण ती महिला घर फर्कन खोजेको थाहा पाएपछि डा. धनकेशरले ती महिलालाई महिला डाक्टर भएकै ओपिडीमा पठाइदिएछन्। त्यसपछि मात्रै ती महिलाले महिला चिकित्सकसँगै स्वास्थ्य परीक्षण तथा यौनाङ्गमा भएको मुसाको औषधि उपचार गरेर घर फर्किइन्।

त्यसो त अहिले पनि विशेषगरी यौनजन्य समस्या भएर अस्पताल पुगेका युवती तथा महिलाले पुरुष चिकित्सक देख्नेबित्तिकै लाज मानेर स्वास्थ्य परीक्षण तथा उपचारसमेत नगरी फर्किने गरेको उनले अनुभव सुनाए। कतिपयले त ‘गोप्य अंगमा घाउ छ तर तपाईं पुरुष डाक्टर हुँनुहुँदो रहेछ त्यसैले देखाउँदिन’ भनेर चेकजाँच नै नगरी फर्किने गरेको पनि उनले अनुभव सुनाए।

तर, त्यसैरी महिला चिकित्सकलाई नै चेकजाँच गराउन चाहने युवती तथा महिलालाई डा. धनकेशर पनि महिला चिकित्सकहरूसँगै स्वास्थ्य परीक्षण तथा उपचारका लागि पठाइदिन्छन्।

ढाड दुखेर औषधि खाँदा शरीर नै जलेपछि...
केही वर्षअघि शरीरैभरी पोलेको घाउजस्तो पानी फोका लिएर एक जना महिला धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आइन्।

डा. धनकेशरलाई याद भएसम्म ताप्लेजुङतिरकी महिला हुनुपर्छ। करिब ३५ वर्षकी ती महिलाले ढाड दुखेको पेनकिलर औषधि सेवन गरेकी रहिछन्। तर, त्यहि पेनकिलर औषधि सेवनको साइडइफेक्ट स्वरूप शरीरभरी छाला रातो भएछ। ज्वरो आएछ। त्यसपछि शरीरको छालामा जलन भई छाला पिल्सिएर पानीफोका जस्तै घाउ भएछ।

अस्पताल पुर्याएपछि डा. धनकेशरले ती महिलाको स्वास्थ्य परीक्षण गरे। महिलाको स्वास्थ्य अवस्था जटिल बनिसकेको थियो। औषधिको साइडइफेक्ट स्वरूप यसरी शरीरभरीको छाला नै जलन भएर पानीफोका जस्तो आउँदा करिब ४० प्रतिशत व्यक्तिको मृत्युको जोखिम हुने उनले सुनाए। कतिपय व्यक्तिलाई औषधिको यस्तो साइड इफेक्ट हुनसक्ने उनले बताए।

औषधिको साइडइफेक्ट देखिएको करिब दुई हप्तापछि मात्रै ती महिलालाई अस्पताल पुर्याइएको थियो। अर्को पक्ष त साइडइफेक्ट देखिँदा समेत ती महिलाले सेवन गरेको त्यो साइड इफेक्ट गर्ने ढाड दुखेको औषधि छुटाइएको थिएन।

यसरी औषधिले साइडइफेक्ट देखिए तुरुन्तै साइटइफेक्ट गर्ने औषधि छोड्नुपर्ने डा. धनकेशरको सुझाव छ। त्यो औषधिले गर्दा झन् साइडइफेक्ट बढेछ। औषधिको साइट इफेक्टले गर्दा महिलाको शरीरको छाला जलेर पूरै खुइलिएको थियो। चिकित्सकीय भाषामा यस्तो समस्यालाई टक्सिक इपिडर्मल नेक्रोलाईसिस भनिन्छ।

ती महिला अस्पताल आउन नै ढिला भइसकेको थियो। तर, धन्य। चिकित्सकको टिमको अथक उपचार प्रयासपछि उनको ज्यान बाँच्यो। करिब दुई महिना प्रतिष्ठानमा औषधि उपचार गरेपछि उनी घर फकिईन्।

ढाड दुखेको कम गर्ने पेनकिलरको साइडइफेक्टका कारण शरीरभरी आगोले जलेको जस्तो पानी फोका आउने डा. धनकेशरले बताए। उनका अनुसार यस्तो अवस्थामा बिरामीको ज्यानै जाने जोखिमसमेत हुन्छ।

मृत्युको मुखमा पुगिसकेकी ती महिलालाई उपचारपछि बचाउन सफल भएकोमा डा. धनकेशरलाई खुसी नलाग्ने कुरै भएन। उनी आनन्दित भए। त्यसैले जथाभावी चिकित्सकको सल्लाह बिना पेन किलर औषधि नखान उनको सुझाव छ।

तरहरामा जन्म, डाक्टर पढ्ने रहर 
धनकेशशर सुनसरीको तरहरामा २०३७ मा जन्मिएका हुन्। उनले स्थानीय विद्यालयमा प्रारम्भिक शिक्षा लिए। पाँच कक्षासम्म इटहरीको पिसजोन विद्यालयमा पढेपछि काठमाडौंको सिद्धार्थ बनस्थली विद्यालयमा ६ कक्षामा भर्ना भए।

२०५२ मा एसएलसी दिएका उनले त्यसपछि भने काठमाडौं विश्वविद्यालयबाट आइएस्सी गरे। उनलाई डाक्टरी विषय पढ्ने रहर थियो। त्यसैले उनी बाँकेको नेपालगञ्जस्थित नेपालगञ्ज मेडिकल कलेजमा सन् १९९८ मा एमबीबीएस अध्ययनका लागि भर्ना भए। सन् २००३ मा उनको एमबीबीएस पूरा भयो।

एमबीबीएस अध्ययनपछि उनले काठमाडौंको जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा मेडिकल अधिकृतका रूपमा एक वर्ष काम गरे। त्यहाँ उनले सर्जरी विभागमा नै काम गरे।

छनोटमा छाला तथा यौन रोग विषय, धरानमा जागिर
नेपाल मेडिकल कलेजमा एक वर्ष काम गरेपछि डा. धनकेशर यूएस एमएलईको परीक्षाका लागि अमेरिका पुगेर एक वर्ष बसे। तीन वटामध्ये एउटा परीक्षा अमेरिकामा नै दिनुपर्ने हुन्थ्यो। सन् २००६ को अन्तिमतिर उनी नेपाल फर्किए। उनलाई फेरि अमेरिका नै जाने रहर थियो। तर, घरपरिवारको चाहना लगायतका कारण उनी नेपालमा नै बसे।

सुरुमा सर्जरी विषय पढ्ने योजना बनाएका उनलाई अमेरिकाबाट फर्केपछि भने यो विषय पढ्न मन लागेन। त्यो बेला नेपालमा छाला तथा यौनरोग विषय पढने चिकित्सक कमै हुन्थे। तर, उनले त्यही विषय नै रोजे। विकसित मुलुकतिर भने यो विषय प्राथमिकतामा परिरहेको थियो।

त्यसैले नेपाल फर्किएपछि धनकेशर सन् २००८ मा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नातकोत्तर तहको छाला तथा यौनरोग विषयमा एमडी अधययन गर्न थाले। सन् २०११ मा उनको एमडी अध्ययन पूरा भयो। अहिले यो विषय पढ्ने चिकित्सकको चाप धेरै छ। डा. धनकेशरलाई पनि अहिले भने यो विषय अध्ययन गरेर ठिक गरेछु भन्ने लाग्छ।

हाल उनी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छाला तथा यौन रोग विभागमा एसोसियट प्रोफेसर (सह प्राध्यापक)को रूपमा कार्यरत छन्। त्यसैगरी उनी प्रतिष्ठानको परीक्षा शाखाको एसिस्टेण्ट (सहायक)डिनको भूमिकामा समेत छन्।

व्यक्तिलाई छाला तथा यौनजन्य कुनै पनि समस्या निम्तिए औषधि, उपचार गर्नुका साथै परामर्श दिनु उनको दैनिकी हो। त्यसैगरी नङ, कपाल, कुष्ठरोग जस्ता समस्याको औषधि, उपचार गर्नु उनको अध्ययनको विषय हो। व्यक्तिको अनुहार लगायत शरीरका अंगमा चिकित्सकीय उपचार विधि अपनाई चमकता ल्याउने तथा सुन्दर बनाउने काम समेत यो चिकित्सकीय विधामा पर्छ।

एमडी अध्ययन सक्नासाथ उनी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नै करार जागिरे भएर छाला तथा यौनरोग विभागमा काम गर्न थाले। एक वर्षपछि उनी एसिस्टेण्ट प्रोफेसर (उप-प्राध्यापक)का रूपमा स्थायी भए। त्यसयता उनले प्रतिष्ठानमा काम गरेको करिब १३ वर्ष भयो।

हाल उनी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छाला तथा यौन रोग विभागमा एसोसियट प्रोफेसर (सह प्राध्यापक)को रूपमा कार्यरत छन्। त्यसैगरी उनी प्रतिष्ठानको परीक्षा शाखाको एसिस्टेण्ट (सहायक)डिनको भूमिकामा समेत छन्।

५ फागुन, २०८०, १३:२१:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।