डा. ललितको उपचार अनुभव : आशा मारिसकेको चार वर्षे बालिकालाई बचाएपछि...

डा. ललितको उपचार अनुभव : आशा मारिसकेको चार वर्षे बालिकालाई बचाएपछि...

डा. ललित कुमार राजवंशी ‘एनेस्थेसियोलोजिष्ट तथा कृटिकल केयर’ विशेषज्ञ हुन्। विशेषगरी स्वास्थ्य जटिलता भएर आइसीयु तथा भेन्टिलेटरमा उपचार गर्नुपर्ने बिरामीको औषधि उपचारमा खटिनु उनको दैनिकी हो। उनै डा. ललितले चिकित्सकीय अनुभव उकेरासँग साटेका छन् :

000

घटना केही दिनअघिको मात्रै हो। सवारी दुर्घटनामा परी घाइते भएका ४० वर्षका पुरुष अस्पताल पुगेका थिए। दुर्घटनापछि उनले स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार गराएर घर फर्किएछन्। तर, त्यसको केही दिनपछि उनलाई श्वास फेर्न गाह्रो भएछ। त्यसपछि उनलाई अस्पताल पुर्याइयो। 

अस्पतालमा ती पुरुषको साथमा करिब सात वर्षकी छोरी थिइन्। ती पुरुषकी श्रीमती रहिनछिन्। सायद श्रीमतीसँग उनको पारपाचुके (डिभोर्स) भइसकेको थियो। डा. ललितको टिमले ती पुरुषको स्वास्थ्य परीक्षण गर्यो। स्वास्थ्य परीक्षण गर्दा उनलाई स्वास फेर्न कठिन भएको थियो। छातीमा चोट लाग्नुकासाथै निमोनियाँ भइसकेको थियो।

चिकित्सकको टिमले ती पुरुषको तुरुन्तै औषधि उपचार थाल्यो। अस्पतालमा उनको उपचार गर्दैगर्दा साथमा उनै सात वर्षीय छोरी मात्रै थिइन्। ती घाइते पुरुषकी सानी अबोध छोरी ‘म सँग पैसा छैन, बुवालाई बचाइदिनु’ भन्दै अस्पतालमा रोइरहेकी थिइन्। ती छोरीले रुँदै ‘बुवालाई बचाइदिनु’ भनेको देख्दा डा. ललितको मन कटक्क भयो। 

त्यसपछि डा. ललितको टिमले अस्पताल व्यवस्थापनसँग कुरा गरेर ती पुरुषको निःशुल्क उपचारको व्यवस्था मिलाइदिए। उनले ती पुरुषलाई भेन्टिलेटरमा राखेर उपचार गर्ने चाँजोपाँचो मिलाए। उनको उपचार सुरू भयो। भेन्टिलेटरमा राखेर उपचार नथाल्दा ती पुरुषको तुरुन्तै ज्यान जाने जोखिम थियो। भेन्टिलेटरमा राखेर उपचार गर्नु जटिल अवस्था हो। यस्तो अवस्थामा क्रिटिकल केयरकासाथ औषधि उपचारमा खटिने चिकित्सकको टिम संवेदनशील बन्नुपर्ने डा. ललितले सुनाए। 

डा. ललित बिहान करिब दश बजेदेखि बेलुका करिब तीन बजेसम्म  भेन्टिलेटरमा रहेका ती पुरुषको उपचारमा नै खटिए। बेलुका विस्तारै ती  पुरुषको स्वास्थ्यमा सुधार हुँदै गएको संकेत देखियो। त्यसैले सबै उपचार व्यवस्थापनपछि उनी बाँच्ने आशा लिँदै डा. ललित अस्पतालबाट घर फर्किए। 

तर, राती करिब दश बजे एक्कासि ती पुरुषको उपचारकै क्रममा मुटुको धड्कन बन्द भएछ। जुन खबर उपचारमा खटिएको मेडिकल टिम मध्येका एक जनाले डा. ललितलाई सुनाए। 

हर कोसिस गर्दा पनि ती पुरुषलाई बचाउन सम्भव नहुँदा डा. ललितको मन कटक्क भयो। उनलाई बचाउन सम्भव नभएकोमा उनलाई पिडा भयो, आत्मग्लानि भयो। 

आशा मारिसकेको चार वर्षे बालिकालाई बचाएपछि...
उपचार गरेका सबै व्यक्तिलाई बचाउन सम्भव हुन्छ नै भन्ने पनि हुँदैन। तर, उपचारपछि बिरामीलाई बचाएर अस्पतालबाट डिस्चार्ज गर्दा भने डा. ललितलाई कम खुसी लाग्दैन। 

यस्तै एक जना बालिकालाई बचाएको प्रसंग डा. ललित कहिल्यै भुल्दैनन्। प्रसंग करिब आठ वर्षअघिको हो।मोटरसाइकलले ठक्कर दिएर  घाइते भएकी करिब चार वर्षकी बालिकालाई उपचारका लागि अस्पताल पुर्याइयो। स्वास्थ्य परीक्षण गर्दा ती घाइते बालिकाको छाती, पेट, कलेजो जस्ता भित्री अंगमा चोट लागेको देखियो। अस्पताल पुर्याउँदा ती बालिकाको स्वास्थ्य अवस्था झन् जटिल बनिसकेको थियो। 

आइसीयुमा भर्ना भएकी ती बालिकाको डा. ललितको टिमले  औषधि उपचार गरिरहेको थियो। तर, उपचारकै क्रममा उनलाई निमोनियाँ हुनुकासाथै विभिन्न कारणले स्वास्थ्य जटिलता निम्तिँदै गयो। 

त्यसपछि त बुवाआमाले पनि छोरी बाँच्ने आशा नै मारेछन्। छोरी पनि नबाँच्ने अनि सम्पति पनि सकिने सोचले ती बालिकाका बुवाआमा विच्छिप्त हुँदै चिकित्सकको टिमलाई भनेछन्,‘छोरी बाँच्दिन, अब हामी घर लिएर जान्छौं।’

छोरी बाँच्ने आशा मार्दै घर लाने भनेको कुरा सुनेपछि डा. ललितको मन छोयो। चिकित्सकको टिमलाई भने ती बालिका बचाउने सकिने विषयमा आश मरेको थिएन। तर, ती बालिकालाई घर लगेको खण्डमा भने ज्यान जाने करिब निश्चित थियो। त्यसैले डा. ललितको टिमले उनका बुवाआमालाई निक्कै सम्झाईबुझाई गरेर अस्पतालबाट घर नलान अनुरोध गरे। त्यसपछि बुवाआमाले छोरी बाँच्ने झिनो आशा पालेर अस्पतालमा नै उपचार गराइरहन सहमत भए।

चिकित्सकको टिम ती बालिकाको उपचारमा निरन्तर खटिरह्यो। उपचार खर्चिलो भएकाले कयौं औषधि उपचारमा छुट र सुविधाको व्यवस्थापनमासमेत चिकित्सकको टिम खटियो। 

बिस्तारै बालिकाको स्वास्थ्यमा सुधारका संकेत देखिँदै गए। एक दिन, दुई दिन वा तीन दिन हैन, तीन महिना अस्पताल औषधि उपचारपछि ती बालिकाको स्वास्थ्य ठिक नै भयो। धन्य, ती बालिकाको ज्यान बचाएर चिकित्सकको टिम उनलाई अस्पतालबाट डिस्चार्ज गर्न सफल भयो। 

छोरीको ज्यान बाँचेपछि उपचारमा खटिएको चिकित्सकको टिमप्रति ती बालिकाका बुवाआमा कृतज्ञ हुँदै खुसी भएर मुस्कुराउँदै अस्पतालबाट  घर फर्के। ती बालिकाको ज्यान बचाउन सफल भएको त्यो प्रसंग सम्झँदा अझै डा. ललितलाई आनन्द लाग्छ। अझै पनि बेलाबेलामा ती बालिका फलोअपमा अस्पताल पुग्ने गरेको उनले सुनाए। 

बेहोस बनाएर ब्यूँताउने विद्यामा रुची
ललित झापाको चन्द्रगढीमा २०३७ मा जन्मिएका हुन्। उनले झापाकै प्रज्ञा एकेडेमीबाट २०७४ मा एसएलसी पास गरे। त्यसपछि त्यहीँको मेची बहुमुखी क्याम्पसबाट आईएस्सी गरे। 

आईएस्सीपछि ललितले सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सन् २००० मा भर्ना भएर एमबीबीएस पढ्न थाले। सन् २००५ मा उनको एमबीबीएस अध्ययन सकियो। एमबीबीएसपछि डा. ललितले वीपी प्रतिष्ठानमै एक वर्ष काम गरे। 

डा. ललितलाई थप अध्ययन त गर्नु छँदैथियो। त्यसैले उनले वीपी  प्रतिष्ठानमै सन् २००७ मा ‘एनेस्थेसियोलोजी एण्ड क्रिटिकल केयर’ विषयमा स्नातकोत्तर तहको एमडी अध्ययन सुरू गरे। सन् २०१० मा उनको तीन वर्षे एमडी अध्ययन पूरा भयो। 

सिकिस्त बिरामीको उपचार गर्ने विद्यामा केन्द्रित
एमडी अध्ययनपछि  डा. ललितले मोरङको  बिराटनगरस्थित नोबेल मेडिकल कलेजमा सन् २०१२ सम्म दुई वर्ष लेक्चररका रुपमा काम गरे। त्यसपछि उनले एनेस्थेसियोलोजिष्टका रुपमा बिराटनगरकै तत्कालीन कोशी अञ्चल अस्पतालमा करिब ६ महिना काम गरे। 

डा. ललितलाई क्रिटिकल केयर विषयमा नै केन्द्रित भएर अध्ययन र यसैमा केन्द्रित भएर काम गर्ने इच्छा जागृत भयो। त्यसैले उनी भारतको भेलोरस्थित सिएमसीमा पुगेर क्रिटिकल केयर विषयमा एक वर्षे फेलोसिप गर्न थाले। जुन विशिष्टिकृत (सुपरस्पेशलाइजेशन) तहको अध्ययन हो। त्यहाँ एक वर्षे फेलोसिप सकेर डा. ललित सन् २०१४ मा नेपाल फर्के। 

त्यसपछि सन् २०१४ मा नै डा. ललित मोरङको बिराटनगरस्थित बिराट मेडिकल कलेज र बिराट नर्सिङ होममा काम गर्न थाले। त्यहाँ उनले निरन्तर काम गरेको करिब दश वर्ष भयो। उनी हाल एशोसियट प्रोफेसरको भूमिका, एनेस्थेसियोलोजिष्ट र क्रिटिकल केयर विशेषज्ञका रुपमा कार्यरत छन्। 

कोशीमा क्रिटिकल केयरको नेतृत्व लिँदाका ती चुनौती
त्यो बेला तत्कालीन पूर्वाञ्चल विकास क्षेत्र (हालको कोशी प्रदेश) मा क्रिटिकल केयर विशेषज्ञ नै थिएनन्। त्यो बेला यो विषयको अध्ययन गरेर पूर्वमा काम गर्ने डा. ललित एक्लो चिकित्सक रहेछन्। 

विशेषगरी शल्यक्रिया गर्नुपर्ने बिरामीलाई बेहोस बनाउन मिल्छ की मिल्दैन भनेर निर्क्योल गर्ने काम एनेस्थेस्थेसियोलोजिष्ट चिकित्सकको हुन्छ। त्यसैगरी शल्यक्रिया गर्नुपर्ने बिरामीलाई शल्यक्रियाका लागि बेहोस बनाउनेदेखि शल्यक्रियापछि ब्यूँताउने अनि बिरामीको दुखाई व्यवस्थापन गर्ने जस्ता काम यो विधाका चिकित्सकको हो। त्यस्तै, स्वास्थ्य जटिलता निम्तिई आइसीयुमा राखेर उपचार गर्नुपर्ने बिरामीको औषधि उपचार तथा हेरचाह गर्नु पनि क्रिटिकल केयर विषय अध्ययन गरेका चिकित्सकको काम हो। 

तर, एनेस्थेसियोलोजिष्ट तथा क्रिटिकल केयर विशेषज्ञ डा. ललित यी कामहरू गर्दैनन्। उनी क्रिटिकल केयर विशेषज्ञका रुपमा स्वास्थ्य जटिलता निम्तिई सिकिस्त भएर आइसीयुमा भर्ना भएका बिरामीको औषधि उपचार तथा हेरचाहमा नै केन्द्रित हुन्छन्। क्रिटिकल केयरमा  नै केन्द्रित भएर काम गर्ने विशेषज्ञ चिकित्सकलाई चिकित्सकीय भाषामा ‘इन्टेन्सिभिष्ट’ भनिन्छ। विशेषगरी आइसीयुमा भर्ना गरिएका सिकिस्त बिरामीको औषधि, उपचार तथा हेरचाह (कृटीकल केयर) गर्नु क्रिटिकल केयर विशेषज्ञ डा. ललितको दैनिकी हो। 

नेपालमा क्रिटिकल केयर विशेषज्ञको संख्या न्यून रहेको उनले सुनाए। उनका अनुसार काठमाडौंमा सन् २०१३ बाट क्रिटिकल केयरका विषयको अध्ययन सुरू  भएको हो।  

दश वर्षअघि काठमाडौं उपत्यकामा सीमित अस्पतालमा बाहेक क्रिटिकल केयर विशेषज्ञका रुपमा काम पाउन चिकित्सकलाई मुस्किल थियो। त्यही बेला भारतबाट क्रिटिकल केयर विषयमा फेलोसिप गरेर फर्केका उनी त उपत्यका बाहिर नै काम गर्ने योजनामा थिए। 

तर, उनलाई पनि  विषय अनुसारको काम गर्न चुनौती थियो नै। बिरामीलाई क्रिटिकल केयर सेवा दिनका लागि महंगा मेसिन तथा उपकरण आवश्यक पर्छ। खर्चिलो हुने भएकाले अस्पताल व्यवस्थापकलाई विश्वासमा लिएर क्रिटिकल केयर युनिट चलाउन निक्कै चुनौती भएको उनले अनुभव सुनाए। तथापि यस्ता चुनौतीलाई झेल्दै डा. ललितले दश वर्ष अघिदेखि नै तत्कालीन पूर्वाञ्चलमा एक्लो क्रिटीकल केयर विशेषज्ञको रुपमा बिराटनगरमा काम गर्न थाले र उनले अस्पतालमा क्रिटीकल केयरको सेवा विस्तार गर्दै गए। त्यस परिस्थितिदेखि आज पूर्वमा मापदण्ड अनुसार गुणस्तरिय क्रिटिकल केयर सेवा दिन सकेकोमा उनलाई आनन्द लाग्छ। 

त्यसो त डा. ललितले क्रिटिकल केयर विषयको वृद्धि विकासका लागि पाठ्यक्रम तयार गर्ने, नेपालमा नै यो विषयको अध्ययनका लागि फेलोसिपको व्यवस्थापन गर्ने जस्ता काममा पूर्वमा नेतृत्वदायी भूमिका खेलिरहेका छन्। त्यसैगरी यो विषय सिकाउनका लागि उनले विभिन्न छोटा पाठ्यक्रम (सर्ट कोर्स) तयार गरी चिकित्सक  तथा स्वास्थ्यकर्मीलाई तालिम दिँदै आएका छन्।

त्यतिमात्रै हैन, आपत परेको अवस्थामा बिरामीको मुटुको धड्कन चलाउने सम्बन्धी सीपीआरको तालिम पनि विभिन्न व्यक्ति तथा स्वास्थ्यकर्मीलाई दिँदै आएका छन्। उनले जीवन बचाउनेसम्बन्धी यस्ता विभिन्न तालिमको नेतृत्व गर्दै आएको सुनाए। 

युरोपियनमा डिग्री दोस्रो नेपाली र ५० बढी जर्नलमा लेख प्रकाशित
डा. ललितले सन्  २०१७ मा क्रिटिकल केयरको विषयमा युरोपियन डिग्री (इडिक) लिए। यो डिग्री लिने आफू दोस्रो नेपालको चिकित्सक भएको उनले सुनाए। नेपालमा यो डिग्री लिने दुई जना मात्रै रहेको उनले सुनाए। यो क्रिटिकल केयर सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको उपाधि भएको उनी बताउँछन्। 

उनी खोज तथा अनुसन्धानमा पनि डुब्न रुचाउने चिकित्सक हुन्। डा. ललितका हालसम्म ५० भन्दा बढी स्वास्थ्य सम्बन्धी विभिन्न विषयका अनुसन्धानात्मक लेख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित भएका छन्। 

हाल उनी बिराट जर्नल अफ हेल्थ साइन्सेस्को प्रधान सम्पादकको भूमिकामा समेत छन्। डा. ललितले देश विदेशमा भएका स्वास्थ्य सम्बन्धी कयौं सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्नुकासाथै ज्ञानको अनुभव बाँडेका छन्। 

गीत–संगीतमा रुची
त्यसो त डा. ललित चिकित्सकीय पेसामा त तल्लीन हुन्छन् नै। त्यो  बाहेक उनी गीत, संगीत तथा कलामा पनि त्यतिकै रमाउने व्यक्ति हुन्। उनी गीत गाउँछन्। गितार बजाउँछन्। फुर्सदको समयमा गुनगुनाउँदै गीतका लागि शब्द फुराउँछन् उनी अनि त्यसमा आनन्द लिन्छन्। डा. ललितले रचना गरी स्वर भरेको म्युजिक भिडियोमा डा. सुभास आचार्य र केकी अधिकारीले अभिनय गरेका छन्। 

१२ जेठ, २०८१, २१:०१:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।