डा. सञ्जयको उपचार अनुभवः बालकको मृत्युपछि आफन्तले थुनेर ताला लगाइदिए

डा. सञ्जयको उपचार अनुभवः बालकको मृत्युपछि आफन्तले थुनेर ताला लगाइदिए

बिरामीको मृत्यु भएपछि कतिपय बिरामीका आफन्त आक्रोशितसमेत भएर चिकित्सकलाई दुर्व्यवहारसमेत गर्न पुग्छन्। 
पाटन अस्पतालका ग्याष्ट्रो (ग्याष्ट्रोइन्टेष्टाइनल) सर्जन डा. सञ्जय पौड्यालले समेत एक जना बालकको मृत्यु भएपछि चिकित्सकको टिमलाई नै मृतकका आफन्तले थुनिदिएको एउटा घटना भोगेका छन्।  

घटना करिब पाँच वर्षअघिको हो। बालकलाई उपचारका लागि पाटन अस्पताल लगिएको थियो। अस्पताल पुर्याउँदा बालकको स्वास्थ्य अवस्था जटिल बनिसकेको थियो। बालक बेहोस् अवस्थामा थिए। स्वास्थ्य परीक्षण गर्दा ती बालकको आन्द्रा फुटेको थाहा भयो। 

बालकको तुरुन्तै शल्यक्रिया गर्नुपर्ने अवस्था थियो। अस्पताल पुर्याएपछि ड्युटीमा खटिएका चिकित्सकले तुरुन्तै बालकको शल्यक्रिया गर्ने योजना बनाए। शल्यक्रियाको सबै तयारीपछि शल्यक्रिया सुरु भयो। सहयोगको आवश्यकता परेकाले डा. सञ्जय पनि ती बालकको शल्यक्रियामा खटिएका थिए। 

चिकित्सकको टिमले बालकको शल्यक्रिया थाल्यो। बालकलाई बचाउन चिकित्सकको टिमले हरप्रयास गर्यो। दुर्भाग्य, शल्यक्रिया सफल हुन सकेन। चिकित्सकको मिहिनेत निरर्थक बन्यो। शल्यक्रियाकै क्रममा बालकको मृत्यु भयो। बालकको शरीरमा यति धेरै संक्रमण फैलिसकेको थियो कि बचाउन सम्भव नै भएन। 

बालकको मृत्यु भएपछि बालकका आफन्त शल्यक्रियामा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीप्रति आक्रोशित बने। बेलुकीको समय थियो। आक्रोशित भीडले शल्यक्रिया तथा उपचारमा संलग्न चिकित्सकको टिमलाई अस्पतालको एउटा कोठामा थुनिदिए। आक्रोशित भीडले चिकित्सकको कार्यकक्ष बाहिर ढोकामा ताला नै लगाइदियो। त्यसरी थुनिनेमा डा. सञ्जय पनि परे। 

त्यसपछि अस्पतालमा थुनिएका चिकित्सक तथा स्वास्थ्यकर्मीको उद्धारका लागि प्रहरी पुग्यो। केही घण्टा थुनिएर बसेपछि प्रहरी लगायतले ताला खोलेर चिकित्सक तथा सवस्थ्यकर्मीको टिमलाई निकालेको डा. सञ्जयले सुनाए। ‘त्यो बेला बेलुकीको समयमा केही घण्टा थुनिनुपर्यो,’ उनले सुनाए। 

त्यसपछि वार्ता गरेर मृतक बालकका परिवार तथा आफन्तलाई सम्झाएपछि भने समस्या समाधान भएको उनले सुनाए। बिरामी बचाउने प्रयासमा खटिँदा थुनिनुपरेको त्यो घटना सम्झँदा उनको मन अमिलो हुन्छ।

त्यसरी बिरामी बचाउने हरप्रयास गर्दा समेत चिकित्सक तथा फ्रन्टलाइनर स्वास्थ्यकर्मीले कहिलेकाहीँ बिरामीका आफन्तबाट दुर्व्यवहार खेप्नुपर्दा उनलाई निकै चित्त दुख्छ।

चिकित्सा विज्ञानमा रोगको शतप्रतिशत उपचार सम्भव हुँदैन। एकै प्रकृतिको रोगको अवस्थामा समेत कोही बिरामी उपचारपछि बाँच्छन् त कसैलाई भने बचाउन सम्भव हुँदैन।

तर, उपचार गरी बिरामी बचाउने प्रयास गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आक्रमण गर्नुलाई उनी निकै ठूलो विडम्बनाका रूपमा लिन्छन्। बिरामीको उपचारबारे चित्तनबुझे कानुनी उपचारको प्रक्रिया अपनाउन सकिने भए पनि त्यसरी आक्रमणमा नै उत्रिनुलाई अराजकताको उदाहरणका रुपमा लिन्छन् उनी। 

अस्पतालमा बिरामीको धेरै चाप हुने भएकाले एक जना चिकित्सकले नेपालमा धेरै बिरामीको स्वास्थ्य जाँच गर्नुपर्ने अवस्था छ। जसले गर्दा पर्याप्त समय अभावका कारण बिरामी तथा बिरामीका आफन्तलाई रोगबारे पर्याप्त परामर्श दिन कठिन हुन्छ। त्यसैले कतिपय बिरामी तथा बिरामीका आफन्त आक्रोशित बन्ने गरेका उनी बताउँछन्। 

त्यति मात्रै हैन। बिरामी तथा बिरामीका आफन्त अस्पतालमा टिकटको लाइन बस्दा होस् वा उपचार प्रक्रियाका लागि नै किन नहोस्, लाइन बस्नेलगायत प्रशासनिक झण्झट बेहोर्नुपर्ने अवस्था छ। जसले बिरामी तथा बिरामीको आफन्त थकित भइसकेका हुन्छन्।

उपचार क्रममा कुनै समस्या निम्तिए ती सबै झण्झटको बेहोर्ने भने फ्रन्टलाइनमा बसेका चिकित्सक नै हुन्छन्। त्यसैले चिकित्सकले नै बिरामी तथा बिरामीका आफन्तबाट दुर्व्यवहारको समेत सामना गर्नुपर्ने अवस्था आइलाग्ने डा. सञ्जयले सुनाए। 

तर, सबै उपचार व्यवस्थापन चुस्त भए बिरामी तथा बिरामीका आफन्तबाट हुने यस्ता दुर्व्यहारलगायत समस्या कम हुँदै जाने भने उनलाई विश्वास छ। 

आक्रोशित हुने अधिकांशले अवस्था नै नबुझेका कारण चिकित्सक तथा स्वास्थ्यकर्मीप्रति आक्रोश पोख्ने गरेका उनको अनुभव छ। तर, कतिपय बिरामीका आफन्त भने गलत नियतका हुने पनि उनले बताए। 

त्यसैले आक्रोशित भएका बिरामीका आफन्तको सबैभन्दा पहिले उनी कुरा सुन्ने प्रयास गर्छन्। त्यसपछि बुझाउने कोसिस गर्छन्। समन्वय गर्छन्। तर, भीडसँग भने भाग्नुपर्ने अवस्थासमेत आइलाग्ने डा. सञ्जयले अनुभव बताए। 

...जब अप्रेशन टेबुलामा नै कलेजो फुटेका युवाको मृत्यु भयो

आन्द्रा फुट्ने, कलेजो च्यातिने, फियो च्यातिने, अग्नाशय च्यातिनेजस्ता पेटका अंगमा चोट लागेर घाइते भई रगत बग्ने समस्या भएका धेरै व्यक्तिलाई डा. सञ्जयले बचाएका छन्।

तर, पेटका विभिन्न अंगमा चोट लागेका कतिपय व्यक्तिलाई भने बचाउन नसक्दा उनलाई नरमाइलो लाग्छ। 'कहिलेकाहीँ त पेटमा यति धेरै रगत बगेका बिरामी आउँछन्, उपचारपछि समेत बचाउन सम्भव हुँदैन,' उनी भन्छन्। 

१० वर्षअघि करिब २२ वर्षका युवालाई बचाउन नसकेको यस्तै एउटा घटना सम्झन्छन् डा. सञ्जय। ती युवा सडक दुर्घटनामा परेका रहेछन्। दुर्घटनामा परेपछि आकस्मिक रूपमा पाटन अस्पतालमा पुर्याइएछ। युवा बेहोस अवस्थामा थिए। स्वास्थ्य परीक्षण गर्दा उनको कलेजो फुटेर च्यातिएको थियो। कलेजोमा चोट लागेर छियाछिया भएको थियो। जसले गर्दा कलेजोबाट पेटमा अत्याधिक रक्तश्राव भइरहेको थियो। 

घाइते युवालाई अक्सिजन दिइयो। मेसिनको सहायताले श्वासप्रश्वास गराइयो। स्लाइन दिइयो। रगत दिइयो। डा. सञ्जयलगायत चिकित्सकको टोलीले तुरुन्तै शल्यक्रिया गरेर ती युवाको कलेजोबाट भइरहेको रक्तश्राव रोक्ने प्रयास गर्यो।

चिकित्सकको टिमले जानेजति सबै ज्ञान तथा सीप प्रयोग गरेर ती युवालाई बचाउने प्रयास गरेको उनी बताउँछन्। तर, केही गरे पनि रक्तश्राव रोकिएन। ती युवालाई बचाउने चिकित्सकको टिमको हरप्रयास विफल भयो। शल्यक्रियाका क्रममा ती युवाको अप्रेशन टेबुलमा नै मृत्यु भयो। ‘अप्रेशन गर्दागर्दै यति धेरै रक्तश्राव भयो कि केही गर्नै सकिएन,’ डा. सञ्जय ती पल सम्झँदै भन्छन्, 'युवालाई बचाउन सकिएन।'

अप्रेशन टेबुलमा नै मृत्यु भएको घटनालाई चिकित्सकीय पेशामा निकै दुःखदायी घटनाका रूपमा लिइन्छ। 

ती युवा मृत्यु भएको खबर अप्रेशन थिएटरबाहिर कुरिरहेका आफन्तलाई सुनाउनसमेत कठिन भएको उनले अनुभव सुनाए।

तर, मृत्युको खबर सुनाउनै पर्यो। कुरिरहेका परिवारलाई डा. सञ्जयले नै युवालाई बचाउन सम्भव नभएको मृत्युको खबर सुनाए।

माया मारिएकी महिलाको त्यो जटिल शल्यक्रिया

पेटमा ट्युमर भएकी महिलालाई बचाएको प्रसंग पनि डा. सञ्जय कहिल्यै भुल्दैनन्। करिब ४० वर्षकी ती महिला चार वर्षअघि पाटन अस्पतालमा पुगिन्। महिलाको पेटमा ठूलो ट्युमर थियो। भारतको लखनउस्थित एउटा अस्पतालमा त्यो ट्युमर निकाल्न पेटको शल्यक्रिया भएको रहेछ। तर, ट्युमर निकाल्न सम्भव भएनछ। शल्यक्रिया गरेर ट्युमर निकाल्न सम्भव नभएपछि त्यो ट्युमरको मासुको जाँच (बायोप्सी) मात्र गरेर डिस्चार्ज गरियो।

तर, त्यो बायोप्सी परीक्षणमा कुनै विशेष रोगसमेत यकिन नभएको डा. सञ्जय बताउँछन्। भन्छन्, 'कहिलेकाहीं यस्तो अवस्था आइपर्छ।' 

भारतमा शल्यक्रिया असफल भएको दुई वर्षपछि ती महिला बाँच्ने झिनो आशा बोकेर पाटन अस्पताल आइपुगेकी थिइन्। पाटन अस्पतालमा डा. सञ्जयको टिमले उनको स्वास्थ्य परीक्षण गरेको थियो। 'ट्युमर करिब १५ सेन्टिमिटरको थियो। पेटको ट्युमरका कारण ती महिलाको पेट फुलेर टाइट भएको थियो। ट्युमरका कारण उनलाई निकै असहज भएको थियो। जीवन नै माया मारिसकेको अवस्था थियो,' डा. सञ्जय भन्छन्। 

महिलाको पेटको अग्नाशय (प्याङ्क्रियाज) मा एक प्रकारको ट्युमर थियो। त्यो ट्युमर क्यान्सर पनि हुन सक्थ्यो। तर, डा. सञ्जयले सोचे,‘ट्युमर पलाएर शल्यक्रिया असफल भएको २ वर्षसम्म यी महिला बाँचिन्। यदि क्यान्सर भएको भए २ वर्ष बाँच्न सम्भव नहुन सक्थ्यो।’ 

त्यसैले डा. सञ्जय ती महिलाको पेटको शल्यक्रिया गरी बचाउन सम्भव रहेको निष्कर्षमा पुगे। शल्यक्रिया जटिल र जोखिम थियो। तर, शल्यक्रिया गरेर महिलालाई बचाउने प्रयास गर्नुको विकल्प पनि थिएन।

त्यसैले चिकित्सकको टिमले ती महिलाको शल्यक्रिया गरेर ट्युमर निकाल्ने योजना बनायो। सबै व्यवस्थापनपछि चिकित्सकको टिमले ती महिलाको ट्युमर निकाल्ने शल्यक्रिया थाल्यो। ट्युमर अग्नाशयको ग्रन्थीबाट निस्किएको रहेछ।

करिब १० घण्टाको मिहिनेतपछि डा. सञ्जयको टिमले ती महिलाको पेटको त्यो ट्युमरको ढिक्का नै निकाल्न सफल भयो। 
शल्यक्रिया सफल भएपछि महिलालाई भेन्टिलेटरमा राखियो। महिलाको ज्यान बाँच्यो।

त्यो बेला परिवारले माया नै मारिसकेकी ती महिला अहिले पनि फलोअपमा रहेकी र स्वस्थ रहेकी डा. सञ्जय सुनाउँछन्। ‘हामीले शल्यक्रिया गरेको करिब ४ वर्ष भयो। रोग फर्केर आएको छैन। उहाँले सामान्य जीवन बिताइरहनुभएको छ,’ उनले सुनाए। 

जटिल शल्यक्रियापछि बाँचेका शिक्षक साथी 

त्यसो त डा. सञ्जयले उपचार गरेर बचाएका कतिपय व्यक्ति त साथी नै बनेका छन्। उनले उपचार गरेकामध्ये लमजुङका एक जना शिक्षक साथी नै बने। 

लमजुङका ती करिब ४० वर्षका शिक्षक करिब १० वर्षअघि उपचारका लागि पाटन अस्पतालमा पुगेका थिए। ती शिक्षकलाई ‘प्याङ्क्रियाटिक (अग्नाशय) न्यूरोइन्डोक्राइन ट्युमर’को समस्या भएको थियो।

जुन समस्या लाखौंमा एक जनालाई हुन सक्ने अत्यन्तै दुर्लभ क्यान्सर रोग हो। डा. सञ्जयको टिमले ती शिक्षकको जटिल किसिमको शल्यक्रिया गर्यो।

अग्नाशयको टाउको तथा त्यसको भाग, सानो आन्द्राको भाग, आमाशयको भाग, पित्त थैली, पित्त नलीजस्ता अंगको शल्यक्रिया गरी ढिक्कै निकालियो। जुन पेटको शल्यक्रिया गरिनेमध्ये जटिलमा पर्छ। ती शिक्षकको पेटको त्यो शल्यक्रिया गर्न करिब १० घण्टा लागेको उनी बताउँछन्। 

यस्तो शल्यक्रियापछि पनि करिब एक हप्ता बिरामीको स्वास्थ्य जटिलता नै हुने उनी बताउँछन्।

धन्य ती शिक्षकको शल्यक्रिया सफल भयो। बिरामीको ज्यान बाँच्यो। ती शिक्षक केही हप्ताको अस्पताल बसाइपछि ठिक भए। सञ्जयसँग ती शिक्षकको सम्पर्क नम्बर आदानप्रदान भयो। कुरा हुँदै गयो। अहिले त ती शिक्षक साथी नै भएका सञ्जय सुनाउँछन्। अहिले ती शिक्षक सामान्य दैनिक जीवन बिताइरहेका सञ्जय बताउँछन्। 

भोजमा १० वर्षअघि उपचार गरेका युवा

भोजका क्रममा भएको एउटा भेट पनि डा. सञ्जयका लागि रमाइलो प्रसंग छ। केही महिनाअघि डा. सञ्जय एउटा भोजमा गएका थिए। त्यहाँ एक व्यक्ति भेटिए। ती व्यक्तिले आफ्नो छोरालाई देखाउँदै डा. सञ्जयलाई भनेछन्,‘यो छोरालाई तपाईंले बचाएको हो नि डाक्टर साप।’ 

डा. सञ्जयले यसो हेरे। ती आफूले उपचार गरेर बचाएका भनिएका युवा करिब १८ वर्ष पुगेका रहेछन्। उपचार गरेर बचाएको प्रसंग ती युवाका बुवाले भनेपछि बल्ल डा. सञ्जयले बालकको उपचार गर्दाको त्यो प्रसंग सम्झिए। 

ती बालकको ५-६ वर्षका उमेरमा आन्द्राबाट रगत बगेर पाटन अस्पताल पुगेका रहेछन्। बालकको स्वास्थ्य अवस्था जटिल बनेको थियो। निकै जोखिम मोलेर ती बालकको आकस्मिक शल्यक्रिया गरी डा. सञ्जयको टिमले बचाएको रहेछ। ती बालकको जन्मजात नै आन्द्राको बनावट बिग्रिएको रहेछ। 

ती व्यक्तिले त्यो भोजमा छोराको शल्यक्रियापछि बचाएको प्रसंग सम्झाउँदै कृतज्ञ भएर धन्यवाद दिए। 

त्यसो त कतिपय १२-१५ं वर्षअघि क्यान्सर लागेर घर परिवारले माया मारिसकेका तर औषधि उपचारपछि ठिक भएका बिरामीहरू फलोअपका लागि उनलाई भेट्न पुग्छन्। त्यसरी परिवारले माया मारेका तर औषधि उपचारपछि ठिक भएका बिरामी बाँचेर सामान्य दैनिकीमा फर्किएको देख्दा उनलाई आनन्द लाग्छ। तर, बिरामीलाई बचाउन नसकेको घटना सम्झँदा भने उनको मन भारी हुन्छ।

बुवा पत्रकार छोरा डाक्टर

सञ्जय रुपन्देहीको हालको तिलोत्ताा नगरपालिकामा २०३० सालमा जन्मिएका हुन्। उनले स्थानीय साविक आनन्दवन गाविसमा पर्ने शान्ति नमुना माविबाट २०४६ मा एसएलसी गरे। 

९-१० कक्षामा पढ्दा पञ्चायतविरोधी विभिन्न राजनीतिक आन्दोलनमा हिँडेको उनी सम्झन्छन्। त्यो बेला राजनीतिक दलहरूका विद्यार्थी संगठनहरू विद्यालयमा नै आएर विद्यार्थीहरूलाई आन्दोलनमा सहभागी गराउँथे। ‘कहिले राँके जुलुसमा हिँडियो, कहिले कता गर्दै विद्यार्थीहरूसँग आन्दोलनमा हिँडियो,’ उनले ती पल सुनाए। 

सञ्जयका बुवा त्यो बेला पत्रकारिता गर्थे। आमा शिक्षिका थिइन्। उनको शिक्षित परिवार हो। जसले गर्दा उनलाई अध्ययनका लागि उत्प्रेरणा मिल्थ्यो नै। एसएलसीपछि भने सञ्जय थप अध्ययनका लागि काठमाडौं हानिए। काठमाडौं आएर बालाजुको सिद्धार्थ बनस्थलीबाट उनले आईएस्सी गरे। 

सञ्जयलाई डाक्टर बन्ने सपना थियो। त्यसैले उनले विभिन्न ठाउँमा छात्रवृत्ति कोटामा एमबीबीएस अध्ययनका लागि छनोट परीक्षा दिए। नेपालमा त्यो  बेला डाक्टर पढ्न त्रिभुवन विश्वविद्यालयअन्तर्गत महाराजगञ्ज चिकित्सा क्याम्पस मात्रै थियो। त्यहाँ सीमित सिट हुन्थ्यो। त्यहाँ पढ्न नपाउनेले विदेश नै जानुपर्ने अवस्था थियो। 

त्यसपछि काठमाडौं विश्वविद्यालयअन्तर्गत पोखरास्थित मणिपाल कलेज अफ मेडिकल साइन्सेस खुल्यो। सञ्जयले छनोट परीक्षा दिए। छानिए पनि।

त्यसपछि मणिपाल कलेज अफ मेडिकल साइन्सेसमा सन् १९९४ भर्ना भएर एमबीबीएस अध्ययन गर्न थाले। उनी त्यस मेडिकल कलेजको पहिलो ब्याचका विद्यार्थी रहेछन्।

त्यहाँ पढाइ सकेर सन् १९९९ मा उनी एक वर्षे इन्टर्नसिपका लागि ललितपुरको पाटन अस्पतालमा आए। इन्टर्नसिप सक्नासाथ डा. सञ्जयले पाटन अस्पतालमा नै मेडिकल अधिकृतको करार जागिरेका रूपमा काम सुरु गरे। करिब २ वर्ष करार जागिरेका रूपमा काम गरिसकेपछि उनले थप अध्ययन गर्न थाले। 

छनोटमा सर्जरी 

डा. सञ्जयले त्रिभुवन विश्वविद्यालयअन्तर्गत महाराजगञ्ज चिकित्सा क्याम्पसमा सन् २००२ मा भर्ना भएर स्नातकोत्तर तहको जनरल सर्जरी विषयमा एमएस अध्ययन सुरु गरे। सन् २००४ को अन्त्यमा तीन वर्षे एमएस सर्जरी विषयको अध्ययन सकियो।

​एमएस सर्जरीको अध्ययन सक्नासाथ जनरल सर्जनका रूपमा डा. सञ्जयले सन् २००५ को सुरुबाटै पाटन अस्पतालमा पुनः काम गर्न थाले। पाटन अस्पतालका डा. मार्क जीमरम्यानले सञ्जयलाई पाटन अस्पतालमा नै काम गर्न उत्प्रेरित गर्थे। त्यसकारण पनि उनी त्यहाँका जागिरे भएका रहेछन्। 

त्यहाँ काम थालेको करिब एक वर्षमा डा. सञ्जय स्थायी भए। उनी त्यहाँ काम गर्दैगर्दै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्यो। त्यसपछि बिरामीको औषधि उपचारलगायत सेवाको काम मात्रै हैन, चिकित्सा शास्त्रका विद्यार्थीलाई पढाउने कामसमेत हुन थाल्यो।

डा. सञ्जय सहप्राध्यापक हुँदै बढुवा भएर प्राध्यापक भए। सन् २०१० मा डा. सञ्जय चीनमा पुगेर ग्याष्ट्रो (ग्याष्ट्रोइन्टेष्टाइनल) सर्जरी र हेपाटोबिलियरीसम्बन्धी एक वर्षे फेलोसिप गरे। यी पाचन नलिसम्बन्धी सर्जरीका विधा हुन्। ज्ञान र सीप सिकेर उनी नेपाल फर्के। यसरी हेर्दा पाटन अस्पतालमा उनले काम गर्न थालेको करिब २४ वर्ष भयो।

डा. सञ्जयले ६ वर्ष सर्जरी विभागको प्रमुखको रूपमा काम गरे। अहिले भने उनी प्रतिष्ठानको स्नातकोत्तर (पोष्ष्ट ग्राजुयट-पीजी) कार्यक्रम संयोजक र ग्याष्ट्रोइन्टेष्टाइनल (जीआई) सर्जरी युनिटको इन्चार्जको भूमिकामा छन्। 

खाना नलीदेखि पाचन प्रक्रिया हुँदै मलद्वारसम्मका अंग र कलेजो, पित्त, अग्नाशयजस्ता अंग रोगको शल्यक्रिया गरी उपचार गर्नु डा. सञ्जयको दैनिकी हो।

विशेषगरी एपेन्डिसाइटिस, पित्तथैलीको पत्थरी, पित्तनलीका पत्थरीहरूजस्ता शल्यक्रिया गरी उपचार गर्नु उनको दैनिकी हो। त्यसैगरी आन्द्रा फुट्ने, आन्द्रामा चोटलाग्ने जस्ता रोगहरूको शल्यक्रिया गरी उपचार गर्छन् उनी। 

पाचननली तथा प्रणालीमा भएको क्यान्सरको शल्यक्रिया गरी उपचर गर्नु उनको दैनिकी हो। खानानली, आमाशय, अग्नाशय, पित्त नली, पित्त थैली, कलेजो, ठूलो आन्द्रा, सानो आन्द्राजस्ता अंगमा लाग्ने रोगको शल्यक्रिया गरी उपचार गर्ने चिकित्सकीय विधा हो उनको।

पायल्स, फिसर, फिस्टुलाजस्ता मलद्वारमा हुने रोगको पनि उपचार गर्ने उनको विधामा पर्छन्।

१३ जेठ, २०८०, २२:४७:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।