डा. प्रविद्को उपचार अनुभव : भर्खर बिहे गरेकी २२ वर्षे युवतीलाई थाइरोइडको क्यान्सरबाट बचाएको सम्झिँदा....
डा. प्रविद् गजुरेल नाक, कान र घाँटी (इएनटी) रोग विशेषज्ञ तथा सर्जन हुन्।
बिरामीको नाक, कान र घाँटीको औषधि, उपचार र शल्यक्रिया गरेर बचाउनु चिकित्सकीय कर्म र धर्म हो। र, हजारौं बिरामी बचाएका छन् पनि। चिकित्सकीय पेसाको सिलसिलामा डा. प्रविद्ले भोगेका केही आरोह-अवरोह र देखे-भोगेका केही अनुभव उकेरासँग साटेका छन् :
०००
घाँटीमा जमेको ८० एमएल पिप निकालेपछि धन्न ती महिला बाँचिन्
प्रसंग केही वर्षअघिको हो। करिब ४५ वर्षकी महिला वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा पुगिन्। तिहारको माहौल थियो। डा. प्रविद् ड्युटीमै थिए। अस्पताल पुगेकी ती महिलाको उनले स्वास्थ्य परीक्षण गरे। ती महिलाको घाँटीमा पिप जमेको थियो। त्यसैकारण उनको स्वास्थ्य अवस्था जटिल बनिसकेको थियो। घाँटीको पिप फैलिएर उनको छातीसम्म पुगेको थियो।
पिपले घाँटीको जुगुलर लगायत संवेदनशील नसा नै खाइसकेको थियो। त्यसैकारण नसा नै पड्किने जोखिम भइसकेको थियो। नसा पड्किएको खण्डमा ती महिलाको ज्यानै जान सक्थ्यो।
त्यसपछि डा. प्रविद्ले कति पनि ढिला नगरी विदामा भएका चिकित्सक साथीलाई पनि अस्पतालमा बोलाए। चिकित्सकको टिमले ती महिलाको घाँटी र छातीमा जमेको करिब ८० एमएल पिप निकाल्यो। अनि उनलाई आइसीयुमा राखेर थप औषधि उपचार गरियो। ती महिलाको ज्यान बाँच्यो। करिब दुई हप्ताको औषधि उपचारपछि उनी घर फर्किइन्।
मृत्युको मुखमा पुगेकी ती महिलालाई बचाएर घर पठाउन सकेको सम्झँदा अझै डा. प्रविद्लाई आनन्द लाग्छ।
जब ती ८१ वर्षे बाजेको अप्रेशन थिएटरको टेबलमा नै मृत्यु भयो...
घटना दुई वर्षअघिको हो। करिब ८१ वर्षका बाजेको श्वास फेर्न नै कठिन भएको अवस्थामा अस्पतालमा पुर्याइएको थियो। ती बाजेलाई घाँटीको क्यान्सर भएर श्वास नली बन्द हुने अवस्थाका कारण श्वास फेर्न नै कठिन भएको थियो।
बाजेको शरीरमा अक्सिजन कम भएर स्वास्थ्यमा जोखिम भइसकेका थियो। त्यसैले चिकित्सकको टिमले श्वास-प्रश्वासका लागि घाँटीमा छेडेर प्वाल बनाई श्वासनलीमा पाइप राखेर श्वास फेर्ने बाटो बनाइदियो। श्वास फेर्न सहज बनाउने यस्तो चिकित्सकीय उपचार विधिलाई ‘ट्रेकोस्टोमी’ भनिन्छ। यस्तो विधि आकस्मिक रुपमा आइपर्ने केसहरूमा श्वास-प्रश्वासमा सहजता बनाउन गरिन्छ। अत्यन्तै हतार गरेर करिब दश सेकेन्डभित्रमा घाँटी छेडेर श्वासनली राख्नुपर्ने हुन्छ। कहिलेकाहीँ यसरी घाँटीमा छेडेर पाइप राख्ने क्रममा नसाहरू काटिएर रक्तश्रावको जोखिम हुँदा ज्यानै जाने सम्मको सम्भावना रहन्छ।
दुर्भाग्यवश ती बाजेको पनि घाँटी छेडेर प्वाल बनाइ श्वास-प्रश्वासका लागि पाइप राख्ने क्रममा नसा काटिएर अत्यधिक रक्तश्राव भएछ। त्यसपछि अप्रेशन थिएटरको अप्रेशन टेबलमा नै उनको मृत्यु भयो।
ती बाजेलाई बचाउन सम्भव नभएपछि निक्कै भारी मनकासाथ डा. प्रविद्ले बाजेका छोरालाई त्यो खबर सुनाए। आफ्नो चिकित्सकीय पेसाको शिलशिलामा ती एक जना बाहेक अरू कोही पनि बिरामीलाई अप्रेशन टेबलमा नै गुमाउनु नपरेको डा. प्रविद्ले अनुभव सुनाए। तर, त्यो घटना सम्झँदा अझै उनको मन भारी हुन्छ।
श्वास नै रोकिएका बाजे घाँटी छेडेर पाइप राखेपछि श्वास फेर्न थाले
घटना केही वर्षअघिको हो। करिब ७० वर्षका बाजेलाई उपचारका लागि वीपी प्रतिष्ठानमा पुर्याइयो। ती बाजेको स्वास्थ्य परीक्षण गर्दा घाँटीको स्वर यन्त्रको क्यान्सर भएको थाहा भयो। त्यसैले डा. प्रविद्ले स्वर यन्त्रको क्यान्सरको शल्यक्रिया गर्ने योजना बनाए। शल्यक्रिया गरी रेडियशन थेरापी गर्नुपर्ने थियो। अस्पतालको ओपीडीमा पुगेका ती बाजे उपचार गर्न आउने भन्दै घर फर्किएका थिए।
तर, चिकित्सकको सल्लाह बमोजिम ती बाजे उपचारका लागि अस्पताल पुगेनन्। डा. प्रविद्ले ओपीडीमा जाँचेको एक महिनापछि ती बाजेलाई एक्कासि अस्पतालको आकस्मिक कक्षमा पुर्याइयो। आकस्मिक कक्षमा पुर्याउँदा उनलाई श्वास फेर्नसमेत कठिन भइरहेको थियो।
स्वर यन्त्रको मुनी श्वासनलि हुन्छ। तर, स्वर यन्त्र भन्दामाथि क्यान्सरको ट्युमर पलाएकाले ती बिरामीको श्वास फेर्ने बाटो नै करिब बन्द भइसकेको थियो। त्यसैले उनको शरीरमा अक्सिजनको मात्रा पनि कम भएको थियो। अनि डा. प्रविद्कको टिमले ती बाजेको घाँटीको क्यान्सर भएको भागभन्दा तल छेडेर प्वाल बनाई श्वासनलीमा पाइप राखेर श्वास फेर्ने बाटो बनाइदियो। यस्तो चिकित्सकीय उपचार विधिलाई ‘क्याटेष्टोमी’ भनिन्छ। पाइप राखिदिएपछि ती बाजेलाई श्वास फेर्न सहज भयो। बिरामीको ज्यान बाँच्यो।
ती बाजेलाई त्यहाँ एक्कासि श्वास फेर्न सहज भएपछि थप उपचारका लागि चितवनको भरतपुरस्थित भरतपुर क्यान्सर अस्पतालमा रेफर गरियो। शल्यक्रिया गरी रेडियशन थेरापी पनि दिनुपर्ने तर धरानमा उक्त मेसिन नै नभएका कारण ती बाजेलाई भरतपुर रेफर गर्नुपरेको उनले अनुभव सुनाए। औषधि उपचारपछि बाजेको घाँटीको स्वर यन्त्रको क्यान्सर ठिक भएको उनले सुने। अस्पतालबाट डिस्चार्ज भएपछि ती बाजेका छोरा अस्पतालमा नै धन्यवाद दिन आएको डा. प्रविद्ले सुनाए।
२२ वर्षे युवतीलाई थाइरोइडको क्यान्सर भएपछि....
प्रसंग करिब तीन वर्षअघिको हो। २२ वर्षकी ती युवतीलाई घाँटी दुख्ने समस्या रहेछ। तर, उनले सामान्य गलग्रन्थी (थाइरोइड) होला भन्ठानेर घाँटी दुखेको समस्याको औषधि खाइछन्।
तर, भर्खर विवाह गरेकी ती युवतीको घाँटी दुख्ने समस्या ठिक भएनछ। त्यसैले उनी घाँटीको समस्याको जाँच तथा औषधि उपचारका लागि वीपी प्रतिष्ठान पुगिन्। डा. प्रविद्ले उनको स्वास्थ्य परीक्षण गरे। त्यसपछि ती युवतीको घाँटीको थाइरोइडमा ‘प्यापिलरी कार्सिनोमा’ भनिने मासु पलाएको पत्ता लाग्यो। त्यतिकै राख्दा त्यो ट्युमर क्यान्सरमा परिणत हुन सक्ने जोखिम हुन्छ।
तर, डा. प्रविद्ले स्वास्थ्य परीक्षण गर्दा ती युवतीको घाँटीमा क्यान्सर (प्यापिलरी कार्सिनोमा) भइसकेको थाहा भयो। त्यसपछि उनले त्यो थाइरोइडको क्यान्सरको शल्यक्रिया गर्ने योजना बनाए। अनि डा. प्रविद्को टिमले शल्यक्रिया गर्यो। शल्यक्रिया सफल भयो। ती महिला क्यान्सर मुक्त भइन्। अनि त उनी खुसी हुने नै भइन्। त्यो देखेर डा. प्रविद्लाई पनि खुसी लाग्ने नै भयो।
त्यसपछि पनि ती युवती फलोअपमा आएको र अहिले ती युवतीको स्वास्थ्य ठिक रहेको उनले सुनाए।
ती दश वर्षका बालकलाई बचाउँदा....
डा. प्रविद्ले जनकपुरका दश वर्षीय बालकको टनशीलको शल्यक्रिया गरिदिएका थिए। टनशीलको शल्यक्रिया गरेको आठौं दिनमा उनका परिवारका एक जनाले डा. प्रविद्लाई फोन गरेर एक्कासी ती बालकले रगत छाद्न थालेको जानकारी दिए। त्यसपछि उनले तुरुन्तै बालकलाई अस्पताल ल्याउन आग्रह गरेपछि उनलाई अस्पताल ल्याइपुर्याइयो।
त्यसपछि ती बालकलाई आकस्मिक कक्षबाट तुरुन्तै अप्रेशन थिएटर पुर्याइयो। अनि ती बालकको शल्यक्रिया गरिएको भागको घाँटीको नसामा संक्रमण भएर फुटेछ। त्यसैले कति पनि ढिला नगरी चिकित्सकको टिमले बालकको घाटीको फुटेका नसा बाँधिदिए। चिकित्सकको टिमले बालकको औषधि उपचार गरेपछि उनी बाँच्न सफल भए।
ती बालकलाई बचाउन सकेको त्यो प्रसंग सम्झँदा अझै उनलाई आनन्द लाग्छ।
जन्म धरान, रहर डाक्टर बन्ने
प्रविद् सुनसरीको धरानमा २०४२ मा जन्मिएका हुन्। उनले धरानकै विजयपुर उच्च माविबाट २०५७ मा एसएलसी गरे। त्यसपछि उनी काठमाडौं आए। ललितपुरको कुमारीपाटीस्थित युनाइटेड एकेडेमीबाट उनले आईएस्सी गरे।
एसएलसीपछि प्रविद् एमबीबीएस अध्ययनका लागि चितवनको भरतपुर पुगे। उनले सन् २००६ मा चितवनको भरतपुरस्थित काठमाडौं विश्वविद्यालय अन्तर्गतको कलेज अफ मेडिकल साइन्सेसमा एमबीबीएस अध्ययनका लागि भर्ना भए। सन् २०११ मा उनको एमबीबीएस अध्ययन पूरा भयो।
एमबीबीएस अध्ययनपछि डा. प्रविद्ले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिकल अधिकृतका रुपमा करार जागिरे भएर काम गर्न थाले। उनले प्रतिष्ठानमा सन् २०१३ सम्म करिब दुई वर्ष आकस्मिक विभागमा काम गरे।
छनोटमा इएनटी
डा. प्रविद्ले सन् २०१३ मा मोरङको बिराटनगरस्थित नोवेल मेडिकल कलेजमा स्नातकोत्तर तहको नाक, कान र घाँटी (अटो लेरिङ्गोलोजी) विषयमा ‘एमएस, इएनटी’ अध्ययन गर्न थाले। सन् २०१६ मा उनको तीन वर्षे एमएस अध्ययन पूरा भयो।
‘एमएस, इएनटी’ अध्ययनपछि प्रविद्ले मोरंगको सुन्दरहरैंचास्थित गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालयको अस्पतालमा लेक्चररको रुपमा करिब एक वर्ष काम गरे। पूर्वाञ्चल विश्वविद्यालयपछि डा. प्रविद् धरानस्थित वीपी प्रतिष्ठानमा काम गर्न थाले। त्यहाँ उनले सिनियर रेसिड्ेन्ट तथा लेक्चररका रुपमा सन् २०२१ सम्म काम गरे।
धरानपछि डा. प्रविद् फेरि पूर्वाञ्चल विश्वविद्यालयमा नै काम गर्न पुगे। हाल उनी त्यहीँ लेक्चररका रुपमा कार्यरत छन्।
सर्जरी र मेडिसिनमा रुची
डा. प्रविद्लाई एमबीबीएस अध्ययन गर्दा नै सर्जरी र मेडिसिन विषयमा विशेष रुची थियो। सिनियरहरुसँग सल्लाह लिँदा इएनटी विषय अध्ययन गरेको खण्डमा सर्जरी पनि गर्न पाइने अनि ओपीडीमा पनि बिरामीको चेकजाँच तथा औषधि उपचार गर्न पाइने उनले सुझाव पाए। त्यसैले उनले यो विषय अध्ययन गरेका रहेछन्।
अस्पतालमा नाक, कान तथा घाँटी सम्बन्धी समस्या भएका विरामीको औषधि उपचार गर्नु डा. प्रविद्को मुख्य काम हो। थाइरोइमा मासु पलाएको शल्यक्रिया गर्नु, टनशिलको औषधि, उपचार तथा शल्यक्रिया गर्नु पनि उनको काम हो। त्यसैगरी उनी नाकको हड्डी बांगिएको छ भने शल्यक्रिया गरी सिधा बनाउने, नाकको आकार मिलाउने काम गर्छन्। घाँटीको स्वर यन्त्रको क्यान्सर, मुखको क्यान्सर, थाइरोइडको क्यान्सर जस्ता घाँटीसम्बन्धी क्यान्सरको शल्यक्रिया गर्नु यो विधाका चिकित्सकको काम हो। श्वास फेर्न गाह्रो हुने लगायत समस्याको औषधि उपचार गर्नु उनको दैनिकी हो।
असार १४, २०८१ शनिबार १७:५९:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।