डा. अनुजजंगको उपचार अनुभव : उपचार गर्दागर्दै साथीका घाइते बुवाको हवाइजहाजमै मृत्यु भएपछि...

डा. अनुजजंगको उपचार अनुभव : उपचार गर्दागर्दै साथीका घाइते बुवाको हवाइजहाजमै मृत्यु भएपछि...

एनेस्थेसियोलोजिष्ट तथा क्रिटिकल केयर फिजिसियन र दुखाई विशेषज्ञका रुपमा कार्यरत डा. अनुजजंग रायामाझीले सयौं शल्यक्रिया गर्नुपर्ने बिरामीलाई बेहोस बनाएर ब्यूँत्याएका छन्। उनले धेरै दुखाइसम्बन्धी समस्या भएका बिरामीको उपचार गरेका छन्। यस्तै चिकित्सकीय पेशाको सिलसिलामा उनले देखेभोगेका अनुभव उकेरासँग साटेका छन्।

साथीका घाइते बुवाको हवाइजहाजमै मृत्यु भएपछि...
करिब ६ वर्षअघि शनिबारकै दिन थियो। त्यो बेला पार्टटाइमरका रूपमा डा. अनुजजंग नोबेल अस्पतालमा पनि काम गर्थे। त्यहाँ काम गर्ने एक जना मेडिकल अधिकृतको बुवा बारातिर गाडी दुर्घटनामा परेर घाइते भएछन्।

ती मेडिकल अधिकृत साथीले डा. अनुजलाई फोन गरेर बुवा दुर्घटनामा परेको सुनाउँदै भनेछन्, ‘बुवा सिरियस हुनुहुन्छ, म बुवालाई हवाइजहाजमा लिएर आउँछु, तपाइँ पनि एयरपोर्टमा आइदिनुपर्यो।’

साथीले बाराको सिमरा एयरपोर्टबाट बुवालाई हवाइजहाजमा ल्याउने तयारी गरेका थिए। फोन आउनसाथ उनी एयरपोर्ट पुगे।

तर, दुर्भाग्यवस नेपाली सेनाको जुन हवाइजहाजमा घाइते लिन सिमरा जाने योजना थियो, सोही जहाजमा प्राविधिक समस्या आएछ। घाइते लिन अर्को हवाइजहाज जानुपर्ने हुँदा केही समय त्यहिँ खेर गयो।

डा. अनुजजंग एयरपोर्ट पुगिसकेका थिए। हवाइजहाज जान ढिलो भएको थाहा पाएपछि डा. अनुजजंग पनि साथीको बुवालाई लिन सेनाको हवाइजहाज चढे।

केहीबेरमा हवाइजहाज सिमरा एयरपोर्टमा ल्याण्ड गर्यो। सातीको घाइते बुवालाई हवाइजहाजमा हालियो। उनको अनुहारभरी रगत थियो। सुन्निएको पनि थियो। मुखबाट रगत बगिरहेको थियो। साथीको घाइतेबुवा बेहोसी अवस्थामा थिए।

स्वास्थ्य अवस्था जटिल बनिसकेको थियो। कत्ति पनि ढिला नगरी घाइते लिएर हवाइजहाज उडिहाल्यो। हातले सीपीआर गरिरहे डा. अनुजजंगले। डा. अनुजजंगले श्वासप्रश्वासका लागि साथीका ती घाइते बुवाको मुखबाट पाइप राख्ने प्रयास गरे। मुखबाट रगत बगिरहेको थियो। २/४ पटक सुईले मुखबाट रगत तानेर फाले पनि रगत आउने क्रम रोकिएन।

केही सीप नलागेपछि डा. अनुजजंगले कपडा च्यातेर मुखमा कोचिदिए। त्यसले मुखमा आएको रगत सोस्यो र केही सकेण्डमा निकाले। रगत केही रोकिएको मौका पारेर उनले मुखबाट घाँटीमा श्वासप्रश्वास सहज गराउने पाइप राखे।

त्यसपछि त्यो पाइपबाट अक्सिजन दिइयो। केही बेरमा सेनाको हवाइजहाज काठमाडौं विमानस्थलमा ल्याण्ड गर्यो। जहाज ल्याण्ड गर्नासाथ साथीका घाइते बुवालाई बाँसबारीस्थित न्यूरो अस्पतालमा लगियो।

आकस्मिक कक्षमा पुर्याएर ती बुवाको स्वास्थ्य परीक्षण तथा उपचार सुरु भयो। तर, आकिस्मक कक्षमा पुर्याएर स्वास्थ्य जाँच गर्दा घाइते बुवाको मृत्यु भइसकेको थाहा भयो।

साथीका बुवाले हवाइजहाजभित्र नै प्राण त्यागिसकेका थिए। तर, अन्तिम आशा बोकेर साथीले उनलाई अस्पताल लगिएको थियो। बुवाको मृत्यु भइसकेको थाहा पाउँदा साथी त भावविह्वल हुने नै भए डा. अनुजजंगसमेत भावुक बने।

हवाइजहाजमा राख्दादेखि जहाज ल्याण्ड गरेर अस्पतालको आकस्मिक कक्षमा पुर्याउँदा सम्म आफूले उपचार अथक उपचार प्रयास गरेका प्रत्येक पल सम्झँदा डा. अनुजजंगको मन थामिएन।

साथीका बुवाको त्यो मृत्युको घटना डा. अनुज अहिले पनि शब्दमा बयान गर्न कठिन हुन्छ।

मृत बच्चा जन्मिएपछि माया मारिएकी ती महिला
करिब आठ वर्षअघि प्रसूति व्यथाले च्यापेर अस्पताल भर्ना भएकी २८ वर्षीया गर्भवतीको मृत बच्चा जन्मिएर एक्कासी अत्यधिक रक्तश्राव भएछ। ती महिला निजामती अस्पतालमा नै काम गर्ने एक जना चिकित्सकको साथी रहिछन्।

महिलाको अवस्था जटिल बनिसकेको थियो। उनी अचेत अवस्थामा थिइन्। चिकित्सकको टिम भेला भयो। डा. अनुज पनि पुगे। रक्तश्राव धेरै भएकाले शरीरमा रगत पठाउनका लागि हातमा नसा नै भेटिएन। मुटुलगायत शरीरका अंगमा औषधि पुग्ने अवस्थै थिएन।

डा. अनुजजंगको टिमले मुटु लगायत शरीरका अंगमा चाँडै औषधि पुर्याउनका लागि घाँटीको नसामा क्याथेटर (पाइप) राख्यो अनि औषधि र स्लाइन चढायो।

शल्यक्रिया गर्ने की नगर्ने भन्नेमा चिकित्सकको टिम दोधारमा पर्यो। महिला बेहोसी अवस्थामा पुगिसकेकाले शल्यक्रिया गर्दासमेत बचाउन नसकिने हो की भन्ने चुनौती थियो। रक्तचाप न्यून भइसकेकी ती महिलाको नाडीको चाल (पल्स) नै थिएन।

तर, चिकित्सकको टिमले जोखिम मोलेर नै भए पनि शल्यक्रिया गरेर ती महिलालाई बचाउने अन्तिम कोशिस गर्ने निष्कर्षमा पुग्यो अनि हतार-हतार शल्यक्रिया कक्षमा लगियो।

सबै तयारीपछि डा. अनुजले शल्यक्रियाका लागि महिलालाई लठ्याउने औषधि दिए। चिकित्सकको टिमले शल्यक्रिया थाल्यो अनि रक्तश्राव रोकियो।

शल्यक्रिया सकिने बेलामा ती महिलाको मुटुको धड्कन बिस्तारै चल्न थाल्यो। चिकित्सकको टिममा पनि बाँच्छिन् कि भन्ने आशा पलायो। शल्यक्रिया सफल भएपछि पोष्ट अपरेटिभ वार्डमा सारिएको उनको रक्तचाप पनि विस्तारै बढ्न थाल्यो।

विस्तारै होसमा आउन थालेकी महिलाको शल्यक्रिया सकेको दुई दिनसम्म पनि पिसाब नै आएन। परीक्षणको क्रममा मिर्गौलाले काम नगरेको पत्ता लाग्यो। एक वा दुई डाइलाइसिसले उनको समस्या समाधान भएन। निरन्तरको डाइलाइसिसपछि भने मिर्गौलाले पहिलेकै अवस्थामा काम गर्न थाल्यो।

जटिल शल्यक्रियापछि ती महिलालाई बचाउन सफल भएको प्रसङ्ग सम्झँदा डा. अनुजजंगको मन अझै सिरिङ्ग हुन्छ।

बंगलादेशमा एमबीबीए
बुवाआमा पाल्पाबाट बसाइँ सरेर काठमाडौं आएपछि उनी २०३३ सालमा काठमाडौंमै जन्मिए अनि यतै हुर्किए। गुह्येश्वरी विद्यालयमा तीन कक्षासम्म अध्ययन गरेपछि दीपेन्द्र प्रहरी माध्यामिक विद्यालयमा भर्ना भएर त्यहीँबाट २०५० मा एसएलसी दिए उनले। त्यसपछि काठमाडौं विश्वविद्यालयबाट आइएस्सी गरे।

अध्ययनमा तीक्ष्ण अनुजजंगलाई डाक्टर पढ्ने रहर थियो। त्यहिअनुसार एमबीबीएस अध्ययनका लागि बंगलादेश पुगे। त्यहाँको चिटागोंगस्थित ‘युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी’मा एमबीबीएस अध्ययनका लागि सन् १०९८ मा भर्ना भए। त्यो बेला त्यहाँ पनि आन्दोलन हुन्थ्यो। त्यसैले केही महिना अध्ययन लम्बिएको थियो। सन् २००४ मा पाँच वर्षे एमबीबीएस अध्ययन सकेर अनुजजंग नेपाल फर्किए।

नेपाल फर्किएर विभिन्न अस्पतालमा एक वर्ष इन्टर्नसीप गरेपछि उनले काम गर्न थाले।

छनोटमा बेहोस बनाएर ब्यूँत्याउने विषय
डा. अनुजलाई थप अध्ययन गर्नु त छँदैथियो। थप अध्ययन गर्दा उनको पहिलो प्राथमिकतामा रेडियोलोजी विषय थियो भने दोस्रो रोजाइमा एनेस्थेसिया थियो।

डा. अनुजजंगले सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छात्रवृतिमा दोस्रो रोजाइको विषय अध्ययन गर्ने मौका पाए।

सन् २००७ मा प्रतिष्ठानमा भर्नाका उनले २०१० मा तीन वर्षे एमडी अध्ययन पूरा गरे अनि काठमाडौंको निजामती कर्मचारी (सिभिल) अस्पतालमा काम गर्न थाले। उनले निजामती कर्मचारी अस्पतालमा काम थालेको १३ वर्ष भयो।

शल्यक्रियापछि नदुख्ने विधिको खोजी
एनेस्थेसिया विषयमा एमडी अध्ययन गरेकाले उनको मुख्य काम शल्यक्रिया गर्नुपर्ने बिरामीलाई औषधि दिएर लठ्याउने अनि शल्यक्रिया सफल भएपछि बिरामी ब्यूँत्याउने नै भयो। त्यतिमात्रै हैन आईसीयूमा भर्ना गरिएका बिरामीको उपचार गर्नु, आईसीयू व्यवस्थापन गर्नु र बिरामीको दुखाइ व्यवस्थपन गर्नु उनको मुख्य दैनिकी थियो।

तर, उनलाई यतिमा मात्रै चित्त बुझेन। उनलाई अल्ट्रासाउण्डको सहयोगले गरिने रिजनल एनेस्थेसिया विषय अध्ययन गर्न बडो इच्छा थियो। अल्ट्रासाउण्डको सहयोगले व्यक्तिको जुन ठाउँमा शल्यक्रिया गर्नुपर्ने हो त्यहि ठाउँलाई मात्रै नदुख्ने गरी औषधि दिएर लठ्याउने विधिलाई रिजनल एनेस्थेसिया भनिन्छ। यो शल्यक्रियाका क्रममा बिरामीको दुखाई कम हुने उपयुक्त विधि हो। त्यसो त शल्यक्रियापछि समेत बिरामीलाई नदुख्ने गरी दुखाई व्यवस्थापन गर्नुपर्ने हुन्छ। 

पूरै बेहोस गराएर शल्यक्रिया गर्दा शल्यक्रियापछि समेत बिरामीलाई भेन्टिलेटरमा राख्नुपर्ने हुनसक्छ। भेन्टिलेटरमा राख्ने वा नराख्ने भन्ने विषय शल्यक्रियापछि बिरामीको अवस्थामा भर पर्छ। भेन्टिलेटरमा बिरामीलाई राख्दा बिरामीलाई निमोनिया हुने पनि जोखिम त्यतिकै हुन्छ।

शल्यक्रियापछि बिरामीलाई अक्सिजनको मात्रा धेरै चाहिन्छ। तर, भेन्टिलेटरमा राख्दा शरीरमा अक्सिजनको मात्रामा गडबढ भएको खण्डमा फोक्शोमा संक्रमण भएर व्यक्तिको स्वास्थ्यमा जटिलता निम्तने जोखिम हुन्छ।

तर, शल्यक्रिया गर्नुपर्ने बिरामीलाई जहाँ शल्यक्रिया गर्नुपर्ने हो त्यहि निश्चित भागमा मात्रै रिजनल एनेस्थेसिया विधि अपनाई लठ्याएर शल्यक्रिया गर्दा बिरामीलाई शल्यक्रियापछि भेन्टिलेटरमा राख्नुपर्ने अवस्था कम हुन्छ। भेन्टिलेटरमा राख्नु नपर्दा बिरामी शल्यक्रिया गरेको केही समयमा नै घर फर्किन समेत सक्ने अवस्था हुन्छ।

त्यसैले डा. अनुजजंगले रिजनल एनेस्थेसिया विषयको अध्ययनका लागि अध्ययन गर्न जाने ठाउँ खोजे। उनले यो विषय अध्ययन गर्ने मौका पाए। केही महिना विभिन्न ठाउँबाट रिजनल एनेस्थेसिया सम्बन्धी विभिन्न ज्ञान तथा सिप उनले सिके। त्यसपछि उनले शल्यक्रिया गर्नुपर्ने बिरामीलाई शल्यक्रिया गर्नुपर्ने निश्चित भागमा मात्रै लठ्याइने रिजनल एनेस्थेसिया विधि अपनाउन थाले।

पूरै शरीर बेहोस गर्नुपर्ने बाहेकको अवस्थामा अहिले रिजनल एनेस्थेसिया विधि नै अपनाइन्छ। पूरै शरीर बेहोस गर्नुपर्ने शल्यक्रियाको अवस्थामा समेत शल्यक्रियापछि दुखाई कम होस भनेर क्याथेटरको माध्यमबाट शरीरमा दुखाई कम गर्ने औषधि दिइने गरेको डा. अनुजजंगले अनुभव सुनाए।

दुखाइको व्यवस्थापनमा सक्रिय
बिरामीले दुखाइसम्बन्धी समस्याले दुःख पाएको देखेर डा. अनुजले दुखाइ व्यवस्थापन (पेन मेनेज्मेन्ट)सम्बन्धी विषय अध्ययन गरे। दुखाइ व्यवस्थापनसँग सम्बन्धित विभिन्न किसिमका विधि हुने उनले सुनाए।

अहिले दुखाइ व्यवस्थापन सम्बन्धी उपचार गर्ने उदेश्यले निजामती अस्पतालमा छुट्टै ओपीडी सुरु गरे उनले। जुन अहिले निरन्तर छ। सुरूवाती दिनमा ६ महिनामा १÷२ जना बिरामी दुखाइसम्बन्धी समस्या लिएर दुखाई ओपीडीमा पुग्ने गरेका थिए।

तर, अहिले भने हप्तामा तीन दिन दुखाइ सम्बन्धि ओपीडीमा दुखाई सम्बन्धि समस्या लिएर पुगेका बिरामीको स्वास्थ्य परीक्षण लगायतको काम गर्छन् उनी। तीन दिन भने दुखाइ सम्बन्धि उपचारमा सक्रिय हुन्छन्। दुखाइसम्बन्धी यो ओपीडीमा बिरामीको भीड हुने गरेको उनले सुनाए।

त्यसो त सबै समस्या दुखाइ व्यवस्थापन सम्बन्धी विशेषज्ञले उपचार गरेर नै ठिक हुन्छन् भन्नेचाहिँ हैन। उपचारपछि बिरामी शतप्रतिशत ठिक हुन्छन् भन्ने पनि छैन। तर, कयौं दीर्घकालीन दुखाइसम्बन्धी समस्या भएका बिरामीको विना शल्यक्रिया नै ठीक हुने डा. अनुजको अनुभव छ।

दुखाइ व्यवस्थापन सम्बन्धी नै विशिष्टिकृत विषय अध्ययन गरेका चिकित्सकले विशेषगरी दीर्घकालीन रूपमा हुने दुखाइ सम्बन्धी उपचार गर्ने भूमिका हुन्छ।

माइग्रेन, घाँटी तथा ढाडको नसा च्यापिएको, घुँडा खिएर दुख्ने, बाथ, चिसोका कारणले हुने दुखाइ, उमेर पाको  हुँदै जाँदा शरीरका विभिन्न भागमा दुख्ने जस्ता दीर्घकालीन किसिमका दुखाई सम्बन्धी समस्याको उपचार  दुखाई विशेषज्ञले गर्न सक्ने उनले सुनाए।

विशेषगरी दीर्घकालीन रूपमा हुने दुखाइको कारण पत्ता लगाएपछि दुखाइको प्रकृति अनुसार उपचार विधि अपनाइन्छ। नसा लट्याएर, नसामा करेन्ट लगाएर, फिजियोथेरापीजस्ता विधि अपनाएर लामो समस्यका दुखाइको उपचार गरिने डा. अनुजले बताए।

९० वर्षीय बाजेलाई बेहोस नपारी शल्यक्रिया गर्दा...
दुखाइकै कुरा गर्दा केही वर्षअघि रिजनल एनेस्थेसिया विधि अपनाएर बिरामीको उपचार गरेको प्रसङ्ग डा. अनुजजंगले सम्झिए।

९० वर्ष नाघेका बाजेको खुट्टा भाँचिएको रहेछ। रिजनल एनेस्थेसिया विधि अपनाएर शल्यक्रिया गर्नु नै ठिक हुन्छ भन्ने चिकित्सकको निष्कर्षपछि विराटनगरका ती बाजेलाई निजामती अस्पतालमा रिफर गरिएको रहेछ।

डा. अनुजजंग लगायत चिकित्सकको टिमले बाजेको शल्यक्रियाका लागि स्वास्थ्य परीक्षण गरेर शल्यक्रियाको तयारी गर्यो। खुट्टाको शल्यक्रियाका लागि डा. अनुजजंगले शल्यक्रिया गर्ने खुट्टाको भागमा मात्रै लठ्याउनेगरी रिजनल एनेस्थेसिया औषधि दिए।

त्यसपछि शल्य चिकित्सकको टिमले बाजेको भाँचिएको खुट्टाको शल्यक्रिया थाल्यो। चिकित्सकको टिमको केही बेरको मिहिनेतपछि शल्यक्रिया सफल भयो।

ती बाजेको खुट्टाको शल्यक्रिया गर्नुपर्ने भागमात्रै लठ्याइएकाले बाजे शल्यक्रिया गरुन्जेल बेहोसी अवस्थामा पुग्नु परेन। शल्यक्रिया सफल भएपछि उनी घर फर्किए। बाजेको समस्या ठिक भयो।

३० मंसिर, २०८०, १५:४७:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।