डा. किशोरको उपचार अनुभव : २६ दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि रोग पत्ता नलागेकी महिला बाँचेपछि...

डा. किशोरको उपचार अनुभव : २६ दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि रोग पत्ता नलागेकी महिला बाँचेपछि...

डा. किशोर बन्जाडे मेडिकल जनरलिष्ट (एमडीजिपी) चिकित्सक हुन्। हाल उनी गुल्मी जिल्ला अस्पतालमा कार्यरत छन्। समग्र रोगको औषधि उपचार तथा परामर्शमा खटिनुपर्ने यो विधाका चिकित्सकलाई घर परिवारको डाक्टर, स्वास्थ्यको ट्राफिकका रूपमा समेत चिनिन्छ। उनै डा. किशोरले चिकित्सकीय पेशाको शिलशिलामा देखे भोगेका अनुभव उकेरासँग साटेका छन्। 

जब २६ दिनसम्म भेन्टिलेटरमा राख्दा पनि रोग पत्ता लागेन
केही वर्षअघिको प्रसङ्ग हो। आर्थिक अवस्था अत्यन्तै कमजोर भएकी करिब ३४ वर्षकी महिलालाई कपिलवस्तु अस्पतालमा भर्ना गरियो। ती महिलाको स्वास्थ्य अवस्था जटिल थियो। अर्धचेत अवस्थामा भएकी ती महिलालाई भेन्टिलेटरमा नै राखेर उपचार थालियो।

महिलालाई लागेको रोगबारे डा. किशोर लगायत चिकित्सकको टिमले निक्कै मेहनत गरेर खोजपड्ताल गर्यो। तर, चिकित्सकीय ज्ञान तथा सिपले भ्याएसम्म खोजपड्ताल गर्दा समेत महिलाको रोग पत्ता लाग्न सकेन। २६ दिनसम्म भेन्टिलेटरमा राखेर औषधि उपचार गर्दा समेत रोग पत्ता नलागेपछि चिकित्सकको टिम निरास भयो।

केही सीप नलागेपछि डा. किशोरलाई शंका लाग्यो, ‘कतै सर्पले त टोकेको हैन?’

२६ दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गरेपछि ती महिलालाई (एन्टी भेनम) सर्पले टोकेको औषधि दिइयो। साँच्चै ती महिलालाई सर्पले नै टोकेको रहेछ। औषधि चलाउन थालेपछि ती महिलाको स्वास्थ्यमा सुधार हुन थाल्यो। आर्थिक अवस्था अत्यन्त कमजोर भएकी ती महिलाको निःशुल्क उपचार गरिएको डा. किशोरले सुनाए।

ज्यान बाँचेर अस्पतालबाट डिस्चार्ज हुँदा चिकित्सक तथा उपचारमा खटिएको टिमप्रति मौन रूपमा कृतज्ञ भएको ती महिलाको अनुहारको भाव डा. किशोरले प्रष्ट देखे। २६ दिन भेन्टिलेटरमा राखेपछि रोग पत्ता लागेकी ती महिलालाई बचाएर घर पठाउन सकेको प्रसंग सम्झँदा डा. किशोरलाई अझै आनन्द लाग्छ।

पाठेघर फुटेकी महिलालाई बचाउने त्यो प्रयास
केही वर्षअघिको प्रसङ्ग हो। करिब ३८ वर्षकी महिलालाई कपिलवस्तुको अस्पताल पुर्याइयो। ती गर्भवती महिला प्रसव वेदनाले छटपटाएकी थिइन्। रक्तश्राव भइरहेको थियो।

अस्पताल पुर्याउनासाथ उनलाई रगत दिइयो। स्वास्थ्य परीक्षण गर्दा महिलाको पाठेघर फुटेको थाहा भयो। तुरुन्तै शल्यक्रिया नगरे ज्यानै जाने अवस्थामा पुगिसकेको थियो।

अस्पताल पुर्याएपछि डा. किशोरको टिमले तुरुन्तै शल्यक्रिया शुरू गर्यो। गर्भमा रहेको बच्चाको मृत्यु भइसकेको थियो। गर्भको मृत बच्चा निकालियो। बच्चादानी, फुटेको पाठेघर निकालेर फालियो। महिलाको ज्यान बाँच्यो।

ती महिलालाई करिब १२ पोका रगत दिएर बचाएको डा. किशोर सम्झन्छन्। ती महिलालाई केही दिन अस्पतालमा औषधि उपचार गरेपछि बचाएर डिस्चार्ज गरिएको उनले सुनाए।

९० काटेकी बज्यैको भाँचिएको खुुट्टा जोडिँदा...
केही वर्षअघिको प्रसङ्ग हो। करिब ९० काटेको बाजे र बज्यै कपिलवस्तु अस्पताल पुगे। उनीहरूको छोराछोरी रहेनछन्।

आर्थिक अवस्था कमजोर भएका बज्यैको खुट्टा भाँचिएर थला परिछन्। बाजेले समाएर बिस्तारै पत्नीलाई अस्पताल ल्याएछन्। ९० नाघेको ती बाजेबज्यैको अवस्था देखेर डा. किशोरको मन कटक्क भयो।

बाजेबज्यैको अवस्था बुझेपछि भाँचिएको खुुट्टा उपचार गरी ठिक बनाउन उनी सक्रिय भए। नभन्दै डा. किशोरको समन्वयमा काठमाडौंबाट पुगेका विशेषज्ञ शल्यचिकित्सकबाट ती बज्यैको भाँचिएको खुुट्टाको शल्यक्रिया गरियो।

दायाँ खुुट्टामा एक किसिमको स्क्रु (रड) राखियो। शल्यक्रिया सफल भयो। बजै खुुट्टा टेक्न भइन्। करिब तीन हप्ताको अस्पताल बसाइपछि ती बज्यै हिँड्दै डिस्चार्ज भएको उनले सुनाए।

९० कटेकी ती बज्यैको मुजा परेको अनुहार हँसिलो बनाएर मुस्कुराएर हिँड्दै डिस्चार्ज भएको सम्झँदा अझै डा. किशोरलाई निक्कै आनन्द लाग्छ।

रुखबाट खसेर घाइते भएका ति पुरुष
त्यसो त यहि फागुन १८ गते मात्रै पनि करिब ३८ वर्षका एक जना रुखबाट लडेको व्यक्तिलाई बचाएको प्रसङ्ग सुनाए डा. किशोरले।

रुखबाट लडेका ती व्यक्तिलाई स्वास फेर्न गाह्रो भएर गुल्मी अस्पताल भर्ना गरियो। स्वास्थ्य परीक्षण गर्दा ती व्यक्तिको छातीमा करिब सात वटा करङ भाँचिएको थाहा भयो। छातीमा पाइप हालेर छातीमा भरिएको हावा र जमेको रगत निकालियो।

शुक्रबार डा. किशोरसँग कुराकानीको क्रममा ती घाइते पुरुष उपचार प्रक्रियामा नै रहेको र खतरामुक्त रहेको उनले सुनाए। ती व्यक्ति पनि आर्थिक रूपमा विपन्न भएको उनले सुनाए। यसरी ग्रामीण भेगबाट दुःख पाएका कयौं बिरामीलाई उपचार गरेको अनुभव छ उनीसँग।

चीनमा एमबीबीएस र अष्ट्रेलियामा काम
किशोर २०३८ मा अर्घाखाँचीको अर्घातोषमा जन्मिएका हुन्। उनले स्थानीय सूर्यथुममा सात कक्षासम्म पढे।

त्यसपछि अध्ययनका लागि काठमाडौं छिरेका उनले कालोपुलस्थित हिमालय विद्यामन्दिरमा आठ कक्षामा भर्ना भए। त्यहिँबाट उनले २०५४ मा एसएलसी गरे। एसएलसीपछि बागबजारको नेपाल साइन्स क्याम्पसबाट आईएससी गरे।

आईएससीपछि एमबीबीएस अध्ययनका लागि किशोर चीनको सिचुआन युनिभर्सिटीमा भर्ना भए। सन् २००६ मा एमबीबीएस अध्ययन पूरा गरेर उनी नेपाल फर्किए र करिब डेढ वर्षसम्म प्राक्टिस गरे।

त्यसपछि अष्ट्रेलिया पुगेका डा. किशोरले एउटा नर्सिङ होमको एसिस्टेण्ट डाइरेक्टरका रूपमा करिब साढे दुई वर्ष काम गरे। त्यसपछि फर्केर उनी नेपाल आए।

छनोटमा एमडीजिपी

न्याम्समा भर्ना भएका उनले न्याम्स अन्तर्गतको अधिनमा रहि पाटन अस्पतालमा पोष्टिङ भएर काम गरे। उनले निक साइमण्ड इस्टिच्युडको आर्थिक सहयोगमा एमडीजिपी अध्ययन गरेको सुनाए। डा. किशोरले सन् २०१४ मा तीन वर्षे एमडीजिपी अध्ययन पूरा गरे।

कपिलवस्तुमा काम र सरकारी जागिर
निक साइमण्डको आर्थिक सहयोगमा एमडीजिपी अध्ययन गरेवापत डा. किशोर छात्रवृति करारमा काम गर्नका लागि हालको कपिलवस्तु जिल्ला अस्पतालमा २०७१ माकाम गर्न पुगे।

तत्कालीन अवस्थामा त्यो अस्पताललाई पृथ्वी वीर अस्पताल भनिन्थ्यो। २०७४ सम्म तीन वर्ष निक साइमण्डको छात्रवृति करारमा उनले कपिलवस्तुमा काम गरे।

त्यहाँ काम गर्दा-गर्दै उनले लोकसेवा परीक्षा दिए र सरकारी स्थायी चिकित्सकका रूपमा जागिरे भए। स्थायी चिकित्सकका रूपमा जागिरे भएपछि पनि डा. किशोरले कपिलवस्तु अस्पतालबाट नै कामलाई निरन्तरता दिए।

त्यहाँ उनले मेडिकल सुपरिटेण्डेण्टको भूमिकामा अस्पतालको व्यवस्थापकीय नेतृत्वको जिम्मेवारी लिएर काम गर्ने अवसर समेत पाए। कपिलवस्तुमा आफूले विभिन्न किसिमका शल्यक्रिया, अस्पतालको संरचना तथा जनशक्ति लगायतको व्यवस्थापनको काम गरी सेवा विस्तार गर्न सफल भएको उनले सुनाए।

त्यसो त आर्थिक वर्ष २०७९/०८० मास्वास्थ्य मन्त्रालयको देशैभरिको ५० शय्यामुनिका जिल्ला अस्पतालमध्ये वार्षिक मूल्याङ्कनमा कपिलवस्तु अस्पताल (प्राइमरी ए अस्पतालका रूपमा) पहिलो नम्बरमा नै परेको थियो।

न्यूनतम सेवा मापदण्ड र सेवा प्रवाहमा पहिलो नम्बरमा पुर्याउन सफल भएकोमा उनी र उनको टिम खुसी नहुने कुरै भएन। त्यो मूल्याङ्कनबाट नै बिरामीको उपचार सेवामा डा. किशोरको टिम अधिकतम खटिएको देखिन्छ।

कपिलवस्तु अस्पतालमा उनले करिब आठ वर्ष आठ महिना काम गरे।

करिब चार महिनाअघि २०८० मा असोजमा सरुवा भएर गुल्मी जिल्ला अस्पतालमा पुगेका उनले त्यहाँ डाइलाइसिस सेवा सुरु गराइसके। डा. किशोरले भारतमा मधुमेह सम्बन्धी ज्ञान समेत लिएका छन्। त्यो विषयमा उनले दुई वर्षे फेलोसिप गरेका हुन्।

पारिवारिक सहयोगका कारण नै यो पेशालाई सहज रूपमा अगाल्न सकेको डा. किशोरको अनुभव छ। उनकी श्रीमतीले अन्य विषय (एमबीएस) अध्ययन गरेकी रहिछन्। उनीहरूको दुई छोरी र एक छोरा छन्।

ट्राफिक चिकित्सक
डा. किशोरलाई गाउँ-गाउँमा पुगेर सेवा गर्ने इच्छा थियो। नेपालका दुर्गम जिल्लामा गएर बिरामीको उपचार गर्ने चिकित्सकीय विषयको खोजी गर्दै जाँदा आफूले एमडीजिपी चिकित्सकीय विधा नै अध्ययन गरेको उनले सुनाए।

यो विधा अध्ययन गरेका चिकित्सकले आकस्मिक रूपमा उपचार गर्नुपर्ने बिरामीको उपचार गर्नु त छँदैछ। शल्यचिकित्सक नभएका ठाउँमा आकस्मिक रूपमा बिरामीको ज्यान बचाउन गर्नुपर्ने शल्यक्रिया समेत एमडिजिपी अध्ययन गरेका चिकित्सकले गर्नुपर्ने हुन्छ।

यो विधाका चिकित्सकले प्राथमिक रूपमा सबै किसिमको रोगको उपचार गर्ने अनि थप विशेषज्ञताको आवश्यकता परे विशेषज्ञ चिकित्सककहाँ बिरामी रिफर गर्ने गर्छन्। यसरी हेर्दा विशेषगरी गाउँ-गाउँमा मृत्युको जोखिममा परेका व्यक्तिलाई उपचार गरी आकस्मिक रूपमा ज्यान बचाउने प्रयास गर्नु एमडीजिपीको अध्ययनको अवधारणा हो।

बालबालिकादेखि पाको उमेरसम्म सबै उमेर समूहका व्यक्तिको औषधि उपचार तथा परामर्शमा खटिने भएकाले एमडीजिपी अध्ययन गरेका चिकित्सकलाई घरपरिवारको डाक्टर समेत भन्ने गरिन्छ। एमडीजिपी अध्ययन गरेका चिकित्सकलाई स्वास्थ्य सेवाको गेट किपर र ट्राफिक चिकित्सकका रूपमा समेत चिनिन्छ।

१९ फागुन, २०८०, १४:११:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।