डा. प्रमिलाको उपचार अनुभव : स्वर्गद्वारीबाट फर्किएका ८ जनाको मृत्यु भएको त्यो हृदयविदारक घटना सम्झँदा...

डा. प्रमिलाको उपचार अनुभव : स्वर्गद्वारीबाट फर्किएका ८ जनाको मृत्यु भएको त्यो हृदयविदारक घटना सम्झँदा...

गत माघको बिहान करिब चार बजेको चिसोमा प्युठान बजार नजिकै भर्खरै जन्मिएकी नवजात शिशु भेटियो। भर्खर जन्मिएकी नवजात शिशुलाई स्थानीय र प्रहरीले प्युठान अस्पतालमा पुर्याए। अस्पतालमा पुर्याउँदा ती शिशुको चिसोका कारण शरीर नै नीलो भइसकेको थियो।

अस्पतालमा पुर्याइएपछि उनको उपचार सुरू भयो। अस्पतालमा चिकित्सक, नर्स लगायत स्वास्थ्यकर्मीको  टिमले उनको स्याहारसुसार गर्यो। अस्पतालमा स्तनपानको व्यवस्था गरियो। नवजात शिशुको ज्यान बाँच्यो। 

अस्पतालले नै पुरोहित बोलाएर हिन्दू धर्मसंस्कार अनुसार ती शिशुको न्वारान गरिदियो। उनको न्वारानमा अस्पताल प्रमुख डा प्रमिला खनालले आमाका रुपमा डोरो बाँधिन्।

अस्पतालमा चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको काखमा ती शिशु हुर्किँदै गइन्। आज-भोलि भन्दै उनको उमेर दुई महिनाको पुग्यो। सधैँ अस्पतालमा मात्रै राखेर नहुने। त्यसैले दुई महिनापछि निश्चित कानुनी प्रक्रिया पुर्याएर ती शिशुलाई सन्तानको रुपमा स्विकार गर्न इच्छुकका लागि आवेदन खुलाइयो। उनलाई धर्म सन्तान बनाउन ३० बढीले इच्छा देखाए।

आवेदकमध्ये एक नि:सन्तान दम्पत्ती कानुन अनुसार धर्म सन्तान लिन योग्य भए। निश्चित प्रक्रियापछि उनीहरुलाई शिशु जिम्मा लगाइयो। जिम्मा लगाउँदा ती शिशुलाई स्याहार सुसार गर्ने चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी लगायतको आँखा रसायो। अस्पतालमा सबैजसो भावुक बने। आफैंले डोरो बाँधेर अस्पतालमा न्वारान समेत गरिएकी डा. प्रमिला पनि ती बेबारिसे शिशुलाई जिम्मा लगाउँदा भावुक बनिन्। उनका पनि आँखा नरसाउने कुरै भएन।

ती श्रीमान-श्रीमतीले रमाउँदै ती शिशुलाई आफ्नो सन्तान बनाएर घर लगे। ती शिशुको स्वास्थ्य अवस्था अहिले राम्रो रहेको  डा. प्रमिलाले सुनाइन्।

सर्पले टोकेका ती दिदीभाइको धन्न ज्यान बच्यो
घटना करिब ११ महिनाअघिको हो। करिब १४ वर्षकी बालिका र करिब १० वर्षका बालकलाई सर्पले टोकेछ। सर्पले टोकेका ती बालिका र बालक दिदीभाइ थिए। उनीहरू दुवैको स्वास्थ्य अवस्था जटिल बनिसकेको थियो। त्यसैले अस्पतालमा चिकित्सकको टिमले ती दिदीभाइलाई सर्पले टोकेको औषधि चलाएर उपचार सुरू गरिहाल्यो।

त्यो नै प्युठान अस्पतालमा पहिलो पटक ‘एन्टी स्नेक भेनम’ चलाएर उपचार सुरू गरेको घटना भएको उनले सुनाइन्। तुरुन्तै उपचार सुरू नभएको भए ती दिदीभाइको ज्यानै जाने करिब निश्चित थियो। 

तर, ती दिदीभाइलाई एन्टी स्नेक भेनम चलाइसकेपछि सो औषधिको साइडइफेक्ट स्वरुप श्वासप्रश्वासमा समस्या हुने संकेत देखियो। कतिपय व्यक्तिमा यस्तो समस्या हुन सक्छ। त्यसैले केही बेरमा नै ती दिदीभाइलाई घाँटीबाट प्वाल बनाएर श्वासप्रश्वास प्रक्रिया गराउनुपर्ने संकेत देखियो। उनीहरूलाई आइसीयुमा नै राखेर उपचार गर्नुपर्ने भयो। तर, पूर्वाधार र विशेषज्ञ चिकित्सकको अभावमा त्यो काम प्युठान अस्पतालमा सम्भव भएन। त्यसैले अस्पतालको चिकित्सकको टिमले तुरुन्तै नेपालगञ्जस्थित भेरी अस्पतालमा चिकित्सकलाई फोन गरेर ती दिदीभाइलाई रेफर गर्यो। 

प्युठान अस्पतालले तीन जना स्वास्थ्यकर्मीसहित एम्बुलेन्समा ती दिदीभाइलाई रेफर गर्यो। समन्वय अनुरुप नै भेरी अस्पतालका एनेस्थेसियोलोजिष्ट डा. कृष्ण आचार्य पनि बीच बाटोमा आए। बीच बाटोमा नै भेट भएर डा. कृष्णले ती दिदीभाइलाई श्वासप्रश्वास सहज बनाउने विधि अपनाएर भेरी अस्पताल पुर्याए।

भेरीमा केही दिनको औषधि उपचारपछि ती दिदीभाइको ज्यान बच्यो। अस्पतालबाट डिस्चार्ज भएर घर फर्के। घर फर्केपछि घर, परिवार, समाज तथा नातागोतामा खुसियाली छायो। पछि छोराछोरीलाई बचाउन  सक्रिय भूमिका खेल्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ती दिदीभाइका बुवा आमाले अस्पतालमा नै आएर कार्यक्रम गरेर कृतज्ञ हुँदै सम्मान गरेको डा. प्रमिलाले अनुभव सुनाइन्। 

स्वर्गद्वारीबाट फर्किएका ८ जनाको मृत्यु भएको हृदयविदारक घटना सम्झँदा
घटना करिब एक वर्षअघिको हो। परिवार तथा आफन्त मिलेर स्वर्गद्वारी मन्दिरमा गएका रहेछन्। तर, मन्दिरको दर्शन गरेर फर्किनेक्रममा जिप दुर्घटनामा पर्यो। दुर्घटनामा परेका आठ जनालाई प्युठान अस्पताल पुर्याइयो। अस्पतालमा पुर्याएका ती व्यक्तिहरुको अवस्था जाँच गर्दा सबैको प्राण गइसकेको थियो। 

‘अस्पतालमा ल्याउँदा आठ जनाकै मृत्यु भइसकेको थियो,’ डा. प्रमिलाले सुनाइन्। 

डा. प्रमिलालाई याद भएसम्म मृत्यु भएका आठमध्ये दुई परिवारका गरी एक जना पुरुष, दुई जना महिला, चार जना बालबालिका र एक सवारी चालक थिए।

त्यो घटनाले अस्पतालमा आफन्त तथा गाउँलेको रूवाबासी चल्यो नै। त्यो कहालिलाग्दो हृदयविदारक घटनाले डा. प्रमिलाको पनि मन थामिएन। ८ जना व्यक्तिको मृत्यु भएको त्यो हृदयविदारक घटना सम्झँदा अझै डा. प्रमिलाको मन कटक्क हुन्छ। 
 
रक्त क्यान्सर भएका ७० वर्षीय बाजेको अवस्था के भयो होला!
दाँतको उपचार गर्न पुगेका करिब ७० वर्षका बाजेको घटना पनि डा. प्रमिला कहिल्यै भुल्दिनन्। घटना केही समयअघिको हो। ती ७० वर्षे बाजे आफ्नो दाँत हल्लिएको र दाँतबाट रगत आइरहेकाले दाँत निकाल्नुपर्यो भन्दै एक्लै अस्पताल पुगेका थिए।

उनको कुरा सुनेपछि डा. प्रमिलालाई शंका लाग्यो। अनि डा. प्रमिलालाई ती बाजेका परिवारका सदस्यसँग पनि जानकारी लिन मन लग्यो। त्यसैले उपचार सुरू गर्नुभन्दा अघि ती बाजेसँग फोन नम्बर मागेर बाजेको परिवारमा उनले फोन गरिन्। परिवारमा फोन गर्दा छोरी वा बुहारी कसैले फोन उठाइन्। र, ती फोन उठाउने महिलाले भनिन्, ‘बुवालाई रक्त क्यान्सर भएको छ।’ 

क्यान्सरको उपचार भइरहेको जानकारी दिँदै रक्त क्यान्सर भएको कुरा बुवालाई थाहा नदिन ती महिलाले अनुरोध गरिन्। बाजेको वास्तविक  समस्या थाहा पाएपछि उनलाई आकस्मिक कक्षमा भर्ना गरेर केही समय दाँतबाट आइरहेको रगतको उपचार गरियो। केहीबेरमा ती बाजेका आफन्त आएर घरमा लिएर गए।

उनलाई रक्त क्यान्सर भएको थाहा पाउँदा डा.  प्रमिलाको मन भारी भयो। ती बाजेको स्वास्थ्य अवस्था सम्झँदा डा. प्रमिला अझै मनमै सोच्छिन्,‘बिचरा ति बाजेको स्वास्थ्य अवस्था के भयो होला!’

आफ्नै दाँत दुखेपछि दन्त चिकित्सा पढ्ने निर्णय
२८ वर्षीय प्रमिला अर्घाखाँचीको बलकोटमा जन्मिएकी हुन्। उनले रुपन्देहीस्थित बुटवल दीप बोर्डिङ हाइस्कुलबाट २०६७ मा एसएलसी गरिन्। एसएलसीपछि उनी प्लसटु पढ्न काठमाडौं आइन्। काठमाडौंको लिभरपुलस्थित इन्टरनेशनल कलेजबाट उनले प्लसटु गरिन्। 

प्लसटुपछि प्रमिलाले काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको स्कुल अफ मेडिकल साइन्समा बीडीएस (ब्याचुलर इन डेन्टल सर्जरी) अध्ययनका लागि सन् २०१४ मा  भर्ना भइन्। 

उनले अध्ययनका लागि दाँतको डाक्टरी (डेण्टल सर्जरी) विषय नै रोज्नुको पनि खास कारण रहेछ। प्लसटुमा पढ्दा प्रमिलालाई दाँतको डाक्टर बन्छु भन्ने सोच थिएन। प्लसटु उत्तीर्ण भएपछि प्रमिला आफैंलाई दाँत दुख्ने समस्याले बढी नै सताएछ।

दाँत दुख्ने समस्याले सताएपछि उनी दाँतको उपचारका लागि अस्पताल पुगिन्। उनको दाँत कीराले खाएको रहेछ। अस्पतालमा उनको दाँतको उपचार सुरू भयो। उपचारको क्रममा उनले कीराले खाएको दाँतमा धेरै कीरा हुँदा रहेछन् भन्ने थाहा पाइन्।

चार वटा दाँत नराम्रो गरी बिग्रिएछन्। दुई वटा दाँतको त जरैबाट उपचार गर्नुपर्यो। दाँतको जरैबाट उपचार गर्ने विधिलाई दन्त चिकित्सकीय भाषामा ‘आरसिटी’ भनिन्छ। उनको दाँतको सफल उपचार भयो।

आफैंलाई दाँतको समस्या र उपचारपछि प्रमिलालाई दन्त चिकित्सकको पनि ठूलै महत्व हुँदोरहेछ भन्ने थाहा भयो। चिने जानेकाले पनि प्रमिलालाई दन्त चिकित्सा विषय पढ्दा राम्रै अवसर पाइने सुझाव दिए। त्यसैले उनले दन्त चिकित्सा विषय नै पढ्ने निर्णय गरेर यही विषय पढेकी रहिछन्। सन् २०२० मा इन्टर्नसहित उनको बीडीएस (दन्त चिकित्सा) अध्ययन पूरा भयो। 

सरकारी जागिरे र अस्पतालको नेतृत्व
बीडीएस अध्ययनपछि डा. प्रमिलाले प्युठान जिल्ला अस्पतालमा डेन्टल सर्जन (अधिकृत) का रुपमा करार जागिरे भएर एक वर्ष काम गरिन्। 

त्यो बीचमा उनले विभिन्न क्लिनिकमा पनि काम गरिन्। २०७९ मा डा. प्रमिला लोकसेवा परीक्षामार्फत आठौं तहको डेन्टल सर्जन स्थायी चिकित्सकको रुपमा सरकारी जागिरमा प्रवेश गरिन्। लोकसेवामार्फत सरकारी स्थायी चिकित्सकका रुपमा जागिरे भएपछि केही समय स्वास्थ्य मन्त्रालयमा काम गरिन्। त्यसपछि उनी पोष्टिङ भएर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगिन्। त्यहाँ उनले करिब एक महिना काम गरिन्। 

पोखरापछि डा. प्रमिला सरुवा भएर प्युठान जिल्ला अस्पतालमा पुगिन्। उनी प्युठानमा पुगिनन् मात्रै, त्यहाँ उनले अस्पताल प्रमुख (निमित्त मेडिकल सुपरिटेन्डेन्ट)को जिम्मेवारी समेत पाइन्। सरकारी जागिरे भएपछि उनले प्युठान जिल्ला अस्पतालमा काम गरेको करिब डेढ वर्ष भयो। 

सरकारी जागिरे भएर प्युठान जिल्ला अस्पतालको प्रमुखको जिम्मेवारी सम्हाल्दाका सुरुवाती दिनहरूमा निक्कै कठिन महसुस भएको डा. प्रमिलाले अनुभव सुनाइन्। किनभने चिकित्सकीय प्राविधिक विषय अध्ययन गरेकी उनलाई प्रशासनिक ज्ञान लिँदै अस्पतालको प्रमुखको जिम्मेवारीमा काम गर्नु चुनौतीपूर्ण थियो नै। तर, उनले प्रशासनिक ज्ञान पनि सिक्दै गइन्। नीति, नियम लगायत प्रशासनिक विषयका ज्ञान तथा सीप सिक्दै र अध्ययन गर्दै अगाडि बढिन्।

त्यसो त जनशक्तिकै अभाव भएकाले अस्पताल सञ्चालन गर्न समेत चुनौती नहुने कुरै भएन। आफू प्युठान जिल्ला अस्पताल पुग्दा ४/५ जना चिकित्सक भएको र त्यसमध्ये २/३ जना मात्रै विशेषज्ञ चिकित्सक भएको उनले सुनाइन्। त्यो चुनौतीपूर्ण अवस्थामा कसरी काम गर्ने होला भन्ने उनलाई चिन्ता थियो। तर, उनले बिस्तारै कामलाई सिक्दै, समस्या पहिचान गर्दै अस्पताललाई गति दिँदै लगेको अनुभव सुनाइन्। 

प्युठान अस्पतालको नेतृत्व सम्हालेको करिब डेढ वर्षसम्म आइपुग्दा हाल आधा दर्जनभन्दा बढी विशेषज्ञ चिकित्सक रहेको डा. प्रमिलाले सुनाइन्। हाल करिब दश जना मेडिकल अधिकृत चिकित्सक रहेको र अस्पतालमा सेवाको विस्तार हुँदै गएको उनले सुनाइन्।

अहिले प्युठान अस्पतालमा सानो देखि विभिन्न किसिमका जटिल किसिमका शल्यक्रिया समेत हुने गरेको उनले सुनाइन्। बालरोग, प्रसूति तथा स्त्रीरोग विशेषज्ञ, आर्थोपेडिक्स सर्जन, फिजिसियन, एनेस्थेसियोलोजिष्ट लगायत विशेषज्ञ चिकित्सकले अस्पतालमा सेवा दिइरहेको उनले सुनाइन्।

बीडीएस अध्ययन गर्ने क्रममा यिनिहरू त डेन्टिस्ट त हो नी भन्दै खिसी समेत गरेको डा. प्रमिलालाई महसुस हुन्थ्यो। तर, बीडीएस अध्ययन गरेर काम गर्न थालिसकेपछि भने त्यस्तो खिसी गरेको थाहा नपाएको उनको अनुभव छ।  

२६ जेठ, २०८१, २०:२५:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।