डा. अमिरबाबुको उपचार अनुभव : घाँटीमा प्वाल पारेपछि मात्रै दिदीको ज्यान बाँच्यो

डा. अमिरबाबुको उपचार अनुभव : घाँटीमा प्वाल पारेपछि मात्रै दिदीको ज्यान बाँच्यो

प्रा.डा. अमिरबाबु श्रेष्ठ एनेस्थेसियोलोजिष्ट चिकित्सक हुन्। विशेषगरी शल्यक्रिया गर्नुपर्ने बिरामीलाई शल्यक्रिया गर्न मिल्ने वा नमिल्ने विषयको निर्क्योल गर्ने, अनि शल्यक्रिया गर्नुपर्ने बिरामीलाई बेहोस बनाउनेदेखि लिएर ब्यूँताउने र दुखाई व्यवस्थापन गर्ने लगायत उनको काम हो। उनै डा. अमिरले उकेरासँग चिकित्सकीय पेसाको शिलशिलामा देखे भोगेका अनुभव यसरी साटेका छन् :

000

विद्यार्थी वनभोज गएको बस दुर्घटना भएर मृत्यु हुँदाको त्यो घटना
भक्तपुर अस्पतालमा काम गर्दा विद्यार्थीहरू वनभोज गएको बस दुर्घटना हुँदा विद्यार्थीको मृत्यु भएको घटना डा. अमिरको मानसपटलमा ताजै छ।

घटना करिब २७ वर्षअघिको हो। 

काठमाडौंको कन्या माविका विद्यार्थी चाँगुनारायण मन्दिरमा वनभोज खान गएका थिए। वनभोज सकेर फर्किने क्रममा चाँगुनारायणको ओरालो बाटोमा बेलुका बस दुर्घटनामा परेछ। त्यसपछि ती घाइतेहरूलाई भक्तपुर अस्पतालमा पुर्याइयो। साँझको त्यो समयमा ड्युटीका डाक्टरहरू अस्पतालमा रहेनछन्। त्यसैले अस्पतालबाट कर्मचारीहरूले डा. अमिरलाई घरैमा बोलाउन पुगेछन्।

बस दुर्घटनामा परेका घाइतेलाई अस्पतालमा पुर्याइएको छ भन्ने थाहा पाएपछि डा. अमिर दौडँदै भक्तपुर अस्पताल पुगे। अस्पतालमा पुग्दा त घाइतेहरू छटपटाइरहेका थिए। घाइतेको संख्या ठूलै थियो। अस्पताल पुगेपछि प्राथमिक उपचार गर्दै सम्भव हुनेलाई उनले त्यहीँ उपचार व्यवस्थापन गरे। त्यहाँ सम्भव नहुनेलाई अन्यत्र ठूला अस्पतालमा रेफर गरे। 

डा. अमिरलाई याद भएसम्म वनभोज गएका ३/४ जना विद्यार्थीको त दुर्घटनामा परी (अन द स्पट) मृत्यु नै भइसकेको थियो। भक्तपुर अस्पतालबाट रेफर भएका केही घाइतेको पनि पछि मृत्यु भएको थाहा पाएको उनले सुनाए।

त्यो कहालिलाग्दो दुर्घटनामा परेका घाइतेलाई अस्पतालसम्म पुर्याउन सडकमा एम्बुलेन्सको लस्करै भएको उनी अझै सम्झन्छन्। डा. अमिर लगायतको टिमले रातभर दुर्घटनामा परी घाइते भएका व्यक्तिको औषधी उपचार गर्यो। 

मेडिकल अधिकृतको रुपमा भक्तपुर अस्पतालमा कार्यरत हुँदा भएको त्यो कहालिलाग्दो दुर्घटना सम्झँदा अझै उनको आङ जिरिङ्ग हुन्छ।

जब दिदीको घाँटीमा प्वाल बनाइदिएपछि ज्यान बाँच्यो
त्यसो त आफ्नै दिदीको पक्षघात (ब्रेन स्ट्रोक) भएर श्वास फेर्न कठिन भएको अवस्थामा बचाएको प्रसंग पनि डा. अमिर कहिल्यै भुल्दैनन्।

प्रसंग करिब २० वर्षअघिको हो। त्यो बेला डा. अमिर जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा काम गर्थे।

एक दिन दिदी बिरामी भएको बारे उनलाई फोन आयो। बिरामी दिदीको अवस्था जटिल भएको उनले  बुझिहाले। अनि उनले तुरुन्तै नजिकको अस्पताल लान सुझाव दिए। नभन्दै परिवारले उनलाई तत्कालै भक्तपुर क्यान्सर अस्पतालमा पुर्याए।

त्यो बेला उनको थोत्रो मोटरसाइकल थियो। दिदी बिरामी भएको सुन्नासाथ त्यही थोत्रो मोटरसाइकल द्रुत गतिमा हाँकेर डा. अमिर भक्तपुर क्यान्सर अस्पताल पुगे। अस्पताल पुग्दा दिदीको शरीर नीलो भइसकेको थियो। अनि डा. अमिरले हतारहतार कृत्रिम श्वास फेराउनका लागि दिदीको मुखबाट फोक्सोमा पाइप राखिदिए। फोक्सोमा पाइप राखेर अक्सिजन दिन थालेपछि बिस्तारै दिदीको शरीर रातो पिरो हुँदै आउन थाल्यो।

धेरै दिन भेन्टिलेटरमा नै राखेर थप औषधि उपचार गर्नुपर्ने देखिएपछि तत्कालै भक्तपुरबाट रेफर गरेर काठमाडौं मेडिकल कलेज (केएमसी)मा पुर्याइयो। मस्तिष्कघात हुँदा दिदीको घाँटीको श्वास फेर्ने अंगमा नै समस्या भएछ। जसले गर्दा दिदीले नाक र मुखले श्वास फेर्न नसक्ने अवस्था निम्तियो। 

त्यसैले केएमसीमा लगेर शल्यक्रिया गरी श्वासप्रश्वासका लागि चिकित्सकको टिमले दिदीको घाँटीमा प्वाल बनाइदियो। केही दिन केएमसीमा राखियो। केही दिनको औषधि उपचारपछि दिदी अस्पतालबाट डिस्चार्ज भइन्। त्यसो त परिवारले डा. अमिरको दिदीको लागि गौदान पनि गरे।

धन्य, लामो समयको औषधि उपचारपछि उनकी दिदीको ज्यान बाँच्यो। घाँटीमा प्वाल पारिएकी उनकी दिदीले अहिले पनि घाँटीबाटै श्वास फेर्छिन् रे। मुख चलाए पनि त्यही घाँटीको प्वालबाट बोल्छिन् रे। तर, अरु मान्छेले भने थाहा पाउँदैनन्। 

करिब ७५ वर्षकी उनकी दिदी औषधि सेवन गरिरहे पनि राम्रैसँग हिँडडुल गर्न सक्ने अवस्थामा रहेको उनले सुनाए। राम्रैसँग बोलचाल गर्छिन्। त्यसरी माया नै मारिसकेकी दिदीलाई बचाउन पाउँदा निक्कै आनन्द लागेको डा. अमिरले सुनाए।

जन्म भक्तपुर, हेडसरको तलब १ सय ८५
डा. अमिर २०२० मा भक्तपुरको दरबार स्क्वायर क्षेत्रमा पर्ने यालाछेँ टोलमा जन्मिएका हुन्। उनको बुवा पेसाले शिक्षक थिए। त्यो बेला दरबार हाइस्कुलमा पढाउँथे। त्यसैले उनले पाँच कक्षासम्म काठमाडौंको खिचापोखरिस्थित रनमुक्तेश्वरको निर्मल विद्यापीठ स्कुलमा सुकुलमा बसेरै पढे।

अमिरले नयाँ शिक्षा लागुभएसँगै भक्तपुरको शारदा माविमा अध्ययन गर्न थाले। त्यहीँबाट उनले २०३५ मा एसएलसी पास गरे। त्यो बेला विद्यार्थी आन्दोलन चर्केको अवस्था थियो। त्यसैले एसएलसीको नतिजा प्रकाशित भएपनि क्याम्पस भर्ना गरिहाल्ने वातावरण थिएन। 

त्यो बेला उनका बुवाको सरुवा सिन्धुपाल्चोकको शिक्षा कार्यालयमा भएको थियो। त्यसैले एसएलसीपछि उनका बुवासँगै उनी सिन्धुपाल्चोकमा पुगेर गिदाने भन्ने ठाउँ पुगे। त्यसपछि नयाँ खुलेको प्राथमिक तहको विद्यालयमा प्रधानाध्यापक भएर उनले एक वर्ष काम गरे।

त्यो विद्यालय पुग्न सदरमुकाम चौताराबाट करिब एक घण्टा भन्दा बढी हिँड्नुपर्थ्यो। एक जनाको मात्रै दरबन्दी भएको तीन कक्षासम्मको त्यो प्राथमिक तहको विद्यालयमा प्रधानाध्यापक देखि सबै भूमिकाको काम उनले आफैं गरे। आफू एक जना मात्रै भएकाले सबै विद्यार्थीलाई एकै ठाउँमा राखेर पठाउँथे। 

त्यो बेला उनको विद्यालयमा मासिक तलब १ सय ६० रुपैयाँ थियो। प्रधानाध्यापक भएकाले भत्ता २५ रुपैयाँ पाइन्थ्यो। 

महाराजगञ्जमा एचए अध्ययन
अमिरलाई डाक्टर नै पढाउने उनका बुवाको इच्छा थियो। त्यो बेला दुई तरिकाले डाक्टर पढ्न पाइन्थ्यो। एउटा चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगञ्ज क्याम्पसमा हेल्थ असिस्टेन्ट (एचए) विषय पढेर, अर्को आईएस्सी पढेपछि डाक्टर पढ्न पाइन्थ्यो। 

हेल्थ असिस्टेन्ट विषय अध्ययन गर्दा डाक्टर पढ्न पाउने अवसर छिटो मिल्थ्यो। त्यसैले उनले हेल्थ असिस्टेन्ट (एचए) अध्ययनका लागि चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगञ्ज केन्द्रीय क्याम्पसमा छनोट परीक्षा दिए। तर, छनोट परीक्षामा सुरुमा नाम निस्किएन। त्यसपछि उनले अस्कल क्याम्पसमा आईएस्सी अध्ययन गर्न थाले।

करिब एक महिना आईएस्सी अध्ययन गरेपछि महाराजगञ्ज केन्द्रीय क्याम्पसमा एचएको सिटमा केही विद्यार्थी भर्ना भएनछन्। अनि केही सिट रिक्त भएछन्। त्यसैले आईएस्सी अध्ययन छोडेर उनी महाराजगञ्ज केन्द्रीय क्याम्पस (हालको महाराजगञ्ज चिकित्सा क्याम्पस)मा एचएमा भर्ना भए।

साढे दुई वर्षको कोर्ष भएपनि त्यो बेलाको आन्दोलनले गर्दा एचए अध्ययन सक्न करिब चार वर्ष लाग्यो। २०४० मा उनले एचए अध्ययन सके।

सामान्य चिकित्सा शास्त्रको प्रमाणपत्र तहको यो अध्ययनलाई नै एचए भनिन्छ।

म्यादी जागिरपछि सरकारी जागिरे
एचए अध्ययन सकेर तीन वर्ष काम गरेपछि मात्रै नेपालमा डाक्टरी (एमबीबीएस) अध्ययन गर्न पाइन्थ्यो। त्यसैले अमिर एचए तहको सरकारी म्यादी स्वास्थ्यकर्मीका रुपमा नियुक्ति लिएर रसुवाको स्याप्रुबेसी हेल्थ पोष्टमा पुगे। सदरमुकाम धुन्चेमा डाक्टर नभएकाले स्याप्रुबेसीमा करिब  दुई महिना काम गरेपछि उनी काजमा धुन्चे हेल्थ सेन्टरको निमित्त प्रमुखको रुपमा काम गर्न पुगे। म्यादीका रुपमा उनले करिब ६ महिना काम गरे।

त्यो बेला गण्डकी अञ्चल अस्पताल अन्तर्गतका स्वास्थ्य संस्थामा काम गर्ने गरी लोकसेवा परीक्षा खुल्यो। अमिरले पनि परीक्षा दिए। उनले २०४० तिर लोकसेवामार्फत स्थायी सरकारी जागिरे भएर नियुक्ति लिई गोरखाको जौबारी हेल्थपोष्टमा पुगे। जौबारीमा उनी एक वर्ष काम गरे।

डाक्टर पढ्ने लोभ
अमिरलाई थप अध्ययन त गर्नु छँदैथियो। त्यो बेला नेपालमा ‘सेभ द चिल्ड्रेन फन्ड (बालबचाउ कोष)’ कार्यक्रम सञ्चालित थियो। त्यहाँ विदेशी चिकित्सक पनि हुन्थे। त्यसैले उनलाई विदेशी डाक्टरहरूसँग संगत गर्दा डाक्टरी पढ्न पाइन्छ की भन्ने लोभ लाग्यो। त्यसैले डाक्टरी विषय पढ्न पाइएला की भन्ने लोभले अमिर सरकारी जागिरबाट काजमा ‘सेभ द चिल्ड्रेन फन्ड’मा पुगेर सुर्खेतको वीरेन्द्रनगरमा करिब दुई वर्ष काम गरे।

त्यहाँ काम गर्दागर्दै अमिरले एचए अध्ययनपछि सरकारी जागिर खाएको तीन वर्ष भइसकेको थियो। त्यसैले उनले छात्रवृत्ति कोटामा तत्कालीन सोभियत संघमा डाक्टर अध्ययन गर्न जाने मौका पाए। उनी २०४३ मा त्यहाँ एमडी (डाक्टर्स इन मेडिसिन) अध्ययनका लागि पुगे। सोभियत संघको त्यो एमडीलाई नेपालमा एमबीबीएस सरहको मान्यता दिइन्छ।

तत्कालीन सोभियत संघको मल्दोभास्थित किसिनेभ सहरमा एक वर्ष भाषा र बेसिक साइन्स अनि ६ वर्ष हालको बेलारुसमा डाक्टरी विषय गरी सात वर्ष अध्ययन गरेर अमिर २०५० मा नेपाल फर्किए।

कहिले दुर्गम, कहिले सुगम
नेपालमा फर्किएपछि डा. अमिरलाई एउटा दुविधा भयो। नेपाल सरकारमा उनको जागिर एचएका रुपमा थियो। तर, उनले डाक्टर पढेर आइसकेका थिए। डाक्टरको परीक्षा दिन लोकसेवा खुलेको  थिएन।

एचएकै रुपमा सरकारी जागिरमा बसिरहन उनलाई मन लागेन। एमबीबीएसपछि उनी सरकारी जागिरमा हाजिर हुन गएनन्। त्यसैले उनले त्रिवि शिक्षण अस्पतालमा हाउस अफिसरका रुपमा काम गर्न थाले। त्यहाँ करिब डेढ वर्ष उनले काम गरे। त्यसपछि उनी शिक्षण अस्पतालको जागिर छोडेर २०५२ ति  एनजिओले चलाएको सोलुखुम्बुको खरिखोला अस्पतालमा काम गर्न पुगे। त्यहाँ आकर्षक तलब सुविधा थियो। सदरमुकामबाट एक दिनभन्दा धेरै हिँडेपछि त्यो अस्पताल पुगिन्थ्यो। 

तर, सोलुखुम्बुमा करिब एक वर्ष काम गरेपछि भने डा. अमिर २०५२ मा लोकसेवामा परीक्षामार्फत पुन: सरकारी मेडिकल अधिकृत स्थायी चिकित्सकका रुपमा जागिरे भए। उनको पोष्टिङ भक्तपुर जिल्ला अस्पतालमा भयो। तर, उनलाई भने दुर्गममा नै गएर काम गर्ने इच्छा थियो। दुर्गममा जान नमिलेपछि उनले भक्तपुर जिल्ला अस्पतालमा करिब तीन वर्ष काम गरे।

त्यो प्रपञ्चले एमडी पढ्न नपाएपछि...
भक्तपुरमा तीन वर्ष काम गरेपछि डा. अमिरले त्रिवि, चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गत महाराज चिकित्सा क्याम्पसमा स्नातकोत्तर तहको एमडी अध्ययनका लागि छनोट परीक्षा दिए।

अध्ययनका लागि छनोट भएपनि त्यो बेला स्वास्थ्य मन्त्रालयका केही कर्मचारीले दुर्गमको अड्को थाप्दै ‘तपाईँलाई छनोट परीक्षा दिन पो अनुमति दिएको त, पढ्न त कहाँ अनुमति दिएको हो र?’ भन्ने तर्क गरेछन्। दुर्गममा जान्छु भन्दा मन्त्रालयले नदिने अनि छनोट परीक्षा दिएर पढ्न चाहिँ पाउँदैनस् भन्दा उनको मन अमिलो भयो। कुरा बुझ्दै जाँदा त्यो बेलाका मन्त्रीका आसेपासे केही डाक्टरको सिट नै गुम्ने भएपछि त्यस्तो प्रपञ्च रचिएको उनले थाहा पाए। 

उनीलगायत धेरै जना त्यस्ता पीडित भएछन्।

राजनीतिक शक्तिका बीच उनको केही लागेन। उनले कसै गरेपनि एमडी पढ्ने अवसर पाएनन्। त्यसैले तुरुन्तै दुर्गमको सरुवा मागेर डा. अमिर दोलखाको दुर्गम ठाउँ जिरी पुगे। त्यहाँ एक वर्ष काम गरेर उनी काठमाडौं फर्के।

डा. अमिरले पुन: महाराजगञ्ज चिकित्सा क्याम्पसमा एमडी अध्ययनका लागि छनोट परीक्षा दिए। छनोट भएर अध्ययन विदा लिई सरकारी छात्रवृत्ति कोटामा एनेस्थेसिया विषयमा उनले २०५७ मा एमडी अध्ययन थाले। आफूले चिकित्सा शास्त्रका सबै तहको छात्रवृत्ति कोटामा नै अध्ययन गरेको उनले सुनाए। २०६० मा उनको तीन वर्षे एमडी अध्ययन सकियो।

ती महानिर्देशकले झपारेको त्यो झ्वाँक
एनेस्थेसिया विषय अध्ययन गरिसकेपछि  स्वास्थ्य मन्त्रालयले डा. अमिरलाई झापास्थित तत्कालीन मेची अञ्चल अस्पतालमा खटायो। उनी त्यहाँ काम गर्न पुगे। तर, झापामा बच्चा जन्माउन नसकेका गर्भवतीको शल्यक्रिया (सिजरियन सेक्शन) गरेर बच्चा निकाल्ने बाहेकको खासै ठूला शल्यक्रिया हुँदैनथिए। किनकी ठूला शल्यक्रियाका लागि त्यहाँ भौतिक पूर्वाधार तथा मेसिन औजार र जनशक्ति लगायतको गतिलो व्यवस्थापन थिएन। 

सिजरियन सेक्शन तथा सामान्य किसिमको शल्यक्रियाका लागि त्यहाँ एनेस्थेसिया एसिस्टेन्टले नै काम गरिराखेका थिए। त्यहाँ ठूलो शल्यक्रिया नहुने भएपछि उनले एनेस्थेसियोलोजिष्टका रुपमा खासै काम गर्ने मौका पाएनन्। त्यसैले उनी एनेस्थेसियोलोजिष्टको धेरै काम हुने ठाउँमा सरुवा हुन चाहे।

ऐनेस्थेसियोलोजिष्टको खासै कामै नहुने ठाउँमा पठाउने स्वास्थ्य सेवा विभागका त्यो बेलाका एक जना महानिर्देशक थिए। केही समयपछि डा. अमिरले तिनै महानिर्देशकलाई नै काम हुने ठाउँमा खटाइदिन माग गर्न गए। तर, ती महानिर्देशकले डा. अमिरलाई झपार्दै भनेछन्, ‘नियमावली हेर्नुहोस् न। दुई वर्ष नभई कसरी सरुवा हुन्छ?’ काम हुने ठाउँमा सरुवा माग्न जाँदा महानिर्देशकले झपारेपछि उनको चित्त दुख्यो।

महानिर्देशकले झपारेपछि डा. अमिरले पनि काम हुने ठाउँमा सरुवा नगरिदिने हो भने राजीनामा गर्छु भनेर तुरुन्तै राजीनामा पत्र लेखेर दर्ता गरिदिए। तर, राजीनामा स्वीकृत भइसकेको थिएन।

राजीनामा दिएर डा. अमिर काठमाडौंको जोरपाटीस्थित नेपाल  मेडिकल कलेजमा लेक्चरका रुपमा काम गर्न गए। त्यहाँ नेपाल सरकारको भन्दा करिब ६ गुणा बढी तलब सुविधा थियो।

नेपाल  मेडिकल कलेजमा काम गरिरहँदा स्वास्थ्य मन्त्रालयका  उच्च तहका कर्मचारीहरूले एक दिन फोन गरेर किन सरकारी जागिरबाट राजीनामा दिनु भएको? भनेर सोधखोज गर्दै उनलाई बोलाउन थालेछन्। मन्त्रालयबाट फोन आउँदा डा. अमिर सिधै ‘कामै नहुने ठाउँमा पठाएकाले राजीनामा दिएको हो’ भन्दै उत्तर दिन्थे।

तर, मन्त्रालयका उच्च तहका कर्मचारीहरूले पटक पटक राजीनामा स्वीकृत भइनसकेकाले जागिर खान आउन अनुरोध गरेपछि उनी एक दिन स्वास्थ्य मन्त्रालय गए। मन्त्रालयमा पुगेपछि  कर्मचारीले ‘तपाईँले जहाँ भन्नुहुन्छ त्यहीँ सरुवा गरिदिन्छौँ’ भनेछन्। त्यसपछि डा. अमिरले पनि फ्याट्ट ‘प्रसूति गृहमा सरुवा गरिदिने हो भने आउँछु’ भनेछन्।

मन्त्रालयले तुरुन्तै काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह) मा सरुवा भएको पत्र बनाइदियो। त्यसैले सरकारी जागिरबाट राजीनामा दिएको करिब डेढ वर्षपछि डा. अमिर पुन सरकारी जागिरमा वरिष्ठ मेडिकल अधिकृतको रुपमा फर्किएर प्रसूति गृहमा काम गर्न थाले।

ती सक्रिय भूमिका
प्रसूति गृह पुगेपछि डा. अमिर नऔं, दशैं र बढुवा हुँदै एघारौं तहमा पुगे। उनले प्रसूति गृहमा ऐनेस्थेसिया विभागको प्रमुख, अस्पतालको उपनिर्देशक हुँदै निर्देशक सम्मको भूमिकामा काम गर्ने मौका पाए। उनले प्रसूति गृहमा रहँदा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको प्राध्यापकसम्मको तहमा रहेर काम गर्नुका साथै एनेस्थेसिया विषय समितिको संयोजक भएर समेत शैक्षिक कार्यक्रममा सक्रिय भूमिका खेले।  

प्रसूति गृहमा डा. अमिरले दुई पटक निर्देशकको भूमिकामा काम गर्ने मौका पाए। अस्पताल विकास  समितिको सदस्यजस्तो भूमिकामा पनि उनले काम गरे। गत वर्ष असारमा भने अवकाशको ६० वर्षे अनिवार्य उमेरहदका कारण सरकारी जागिरबाट डा. अमिरले अवकाश पाए। त्यसो त अवकाशपछि पनि उनलाई त्यतिकै बस्न मन लागेन। त्यसैले हाल उनी कास्कीको पोखरास्थित मनिपाल मेडिकल कलेजमा काम गरिरहेका छन्। त्यहाँ उनी प्राध्यापक तथा एनेस्थेसिया विभागमा विभागीय प्रमुखका रुपमा कार्यरत छन्। एनेस्थेसिया विषयको वृद्धि, विकास, पाठ्यक्रम निर्माण लगायतमा उनको सक्रिय भूमिका छ। 

डा. अमिरले विभिन्न मुलुकमा पुगेर एनेस्थेसिया सम्बन्धी ज्ञान तथा सीप समेत सिक्ने मौका पाए। उनले अस्ट्रेलिया र जापानमा एनेस्थेसिया सम्बन्धी फेलोसिप समेत गर्ने अवसर पाए।

उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार समेत पाएका छन्। राष्ट्रपतिबाट उनले गत वर्ष सुप्रसिद्ध प्रबल जनसेवा श्री पदकबाट विभूषित समेत भएका छन्। डा. अमिर ‘सोसाइटी अफ एनेस्थेसियोलोजिष्ट अफ नेपाल’को अध्यक्षको भूमिकामा समेत छन्। 

वैशाख २९, २०८१ शनिबार २२:१४:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।