दुर्गमका डाक्टर प्रभुको उपचार अनुभव : ती भोजपुरकी महिलाको गर्भमै भ्रुण कुहियो, दुई घण्टा लगाएर पाठेघर खुर्कियौं

दुर्गमका डाक्टर प्रभुको उपचार अनुभव : ती भोजपुरकी महिलाको गर्भमै भ्रुण कुहियो, दुई घण्टा लगाएर पाठेघर खुर्कियौं

डा. प्रभु साह प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन्। उनी इलाम जिल्ला अस्पतालमा कार्यरत छन्। डा. प्रभु प्रसूति तथा स्त्रीरोग विशेषज्ञ भएको नाताले उनले महिलाजन्य समस्या र उनीहरूका दुःख र पीडा नजिकबाट नियालेका छन्। उनै डा. प्रभुले उकेरासँग चिकित्सकीय पेशाका सिलसिलामा देखे-भोगेका अनुभव साटेका छन्।

गर्भमै भ्रुण कुहिएपछि...
घटना करिब पाँच वर्ष अघिको हो। भोजपुरतिरकी करिब २२ वर्षीया गर्भवती महिलालाई स्वास्थ्यमा समस्या भएछ। गर्भवती भएको छ महिनामा ती महिला जिल्ला अस्पताल पुगिछन्। परीक्षण गर्दा गर्भमा नै बच्चाको मृत्यु भएको थाहा भएछ। जिल्लामा चिकित्सकको टिमले गर्भमा मृत्यु भएको बच्चा निकाल्ने प्रयास गरे पनि नसकेपछि विराटनगरस्थित कोशी अस्पतालमा रिफर गरेछ।

महिला कोशी अस्पताल आएर भर्ना भइन्। त्यहाँ स्वास्थ्य परीक्षण भयो। चिकित्सकको टिमले सामान्य औषधि लगायतको विधिबाट भ्रुण निकाल्ने प्रयास गरे पनि त्यो सम्भव भएन। त्यसपछि टिम शल्यक्रिया नै गर्ने निष्कर्षमा पुग्यो। सबै तयारीपछि डा. प्रभुलगायत चिकित्सकको टिमले शल्यक्रिया गरी गर्भको मृत भ्रुण निकाल्न थाल्यो। शल्यक्रिया गरेर पाठेघर हेर्दा त चिकित्सकको टिम नै चकित पर्यो।

ती महिलाको त गर्भमा रहेको भ्रुणको मृत्यु भएर पाठेघरमा टाँसिएको थियो। मृत भ्रुण कुहिएर आफू मात्र होइन पाठेघरलाई नै कालो बनाएको थियो। मृत भ्रुणको आकार नै थिएन। कुहिएर पाठेघरमा मृत भ्रुणको अवशेष टाँसिएको अवस्थामा थियो। यसको अर्थ गर्भमा भ्रुणको मृत्यु भएर टाँसिएको निक्कै समय भइसकेको थियो। जसकारण ती महिलाको स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो।

पाठेघरमा भ्रुण कुहिएर टाँसिदा पाठेघर नै कालो भएको देखेर डा. प्रभु चकित भए। चिकित्सा शास्त्रको अध्ययन गर्दा किताबमा उनले त्यस किसिमको समस्याका विषयमा पढेको पनि प्रत्यक्ष देखेका थिएनन्।

‘अच्चम्म देखियो,’ डा. प्रभुले घटना सुनाए, ‘मृत भ्रुण पाठेघरभित्र कुहिएर टाँसिएर पाठेघर नै सबै कालो भइसकेको थियो।’

पाठेघर नै कालो भएको देखिएपछि डा. प्रभुले डा. संगीता कौशल मिश्रालगायत चिकित्सकको टिमलाई महिलाको स्वास्थ्य अवस्थाका विषयमा खबर गरे। चिकित्सकको टिमलाई पाठेघर कसरी बचाउन सकिन्छ भन्ने चिन्ता भयो। ती महिलाको त्यो खेर गएको पहिलो गर्भ थियो।

त्यसैले सकेसम्म पाठेघर बचाउने गरी चिकित्सकको टिमले पाठेघरमा कुहिएर टाँसिएको मृत भ्रुणको अवशेष निकाल्न थाल्यो। सुरुमा त कता काट्ने कताबाट निकाल्ने भन्ने निक्कै अन्योलता भयो। तर, चिकित्सकको टिम हडबढाएन। कुहिएर पाठेघरमा टाँसिएको त्यो मृत भ्रुणको अवशेष दुई घण्टाको मिहिनेतपछि विस्तारै खुर्किँदै निकाल्यो र महिलाको पाठेघर बचाउन सफल भयो।

ति महिला शल्यक्रिया गरेको करिब एक हप्तापछि बाँचेर अस्पतालबाट घर फर्किइन्। शल्यक्रियाको सफलतापछि डिस्चार्ज गरेर घर पठाएको करिब डेढ महिनापछि सम्पर्क गर्दा ती महिलालाई रजश्वला भएको थाहा पाएको डा. प्रभुले सुनाए। रजश्वला भएको थाहा पाएकाले ती महिलाले अरु बच्चा जन्माउन सक्ने आधार देखिएको उनले सुनाए। ती महिलाको त्यो अवस्था सम्झँदा अझै उनी चकित हुन्छन्।

एचआइभी संक्रमितले एचआईभी मुक्त बच्चा जन्माएपछि...
घटना करिब नौ वर्षअघिको हो। एक जना गर्भवती महिला स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगिन्। उनी एचआइभी संक्रमित थिइन्। त्यसैले उनको विशेष ध्यान दिनुपर्ने अवस्था थियो। ती महिला अस्पताल पुगेको सुरुवाती दिनबाटै डा. प्रभुले स्वास्थ्य परीक्षण तथा औषधि उपचार गर्दै आए। ती महिलाबाट जन्मने बच्चालाई आमालाई भएको एचआईभी नसरोस् भनेर त्यही अनुसार औषधि गरिहेका थिए।

ती गर्भवतीको बच्चा जन्माउने दिन नजिकियो। शल्यक्रिया गरेर बच्चा निकाल्नुपर्ने भयो। अस्पतालमा अरु स्वास्थ्यकर्मीले त्यहीँ शल्यक्रिया गरी बच्चा निकाल्न सुरुमा आँट गरेनन्, एचआईभी सर्ला कि भन्ने डरले। अर्कोतर्फ आमा र बच्चालाई बचाउन सकिने हो कि हैन भन्ने प्रश्न त छँदै थियो। त्यसैले त्यो बेला एचआईभी संक्रमित गर्भवतीलाई सुत्केरी गराउन ठूला अस्पतालमा रिफर गर्ने चलन थियो।

तर, डा. प्रभुले भने एचआईभी संक्रमित गर्भवती महिलाको उपचार तथा सुत्केरी गराउने तालिम लिएका थिए। त्यसैले अस्पतालमा एचआईभी संक्रमित गर्भवतीलाई सुरक्षित रूपमा सुत्केरी गराउन सकिने विषयमा अस्पतालमा नर्स लगायत स्वास्थ्यकर्मीलाई उनले विश्वस्त गराए अनि सुत्केरीको सबै तयारी गरे।

सुत्केरीको समयमा बच्चालाई एचआईभी नसरोस् भनेर थप सावधानी अपनाउनुपर्ने थियो। चिकित्सकको टिमले त्यसमा ध्यान दियो नै। सबै तयारीपछि डा. प्रभुको टिमले ति महिलालाई सकुशल सुत्केरी गरायो। पछि परीक्षण गर्दा संक्रमित महिलाबाट जन्मिएको बच्चालाई एचआईभी देखिएन।

महिला एचआईभी संक्रमित नै भएको अवस्थामा समेत गर्भवती भएको सुरुवाती दिनबाट नै औषधि उपचार गरेको खण्डमा संक्रमित महिलाबाट जन्मिएका बच्चामा एचआईभी संक्रमण सर्ने सम्भावना न्यून हुने उनले सुनाए।

केही दिनको अस्पताल बसाइपछि ती एचआईभी संक्रमित महिलाले एचआईभी मुक्त आफ्नो बच्चा च्यापेर मुस्कुराउँदै घर फर्किइन्। ती महिलाले एचआईभीमुक्त बच्चा च्यापेर अस्पतालबाट फर्केको त्यो खुसीको क्षण सम्झँदा अझै डा. प्रभुलाई आनन्द लाग्छ।

त्यो बेला पत्रपत्रिकाले पनि त्यो समाचार सम्प्रेषण गरेको उनी सम्झन्छन्। पछि ति महिला बच्चा जन्मिएको करिब डेढ वर्षसम्म डा. प्रभु जनकपुरमा हुँदा फलोअपमा आएको र बच्चा एचआइभीमुक्त नै रहेको उनी सम्झन्छन्।

कोरोना संक्रमित गर्भवतीलाई बचाएको क्षण
कोरोना भाइरस संक्रमणको समयमा इलाम जिल्ला अस्पतालमा एक जना करिब २२ वर्षकी कोरोना भाइरस संक्रमित गर्भवती महिला र नवजात शिशुलाई बचाएर पठाएको सम्झन्छन्, उनी।

कोरोना भाइरस संक्रमणको समयमा प्रसव व्यथाले च्यापेर ती २२ वर्षीया महिला अस्पताल पुगिन्। उनलाई रुघाखोकी लागेको थियो। कोरोना परीक्षण गर्दा पोजेटिभ देखियो।

संक्रमित गर्भवती महिलालाई छुट्टै कोठामा राखियो। शल्यक्रिया गर्नुपर्ने अवस्था आएमा अप्रेशन थिएटरबाट अरुलाई पनि संक्रमण हुनसक्ने जोखिम थियो। गर्भवती महिलालाई भर्ना गरियो।

ती गर्भवती समान्य रूपमा सुत्केरी हुन नसकेपछि शल्यक्रिया नै गरेर बच्चा निकाल्नुपर्ने अवस्था निम्तियो। त्यसैले डा. प्रभु लगायत चिकित्सकको टिमले तयारी गर्यो। शल्यक्रिया पनि सफलतापूर्वक सम्पन्न गर्यो।

अरूलाई संक्रमण हुनबाट बचाउन आमा र बच्चालाई सँगै तर एउटा छुट्टै कोठामा राखियो। चिकित्सकको टिमले बच्चालाई पनि संक्रमण हुनबाट बचायो।

चिकित्सकको टिमले आमा र बच्चा दुवैलाई सुरक्षित तवरमा ज्यान बचाएर शल्यक्रिया गरेको करिब एक हप्तामा उनीहरू डिस्चार्ज भए। ती कोरोना संक्रमित गर्भवती महिला र उनको नवजात शिशुलाई सकुशल डिस्चार्ज गरी घर फर्काउन सफल भएकोमा डा. प्रभुलाई निक्कै आनन्द लाग्यो।

कोभिड व्यवस्थापन पनि इलाम अस्पतालले राम्रोगरी व्यवस्थापनको कोसिस गरेको उनी सम्झन्छन्। कोरोना संक्रमणकै कारण इलाम अस्पतालमा एक जनाको पनि मृत्यु नभएको उनले सुनाए। तर, सो अस्पतालबाट अन्यन्त्र रिफर भएका ३/४ जना संक्रमितको भने मृत्यु भएको उनले सुनाए।

डाक्टरी सपना
मोरङको सुन्दरहरैचामा २०३८ मा जन्मिएका प्रभुले स्थानीय श्री जनता माविबाट २०५३ मा एसएलसी गरे र विराटनगरबाटै आईएस्सी गरे।

बुवा सरकारी स्वास्थ्यकर्मी नै भएको नाताले समेत उनलाई डाक्टरी विषय अध्ययन गर्ने खुब रहर थियो। त्यसैले उनी एमबीबीएस अध्ययनका लागि काठमाडौं आए।

सिनामंगलस्थित काठमाडौं विश्वविद्यालय अन्तर्गतको काठमाडौं मेडिकल कलेजमा एमबीबीएस अध्ययनका लागि २०५७ मा भर्ना भए। २०६३ मा उनको एमबीबीएस अध्ययन पूरा भयो।

एमबीबीएस अध्ययन सक्नासाथ उनी झापा पुगे। झापाको  भद्रपुरस्थित तत्कालिन मेची अञ्चल अस्पतालमा मेडिकल अधिकृतको करार जागिरेका रूपमा काम गर्न थाले। उनले त्यहाँ २०६६ सम्म करिब दुई वर्ष काम गरे।

झापामा काम गरेपछि डा. प्रभु लोकसेवा परीक्षामार्फत २०६६ मा आठौं तहको स्थायी मेडिकल अधिकृत चिकित्सकका रूपमा सरकारी जागिरे भए। सरकारी जागिरे भएपछि उनको पहिलो पोष्टिङ पाँचथरको गोपेटार प्राथमिक स्वास्थ्य केन्द्रमा भयो। त्यहाँ उनले करिब एक वर्ष काम गरे।

छनोटमा स्त्रीरोग
डा. प्रभुलाई थप अध्ययन त गर्न छँदै थियो। पाँचथरमा करिब एक वर्ष काम गरेपछि डा. प्रभु चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा २०६७ मा प्रसूति तथा स्त्रीरोग विषयमा एमडी अध्ययनका लागि भर्ना भए।

यो स्नातकोत्तर तहको चिकित्सा शास्त्रको अध्ययन हो। २०६९ मा डा. प्रभुको एमडी अध्ययन पूरा भयो। एमडी अध्ययन पूरा भएपछि डा. प्रभु पोष्टिङ भएर तत्कालीन जनकपुर अञ्चल अस्पतालमा पुगे। उनी पुग्नुअघि  त्यहाँ एक जना मात्रै प्रसूति तथा स्त्रीरोग विशेषज्ञ रहेछन्।

डा. प्रभु पुग्नुअघि त्यो अस्पतालमा केही दिन त प्रसूति तथा स्त्रीरोग विशेषज्ञ नहुँदा प्रसूति तथा स्त्रीरोग सम्बन्धी वार्ड नै बन्द भएको उनले सुनाए। त्यहाँ जनशक्ति नभएकैले डा. प्रभुलाई त्यहाँ पोष्टिङ गरिएको रहेछ। जनकपुरमा उनले २०७१ सम्म करिब दुई वर्ष काम गरे।

बिहेकै दिन २४ घण्टे पत्र
जनकपुरमा करिब दुई वर्ष काम गरेपछि उनी २०७१ मा सरुवा भएर इलामको इलाम जिल्ला अस्पतालमा पुगे। त्यो बेला धनकुटा जिल्ला अस्पतालमा चिकित्सक नहुँदा अस्पताल नै बन्द हुने अवस्थामा पुग्योे। त्यसैले इलाममा करिब दुई वर्ष काम गरेपछि उनलाई धनकुटा जिल्ला अस्पतालमा सरुवा गरियो।

डा. प्रभुले धनकुटामा जिल्ला स्वास्थ्य कार्यालयको प्रमुख र अस्पताल प्रमुखको जिम्मेवारी पाए। उनी धनकुटा सरुवा भएको पनि रोचक प्रसङ्ग रहेछ। विवाहकै दिन डा. प्रभुलाई २४ घण्टाभित्रमा धनकुटा पुग्नुपर्ने निर्देशनसहितको पत्र आयो।

‘जुन दिन विवाह थियो , त्यही दिन २४ घण्टाभित्र धनकुटा पुग्नु भनेर चिठी आयो’, उनले सुनाए।

विवाह भएको तेस्रो दिन काजमा धनकुटा पुगेर तत्कालीन जिल्ला स्वास्थ्य कार्यालय प्रमुख र अस्पताल प्रमुखको जिम्मेवारी सम्हाले। उनको दरबन्दी इलाममा नै थियो। धनकुटामा उनले करिब सात महिना काम गरे।

त्यसपछि डा. प्रभु पुनः इलाम जिल्ला अस्पतालमा नै फर्के। इलाममा काम गर्दा नै २०७३ मा उनी लोकसेवाको खुला प्रतिष्पर्धामार्फत नवौं तहमा बढुवा भए।

त्यसपछि २०७४ मा कर्मचारी समायोजन हुँदा संघमा समायोजन भयो। समायोजनपछि डा. प्रभु पदस्थापन भएर मोरङको विराटनगरस्थित कोशी अस्पतालमा पुगे। त्यहाँ हुँदा नै उनी दशौं तहमा बढुवा भए।

उनकी श्रीमती पनि सरकारी स्थायी चिकित्सक नै हुन्। उनीहरूका एक छोरी र एक छोरा छन्। पारिवारिक सहयोग भएकाले नै यो पेशा अंगाल्न सहजता भएको उनले सुनाए।

इलामको प्रमुख
डा. प्रभुले कोशी अस्पतालमा करिब १६ महिना काम गरेपछि पुनः इलाम जिल्ला अस्पतालमा नै २०७६ मा काजमा काम गर्न पुगे। साढे चार वर्षयता निरन्तर इलाम जिल्ला अस्पतालमा नै कार्यरत छन्, डा. प्रभु।

दशौंं तहका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ (वरिष्ठ कन्सल्टेण्ट, अब्स्ट्रेटिक्स एण्ड गाइनेक्लोजिष्ट) डा. प्रभु इलाम अस्पतालमा निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्टको भूमिकामा छन्। उनले राष्ट्रपतिबाट सम्मान पाएका छन्। विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका तालिम, ज्ञान तथा सिप सिकेका छन्, डा. प्रभुले।

त्यसो त उनी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ भएकाले महिलाका अनेक समस्या नजिकबाट नियालेका छन्। पाठेघरको बाहिर गर्भ रहेर नली नै फुट्ने लगायत विभिन्न जटिल समस्या भएका कयौं महिलाको ज्यान बचाएका छन् उनले।

इलाम अस्पतालमा ब्लड बैंक नहुँदा भने शल्यक्रिया गर्नुपर्ने अवस्थामा अलि कठिन हुने गरेको उनले सुनाए। जिल्ला अस्पताल भएकाले आकस्मिक रूपमा उपचार गर्नुपर्ने अवस्था निम्तने भएकाले चौबिसै घण्टाजसो चनाखो भएर बस्नुपर्ने उनले अनुभव सुनाए।

३ चैत, २०८०, १४:०८:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।