सुशिल देवकोटाको हिजोको कुरा : जोगवनी नाकामा पुलिसले उपन्यास च्यात्यो, नातिकाजीले झुलाउँदा बुवाको सपना अधूरै रह्यो

सुशिल देवकोटाको हिजोको कुरा : जोगवनी नाकामा पुलिसले उपन्यास च्यात्यो, नातिकाजीले झुलाउँदा बुवाको सपना अधूरै रह्यो

लेखक, कलाकार तथा पत्रकार सुशिल देवकोटा वि.सं. २०२२ सालमा बुटवलमा जन्मिएका हुन्। बुवाआमा बैंकको जागिरको सिलसिलामा हेटौंडा जाँदा उनको जन्म त्यतै भएको थियो। बुटवलमा जन्मिए पनि हुर्काइ भने विराटनगरमा भयो।

विराटनगरको आदर्श व्यावसायिक माध्यमिक विद्यालयमा पढाइ शुरू गरेका उनले त्यहिँबाट २०३७ सालमा एसएलसी दिए। पहिलो पटक असफल भएपछि २०३८ सालमा दोस्रो प्रयास गरे। यसपटक उनी सेकेण्ड डिभिजनमा पास भए।

चञ्चले स्वभावका देवकोटा अभिनयमा रुचि राख्थे। स्कुलमा हुने नाटक तथा विभिन्न कार्यक्रमहरूमा भाग लिइरहन्थे। नेपालमा पञ्चायत व्यवस्था रहेकाले त्यतिबेला सरकार विरोधी कथा तथा कविताहरू लेख्न पाइँदैनथ्यो। पञ्चायती व्यवस्था छँदै २०४६ सालमा उनले भारतबाट पहिलो उपत्यास ‘तपस्या’ प्रकाशित गरे।

यो पुस्तकका केही पाना जोगवनी बोर्डरमा प्रहरीले च्यातेको उनको अनुभव छ। त्यसअघि नै उनले एक मुक्तक पत्रिकामा छपाएका थिए। समयक्रमसँगै काठमाडौं आइपुगेका उनले चर्चित गायक नातिकाजीलाई आफ्नो गीत रेकर्ड गराइदिन आग्रह गरेका थिए। नातिकाजीले पनि आश्वासन दिएका थिए। तर, उनले गराइदिएनन्।

उनै देवकोटाले नातिकाजीसँगको सम्झना अनि नेपाली कलकारिता क्षेत्रको विगतका प्रसङ्ग उकेराको नियमित स्तम्भ ‘हिजोका कुरा’मा यसरी सम्झिएका छन्।

स्कुलमै सीप सिकाइन्थ्यो
३० सालतिरको कुरा हो, मैले थाहा पाउँदा स्कुलका शिक्षकहरूले नै तरकारी खेती लगायतका विषयमा पढाइ हुन्थ्यो। कसले के विषयमा पढ्ने भन्ने हुन्थ्यो। स्कुलमा नै फर्निसिङको तालिम, कुखुरा पालन, सर्ट ह्यानको तालिम दिइन्थ्यो।

सर्ट ह्यान भनेको छोटो शब्दहरूले लेख्ने भन्ने बुझिन्छ। त्यस बेलाको सरकारीमा जागिर खाने भन्ने मान्छेहरूले सर्ट ह्यानतर्फ अग्रसर हुन्थेँ। त्यस बेला सरकारी नीति कस्तो थियो भने उद्यमशीलता सिक्न चाहनेका लागि सिकाइन्थ्यो।

भोलिका दिनमा सरकारी काम गर्छु भन्ने लाग्छ भने टाइपिङ, सर्ट ह्यान, अकाउन्टेन्ट लगायतका विषयमा पढाइ हुन्थ्यो। एसएलसी दिने बेलासम्म हरेक विद्यार्थीले केहि न केहि सीप सिकेरै निस्कन्थेँ।

हाम्रो पालमा दलित भन्ने नै थाहा थिएन 
मैले थाहा पाउँदा देशमा पञ्चायत व्यवस्था रहेको थियो। त्यसबेलाको व्यवस्था खत्तम थियो, ठूलाले सानालाई थिचोमिचो गर्थे, ठूलो जातको साना जातिकालाई पेल्थे भन्ने गर्छन् अहिले। तर मैले, त्यस्तो कहिल्यै पाइनँ।

मैले स्कुल पढ्दाको समयको को दलित को बाहुन थाहै हुँदैनथ्यो। उनीहरूसँगै खाने उनीहरूसँगै बस्ने अवस्था थियो। हाम्रो घरमा उनीहरू आउने जाने, खाना खाने, काका-काकी, मामा-माइजुको साइनो लगाइन्थ्यो। जातीयताको कुरै थाहा थिएन।

४६ सालपछि राजनीतिक दलका मान्छेहरूले जातीयताको कुरा उठाएर जनता भाँडेको जस्तो लाग्छ। ओहो यो त दलित मान्छे आयो है भित्र पस्न दिनुहुँदैन भन्ने मैले सुनिनँ। वास्तवमा को के जातको भन्ने नै थाहा हुँदैनथ्यो। बहुदल आएपछि मात्रै त्यस्तो कुरा आएको हो।

त्यो समयमा शान्ति सुरक्षा एकदमै राम्रो थियो। मान्छे मारेको घटना ठूलो हुन्थ्यो। फलना ठाउँमा बम पड्केको रे भन्दा ‘बाफ रे बम पड्केछ’ भन्थेँ। तर, अहिले त यस्ता घटना सामान्य लाग्न थालिसक्यो।

श्री ५ को सरकारको गल्ती लेख्दा उपन्यासको पानै च्यातियो
मैले पहिलो उपन्यास निकाल्दा नेपालमा पञ्चायत विरोधी र समर्थनको घम्माघम्सी नै चलिरहेको थियो। त्यतिबेला नेपालमा भारतले नाकाबन्दी लगाएको थियो। उपन्यास लगायत किताब छाप्न प्राय भारत नै जानुपर्थ्यो। नेपालमा त्यति प्रेसहरू भित्रिएका थिएनन्। मेरो छैटौं उपन्यास प्रकाशनका लागि बनारस जाने क्रममा जोगवनी नाकामा चेकजाँच भयो।

चेकजाँचका क्रममा नेपालतर्फका प्रहरीले उपन्यास भित्रको एक पाता च्यातेर फालिदियो। प्रहरीले च्यात्नुको कारण थियो मैले त्यतिबेला नेपाललाई भारतले नाकाबन्दी लगाउनुको मुख्य कारण श्री ५ को सरकारको कमजोर कुटनीति भएको लेखेको थिएँ। त्यहि पन्ना च्यातेर प्रहरीले फालिदियो अनि जान दियो।

त्यतिबेला प्रहरीले ‘यो च्यातेको पन्ना थपेर छापिस् भने किताब बिक्री हुँदैन है’ भनेका थिए। जुन अहिले पनि म बेला-बेलामा सम्झन्छु। त्यो समयमा प्रशासन निकै कडा थियो। त्यस बाहेक मेरो कुनै लेखमा सेन्सर भएन।

नातिकाजीले झुलाए मात्र
२०४१ सालतिरको समयमा म रेडियो नेपालमा गीत रेकर्ड गराउँछु भनेर धाइरहन्थेँ। मेरो पहिलो पटक भेट नातिकाजीसँग रहेको थियो। उहाँलाई भेटेपछि मैले पनि गीत लेख्छु भन्ने कुरा राखे।

नातिकाजीले ‘ल त तिम्रो गीत गाउँछु, कम्पोज गर्छु’ पनि भन्नुभएको थियो। सहयोगी भावका नातिकाजीले मलाई नै रेडियो नेपालको कोठा-कोठा डुलाउनुभएको थियो अनि त्यहाँ आउने कलाकार र गायक गायिकाहरू नारायण गोपाल, तारादेवी, मिरा राना लगायतका सँग परिचय गराइदिनुहुन्थ्यो।

रेडियो नेपालको पहिलो पटक स्टुडियो जाँदा नै द्धारिकालाल जोशीले एउटा भजन रेकर्ड गराइरहनुभएको भेटे। पहिलो पटक स्टुडियोमा भजन रेकर्ड भएको देखेर दङ्ग परेँ। स्टुडियोमा कोही बाजा बजाइरहेका थिए भने कोही गाइरहेका थिए। रेकर्ड भइसकेपछि भजन सुनियो पनि। मलाई त्यस बेला बेग्लै ठाउँमा पुगेको अनुभुति भएको थियो।

नातिकाजीसँग नै मेरो राम्रो निकटता थियो। गीत रेकर्ड गरिदिन्छन् कि भनेर रेडियो नेपालमा धाइरहेँ। तर, रेडियो नेपालमा मेरो गीत रेकर्ड भएन। नाजिकाजीले मेरो गीत गाइदिनुभएन। खै के मेसो मिलेन कि वा शब्दको सेन्सर पाएन भएन कि! सायद रेडियो नेपालमा गीत रेकर्ड गर्न गाह्रो भएर पो हो कि! मैले अझै बुझ्न सकेको छैन त्यो कुरा।

रेडियो नेपालमा मेरो गीत रेकर्ड नभएपछि मैले म्युजिक नेपालबाट गीत रेकर्ड गरेँ। मैले मेरो सिर्जना बुवालाई सुनाउन नपाउँदै उहाँ बित्नुभयो। मेरो संघर्ष र लगनशीलता देखेर बुवाले छोराको गीत सुन्न र पुस्तक पढ्न चाहनुभएको थियो। तर, त्यो उहाँको सपनै रह्यो।

बुवालाई गीत सुनाउन कतिपटक रेडियो नेपालका वरिष्ठ गायक तथा गायिकाहरूलाई भेटेँ, आश्वासन पनि पाएँ तर गीत रेकर्ड गरिदिएनन्। मेरो गीत र उपन्यास बजारमा नआउँदै बुवा बिरामीले थलिएर बित्नुभयो। ४२ सालमा बुवा बित्नुभो, तीन वर्षपछि बल्ल मेरो गीत रेकर्ड भयो।

सुशिल विश्वकर्माको संगीतमा नरेन्द्र प्यासी दाइको स्वरमा ‘व्यथा मुटुमा कथा भन्न नै सकिन’ बोलको गीत रेकर्ड भएको थियो। त्यसपछि लगातार सुशिल विश्वकर्माकै संगीतमा तीन वटा गीत रेकर्ड भए। त्यसपछि ४६ सालमा उपन्यास निकालेको हो। दुवै कुरा बुवालाई देखाउन नपाउँदा अझै मन खिन्न हुन्छ।

कलाकारले डाइलग बोल्न नसक्दा रेडियो नाटकमा मौका 
रेडियो नेपालमा नातिकाजीसँग हिँड्दा डुल्दा मेरो भेट मदनदास श्रेष्ठसँग भयो। भेटैभेटमा उहाँलाई मेरो बारेमा धेरै कुरा थाहा भयो। एक दिन उहाँले तपाई गीत लेखिरहनुहुन्छ, स्टोरी पनि लेख्नुहोस् म भिडियो फिल्म बनाउँछु भन्नुभयो।

मेरा स्टोरीहरू पत्रपत्रिकामा प्रकाशित पनि हुन्थ्यो। तर, रेडियोमा समेत प्रशारण भएका थिएनन्। फिल्म बन्ला र भन्ने लाग्यो। ‘भाइले स्टोरीहरू केहि लेखेको भए भिडियो फिल्म बनाउँछु’ भन्नुभयो। त्यस समयमा भिडियो फिल्म बनाउने चलन पनि थियो।

त्यो समयमा दाम भन्दा पनि नामको कुरा थियो मलाई। उहाँलाई ‘मेरो एउटा शर्त छ’ भने। उहाँले ‘के शर्त?’ भन्नुभयो। ‘लेखकमा त मेरो नाम आउनुपर्छ है! भने। उहाँले लामो हाँसो हाँसेर ‘नाम त आइहाल्छ नि तिमीले लेखेपछि’ भन्नुभयो। अनि केहि दिनमा एउटा कथा मैले तयार पारेर रेडियो नेपालमा उहाँलाई भेट्न गएँ। रेडियोमा उहाँले रेडियो नाटक ‘सन्दर्भ प्रसंग’मा अभिनय गराउँदै हुनुहुँदो रहेछ।

त्यसबेला सूर्यमाला लगायतका को-को कलाकारहरूले त्यो नाटकमा अभिनय गर्थेँ। त्यो दिन एक जनालाई रेडियो नाटकमा इन्पेक्टरको भूमिकामा खेल्नका लागि बोलाउनुभएको रहेछ। तर त्यो मान्छेले कतिपट डाइलक सिकाउँदा पनि जानेनन्। म कन्ट्रोल रुममा बसेर त्यो मान्छेको डाइलक कण्ठ बनाइसकेको थिएँ। मैले त्यहिबाट त्यो इन्स्पेटरको डाइलक बोले। उहाँले ‘लु आऊ तिमी, तिमीले बोल्न सक्ने रैछौ’ भनेर मलाई मौका दिनुभयो।

टेलिभिजनमा काम गर्दा अमिताभको नक्कल गर्न अफर
मैले पत्रपत्रिकामा काम गर्दा गर्दै टेलिभिजनमा काम गर्न मन लाग्यो। अनुहार देखाएर काम गर्न रहर लागेपछि च्यानल नेपालमा काम गरेँ। रङ्ग पत्रकारितामा नै हात हालेको हो। त्यहाँ म बोल्दा मेरो बोलीलाई धेरैले मन पराउनु भयो।

कतिपयले भारतीय अभिनेता अमिताभ बच्चनको क्यरिकेचर गर्नका लागि विज्ञापनमा समेत अफर गर्नुभएको थियो। त्यतिबेला टेलिभिजनमा काम गर्न गरेर अनुहार देखाउन पाउनु नै ठूलो कुरा थियो। मैले त्यहाँ ‘सिनेमा संसार’ भन्ने कार्यक्रम चलाउथेँ।

एक दिन च्यानल नेपालकै अफिसमा बसेर आफ्नो कार्यक्रम सम्पादन गरिरहेको थिए। अचानक हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ र राजाराम पौडेल दाइ मैले कार्यक्रम सम्पादन गरिरहेको ठाउँमा आउनुभयो। अनि भेट्न आएको भन्नुभयो।

उहाँहरूले हिन्दी विज्ञापन नेपालमा डब गरेर बजाउनका लागि मैले बोल्दिनुपर्यो भनेर आग्रह गर्नुभयो। मैले नाइ भन्ने कुरै भएन। त्यसका लागि पनि भ्वाइस टेस्ट दिनुपर्थ्यो। भ्वाइस टेस्टमा म फेल भएँ। त्यसपछि त्यो सपना पनि सपना नै रह्यो।

त्यसबेला जसको स्वर फिट हुन्छ, उसलाई नै खोजिने चलन थियो। फोन सम्पर्क खासै हुँदैनथ्यो, मान्छे नै भेट्नुपर्ने हुन्थ्यो।

घरबेटीले निकाले 
मेहनत निकै गरियो। बुवाआमा नेपाल बैंकको जागिरे। बुबा लामो समयसम्म बिरामी भएर थलिनुभयो। उहाँको उपचारमा धेरै खर्च भयो।  बुवाको मृत्यु भएपछि हामी सडकमा आयौं। त्यसबेला रेडक्रसले बाँडेको कपडाले हामीले आङ ढाक्थ्यौं। दशैंमा रेडक्रसले बाँडेको तिनै सेकण्ड ह्यान्ड कपडा हाम्रा लागि नयाँ हुन्थे।

काठमाडौंको पुरानो बानेश्वरमा बस्दाको समयमा मेरो ठूलो छोरा जन्मिने बेलामा मलाई डेराबाट निकालिएको थियो। बच्चा जन्मेपछि तेल लगाउन आगो बाल्दा घर कालो हुन्छ भन्दै घरबेटीले निकालिदिएका थिए। त्यहाँको घरबेटीले निकालेपछि अर्को घरमा सरेँ।

म सरेर गएको घर एकजना डीएसपी मोहन बिनोद पोखरेलको रहेछ। उहाँले मेरो दुई वटै छोरालाई आफ्नो नाति जसरी माया गर्नुभयो। मज्जाले कोठैमा मकलमा आगो बाल्न दिनुभयो। त्यसबेला शहरका मान्छेहरू बाहिरकालाई मान्छे जस्तो ठान्दैनथे। यो घटना आज भन्दा तीस वर्षअघिको हो।

१४ बैशाख, २०८१, १२:३६:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।