सुहाङको जितपछि के भन्छ कांग्रेस ?

सुहाङको जितपछि के भन्छ कांग्रेस ?

काठमाडौं : इलाम २ को उपनिर्वाचनमा पराजित भएपछि कांग्रेस जिल्ला सभापति समेत रहेका उम्मेदवार डम्बर खड्काले विजयी सुहाङ नेम्वाङलाई बधाई दिएका छन्।

सभापति खड्काले जनताका आशा, अपेक्षा र आवश्यकता पूरा गर्दै क्षेत्रको समुचित विकासका लागि विजय सार्थक रहोस् भन्ने शुभकामना दिएका हुन्।

‘लोकतन्त्रको सुन्दर पक्ष भनेकै निर्वाचन अनि निर्वाचनमार्फत स्वस्थ प्रतिस्पर्धा गर्ने र विजयीले सबै पक्षलाई समेटेर अगाडि बढ्ने हो अतः उपनिर्वाचन २०८१ मार्फत इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदमा एमालेका तर्फबाट उम्मेदवार सुहाङ नेम्बाङ विजयी बन्नुभएकोमा मेरो व्यक्तिगत र सिङ्गो नेपाली कांग्रेस पार्टीका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु,’ खड्काले भने। 

त्यस्तै, कांग्रेस इलाम सचिव पूर्ण प्रसाद गौतमले विजयी उम्मेदवारलाई बधाई दिँदै प्राप्त जनमतको समान गर्न, जनअपेक्षा पूरा गर्न र सबैको साझा जनप्रतिनिधिको रूपमा प्रतिनिधित्व गर्दै सफल र इमान्दार सभासद्को भूमिका निर्वाह गर्ने अपेक्षा रहेको बताएका छन्। 

'नेपाली कांग्रेस लोकतन्त्र र बहुलवादमा आधारित बहुदलीय संसदीय  राजनीतिक प्रणालीको माध्यमबाट मुलुकको विकास र समृद्धिको पक्षमा थियो, छ र अविचलित रूपमा उक्त मान्यतामा दृढ रहनेछ। यस निर्वाचनमा कांग्रेस, आफ्नो स्पष्ट सैद्धान्तिक र  वैचारिक दृष्टिकोणकासाथ नीति र कार्यक्रम लिएर जनता र मतदाताको बीचमा गइरहँदा मतदाताबाट प्राप्त भएको अभिमत ,विजय प्राप्त गर्नका निम्ति अपेक्षा अनुरूप पर्याप्त भएन तर कांग्रेस प्रतिको विश्वास र भरोसा चाहिँ मतपत्रले प्रतिबिम्बित गरेको छ। यसका निम्ति कांग्रेसको पक्षमा हुने सबैप्रति सादर कृतज्ञता व्यक्त गर्दछु। हाम्रा सवल पक्षको निरन्तरता र कमजोरी  पक्षमा सुधार गर्दै अझ संगठित दर्बिलो संस्थाको आभास हुनेगरी अगाडि बढ्न जरुरी भएको प्राप्त सन्देशलाई सम्मान गरौँ,' सचिव गौतमले भने।

उनले विजयको  उन्माद र उत्तेजनाको प्रस्तुति भन्दा दायित्वबोध र जवाफदेहिता अनि पराजयको कुण्ठा र भावाबेश भन्दा संयम भएर भावी यात्रा तय गर्नु  गर्नु बढी सान्दर्भिक हुने पनि अपेक्षा व्यक्त गरेका छन्।

निर्वाचनमा कांग्रेसका खड्कालाई ५ हजार ३० मतले उछिन्दै उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्। नेम्वाङले २७ हजार ७ सय ७२ मत प्राप्त गर्दा कांग्रेसका खड्काले २१ हजार ९ सय ४२ मत पाएका छन्।

यस्तै, पहिचान पक्षधर उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४ सय ५७ मत प्राप्त गर्दा रास्वपाका मिलन लिम्बूले ५ हजार ५० मत ल्याएका छन्।

१८ बैशाख, २०८१, १४:३७:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।