मुटु छाम्ने डा. प्रेमराजको अनुभव : सात कक्षा पढ्दादेखि नै ‘फुच्चे डाक्टर’ बनेर बिरामीको उपचार

मुटु छाम्ने डा. प्रेमराजको अनुभव : सात कक्षा पढ्दादेखि नै ‘फुच्चे डाक्टर’ बनेर बिरामीको उपचार

काठमाडौं : वरिष्ठ कार्डियोभास्कुलर सर्जन (सीभीएस) डा. प्रेमराज वैद्यले सात कक्षामा पढ्दा नै देखि बिरामीको उपचार गर्न थालेका थिए। 

प्रेमराजको पुर्ख्यौली घर ललितपुरको पाटन हो। उनका बुवा सरकारी स्वास्थ्य सेवाको ‘कम्पाउन्डर’ तहको जागिरे थिए। त्यो बेला कम्पाउन्डरले हेल्थ असिस्टेन्ट (एचए) सरह नै काम गर्नुपर्थ्यो। विशेषगरी विभिन्न किसिमका औषधिहरु एकै ठाउँमा मिसाएर, पिसेर बिरामीलाई दिने गर्थे कम्पाउन्डरले।

‘६/७ कक्षा पढ्दा नै दाजुभाइ सबैले बुवालाई बिरामीको उपचार गर्न सघाउँथ्यौं,’ उनले सुनाए, ‘बुवाले भ्याउनुहुन्नथ्यो। घाउहरू हामी आफैं सफा गर्थ्यौं। ड्रेसिङ गर्थ्यौं। इन्जेक्सन लगाउँथ्यौं।’

जागिरकै क्रममा तेह्रथुमको आठराईमा स्वस्थ्य चौकी स्थापनाका लागि खटिएछन् प्रेमराजका बुवा। त्यसैले प्रेमराज २०१७ सालमा तेह्रथुमको आठराईमा जन्मिए। उनका ६ जना दाजुभाइ र एक जना बहिनीमध्ये प्रेमराज ठाइँला थिए। 

सात कक्षामा पढ्दा नै बिरामीको उपचार

१७ वर्ष सरकारी जागिर खाएपछि उनका बुवाले जागिरबाट राजीनामा दिए र हेटौंडामा क्लिनिक चलाएर बस्न थाले।प्रेमराजको औपचारिक पढाइ पनि हेटौंडामा नै सुरु भयो। 

प्रेमराजका बुवाको क्लिनिकमा बिरामीको भिड लाग्थ्यो। त्यो बेला बुवाको क्लिनिकमा दैनिक सयभन्दा बढी बिरामी उपचारका लागि पुगेको प्रेमराजलाई सम्झना छ।

बुवालाई बिरामीको औषधि उपचार गरेर भ्याउन मुस्किल पर्ने हुनाले प्रेमराज र उनका दाजुले समेत बुवालाई सघाउँथे। विद्यालय छुट्टि भएको समयमा प्रेमराजका दाजुभाइलाई यसै कामले फुर्सद नै हुँदैनथ्यो।

विद्यालयबाट फर्केपछि पनि बुवालाई बिरामीको उपचारमा सघाउँथे। सामान्यदेखि जटिल किसिमका उपचार समेत गर्थे उनका बुवा।

एक्लैले नभ्याउने भएकाले बुवाले बिरामी जाँच्ने अनि औषधि लेखिदिने काम गर्थे। त्यसपछि बुवाको निर्देशनमा बिरामीको उपचारको काम भने प्रेमराजका दाजुभाइ मिलेर गर्थे।

त्यो बेला नै बिरामीको घाउ खटिरा लगायत सानातिना समस्याको शल्यक्रिया गरी बिरामीको उपचार गरेको उनलाई सम्झना छ।

‘६/७ कक्षा पढ्दा नै दाजुभाइ सबैले बुवालाई बिरामीको उपचार गर्न सघाउँथ्यौं,’ उनले सुनाए, ‘बुवाले भ्याउनुहुन्नथ्यो। घाउहरू हामी आफैं सफा गर्थ्यौं। ड्रेसिङ गर्थ्यौं। इन्जेक्सन लगाउँथ्यौं।’

प्रेमराज ६/७ कक्षामा पढ्दादेखि नै आफूलाई डाक्टरका रुपमा महसुस गर्न थालेका थिए। त्यो बेलाका उनी फुच्चे डाक्टर थिए। त्यो बेला नै बिरामीको औषधि उपचार गरेकाले भविष्यमा पनि उनको डाक्टर पढ्ने इच्छा हुने नै भयो। 

हेटौंडाको भुटनदेवी हाइस्कुलबाट नै उनले २०३२ मा एसएलसी गरे। एसएलसीपछि काठमाडौं आएर प्रेमराज चिकित्साशस्त्र अध्ययन संस्थान अन्तर्गतको महाराजगञ्ज चिकित्सा क्याम्पसमा एचए (हेल्थ असिस्टेन्ट) अध्ययनका लागि भर्ना भए। उनले २०३६ मा अढाइ वर्षे एचए अध्ययन पूरा गरे।

त्यो बेला डाक्टर पढ्नका लागि नेपालमा मेडिकल कलेज नै थिएन। साथै एचए पढेबापत तीन वर्ष अनिवार्य रुपमा करार जागिरे भएर सरकारी स्वास्थ्य संस्थामा काम गर्नुपर्ने नियम थियो।

त्यसैले प्रेमराज एचए अध्ययनपछि मकवानपुरको कुलेखानीस्थित मार्खु स्वास्थ्य चौकी पुगे। त्यसबेला ‘सेभ द चिल्ड्रेन’ले काठमाडौंमा एचएको पोष्टमा जागिर खानका लागि आकाशवाणीमार्फत उनलाई सन्देश पठाएको थियो।

दुई पटकसम्मको आकाशवाणी त उनले थाहै पाएनन्। तेस्रो आकाशवाणी मात्रै उनको हातमा पर्यो र उनी कुलेखानीमा नौ महिना काम गरेर फर्के।

तर, काठमाडौं फर्कँदा अर्कै व्यक्ति सेभ द चिल्ड्रेनको जागिरमा नियुक्ति भइसकेका थिए। त्यही संस्थाले डाक्टर समेत पढाइदिने भएकोमा उनको त्यो अवसर गुम्यो।

त्यसपछि प्रेमराज मेडिकल व्यवसाय गर्ने भनेर बुवाआमा लगायत परिवार भएकै ठाउँमा हेटौंडा फर्के। हेटौंडामा सरुवा भएपछि प्रेमराजले औषधि उपचार गरी धेरै बिरामी बचाए।

चिकित्सकको सहकार्यमा सामान्यदेखि जटिल किसिमका शल्यक्रिया गरे उनले। त्यो बेलाका एचए भनेको ठूलै डाक्टर मानिन्थे। जिल्ला अस्पताल समेत एचएले नै धानेका हुन्थे।

जब ओठ बनाएपछि एक युवाले विवाह गर्न केटी पाए

हेटौंडामा काम गर्दाको एउटा प्रसङ्ग कहिल्यै भुल्दैनन् डा. प्रेमराज।

करिब २२ वर्षका एक युवा विवाहका लागि केटी माग्न गएछन्। ती युवाको जन्मजातै ओठ काटिएर ‘खुँडे’ भएको थियो। चिकित्सकीय भाषामा यस्तो समस्यालाई ‘क्लेफ्ट लिप’ भनिन्छ।

त्यसैले केटीले भने यस्तो खुँडेसँग विवाह गर्दिन भनेर ती युवासँग विवाह गर्न अस्वीकार गरिछन्। त्यसपछि तनावमा परेका ती युवा काटिएको ओठ बनाउने केही उपाय छ की भनेर प्रेमराजको घरमा पुगेछन्। 

प्रेमराजका घरमा पुगेपछि उनले भनेछन्, ‘डाक्टरसाप अप्रेशन गरेर मेरो ओठ मिलाइदिनुहुन्छ भने मिलाई दिनुहोस्, नभए आजै राप्ती खोलामा गएर हाम फालेर मर्न जान लागेको।’

ओठको शल्यक्रिया नगरिदिए युवाले आत्महत्या गर्ने जोखिम देखिएपछि प्रेमराज र उनका बुवाले उपचार गरिदिने आश्वासन दिए। फकाउँदै ती युवालाई उनीहरूले घरमै राखे।

तीन दिनसम्म प्रेमराज र उनका बुवाले काटिएको ओठको कसरी शल्यक्रिया गरेर मिलाउन सकिन्छ भनेर किताब पढे। त्यसपछि ओठको शल्यक्रिया गर्न सकिन्छ भन्ने आँट आयो। 

चौथो दिन बिहान ति युवाको ओठको शल्यक्रिया गर्ने थाले। दुविधा भएको बेला किताब हेर्दै शल्यक्रिया गर्थे उनीहरू। करिब चार घण्टाको मेहनतपछि शल्यक्रिया सफल पनि भयो। 

युवाको काटिएर खुँडे देखिएको ओठ शल्यक्रियापछि ठीक भयो। केही घण्टाको आरामपछि उनी खुसी हुँदै घर फर्के। आजकाल त्यही शल्यक्रिया प्लाष्टिक सर्जनले गर्ने गरेको प्रेमराज सुनाउँछन्।

यसको करिब तीन महिना पछि खुँडे केटा भनेर विवाहका लागि अस्वीकार गरेकी युवतीसँगै ती युवाले विवाह गरेछन्। विवाह गरेपछि उनी दुलही लिएर धन्यवाद दिन प्रेमराजको घरमै पुगेका थिए रे। त्यो सम्झँदा प्रेमराजलाई अहिले पनि रमाइलो लाग्छ।

तीन वर्ष करारमा काम गरिसकेपछि प्रेमराजले हेटौंडाकै कपडा उद्योगमा काम गर्न थाले। कपडा उद्योगमा कामका लागि पुग्ने र काम गरिरहेका व्यक्तिको स्वास्थ्य परीक्षण तथा उपचार गर्नुपर्ने ड्युटी थियो उनको। 

अन्तर्वार्ता दिने प्रेमराज, जागिर खाने अर्कै

प्रेमराजलाई थप अध्ययन गर्नु त छँदै थियो। त्यसैले हेटौंडामा करिब तीन वर्ष कपडा उद्योगमा काम गरेपछि जागिर छाडेर उनी काठमाडौं आए।

यसपछि पाटन अस्पतालमा कामका लागि उनी अन्तर्वार्ता दिन गए। बाटोमासँगै एचए पढेकी एक जना युवती साथीसँग उनको भेट भयो। उनीहरूसँगै पाटन अस्पताल पुगे।

अस्पताल पुगेर जागिरका लागि प्रेमराजले अन्तर्वार्ता दिए। छनोट पनि भए। 

‘अन्तर्वार्ता सकेपछि ती युवती को हुन्?’ भनेर अन्तर्वार्ता लिने चिकित्सकले सोधेछन्। उनले ‘सँगै एचए पढेकी साथी हुन्, मानसिक अस्पतालमा काम गर्छिन्’ भनेर जवाफ दिएछन्। 

त्यसपछि अन्तर्वार्ता लिने चिकित्सकले हामीलाई महिला एचए चाहिं चाहिएको हो भन्दै ‘तपाईंलाई पाटन अस्पतालमा काम गर्ने इच्छा छ?’ भनेर ती युवतीलाई सोधेछन्। ती युवतीले पनि पाटनमा काम गर्ने इच्छा व्यक्त गरेपछि नियुक्ति पनि पाइहालिछन्।

त्यसपछि ती चिकित्सकले प्रेमराजलाई ‘तपाईंलाई केही समयपछि जागिर दिउँला’ भनेपछि प्रेमराज नाजवाफ भएर फर्केछन्।

‘अन्तर्वार्ता दिने म, जागिर खाने साथी’, पाटनमा अन्तर्वार्ता दिएको प्रसङ्ग सम्झँदै उने भने।

तर, अन्तर्वार्तामा छनोट भएको एक महिनापछि भने प्रेमराजले पनि पाटन अस्पतालमा जागिर पाए। पाटनमा उनले करिब तीन वर्ष काम गरे। 

श्रीमतीसँगै एमबीबीएस अध्ययन

पाटनको जागिरपछि प्रेमराजले सुन्धारामा औषधि पसल चलाउन थाले। त्यही बीचमा सुशीला शाक्य (वैद्य) सँग उनले विवाह गरे। 

त्यसपछि प्रेमराज एमबीबीएस अध्ययनका लागि रसीयामा पढ्न जाने तयारीमा थिए। तर, त्यो बेला उनकी श्रीमती गर्भवती थिइन्। सबै चाँजोपाँचो मिलाएर उनी सुशीलासँगै एमबीबीएस अध्ययनका लागि सन् १९९१ मा रसीया पुगे। 

रसीया पुगेपछि सुशीलालाई पनि डाक्टर नै पढ्ने रहर लागेछ। डाक्टर पढ्न धेरै मेहनत गर्नुपर्ने भएकाले अन्य विषय पढ्न प्रेमराजले उनलाई अनुरोध गरे। तर, उनले डाक्टर नै पढ्ने इच्छा व्यक्त गरिन्। 

रसीयामा जन्मिएकी छोरीको मुटुमा जन्मजात समस्या

रसीयामा नै उनीहरुकी छोरी जन्मिइन्। त्यसपछि प्रेमराजकी श्रीमतीले तीन महिनाकी छोरीलाई नेपालमा ल्याएर परिवारसँग छोडेर फर्किइन् र प्रेमराजसँगै डाक्टर पढ्न थालिन्।

एक वर्षपछि केही समयका लागि दुवै नेपाल फर्के। तर, छोरीले बुवाआमालाई चिनिनन्। 

नेपाल फर्केपछि मात्रै उनीहरूले करिब डेढ वर्षकी उनकी छोरीलाई मुटुमा भएको समस्याका कारण फोक्सो फुटेर पाटन अस्पतालमा उपचार गरेपछि ठीक भएको थाहा पाए। जुन छोरीको जन्मजात समस्या थियो।

उपचारपछि पनि मुटुमा केही समस्या देखिएको थियो। तर, नेपालमा के समस्या भएको हो भन्ने पत्ता लाग्न सकेन। त्यसपछि रसीयामा नै लगेर छोरीको शल्यक्रिया गरी उपचार गरेको र ठीक भएको प्रेमराजले सुनाए।

सबै काजमा आएका चिकित्सकलाई गंगालालले तलब दियो भने वीर अस्पताल जस्तै आर्थिक संकट हुने भएकाले डा. कोइरालाले काजमा आएका चिकित्सकलाई तलब नदिने नीति लिएका थिए रे।  

त्यसपछि छोरीले पनि बुवा आमासँगै बसेर रसीयामा पढिन्। सन् १९९८ मा दुवैको एमबीबीएस अध्ययन पूरा भयो। 

एमबीबीएसपछि डा. प्रेमराजले रसीयामा नै मुटुको सर्जरी विषयमा अध्ययन गर्न थाले। एमबीबीएसमा मुटुरोग विभागमा काम गरेकाले उनी सिधै मुटुको सर्जरी विषयमा अध्ययन गर्न पाउने दोस्रो ब्याचका विद्यार्थी रहेछन्।

त्यसअघि भने एमबीबीएसपछि तीन वर्ष जनरल सर्जरी विषयको अध्ययन गरेपछि मात्रै मुटुको सर्जरी विषय अध्ययन गर्न पाइन्थ्यो रे। उनकी श्रीमतीले पनि रसीयामा नै पुगेर लेजरथेरापी सम्बन्धी विषयको अध्ययन गरिछन्। 

श्रीमान श्रीमती मिलेर एक युवाको खुट्टा निको पार्दा 

नेपाल फर्किएपछि डा. प्रेमराजले वीर अस्पतालमा भोलिन्टियर रुपमा काम गर्न थाले। सन् २००२ मा वीर अस्पतालमा नै काम गरिरहँदाको एउटा प्रसंग उनी कहिल्यै भुल्दैनन्। 

अस्पतालमा करिब ३५ वर्षका श्रेष्ठ थरका युवा पुगेका थिए। ती युवाको शरीरमा सुगरको मात्रा धेरै भएर खुट्टाको घाउ लामो समयदेखि निको भएको थिएन।

सुगरका कारण खुट्टाको रगतका नसा बन्द थिए। डा. प्रमेराजले एन्जिओग्राफि गरेर हेरी खुट्टाको माथिल्लो भागको बन्द भएका रगतको नसाको बाइपास शल्यक्रिया गरिदिए। 

तर, खुट्टाका स-साना नसाहरू बन्द थिए। जसले गर्दा ती युवाको खुट्टा काट्ने बाहेक केही उपाय नै देखिएको थिएन। तर, खुट्टा काट्ने कुरा गर्नासाथ ती युवा डरले बेहोस हुन्थे। 

त्यसैले लेजरथेरापिले केही गरि ती युवाको खुट्टा ठीक होला की भनेर श्रीमतीलाई वीर अस्पतालमा नै पुगेर बिरामीलाई हेरिदिन उनले आग्रह गरे।

उनकी श्रीमतीले पनि ती युवाको खुट्टाको समस्याको समाधानका लागि लेजरथेरापि गरिदिन्थिन्। नभन्दै दश दिन लेजरथेरापि गर्दा त ती युवाको खुट्टाको घाउ ठीक भयो।

डाक्टर भगवानले तलब नदिएपछि...

वीर अस्पतालपछि डा. प्रेमराज भक्तपुरको जिल्ला अस्पतालमा अस्थायी जागिरे भएर काम गर्न पुगे। त्यहाँ काम गरेको तीन महिनापछि उनलाई काजमा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा पठाइएछ। त्यो बेला गंगालालको नेतृत्वमा डा. भगवान कोइराला थिए।

तर, गंगालालमा तीन महिनासम्म काम गर्दा पनि डा. भगवान कोइरालाले तलब नै दिएनन् रे। त्यसैले स्वास्थ्य मन्त्रालयले प्रेमराजलाई पुनः भक्तपुर नै फिर्ता गरेछ।

सबै काजमा आएका चिकित्सकलाई गंगालालले तलब दियो भने वीर अस्पताल जस्तै आर्थिक संकट हुने भएकाले डा. कोइरालाले काजमा आएका चिकित्सकलाई तलब नदिने नीति लिएका थिए रे।  

डा. प्रेमराज मुटुको शल्यक्रिया गर्ने चिकित्सक हुन्। तर, भक्तपुरको जिल्ला अस्पतालमा शल्यक्रियाका लागि स्रोत साधन नै हुँदैन थियो। त्यसैले गंगालालपछि डा. प्रेमराज वीर अस्पताल नै फर्के।

वीर अस्पताल गएको करिब ६ महिनामा उनले बन्द भएको मुटुको शल्यक्रिया पुनः सुरु गरेछन्। वीर अस्पतालमा मुटुको शल्यक्रिया सुरु भयो भन्ने थाहा पाएपछि गंगालालमा नपाएको तीन महिना र वीर आएपछि नपाएको ६ महिना गरी नौ महिनाको तलब स्वास्थ्य मन्त्रालयले एकैपटक एकमुस्ट दिएको थियो रे।

नेपालमा आफूले वीर अस्पतालमा पहिलो पटक मुटुको बाइपास सर्जरी सुरु गरेको उनले सुनाए। त्यसैगरी मुटुको भल्भ फेर्ने, मुटुको प्वाल टाल्ने, मुटु खोलेर वा नखोली गर्ने विभिन्न किसिमका शल्यक्रिया गर्छन् उनी। 

दुई वर्षे करार जागिर सकिएपछि डा. प्रेमराजको सरकारी जागिर रहेन। तर, उनले वीर अस्पतालमा त्यसपछि पनि करिब एक वर्ष भोलिन्टियरका रुपमा काम गरे। 

वीर अस्पतालपछि डा. प्रेमराज नर्भिक अस्पतालमा काम गर्न थाले। त्यहाँ काम गर्दा भारतबाट आएका चिकित्सकहरू उनको काम देखेर निकै प्रभावित भएछन्। त्यो बेला भारतबाट आएका चिकित्सकको टिमसँग नर्भिकमा करिब सय जनाको मुटुको शल्यक्रिया गरिएको उनले सुनाए।

प्रेमराज सन् २०१६ बाट भक्तपुरस्थित सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा काम गर्न थाले। भक्तपुरमा मुटुको ओपन हार्ट सर्जरी लगायत सेवा सुरु गरे। त्यहाँ विशेषगरी मिर्गौला प्रत्यारोपणसम्बन्धी शल्यक्रियामा केन्द्रित भएको उनले सुनाए।

डा. प्रेमराज केएमसी, किष्ट, नर्भिक, धुलिखेल, बीएण्डबी, सुमेरु, निदान, नेपाल क्यान्सर र नेशनल क्यान्सरजस्ता अस्पतालमा पार्टटायमरका रुपमा काम गर्छन्।

उनी आवश्यकता अनुसार डायलाइसिस गर्ने बिरामीका लागि डायलाइसिस गर्ने बाटो (भास्कुलर एक्सेस) बनाउनका लागि विभिन्न अस्पतालमा पुग्ने गर्छन्। पाँच वर्ष अघिसम्म उनी बढी मुटुको मात्रै शल्यक्रिया गर्थे। तर, अहिले भने नसासम्बन्धी (भास्कुलर) शल्यक्रिया पनि गर्छन्।

नेपालमा आफूले वीर अस्पतालमा पहिलो पटक मुटुको बाइपास सर्जरी सुरु गरेको उनले सुनाए। त्यसैगरी मुटुको भल्भ फेर्ने, मुटुको प्वाल टाल्ने, मुटु खोलेर वा नखोली गर्ने विभिन्न किसिमका शल्यक्रिया गर्छन् उनी। 

सानो बेला छोरीको मुटुको समस्या भएकाले उनी पनि अहिले मुटुरोग विषय नै अध्ययन गरिरहेको उनी बताउँछन्।

बाजेले छोरालाई वैद्य औषधी नचिनाएपछि

प्रेमराजका बुवाले वैद्य पढेर पनि काम नगरेको चाहिं एउटा कारण रहेछ। एकपटक दरबारका राणा परिवारका एक सदस्यले आत्महत्याका लागि ‘पारो (मर्करी)’ खाएछन्। त्यस लगत्तै दरबारबाट प्रेमराजका बाजेलाई उपचारका लागि बोलाउन पठाइएछ।

यसको उपचारका लागि प्रेमराजका बाजेले बगैंचामा भएको एक किसिमको जडिबुटी झारलाई पिसेर बनाएको झोल ती व्यक्तिलाई खान दिएछन्।

त्यो जडिबुटीको झोल खाएको करिब आधा घण्टामा त त्यो पारो दिसामा जस्ताको त्यस्तै निस्केछ। दरबारका ती व्यक्ति मर्नबाट बचेछन्।

घर फर्केपछि प्रेमराजका बुवाले बाजेलाई ‘पारो’ जस्ताको त्यस्तै निक्लने जडिबुटी कुन हो? भनेर सोधेछन्। ‘तैंले अहिले सिक्ने बेला भएको छैन। पछि सिक्लास्,’ बाजले भने यस्तो जवाफ दिएछन्।

त्यसपछि प्रेमराजका बुवाले सोचेछन्,‘आफ्नै बुवाले पनि छोरालाई सिकाउँदैन रहेछन् र पो आयुर्वेद लोप हुँदै गएको रहेछ त।’

त्यसैले आयुर्वेदिक पढेर पास गरे पनि आयुर्वेदिक काम गर्दिन भनेर उनका बुवाले चिकित्सा शास्त्रको कम्पाउन्डरको शिक्षा लिएछन्। 

डा. प्रेमराजको खास पुर्खा भने शाक्य वंशी रहेछ। तर, उनका बाजे वैद्य थिए र दरबारमा वैद्य कामकै लागि जागिरे भएछन्। 
यसपछि मन पराएर दरबारले प्रेमराजका बाजेलाई ‘राज वैद्य’ को उपाधि दिएछ। त्यसपछि उपाधिको नामबाट उनका बाजेले छोराहरूको नाम तथा वैद्य थरका पछाडि ‘राज वैद्य’ थपिदिएछन्।

४ चैत, २०७९, २२:०५:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।