२९ दिनमै एसइई नतिजा, परीक्षामा ४.१७ प्रतिशत सुधार
काठमाडौं : नयाँ सरकार गठनसँगै माध्यमिक शिक्षा परीक्षा एसइईको परीक्षा चलिरहेको थियो। लगत्तै सरकारले परीक्षा नतिजामा हुने ढिलासुस्ती हटाउन एक महिनामै परीक्षा नतिजा सार्वजनिक गर्न निर्देशन दियो। उसले यसका लागि जुन दिनको परीक्षा हो त्यो सकिए लगत्तै परीक्षा केन्द्रमा कपी परीक्षण गर्न भन्यो।
यसको तत्काल कार्यान्वयन पनि भयो। चैत १९ बाट परीक्षा सुरु भए लगत्तै जुन दिन, जुन विषयको परीक्षा हो त्यही दिन परीक्षा केन्द्रमा कपी जाँच्न थालियो। चैत २९ मा परीक्षा सकियो। न्यूनतम पनि परीक्षा नतिजा आउन तीन महिना लाग्नेमा यस पटक २९ दिनमै परीक्षा सार्वजनिक भयो।
राष्ट्रिय परीक्षा बोर्डले यसका लागि परीक्षा केन्द्रमा खटिएका परीक्षकहरूलाई धन्यवाद दियो। परीक्षाफल प्रकाशित हुने समयमा बोर्डले पहिलो पटक रेकर्ड राख्यो नै। परीक्षा नतिजामा पनि गत वर्षको तुलनामा ४.१७ प्रतिशतले सुधार भयो।
२०८१ मा ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए। योपालि ६५.९८ प्रतिशत विद्यार्थी 'ग्रेडेड' भए।
कसरी सम्भव भयो २९ दिनमै नतिजा ?
नतिजा सार्वजनिक गरेपछि परीक्षा नियन्त्रक टुकराज अधिकारीले विगतमा करिब ३ महिनामा नतिजा सार्वजनिक हुने गरेकोमा यस पटक परीक्षा केन्द्रमै उत्तर पुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा निकाल्न सम्भव भएको बताए।
"सरकारले १ महिनाभित्रै नतिजा निकाल्न भनेको थियो, हामीले २९ दिनमै सम्पन्न गर्यौँ," उनले पत्रकार सम्मेलनमा भने। उनले परीक्षा केन्द्रमै परीक्षण गर्दा गुणस्तरमा प्रश्न उठे पनि शिक्षकहरूले व्यावसायिक मर्यादामा रहेर परीक्षण गरेको दाबी समेत गरेका थिए।
बागमतीबाट सबैभन्दा धेरै ग्रेडेड, मधेसमा धेरै नन ग्रेडेड
प्रदेशगत परीक्षा नतिजा हेर्ने हो भने बागमती प्रदेशबाट सबैभन्दा बढी विद्यार्थी वर्गीकृत भएका छन्। बागमतीबाट ७७ हजार १ सय १३ जना ग्रेडेड भएका छन्।
कोशीमा ५० हजार ८ सय ९० जना, मधेसमा ४४ हजार ५ सय ९२ जना, लुम्बिनीमा ४४ हजार २ सय ५६ जना, गण्डकीमा २६ हजार ५ सय ५० जना, सुदूरपश्चिममा २१ हजार ६ सय ६४, कर्णालीमा १९ हजार ९५ जना ग्रेडेड भएका छन्।
यस वर्ष १ लाख ४६ हजार ५ सय ७ जना विद्यार्थी नन ग्रेडेड भए। यसमा सबैभन्दा बढी मधेस प्रदेशका छन्। सो प्रदेशबाट परीक्षामा सहभागी ३१ हजार ७ सय २५ विद्यार्थी नन ग्रेडेड भए। बोर्डका अनुसार ननग्रेडेड विद्यार्थीका लागि असार १ गतेदेखि ९ गतेसम्म पूरक परीक्षा सञ्चालन गर्ने तालिका बनिसकेको छ। नतिजामा चित्त नबुझेको अवस्थामा जेठ १ देखि ७ गतेसम्म पुनर्योगको लागि आवेदन दिन सकिने बोर्डले जानकारी दिएको छ।
वैशाख २९, २०८३ मंगलबार ००:२०:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।