बत्तीस वर्षमै हजुरआमा बनेकी मञ्जु डोम जसले पढेको ज्वाइँले बढी दहेज माग्छ भनेर छोरीलाई स्कुलै पठाइनन्
धनुषाधामबाट लगभग तीन किलोमिटर हिँडेपछि तेजनगर गाउँ पुगिन्छ। गाउँमा बुढाबुढी, बच्चा र महिलाहरूको सङ्ख्या धेरै देखियो। त्यही गाउँको एक सानो बस्तीमा १२ घर डोम समुदायको छ। मधेस त्यसमाथि दलित भने पछि यहाँको स्थानीयले भोग्न परेको पीडा सामान्य हुनै नै भएन।
बस्तीको डोम समुदायको मुख्य पेसा भनेकै बाँसको सामान बनाउनु र त्यसलाई तोकिएको क्षेत्रमा गएर बेच्नु। यतिले नधान्ने भएपछि धेरैले गाउँमै सुँगुर पाल्न थालेका छन्। प्राय घरका पुरुष वैदेशिक रोजगारीका लागि खाडी मुलुक गएका छन्। १२ घरमध्ये अधिकांशमा सुत्केरी महिला अनि साना लालाबाला टन्नै देखिए।
उकेराकर्मी बस्तीमा पुग्दा मञ्जु मलिक आफ्नो टहरा बाहिर एकनासले बाँस खुर्काइ रहेकी थिइन्। सानो पिर्कामा खाली खुट्टा टुसुक्क बसेकी उनी पल्लुले घरीघरी आफ्नो टाउको पुरै ढाक्न खोज्थिन्। अनि खुर्पा समाएर बाँसलाई आकार दिन व्यस्त थिइन्।
सुरुमा उनले बोल्न चाहिनन्। कारण बुझ्दा 'दलित' भएको कारण गाउँकै अन्य जातिका स्थानीयहरू पनि उनीसँग बोल्न नआउने रहेछन्। परिवार र टोलका छिमेकी बाहेक बाहिरियाहरुसँग बोल्ने बानी नै रहेनछ।
उनीसँग नजिकै बस्दा उनको आँखामा एक किसिमको डर देखिएको थियो। उनले गाउँको कोही पनि आफ्नो घर भित्र नआएको र पानी समेत कसैले नखाएको बताइन्।
'कोही आउँदैन। हामी गाउँ-गाउँमा जाँदा पनि बाहिरबाटै आफ्नो सामान बेचेर फर्किने हो। कोही नआएपछि हामीले आउनु पनि भन्न मिलेन,' काँपेको आवाजमा उनले भनिन्,'अहिले यस्तो होइन, पहिला देखि नै यस्तै हो। अर्को जातिको के कुरा,आफ्नै जातको त केही कुरा भन्नु छ भने बाहिरबाटै भनेर जान्छन्।'
धनुषाको रिस्ताले जिन्दगीले नयाँ मोड लियो..
मञ्जु घरको जेठी बुहारी हुन्। माइतीमा पनि जेठी छोरी। माइतमा पनि आमा पछिको सबै जिम्मेवारी उनैले सम्हाल्ने गर्थिन्। माइतमा भने उनले बाँसको काम गर्न परेन। डोम समुदायकै भए पनि उनको माइतमा उनको आमा-बाले बाँसको काम गरेको उनलाई थाहा छैन।
कसैले उमेर कति भयो भन्दा '३२ वर्ष चलिरहेको छ' भन्ने गर्छिन् उनी। उनको उमेर अनुसार बाँसको काम गरेको १२ वर्ष भयो। उनको माइत गाईघाटमा रहेछ। मधेसमा अहिले पनि २० वर्ष भन्दा अगाडि नै छोरीको बिहे गराउन चाहने धेरै आमा बा छन्। त्यै भएर उनको बिहे पनि १४ वर्ष पछि भयो। पहिलो पटक महिनावारी हुने बित्तिकै घरमा उनको बिहेको कुरा चलिसकेको रहेछ।
मञ्जु बाहेक घरमा अन्य चार वटा भाइ भएकाले भाइ हेर्नमै उनको बाल्यकाल बित्यो। स्कुल जान पाइनन्। उनको कोही पनि साथीहरू स्कुल जान्थेनन्, त्यै भएर उनले पनि स्कुल जाने सपना समेत देखिनन्।
एक दिन धनुषाबाट 'घर भएको, एक्लो छोरा र दहेज पनि नलिने' भनेर उनलाई माग्न आए। राम्रो 'अफर' देखेपछि उनको बाले रिस्ता नकार्न सकेनन्। अनि बिहे गरेर मञ्जुलाई पठाईदिहाले।
'मागेर बिहे भएको। पढ्न पाएको छैन। चार वटा भाइ छ। अनि म बेहेन। सबै भन्दा ठुलो म। भाइहरू पढ्थ्यो। छोरीलाई स्कुल पठाउँदैन। त्यै भएर मैले पढ्ने सोच पनि आएन नि,' उनले सुनाइन्।
केटा पक्षले भने जस्तै घर थियो उनको श्रीमान्को। एक्लो छोरा अनि दहेज पनि लिएनन्। तर, परिवार एकदम गरिब।
बिहेको केही समय पछि नै उनको सासू-ससुराको मृत्यु भयो। त्यसपछि त झन् घरको सबै जिम्मेवारी उनको काँधमा आयो। छोरीले दुख पाएको देखेर उनलाई बुबाले गाईघाट नै लगे। तर, उनी गर्भवती भइसकेकी थिइन्। उनी पाँच वर्ष जति माइतमै बसिन्।
त्यसपछि भने बिहे भइसकेको, बच्चा पनि भइसकेको छोरीलाई लामो समयसम्म राख्न नहुने भनेर गाउँमा कुरा हुन थाले। अनि मञ्जुले पनि आफू श्रीमानकै घर जान चाहेको बताइन्। उनी २० वर्षको उमेरमा छोरी बोकेर घर फर्किइन्।
फाइदा नहुने काम
त्यही बेलादेखि हो उनले फेरी घरको सम्पूर्ण जिम्मेवारी सम्हालेको। उनलाई बाँसको सामान बनाउन श्रीमानले सिकाए। अनि श्रीमान् वैदेशिक रोजगारीका लागि बिदेसिए उनको श्रीमान् अहिले कतारमा छन्। पाँच वर्ष भयो उनी त्यता गएको।
अहिले उनको आम्दानीको स्रोत श्रीमान्ले पठाउने रेमिटेन्स र यही बाँसको सामानको व्यापार नै हो। सबैले सुँगुर पाले पनि उनले पाल्न भ्याएकी छैनन्।
घरमा अहिले उनीसँगै चार जना सन्तान छन्। ठुलो छोरीको बिहे भइसकेको रहेछ। श्रीमान् नेपाल आएर कतार फर्किएको तीन महिना भएको रहेछ।
‘बुढा आएर गएको तीन महिना मात्र भयो। पैसा अहिले पठाउन मिल्दैन। अनि काम त गर्न पर्यो' उनले भनिन्।
उनीसँग अहिले पनि दुइटा छोरी अनि दुइटा छोरा छन्। एउटा त १० दिन मात्र भएको रहेछ जन्मिएको। माइतमा जन्माएकी उनको छोरीको बिहे भइसकेको रहेछ। त्यही भएर पहिलो र दोस्रो सन्तानमा उनको उमेर अन्तर छ। तर, त्यसपछिको भने १५-१४ वर्षको छोरी छन्।
उनीहरूको पनि छिटो भन्दा छिटो बिहे गर्न चाहेको उनले सुनाइन्। उनको तीन वटा छोरीले उनी जस्तै पढेका छैनन्। छोरा भने पाँच कक्षामा पढ्दै रहेछन्। सुत्केरी आमा स्याहार्न ठूली छोरी माइत आएकी रहिछन्।
टन्न सामान बनाए पछि गाउँ गाउँ डुलेर सामान बेच्ने हो। ढाकी, पङ्खा, सखारी, डाला बुन्न उनले रहनापुर र मुरबरीबाट काटेर टाउकोमा बोकेर ल्याउँछिन् बाँस। एउटा बाँसको अढाई सयदेखि तीन सय सम्म पर्ने उनले सुनाइन्। अनि एउटा बाँसबाट तीन/चार वटासम्म सामान बनाउँछिन्। बाँकी सबै भुस बन्छ।
'सबै भुस हुन्छ। फाल्न पर्छ। सामान बेच्दा फाइदा हुँदैन। यो पनि नगरे नानीहरूलाई कहाँबाट पाल्ने । मैले सुवर पालेको छैन। अरूले पालेको छ। यसले मात्र धन्न गाह्रो छ। पहिला त श्रीमान् पनि गर्थ्यो। दुई जना गर्थ्यो। अहिले झन् एउटाले मात्र त काँ भ्याउनु!'
सिजनको बेलामा त उनको सबै सामान बिक्छ। तर, अफ सिजनमा भने उनी दिनभर गाउँ डुलेर रित्तै फर्किने गर्छिन्।
'प्राय जसो गाउँमा डुलेर नै बेच्न पर्छ गाउँतिर। एक कोष, डेढ कोष हिँडेर जान पर्छ,' उनले भनिन्, 'छठ र बर्सात मा धेरै बिक्छ। अनि लगनहरू हुन्छ। त्यसमा बिक्छ।'
खासमा उनलाई यो काम पटक्कै गर्न मन पर्दैन रे। तर, गाउँमा डोम समुदायको लागि यो बाहेक अरू कामको विकल्प छैन। अनि उनी आफैले अरू सीप जानेकी पनि त छैनन्।
यही काम गर्दा पनि उनले धेरै तीतो अनुभव भोगेकी छिन्। घामपानी नभनी गाउँ गाउँ डुल्ने त भई नै हाल्यो। गाउँमा जाँदा पनि बनाएको सबै सामान त्यसै घर भित्र हुल्दैनन्। आँगनको कलमा मज्जाले सफा गरेर, धोएर, सुकाएर मात्र भित्र हुल्ने गरेको उनले देखेकी रहिछन्। त्यो देख्दा चित्त दुख्ने भइनै हाल्यो।
'मेरो ममी-बाबा कृषि विकास बैङ्कमा र बिजुली अफिसमा अहिलेसम्म काम गर्दै छ। यो काम यहाँ आएर गरेको। उता थाहै थिएन। यहीँ आएर सिकेको। सिक्दा दू वर्ष लाग्यो। धेरै गाह्रो भयो। अहिले सिक्दा त सहज छ। मेरो ससुराको दु भाइ रहेछ। म जेठोको बुहारी,' उनले सरासर भनिन्।
उनको श्रीमानले पैसा नपठाएका हैनन्, पठाउँछन्। तर श्रीमानले कतारमा कमाएको पैसा दुइटा नन्द र ठूली छोरीको बिहे गर्दामै सक्किएछ।
'पढे लेखेको ज्वाइँलाई झन् बहुत दहेज दिन पर्छ’
'यो नेपाल (काठमाडौँ) जस्तो होइन। मदेशमा २० वर्ष पुग्छ भनेर अगाडि बिहे गर्छ। अनि छोरीलाई पढायो भने ज्वाइँ पनि पढे लेखेको हुन्छ। पढे लेखेको ज्वाइँलाई झन् बहुत दहेज दिन पर्छ। अब बिहे गर्ने उमेर भइसक्यो। पढेर पनि के गर्ने!' उनले छोरीलाई नपढाएको कारण यही खुलाइन्।
उनले जेठी छोरीलाई दहेजको रूपमा आठ आना सुन मात्र दिएकी रहिछन्। तर विवाह गर्दा १० लाख खर्च भएछ।
मञ्जुले कहिले पनि ठुलो सपना देखिनन्। सानो हुँदा राम्रो श्रीमान् पाओस् भन्ने थियो रे। अब बाँकी भएको दुइटा छोरीहरूले राम्रो ज्वाइँ पाओस् भन्ने नै उनको सपना रहेछ। बिहे गराउन खर्च नपुग्ला भनेर नै उनले छोरीहरूलाई पढाएकी छैनन्। अब कम्तीमा पनि उनीहरूको बिहेको लागि २० लाख जोहो गर्ने उनको लक्ष्य रहेछ। अब श्रीमान् विदेशमा एक वर्ष बसेपछि त्यसैको कमाइले एउटा छोरीको बिहे गर्ने उनको योजना छ।
'छोरीहरूको राम्रो सँग बिहे गर्छु। ऋण तिरिसक्यो। यो कामले नुन तेल पुग्छ। अरू बजारमा जान पाएको भए झन् धेरै हुन्छ। तर, जान पाउँदिन। पहिला देखि नै आफ्नो ठाउँ बाहेक अरूमा जान पाउँदिन,' उनले भनिन्।
उनका अनुसार अंशबन्डा गर्दा घर, सामान भाग लगाएको जस्तै व्यापार गर्ने ठाउँ पनि भाग लगाइन्छ रे समुदायमा। त्यही कारणले पुर्ख्यौली समय देखि उनीहरू व्यापारको लागि जानकी मन्दिरसम्म पुग्न मिल्दैन। अनि अर्को गाउँको मान्छेलाई सामान पनि बेच्न मिल्दैन।
आफ्नै जातिले बनाएको यस्तो नियमप्रति उनी असन्तुष्ट छिन्। तर असन्तुष्ट भएर पनि के नै गर्न सक्छिन् र!
भुईँमान्छेका कथाहरु
मंसिर ४, २०८० सोमबार १८:१९:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।