कालीमाटीका ‘राजेन्द्र साहुजी’, जसलाई बिहे गरेपछि विदेश जानै मन लागेन

कालीमाटीका ‘राजेन्द्र साहुजी’, जसलाई बिहे गरेपछि विदेश जानै मन लागेन

सामाजिक सञ्जाल धेरै कुरा देखाउने स्थान पनि हो। पछिल्लो समयमा आफूले के खायो? कहाँ खायो? कस्तो खायो? भन्ने लगायतको ‘पोस्ट’हरू सञ्जालमा देखिन्छ नै। यसैबाट धेरैले आफ्नो परिकार र होटल व्यवसायको प्रचार गरिरहेका छन्। सञ्जालमा गरिएका प्रचारले युवापुस्तालाई नेपालको मौलिक परिकारप्रतिको रुचि बढ्दै गएको देखिन्छ।

सञ्जालमार्फत आफ्नो खानाको प्रचार भएको दङ्ग पर्ने मध्ये एक हुन्, राजेन्द्र श्रेष्ठ। सानैदेखि नेवारी खाजाको स्वाद चखाउँदै आएका उनी आफ्नो रैथाने परिकार माग बढ्न थालेकोमा मख्ख छन्। उमेरले ४५ पुगेका उनी हेर्दै ‘साहुजी’ देखिन्छन् । खाइलाग्दो शरीर, गोरो अनि हँसिलो अनुहार। तर, साहुजी हुन निकै गाह्रो भएको उनी सुनाउँछन्।

‘साहुजी हुन काँ सजिलो छ र! ग्राहक जति रिसाए पनि सबैसँग हाँसेरै बोल्नपर्छ। उधारो खानेलाई पनि तपाईं हजुर भन्नै पर्यो,’ उनी हाँस्दै भन्छन्, ‘कत्ति जनासँग त झगडा नै पर्ला जस्तो हुन्छ नि! तर, कति जनासँग झगडा गर्नु।’

उनको यो पुस्तेनी पेशा हो। उनीभन्दा अघि उनको आमा र बा ले खाजा घर चलाउँथे। कालिमाटी नजिकैको पुल भएको ठाउँमा उनीहरूको खाजघर थियो। तर, करिब २० वर्षअघि सडक बढाउने भन्दै उनीहरूको खाजाघर सहितको बासस्थानको उठिबास लाग्यो।

क्षतिपूर्तिको कुरा भए पनि अहिलेसम्म पाउन सकेका छैनन्।

‘त्यसबेला घरको आर्थिक अवस्था त निकै कम्जोर भयो। आमाबा त पूरै चित्त दुखाएर बसेको थ्यो। अनि दाई हामीले यतापट्टि डेरा लिएर व्यापार चै चालु राख्यौँ’, उनी भावुक सुनिए।

त्यसबेलामा उनीहरूको सँगै झन्डै १६, १७ वटा घर सडक विस्तारको लागि भनेर भत्काइएको थियो। अहिले त्यस ठाउँमा पुल बनाइएको छ।

राजेन्द्र यतै जन्मिएका हुन्। बाल्यकाल अभावमा बित्यो। घरको कान्छो छोरा भएका कारण छिट्टै जिम्मेवारी लिइराख्न चैँ परेन। त्यै भएर पढ्न पनि पाए। कमर्समा स्नातकसम्म पढेका छन् उनले। यता खाजा घर राम्रै चलिरहेको भए पनि अल्लारे उमेरमा उनलाई विदेशिन मन लाग्यो। स्नातकपछि कुकको तालिम लिएर दुवई उडेका उनी त्यहाँ पाँच वर्ष बसे।

‘बिहे गरेपछि विदेश जान मन लागेन’
‘त्यो बेला एकपटक चैँ विदेश घुम्न रहर लागि त हाल्यो। केहि वर्ष परिश्रम विदेश तिर पोखाइयो। अनुभव बटुल्नकै लागि गएको भए पनि मैले यतैबाट धेरै तालिम लिएर तयार भएर गएको थिएँ,’ उनी भन्छन्, ‘त्यै भएर पनि मलाई त्यहाँ काम गर्न त्यति गाह्रो भएन। सँगैको नेपाली साथीहरूलाई तालिम र भाषाको कमजोरीको कारण धेरै गाह्रो सहे।’

त्यसै क्रममा विवाह गरेर घरजम पनि गरे राजेन्द्रले। अनि विदेश कहिल्यै फर्केनन्।

‘छोरा मान्छे हो विदेशतिर यसो हेरौँ भन्ने भयो। ठाउँ हेरियो। त्यहाँ कसरी काम गर्ने रहेछ हेर्न पाइयो। व्यवस्थापन हाम्रो भन्दा एकदम राम्रो लग्यो,’ उनी सुनाउँदै गए, ‘परिवार भएपछि यतै बसेर केहि गर्नुपर्छ, धेरै समय किन टाढा बस्ने भन्ने भयो अनि उता सिकेको ज्ञान यता लगाएर आफ्नै कामलाई निरन्तरता दिएँ।’

‘त्यो बेला त यहाँको व्यापार पनि राम्रो थियो। महंगी त्यति साह्रो थिएन। बरु अहिलेको अवस्था हेरेर पो फेरि जान मनलाग्छ। तर, अब त उमेरले पनि जान दिँदैन’, उनले हाँस्दै भने।

उनलाई कम्प्युटर सम्बन्धि काम गर्न पनि खुब इच्छा रहेछ। तर, चलिरहेको आफ्नो व्यवसाय छोडेर फेरि नयाँदेखि सुरु गर्नको लागि आँट आइरहेको रहेनछ।

पहिलेदेखि अनुभव भएको र आफ्नो ग्राहक पनि टन्नै बनाउन सकेपछि उनले यसबाहेक अर्को कामको बारेमा सोच्न परेन।

‘समय अनुसार ढल्किँदै पनि जानपर्यो। ग्राहकको सन्तुष्टिलाई हेर्नपर्यो। सरसफाई र खानाको गुणस्तरमा हामीले धेरै ध्यान दियौँ। आमाहरूको समयमा ग्राहक केन्द्रित व्यापार हुन्थ्यो। हामीले त्यो भन्दा फरक गर्दै अगाडिनै ग्राहकलाई आकर्षित गर्नपर्यो।’

नेवारी मौलिक खानामा उनी विशेषगरी छोइला, कचिला, भुटन, सेकुवा, सपुमिचा अनि जिब्रो बनाउने गर्छन्। नजिकै कालिमाटी तरकारी बजार भएको कारण उनको ग्राहक विभिन्न थरिका आउने गर्छन्।

‘सरकारी कर्मचारी, न्यून आय भएका, यहाँ नजिकै काम गर्ने मधेशी दाजुभाइ सब आउने गर्छन्। धेरै जसो त रेगुलर र पुरानो ग्राहक नै छन् अझै पनि।’

बिहान नौ बजेदेखि बेलुका दश बजेसम्म उनी यहि खाजाघरमै व्यस्त हुन्छन्। बेलुकाको समय घर्किँदै जाँदा ग्राहकको आगमन पनि बढ्ने गरेको उनले सुनाए।  तुलनात्मक रूपमा गर्मीमा उनकोमा ग्राहक कम आउने रैछन्। तर, पनि दिनमा दश देखि बाह्र हजारको व्यापार गर्छन् उनी।

उनले सुनाए, ‘आज भन्दा बीस वर्षअघि पनि मैले दिनमा पाँच/छ हजारदेखि दश हजारसम्मको व्यापार गरेकै हो। त्यो हेरेर त अहिले व्यापार नै छैन भन्दा पनि हुन्छ।’

‘छोरोलाई जबरजस्ती गर्दिनँ’
आमा बालाई सहयोग गरेर काम गर्नु र आफैँले जिम्मेवारी लिएर काम गर्नुमा धेरै फरक हुने उनले महसुस गरेका छन्।

‘लकडाउनपछि हाम्रो व्यापारमाथि उठ्नै सकेन के। एक त सहकारीहरू सबै डुब्ने समय पनि यहि भयो। एक त जम्मा गरेको पैसा त्यत्तिकै हरायो अनि कमाइ पनि बढ्न सकेन’, उनी निराश सुनिए।

कामभन्दा गाह्रो समय व्यवस्थापन गर्नु र आफ्नो कामलाई अगाडि बढाउने भएको उनी ठान्छन्। अब यो कामलाई निरन्तरता दिने पुस्ता नबनेकोमा उनी कहिँकतै खल्लो महसुस गर्न थालिसके।

राजेन्द्रको छोरा अहिले कक्षा नौमा पढ्दैछन्। उनले यसमा चासो देखाएका छैनन्। अनि उनी पनि जबरजस्ती गर्ने पक्षमा छैनन्। तर, पनि अरुको जागिर खानुभन्दा आफ्नो काम अगाडि बढाओस् भन्ने चाहन्छन्।

‘बाबुले यसमा गर्दैन होला। अब सायद पुर्खाको बिजनेस गर्ने हामी नै लास्ट हुन्छौँ कि भन्ने लाग्छ। हुन त उ सानै पनि छ। उसले पछि गरे पनि ठिकै छ। नगरे पनि ठिकै छ। तर, पनि सकेसम्म आफ्नो बिजनेसलाई बढाओस् भन्ने त लाग्ने रहेछ’, उनले भने।

त्यै भएर आफूले मात्र भए पनि सकेसम्म गरिरहने उनले सोच बनाएका छन्। त्यसपछि भने उनको सोच समाजसेवा रहेछ।

‘उमेरमा कमाएर बस्न पाए अरु के नै चाहियो र। त्यसबाहेक भनेको त सरलसँग आफ्नोसँगै अरुको सवा गर्दै बिताउला नि!’, उनले भने।

असोज ८, २०८० सोमबार १५:१२:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।