२० वर्ष साझा बस चलाएका विनोद अहिले आफ्नै शरीर चलाउन गर्दैछन् संघर्ष

२० वर्ष साझा बस चलाएका विनोद अहिले आफ्नै शरीर चलाउन गर्दैछन् संघर्ष

बिहानीको पैदल यात्रा सकेसँगै विनोद कपालीको अनुहारमा एउटा चमक हुन्छ। त्यसपछि भने बाँकी समय उनको मधुरो अनुहारमा अल्झिएरै सक्किन्छ।

कुनै समय सयको स्पिडमा गाडी हुइँक्याउने उनी अहिले भने सम्हालेर पाइला चलाउने कोसिस गर्छन्। बिस्तारै बोल्छन्। अनि बोल्दाबोल्दै आवाज अड्किँदा एकछिन चुप लागेर बस्छन्। 

१० वर्षजति भयो उनलाई यसरी हिँड्न, बोल्न गाह्रो भएको। लामो समय साझा यातायात चलाएर, सेवानिवृत्त भएको केही महिनामै उनी एक्कासि बाटोमा ढले। पाँच महिनासम्म बोल्दा पनि बोलेनन्। दुइ वर्ष त खाटमै सीमित भए। 

उनी रक्सी, चुरोटजस्ता कुनै पनि दुर्व्यसनीमा थिएनन्। तर, प्रेसरका कारण ढलेका उनलाई 'प्यारालाइसिस’ नै भयो।

'जागिर छोड्यो भने दशा लाग्छ भन्थ्यो, हो रहेछ। मलाई अझै काम गर्ने इच्छा थियो, के गर्नु, सम्झिने हो। सम्झेको त छु। तर, शरीरले दिएन। अब त दिए पनि सक्दिनँ,’ उनले बिस्तारै भने।

साझा यातायातमा २० वर्ष चालक भएका उनले त्यसअघि पनि लामो समय चालक भएर काम गरेका थिए। उनले करिब २० वर्षभन्दा बढी त्यसअघि पनि गाडी चलाएका थिए। 

काठमाडौँको ब्रिजेश्वरीमा जन्मिएको विनोदको घर ठ्याक्कै स्वयम्भूको फेदमा छ। ६५ वसन्त पार गरेका उनलाई प्यारालाइसिस नभएको भए अझै पनि सडकमा उनले गाडी कुदाएको भेट्न सक्थ्यौँ। त्यही भएर पनि उनको अनुहार, उनको आवाजजस्तै मधुरो भएको छ। यतिका वर्षसम्म गाडी चलाउन नपाएको र पछि पनि कहिल्यै चलाउने हो थाहा नभएको कारण उनी दुःखी छन्। 

गाडी चलाएर हुर्किए

सानैमा आमाबा गुमाएका उनका ६ दाइ र दुई दिदी छन्। उनी परिवारको सबैभन्दा कान्छा। तर, कम उमेरमै कमाउन बाध्य भएका थिए। दाइ दिदीहरू आफ्नै काममा व्यस्त हुन थालेपछि उनले पनि केही गर्ने सोचे। पढ्ने भनेर केही दिन स्कुल गए पनि उनको पढाइ त्यत्तिकै छुट्यो। पछि उनले पढ्ने सोच पनि बनाएनन्। अहिले कसैलाई भन्नुपर्दा १० पैसा तिर्न नसकेका कारण पढाइ छोडेको उनी बताउँछन्। 

काठमाडौँमा त्यस बेला गाडी चलाउनुको शान नै अलग्गै हुन्थ्यो। उनले पनि साथीहरूसँग ट्याक्सी चलाउन सिके। छिट्टै सिके। अनि काम पनि गर्न थाले। 'त्यो बेला धेरै ट्याक्सीहरू थियो। त्यो उमेरमा खेलौनाजस्तै लाग्थ्यो। खेल्दा, खेल्दै जानेको। साथीभाइको संगतले गर्दा छिट्टै सिकेँ। उनीहरूकोमा नै काम पनि गरेँ,’ उनले सम्झिए। 

त्यसरी नै ट्याक्सी चलाउँदा चलाउँदै उनले शान्ति शाह (राजा महेन्द्रकी छोरी) को चालक भएर काम गर्ने मौका पाए। त्यो बेला राजपरिवारको नजिक भएर काम गर्नु आफैमा ठूलो कुरा मानिन्थ्यो। उनले त्यो मौका नकार्न सकेनन्। महिनाको तीन सय तलबमा उनी त्यहाँको 'ड्राइभर’ बने।

'मैले त्यति तलब पाए पनि छोराहरूलाई वनस्थलीमा पढाएको थिएँ। घर खर्च पनि राम्रै पुगिरह्यो। तर, तीन वर्षसम्म पनि तलब नबढाएपछि चाहिँ छोड्नपर्यो,' उनी त्यतिबेलाको समय सम्झिन्छन्। 

त्यसपछि भने उनले जुनजुन काम पाउँथे, सबै गर्न थाले। घरी ट्याक्सी चलाउँथे, घरी कसैको प्राइभेट ड्राइभर हुन्थे। अनि कहिले भने कुनै ट्राभल एजेन्सीको ड्राइभर पनि हुन्थे।

'चालीस वर्ष भएछ मैले ड्राइभ गर्न थालेको। बच्चादेखि नै चलाउन थालेर पनि होला। अरू कुनै काम नै गर्न परेन। अनि काम गर्न जानिनँ,’ बोल्दा बोल्दै फेरि सानो आवाजमा उनले भने, 'अहिले १० वर्षदेखि कुनै पनि गाडी चलाउन पाएको छैन। म आफै पनि सम्झिँदा दंग पर्छु। यति लामो समयसम्म गाडी नचलाएर पनि बस्न सक्ने रहेछु।’ 

साझामा २० वर्ष

सडकमा साझा गाडीको एकछत्र राज चलिरहेको थियो। अरूकोमा काम गर्दागर्दै उनलाई साझाले लोभ्यायो। त्यहाँ ड्राइभर चाहेको थाहा पाएसँगै उनी गए। अनि तुरुन्तै काम पनि पाए। साझामा गएपछि फेरि अरू ठाउँमा काम गर्न उनलाई आवश्यक भएन। 'चार हजार दिन्थ्यो त्यहाँ। कत्ति दुःख गरेँ, भनेर साध्य छैन। यहाँ पहिला चलाउनुदियो। अनि पछि बाहिर,’ उनले भने। 

अनि उनी झन् व्यस्त हुन थाले। नेपालगञ्ज, दाङ, गुलेरिया, सुर्खेत, जनकपुर, जलेश्वर सबै ठाउँमा उनी गाडी लगेर जानुपर्थ्यो। नाइटबस पनि निकै समय चलाए। गाडी चलाउन पाउँदा उनी निकै आनन्द महसुस गर्थे। त्यही भएर कहिले त हप्तौँसम्म पनि बाहिरै नै हुन्थे।

अहिलेसम्म आफ्नो हातबाट कुनै ठूलो दुर्घटना भने हुन नपाएको उनले बताए। 'गाडी चलाउन वडा आनन्द महसुस गर्थेँ। ट्याक्सी चलाएको बेलामा दुलाहादुलही बोकेको गाडीचाहिँ पल्टिएको थियो। तर, धेरै केही भएन,’ उनले भने। 

साझामा काम गर्दा गाडीमा केही समस्या भयो भने सबै अफिसले नै बेहोर्ने हुँदा पनि उनी ढुक्क भएर गाडी कुदाउँथे। 'गाडी पनि जति फास्ट चलाए पनि हुन्थ्यो। त्यही भएर सयको स्पिडसम्म कुदाउँथे। बिहान ६ बजे हिँडिन्थ्यो, त्यसरी नकुदे त पुग्दैन थियो। अनि खाना त हामी ड्राइभरहरूलाई फ्री हुन्थ्यो। त्यै भएर खानाको चिन्ता नभएपछि एकोहोरो काममा व्यस्त हुन पाउँथे।’ 

साझाबाट रिटायर हुँदा उपदान भनेर उनले केही रकम पनि पाए। त्यो रकम उनले घर बनाउँदा खर्च गरे। उनले सानै उमेरमा विवाह गरेका थिए। घरमा कोही नभएपछि उनले आफैले मन पराएको केटीसँग बिहे गरिहाले। तर, गाडी चलाउँदा लामो समयसम्म बाहिरै हुने उनलाई घरमा भने समय व्यवस्थापन गर्न गाह्रो भयो। 

समयभन्दा ठूलो नै के छ र !

एकहिसाबले उनको जिन्दगी नै बाहिर बित्यो। कामको सुरुवाती दिनमा बिदा नमिले पनि पछि भने उनलाई कामको बानी परेछ। त्यही भएर उनी कामबाहेक अरू केही पनि सोच्न नसक्ने भए। 'घरमा धेरै समय दिनै सकिनँ। त्यही कुराले अहिलेसम्म पिरोल्छ। मैले जिन्दगी नै बाहिर बिताएँ। बिहान ६ बजे निस्केको म भोलि बिहान मात्र पुग्थेँ। घरमा के कस्तो समस्या छ हेर्नै भ्याइनँ।’ 

कामहरू बिर्सेर घर आउँदा घरमा कुरा नै नमिल्ने गरेको उनी बताउँछन्। 'लामो समयसम्म श्रीमतीसँग बोलचाल नै हुँदैन थियो। बोलचाल त अहिले पनि छैन। मेरो जिन्दगी सबै काममा दिएँ। काम सकेपछि त्यो त्यत्तिकै भयो। अहिले परिवारहरूसँग समय बिताउन पाएँ, त्यही पनि यस्तो हालतमा। न उनीहरू खुशी छन्, न म नै खुशी छु,’ उनले बल्ल बल्ल आफ्नो वाक्य पूरा गरे। 

अनि बिरामी हेर्दा कसले हेर्नुभयो त ? भन्ने प्रश्नमा उनी भन्छन्, 'हेर्यो सबैले। हेर्न त भगवानले पनि हेर्यो। म कसरी बाँच्यो भन्ने कुरा मलाई पनि थाहा छैन। त्योकुरा कसलाई भन्ने ? बच्चाहरू पनि सबै उसले (श्रीमती) हुर्काएको, नातिहरू पनि। मैले त्यो सब छुटाएँ। त्यही भएर अहिलेसम्म पनि त्यो रिस देखिन्छ। बच्चाहरूलाई पनि समय दिन सकिनँ।’ विनोद भावुक सुनिए।

उनले कामलाई सबैथोक माने। कामबाट राम्रै आम्दानी पनि गरे। त्यही नै उनले परिवारलाई सुम्पिए। तर, त्योभन्दा महँगो चिज समय भने उनले दिन सकेनन्। 'कामले लाभ दियो। केही पैसा दियो। यो घर बनाएको नै त्यहीँबाट हो। मैले त सबै परिवारका लागि दिएको जस्तो लाग्थ्यो। तर, समय पनि दिनपर्ने रहेछ। अहिले सँगै भए पनि एक्लो महसुस हुन्छ।’ 

उनका दुई छोरा र दुई छोरी छन्। कान्छो छोराबाहेक सबै विदेश बस्छन्। लामो समय प्यारालाइसिसले थला परेका उनी बिस्तारै हिँडडुल गर्न सकेको पनि धेरै भएको छैन। त्यही भएर उनी स्वयम्भूभन्दा टाढा जाँदैनन्। अहिले पनि कहिल्यै उनको प्रेसर ह्वात्तै बढ्छ, कहिले त्यसैगरी घट्छ। अनि आवाज पनि कहिले ठूलो आउँछ, कहिले भने बोल्दाबोल्दै बोल्न सक्दैनन्। औषधि खाइराख्नुपर्छ। 

'पहिला बिरामी हुँदा काम गर्ने एउटा आइमाइ थियो। उसले हात समायर स्वयम्भू लग्यो। त्यसपछि हिँड्दाहिँड्दै बिस्तारै ठिक भयो,’ उनले आफू ठिक हुँदै गरेको पल सम्झिए। त्यही भएर उनी हरेक दिन बिहान स्वयम्भूको भर्याङ विस्तारै उक्लिन्छन्।

'बाल्यकाल, जवानी सबै गाडी चलाएरै बित्यो। समय भनेको चिज बडो गज्जबको रहेछ। अझै धेरै काम गर्न थियो नि। के गर्नु,अब लाइफ सक्यो। खानलाई पुगिहाल्छ। बालले पनि पुग्छ। बच्चाहरू पनि ठूलो भयो। अब पुग्यो। सबै पुग्यो,’ उनले भने।

१५ साउन, २०८०, १७:१३:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।