चालिस वर्ष संसदमै बिताएका शान्तकुमार : कुर्सी हानाहान त देखियो, तर पनि इन्डियाका भन्दा हाम्रै सांसद् सभ्य

चालिस वर्ष संसदमै बिताएका शान्तकुमार : कुर्सी हानाहान त देखियो, तर पनि इन्डियाका भन्दा हाम्रै सांसद् सभ्य

‘संविधान पास गर्दा रातको १२ बजे बहुदलबादीहरूले जुलुस नै गरेका थिए। भुइचालो आउँदा चिम फुटेको थियो। सभामुख बैठक फ्लोर बाट उठ्नुभएन। म पनि उठिनँ। बैठकको समयमा कहिले त ठूलै झगडा पनि भएको छ’, आफ्नो धमिलिँदै गएको स्मृतिलाई कोट्याउँदै शान्तकुमार तुलाधरले सुनाए।

संसदीय समितिको कर्मचारीबाट उनले अवकाश पाएको करिब तीन वर्ष हुन लाग्यो। त्यसपछिका दिनहरू भने उनको कहिले घरमै त कहिलेकाहिँ साथीहरूको भेटघाटमा बित्ने रहेछ।

बिहान पैदल यात्रा गर्दै स्वयम्भूको भर्याङ्ग चढ्न छोडेका छैनन् अनि टन्नै समाचार पढ्ने र हेर्ने गर्छन्। कहिलेकाहिँ समाचार पढ्दा उनलाई हासो पनि लाग्दोरहेछ।

संसदको रिपोर्टिङ शाखामा बसेर काम गर्दा विभिन्न राजनीतिज्ञहरूको हुबहु भनाइहरू उतार्ने मात्र काम गरे उनले।

कुन ठाउँमा तारा हाल्नुपर्ने हो भनेर ध्यान दिनुपर्थ्यो। बैठकमा कसैले अपशब्द बोले त्याे उतार्ने बेलामा तारा राख्नुपर्थ्यो।

‘तर, समाचारमा त विश्लेषण, संक्षेपीकरण, विवरणात्मक के–के हुने–हुने। अनि त्यस्तो हेर्दा साच्चिकै यस्तो भने होला र भन्ने लाग्ने रहेछ,’ उनी सुनाउँछन्।

शान्तले संसदीय सेवामा चार दशक भन्दा बढी काम गरे। तर, अधिकांश कुराहरू अतितमै रहे। अहिले सम्झन खोज्दा दिमागले झट्टै टिप्दैनन्। १८ वर्ष हुँदा मुखिया पदमा सिंहदरबार छिरेको भने उनी बिर्सँदैनन्। एक त सानो पद त्यसमाथि धेरै प्रतिस्पर्धा नहुने समय। त्यसैले उनलाई जागिर खान गाह्रो भएन। त्यसमा पनि शान्तकुमारले एसएलसी पास गरेका थिए।

‘मेरो काकीको एकजना चिनेका मान्छे रहेछन्। अनि मलाई बोलाए। केहि कुराहरू सोधे। अस्थायीको एउटा निवेदनमा टिकट काटेर दिएको भोलिपल्टै जागिर भयो। एसएलसी पास नै मेरो योग्यता मानियो। अनि दुई तीन वर्ष अस्थायी नै  गरेँ,’ उनले सुनाए।

जागिर भएपछि घरको आर्थिक अवस्था पनि केही सुधारियो भने उच्च शिक्षा पढ्न पनि सहज भयो। त्यहाँ काम गर्दा गर्दै शान्तकुमारले ‘डबल एमए’ गरे। पछि विस्तारै प्रतिष्पर्धा गर्दै उनले खुलामा पास गरेर स्थायी भए। अहिले चालिस वर्ष त्यहाँ काम गरेको सम्झेर आफैँलाई अचम्म लाग्छ रे उनलाई।

‘सांसद्ले अपशब्द बोले तारा हाल्नुपर्थ्यो’
राष्ट्रिय पञ्चायतमा हुँदादेखि काम गरेका उनले बहुदल हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा संसदको धेरै उतारचढाव देख्न पाए। बहुदल आएपछि उनी विशेष अधिकृतसम्म भए। विभिन्न समितिमा काम गरे। सबैभन्दा बढी समय बिताएको नै उनले रिपोर्टिङ शाखामा हो।

हरेक दिन बैठक सुरु हुनुअघि नै हलमा गएर कसले के बोल्छन् सबै रेकर्ड गर्नुपर्ने। बैठकको समयभर ठूलो–ठूलो चक्का घुमेको हेरेर बस्ने। अनि पछि त्यो सब सुनेर उतार्ने। अनि त्यसदिनको मिति लेखेर लाइब्रेरीमा थन्क्याउने।

रेकर्ड गरेको कुरा हुबहु उतार्नुपर्ने हुँदा उनलाई कसले के बोल्यो भन्दा पनि नबिग्रियोस् भन्नेनै बढी ध्यान हुन्थ्यो रे। 

‘अनि कुन ठाउँमा तारा हाल्नुपर्ने हो भनेर ध्यान दिनुपर्ने हुन्छ,’ उनले हाँस्दै सुनाए। त्यसरी लेख्दा तारा राख्नु भनेको बैठकमा कसैले अपशब्द बोल्नु हो रे।

उनले अगाडि सुनाए, ‘त्यस्तो बेलाबखत बैठकमा भइनै रहन्छ। अनि कोहि चाहिँ सब लेखिसकेपछि सच्याउनु पर्यो भन्दै पनि आउँथे।’

हाम्रोमा बस्नुस् भनेपछि बसेर फेरि उठ्लान् त्यो अलग कुरा हो। जे भए पनि सभामुखको कुरा त मान्छन् नि! तर, इन्डियामा त आफ्नो कुरा नभनेसम्म हात उठाइरहन्छन्। त्यसबेला चाहिँ हाम्रो सांसदहरू अलि सभ्य त रहेछन् भन्ने लाग्यो।

संसद् बैठकको सुरुदेखि अन्त्यसम्मका सबै रेकर्ड अहिले पनि संसदको लाइब्रेरीमा छन्। रेकर्डिङ सुन्न चाहनेलाई क्यासेट अनि पढ्न चाहनेलाई किताब मार्फत त्यसको व्यवस्था मिलाइएको छ। त्यस्तो रेकर्ड नीतिनिर्माणमा काम लाग्ने उनी बताउँछन्।

‘त्यो रेकर्डहरू चाहिँ हरेक नीतिनिर्माणमा पनि काम लाग्ने रहेछ। धेरैजसो त त्यसै अनुसार संसदीयको नीतिनिर्माणहरू समेत हुनेगर्छ। भर्खर-भर्खर बहुदल आउँदा त त्यसको संसदमै धेरै खोजी भएको थियो,’ उनी सुनाउँदै गए, ‘तर, अहिले हाम्रोमा राम्रो किसिमको रेकर्ड छैन।’

उनले यतिका वर्ष त्यस शाखामा काम गर्दा पहिलो पटक कसको भनाइ उतारेर र अन्तिम कसको भयो भनेर पनि सम्झनामा राख्न सकेका छैनन्। रिपोर्टिङ गर्दाको एउटै मात्र नियम भनेको त्यसलाई संशोधन गर्न मिल्दैन। त्यै भएर मिस्टेक भन्ने कुरा नै हुँदैन भन्छन् उनी।

त्यस पश्चात शान्तले कार्य व्यवस्था शाखामा पनि काम गरे। त्यो शाखाले नै सबै बैठक सञ्चालन गर्ने गर्छ।

‘त्यहाँ मान्यहरूले प्रस्ताव ल्याउँछन्। त्यसको ध्यानाकर्षण हुन्छ। विवाद गर्छन्। कहिले मिल्छ, कहिले प्रस्ताव अगाडि नै बढ्दैन।’

पञ्चायत अनि बहुदल !
पञ्चायतको समयमा काम गर्दा अलि कडा नियममा बसेर काम गर्नुपरेको उनको अनुभव छ। त्यस समय तल्लो तहका कर्मचारीलाई काम लगाउदाँ थर्काएर काम लगाउने अनि छोटो समयमा पक्की काम गर्न लगाउँथे रे।

‘त्यो व्यवस्था नै त्यस्तो भएको कारण सबलाई थिचोमिचो गर्न खोज्ने। अहिले त सब फ्री छ। तर, पनि सजिलै यतिका वर्ष बिताइयो। सिंहदरबारबाट बाहिर जान पर्दैनथ्यो। पछि चाहिँ बैठक भवन नभएको कारण बानेश्वरमा सर्यो।’

त्यस समय महिला कर्मचारी पनि दुई/तीन जना मात्र थिए रे। त्यसमाथि एकजनाको नाम शान्ता। अनि धेरै पटक नाम झुक्किँदा शान्ता र शान्त हास्ने गरेको पनि उनी सम्झन्छन्।

पञ्चायतकालदेखि गणतन्त्रसम्म आइपुग्दा उनले देखेको संसदमा भिन्नता भनेको त्यसबेला पक्ष र विपक्षको एउटै फ्लोर हुनु पनि हो। अनि बैठकमा विवाद भए पनि पक्ष-विपक्षनै छुट्टिदैनथ्यो रे।

अहिले त ५० हजार पुग्यो भन्नेछ। तर, ३०/३५ हजार हुँदा भन्दा त १३५ ले नै सबै कुरा पुगिराको थियो।

‘सबै आफ्नै पदको लागि मात्र झगडा गरेको भन्ने हुन्थ्यो। अहिले चाहिँ पक्ष–विपक्ष छुट्टिएको हुन्छ। त्यै भएर कसले के भन्ने खोजेको प्रष्ट हुन्छ। आजकल त सिद्दान्त र नीतिमा घोर विवाद नै हुने गर्छ नि!’

बैठकलाई वादविवाद प्रतियोगिता भन्दा कम मान्दैनथे उनी। त्यै भएर सबैको कुरा उत्तिकै चाख मानेर सुन्थे। अनि कहिले पनि यसको भनाइ चाहिँ राम्रो हुन्छ भन्ने भएन रे। तर, प्रदिप गिरि, अर्जुननरसिंह केसीदेखि लिएर नयाँमा गगन थापा हुँदै शंकर पोख्रेल, गोकर्ण विष्ट र योगेश भट्टराईको प्रस्तुति शैली चाहिँ रोचक लाग्थ्यो रे।

‘इन्डियाका भन्दा हाम्रै सांसद् सभ्य’
संसद्को अन्तराष्ट्रिय समितिमा बसेर पनि उनले केहि वर्ष काम गर्न पाए। त्यसै समयमा उनले नर्वे, चीन, पाकिस्तान र भारतको भ्रमण गर्न पनि पाए। जसमध्ये सबै भन्दा राम्रो चाहिँ नर्वेको लाग्यो रे।

‘युरोप भएर पनि मन परेको हो कि! तर, त्यहाँको व्यवस्था एकदम राम्रो लाग्यो,’ उनले सुनाए।

भारत र नेपालको भने संसदीय व्यवस्था खासै फरक लागेन रे।

‘त्यहाँ पनि विरोध नै गर्छ अर्को पक्षको। तर, हाम्रोमा बस्नुस् भनेपछि बसेर फेरि उठ्लान त्यो अलग कुरा हो। जे भए पनि सभामुखको कुरा त मान्छन् नि! तर, इन्डियामा त आफ्नो कुरा नभनेसम्म हात उठाइरहेको देखेँ,’ उनले हाँस्दै सुनाए, ‘त्यस बेला चाहिँ हाम्रो सांसदहरू अलि सभ्य त रहेछन् भन्ने लाग्यो।’

इन्डिया र नेपालको संसद उस्तै भए पनि त्यहाँ भने लोकसभामा सबै प्रतिनिधिहरू प्रत्यक्ष नै निर्वाचित भएर आउँछन्। त्यहाँ समानुपातिक भन्ने नै हुँदैन। कार्य व्यवस्थामा बस्दा ठूला भनिएका धेरै राजनीतिज्ञसँग नजिकै बसेर काम गर्न पाए उनले। तर, कसैसँग मित्रता भने गाँस्न पाएनन्। काममै सिमित राखे।

उनले भने, ‘सबै मान्यहरू ठूलो भयो। म कर्मचारी तहकाले कहाँ साथी बनाएर बस्नु।’

मुखियामा हुँदा एक सय ३५ रुपैयाँमा काम सुरु गरेका शान्तकुमारले अवकाश हुँदासम्म ३०/३५ हजारसम्म तलब बुझे।

‘अहिले त ५० पुग्यो भन्नेछ। तर, ३०/३५ हजार हुँदा भन्दा त १३५ ले नै सबै कुरा पुगिराको थियो,’ उनी थप्छन्, ‘बजेट र सरकारको नीति निर्माणको समयमा हामी राति १२ बजेसम्म बस्नुपर्थ्यो। त्यो बेलामा ओभर टाइम गरेको पैसा दिने हुँदा ३५ हजार पुग्छ नि तलब।’

छुटेका सपना र अवकाश जीन्दगी
काठमाडौंको टेबहाल जन्मिएका उनको सानैमा बुवा बितेपछि घरको जिम्मेवारी आफैँले सम्हालुपर्यो। बाल्यकालमा फुटबलमा पनि उनको विशेष रुचि थियो। खेलकुद परिषदमा मनोनयन भएर विभिन्न तालिममा पनि गएका थिए उनी।

तर, जिम्मेवारी लिन परेपछि फुटबल छोडेर सरकारी जागिरमा छिरे। जागिर र पढाईमा यसरी व्यस्त भए कि उनले त्यसपछि फुटबललाई कहिले सोच्ने मौका पनि पाएनन्। पूर्वमन्त्रीसमेत रहेका कृष्णगोपाल श्रेष्ठ उनका फुटबल खेल्ने साथी थिए।

अब ६० वर्ष पनि पार भइसक्यो। अलि-अलि पेन्सन आउँछ। केहि कोठा भाडामा दिएको छु। धेरै परिवार पनि छैन। त्यै भएर खानकै लागि काम गर्नुपर्ने भन्ने त छैन।

उनले कृष्ण गोपालको पनि धेरै भनाइहरू उतारेका छन्। सँगैको साथी मन्त्री भएर भाषण गर्दा दङ्ग परेर काम गर्नु बाहेक उनीसँग अर्को उपाय थिएन। तर, पनि आफ्नो क्षमतामा र कामलाई उनले कहिले पनि सानो मानेनन्।

चालिस वर्ष संसदमा जोडिएर गरिएको कार्यकाललाई उनले सफल नै मानेका छन्। चाँडै काम गरेकाले चाँडै अवकाश पाएको उनी बताउँछन्। अहिले पेन्सन आउँदा खुशी छन् उनी।

अवकाश हुनुअघिसम्म पत्रकारिता गरौँ कि भन्ने पनि लागेको रहेछ उनलाई। विभिन्न राजनीतिज्ञको अन्तर्वार्ता गर्ने योजना पनि बनाएका रहेछन्। तर योजना बनाउँदाको साथी बितेपछि उनको त्यो सपना पनि बित्यो।

अहिले उनी घरमा नै समय बिताउने गर्छन्। काम गरौँ जस्तो लागेको पनि छैन रे।

‘अब ६० वर्ष पनि पार भइसक्यो। अलि-अलि पेन्सन आउँछ। केहि कोठा भाडामा दिएको छु। धेरै परिवार पनि छैन। त्यै भएर खानकै लागि काम गर्नुपर्ने भन्ने त छैन।’

२७ चैत, २०७९, १४:१३:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।