४० वर्षदेखि ‘देउता’ बनाइरहेका माणिक

४० वर्षदेखि ‘देउता’ बनाइरहेका माणिक

माणिकमान शाक्य १६ वर्षका थिए, जब उनको बुबाको निधन भयो। चकचके स्वभावका उनी त्यसपछि परिवारप्रतिको जिम्मेवारीमा रुमल्लिए। अनि शुरु भयो उनको हस्तकला र मूर्तिकला यात्रा। 

पुर्ख्यौली पेसा भए पनि उनले कहिल्यै यो काम गरेनन्। हजुरबा र बुवाले काम गर्ने बेलामा उनी भने सधैँ तर्किएर हिँड्थे। तर, एकाएक काम सिकेर थालिहाल्नपर्ने बाध्यता उनीमाथि आइलाग्यो।

कमजोर आर्थिक अवस्था, घरमा सबै कालिगढ। ज्यावलले भरिभराउ वातावरण। उनले अर्को काम सोच्न पनि पाएनन्। अहिले ५५औं वसन्तमा आफ्नो हात चलाइरहेका उनलाई बुवासँगै केही सिकेको भए हुने रहेछ भन्ने लागिरहन्छ।

तीन दाजुभाइमध्ये काम नजानेका उनी मात्र। दाइसँगै काका र बाजेहरूसँग उनले काम सिके। काम नगरेको भए पनि बा, दाइहरूले गरेको देखेर उनलाई सिक्न धेरै समय भने लागेन।

सुरूमा स-साना पातासँगै भाडा बनाउन सिकेका उनले मूर्ति, त्यसमाथि पनि बुद्धको मूर्ति बनाउन सिकेको भने ५५/६० सालतिर हो।

‘त्यतिखेर चैँ एक जना राजकुमार शाक्य भन्ने हुनुहुन्थ्यो, उहाँबाट देउता (मूर्ति) बनाउन सिकेँ,’ उनले सम्झिए, ‘नत्र पहिला त थ्व ज्याः मा ज्याः’ (नेवारी भाषामा तामाको पाताबाट बनाइने भाँडा) मात्र गरेको थिएँ। देउता बनाउन थालेपछि त अर्को धेरै बनाउन परेन।’

पित्तलमा चैँ जस्ता पनि मिसिने भएकाले त्यो अलि साह्रो हुन्छ। त्यै भएर त्यसबाट मूर्तिको आकार बनाउन गाह्रो हुन्छ। सुनको भने अहिलेसम्म तीन वटाभन्दा बढी बनाउने मौका मिलेको छैन।

ललितपुर महानगरपालिकाको इखांछेमा जन्मिएका उनी अहिले पनि आफ्नो घरको माथिल्लो तलामा बसेर एकनासले काम गरिरहन्छन्।

सबेरै उठेर ‘मर्निङ वाक’ जाने गर्छन् माणिक। उनका लागि मर्निङ वाक भनेको नजिकैको मन्दिर, विहार घुम्नु अनि बजार गएर तरकारी किन्नु हो। अनि घर आउनेबित्तिकै चिया खाँदै काम थालिहाल्छन्।

आफैँ मालिक आफैँ कामदार 

हस्तकला महासंघमा पनि उत्तिकै सक्रिय छन् माणिक। त्यही भएर दिउँसोको समयमा विभिन्न कार्यक्रममा जानुपर्ने हुन्छ। तर काम भने भ्याएरै पुग्ने गर्छन्।

भन्छन्, ‘अफिस नै घर हो, जहाँ काम गर्न पानी, हावाहुरीले कुनै फरक पार्दैन। मन लागेको समयमा गर्छु।’

हस्तकलामा करिब ४० वर्ष समर्पित गरिसकेका उनी यति दत्तचित्त भएर लाग्छन् कि, जहिल्यै काम सक्नुपर्ने दबाबमा हुन्छन्। 

अर्डर नभएको बेला अलिकति अल्छी पनि लाग्छ। अर्डरको त पैसा आउन गाह्रो हुन्छ, झन् अर्डर नहुँदा कहाँबाट आउनु?

एउटा चाँदीको मूर्ति बनाउन उनले कम्तीमा सय तोला चाँदी प्रयोग गर्छन्। उनको विशेषता भनेकै चाँदीको मूर्ति बनाउनु हो। तर कोरोना महामारीका कारण लगभग खोसिएजस्तै छ। 

उनले बनाएका चाँदीको बुद्धको मूर्ति प्रायः चीनमा जाने गर्थ्यो। तर चीनमा देखिएको कोरोना भाइरसले अहिलेसम्म त्यो बजार उठ्न सकेको छैन। त्यसमाथि चाँदीको भाउ आकाशिएपछि उनलाई गाह्रो परेको छ।

‘कोरोनाअघि चाँदीको भाउ ६ सय ५० देखि ७ सात सय रूपैयाँ मात्र थियो। तर अहिले १४ सयसम्म पुग्यो। एक त महँगो भयो अनि बनेको सामान बाहिर जान पनि सकेन,’ उनले बाध्यता सुनाए। 

मूर्तिहरू बाहिर पठाउन नपाउँदा उनलाई ननिको लागेको छ।

‘त्यत्तिकै काम नगरी बस्ने कुरा पनि भएन। त्यही भएर फेरि अर्डरअनुसार चाँदी, तामा अनि पित्तलको, जुन आउँछ त्यही गर्छु’, माणिक दुःख बिसाउँछन्।

उनका अनुसार अहिले धेरैजसो तामाको माग छ। प्रायः अर्डरअनुसार मात्र मूर्ति बनाउने उनी अर्डर नभएका बेला भने इच्छाअनुसार बनाएर बस्छन्।

‘अर्डर नभएको बेला अलिकति अल्छी पनि लाग्छ। अर्डरको त पैसा आउन गाह्रो हुन्छ, झन् अर्डर नहुँदा कहाँबाट आउनु?’ उनले हाँस्दै सुनाए, ‘त्यै भएर अर्डर भएको काम अलि छिटो सकिन्छ, अनि अर्डर नभएकोमा अलि बढी समय लगाउँछु।’

सामान बनाएपछि भने उनले स्थानीय साहुलाई दिने गरेका छन्। अनि उनीहरूले ग्राहकसमक्ष पुर्याउने गर्छन्।

आउन छाड्यो चाँदीको काम

माणिकमान आफैँले ग्राहकहरूसँग सीधा सम्पर्क राखेका छैनन् । स्थानीय साहुको अर्डरअनुसार खुरुखुरु काम मात्र गरिराख्छन्।

बनाएकामध्ये सबैभन्दा बढी मूर्ति चीन र ताइवान जाने उनी बताउँछन्। त्यसपछि भने हङकङलगायत बुद्ध धर्म मान्ने मुलुकहरूमा आफ्नो कला पुग्ने उनले थाहा पाएका छन्। 

हेरौँ भोलि के हुन्छ। प्रतियोगिताबाट मैले धेरै नयाँ साथी अनि नयाँ साहुहरू पनि भेट्न पाएँ। त्यै भएर पनि अहिले महँगो मूर्तिको बजार कम भए पनि मलाई कामको खाँचो भने भएको छैन।

उनी आफैँ पनि बौद्ध धर्मावलम्बी हुन्। जसका कारण मूर्तिसँग उनको भिन्दै लगाव छ। पित्तल र तामाको काम पनि उनले स्थानीय साहुहरूकै लागि बनाउने गर्छन्।

‘कुनै मन्दिरतिर, कसैको घरमा सजाउन जसले जुन दिन्छ सक्नेजति गर्छु,’ माणिक भन्छन्, ‘चाँदीको काम त लगभग बन्द नै भयो।’

स्थानीय स्तरमा तामा र पित्तलको काम भइरहेको हुन्छ। पैसा सापट लिएरै भए पनि चाँदीको काम भने कहिलेकाहीँ गर्ने गरेको उनले सुनाए।

तीन आयामको १२ ‘इन्च’ को मूर्ति बनाउन उनलाई ६ महिना लाग्छ।

‘बाँकी भनेको आकार र तौलअनुसार फरक हुने नै भयो,’ माणिक भन्छन्, ‘अहिलेसम्म बनाएकोमध्ये सबैभन्दा गाह्रो चै ग्रीन ताराको मूर्ति हो।’

त्यो मूर्ति बनाउन एक वर्ष नै लागेको उनले सुनाए।

‘त्यो १६ इन्चजतिको थियो, चाँदीको हो’, उनले भने। 

चाँदी कमलो हुने हुँदा उनलाई काम गर्न निकै सजिलो लाग्छ। त्यसपछि क्रमशः तामा र पित्तल।

‘पित्तलमा चैँ जस्ता पनि मिसिने भएकाले त्यो अलि साह्रो हुन्छ। त्यै भएर त्यसबाट मूर्तिको आकार बनाउन गाह्रो हुन्छ,’ भन्छन्, ‘सुनको भने अहिलेसम्म तीन वटाभन्दा बढी बनाउने मौका पाएको छैन।’

‘मेसिनको आवश्यकता नै परेन’

मूर्ति र त्यसका गहनालगायत सामग्री बनाउन उनी बुद्ध बिहार भने पुगेका छैनन्। जे जति बनाउँछन्, घरमै अर्डरअनुसार।

‘काम गर्न केही चाहिँदैन। खनिज भए पुग्छ। बाँकी ज्यावल भनेको घरभरि छ’, माणिक भन्छन्।

अहिलेसम्म घरमा आफूले मूर्ति बनाउन मेसिनको प्रयोग नगरेको उनले दाबी गरे।

‘मेसिनको आवश्यकता परे अरूकोमा गएर बनाउँछु,’ उनले भने।

पहिला-पहिला चाँदी गालेर आफ्नै हातले पिटेर मूर्ति बनाउँदा हातमा धेरै चोट पनि लाग्यो।

अहिले गालेको चाँदी पिट्न नपरे पनि त्यसबाहेक काम भने अझै पनि हातैले गर्छन्। तर बेलाबेला हातमा हम्मरले हानिरहन्छ। तर त्यो चोटलाई उनी सामान्य मान्छन्।

भन्छन्, ‘ठूलो दुर्घटनाबाट बचेको भनेको चैँ भूकम्पको समयमा हो। म यहीँ बसेर काम गरिरहेको थिएँ। काम गर्दा-गर्दै भूकम्प आयो, म भुईंमा लडेँ। ज्यावलमा झन्डै हुत्तिइनँ।’

पेसाप्रति सन्तुष्टि 

पेसाबाट धेरै आम्दानी गर्न नसके पनि आफ्नो पुरानो घरलाई भने उनले मर्मतसम्भार गरेका छन्। छोराहरूलाई शिक्षित बनाउन पाउँदा खुसी छन्। 

विदेशबाहेक उनले बनाएका सामान धेरैजसो ठमेल र बौद्धमा बिक्री हुन्छन्।  

यसै कामको सिलसिलामा उनी भारत पुगे। नेपालमा भएको १२औं हस्तकला प्रतियोगितामा प्रथम भएसँगै उनले त्यो अवसर पाएका थिए। त्यहाँका कालिगढ र कलाकारहरू देखेर उनी दङ्ग परे। त्यहाँ पनि उनी पुरस्कृत भए।

कच्चा पदार्थमा पनि सरकारले यति धेरै कडाइ नगरेको भए हुने, किनभने जति आयात हुन्छ, त्यति नै हामी मूर्ति बनाउँछौँ अनि निर्यात पनि त हुन्छ नि!

आफ्नो उक्त भ्रमणबारे सम्झिँदा हर्षित हुन्छन् माणिक। 

‘पहिलोपटक प्लेन चढेको पनि त्यै हो, सन् २०१६  मा। इन्डियामा गएर पनि काम देखाउन पाउँदा अनि पत्रपत्रिका, टेलिभिजनमा पनि आफ्नो अनुहार देख्न पाउँदा खुसी नहुने कुरै भएन’, उनले सम्झिए।

‘राष्ट्रिय पुरस्कार प्राप्त गर्ने इच्छा छ’

बाल्यकाल खेलेरै बिताएका माणिक ७ वर्षको उमेर हुँदा पनि बोल्न नजानेको भन्दै बाआमा दुःखी भएका सम्झन्छन्।

‘मलाई त त्यो याद छैन। पछि आमाबाले कुरा गर्नु हुँदा थाहा पाएको’, उनी भावुक सुनिए।

बीएफए (ब्याचलर अफ फाइन आर्ट) सम्म गरेका उनले राष्ट्रिय ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) बाट हस्तकला विधि र परम्परागत मूर्तिकलामा विशेष पुरस्कार पनि पाएका छन्। 

अब उनको एउटा अर्को मुख्य उद्देश्य भनेको राष्ट्रिय पुरस्कार प्राप्त गर्नु हो।

‘हेरौँ भोलि के हुन्छ। प्रतियोगिताबाट मैले धेरै नयाँ साथी अनि नयाँ साहुहरू पनि भेट्न पाएँ। त्यै भएर पनि अहिले महँगो मूर्तिको बजार कम भए पनि मलाई कामको खाँचो भने भएको छैन’, उनले खुसी सुनाए।

जिन्दगीको अन्तिम समयसम्म यही काम गर्न चाहन्छन् माणिक। आफ्नो अनुपस्थितिमा काम लोप हुन नदिन उनले दुवै छोरालाई काम सिकाउन थालिसके। बेलाबेला छोराहरूले उनलाई काममा सहयोग पनि गर्छन्। टोलकै केही स्थानीयलाई पनि उनले यो काम सिकाएका छन्।

स्थानीय सरकारले कालिगढहरूका लागि धेरैभन्दा धेरै तालिम, प्रतियोगिता अनि अवसर प्रदान गरे यो व्यवसाय अझै माथि पुग्न सक्ने उनको बुझाइ छ।

‘अनि कच्चा पदार्थमा पनि सरकारले यति धेरै कडाइ नगरेको भए हुने, किनभने जति आयात हुन्छ, त्यति नै हामी मूर्ति बनाउँछौँ अनि निर्यात पनि त हुन्छ नि!,’ उनले सरकारलाई सुझाव पनि दिए।

१८ बैशाख, २०८०, १९:०४:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।