२५ वर्षदेखि बेकरीका सामान बेच्दै आएका अशोक भन्छन्- केकको क्रेज बढ्दा पनि मेरो व्यापार बढेन

२५ वर्षदेखि बेकरीका सामान बेच्दै आएका अशोक भन्छन्- केकको क्रेज बढ्दा पनि मेरो व्यापार बढेन

सामाजिक सञ्जालमा देखिएको कुरा पत्याउने हो भने नेपालमा पनि केक संस्कृति बढ्दो रूपमा फैलिँदै छ। टोल, छिमेकमा बेकरी पनि बाक्लिँदै छ। तर, केक जसरी नै फैलिएको छैन- अशोक घोषको व्यापार।

२५ वसन्तभन्दा बढी समयदेखि अशोक यहि पेशामा दत्तचित्त भएर लागेका छन्। ताहाचलमा उनको पसलमा मात्र केक बनाउने सामान पाइन्थ्यो। त्यसबाहेक सिधै न्युरोड नै पुग्नुपर्थ्यो।

नजिकै कालिमाटी भएको कारण त्यहाँ आउने व्यापारीहरू उनकै पसलमा आउने गर्थे। तर, समय बदलियो। सामानको माग बढ्दै गयो। मागसँगै पसल पनि बढ्यो। तर, उनको पसलमा भने ग्राहक तुलनात्मक रूपमा घट्दै गए।

‘केकमा मान्छेहरू आकर्षित भए, बेच्ने मान्छे पनि धेरै अनि व्यापारीबीच प्रतिष्पर्धा पनि धेरै,’ उनले सुनाए, ‘पहिला पोखरा, बागलुङ, बनेपा, धुलिखेल, त्रिशुलीबाट सामान किन्न आउँथे। अहिले त स्थानीयहरू मात्र।’

बेकरीको लागि आवश्यक हुने सबै सामान उनले राखेका छन्। सबैभन्दा धेरै बिक्री हुने इस्ट, बेकिङ पाउडर र सेन्ट हो। बेकिङ पाउडर र इस्टले केक, पाउरोटी, रोटी, पिज्जा र बर्गर बन फुलाउने काम गर्छ अनि सेन्टले चै केकलाई बासनादार।

‘पहिले भोक मेटाउन खान्थे, अहिले स्वादका लागि’
‘पहिला मान्छेहरू भोक मेटाउनको लागि पाउरोटी र बनहरू खान्थे। अहिले त स्वादको लागि खाने गर्छन्,’ उनले सुनाए, ‘डेजर्टमा राखेको हुन्छ, केकको माग ह्वात्तै बढ्न थालेको एक दशक त हुन लाग्यो।’

बिहान आठ बजेदेखि बेलुका सात बजेसम्म उनि पसलमै हुन्छन्। उनको पसलमा अहिले सबैभन्दा महँगो ‘अरेन्ज सेन्ट’ छ। जुन हाफ लिटरकै १२ सय पर्छ। पहिला इन्डियाबाट सबै सामान ल्याउने गर्थे उनी। अहिले भने मलेसिया, चीन र इन्डोनेसियाबाट ल्याउने गर्छन्।

उनको ग्राहक भने स–सानो फ्याक्ट्री तथा बेकरीहरू नै हो।

उनी भन्छन्, ‘ठूलो–ठूलोलाई त दिन सकिँदैन। उधारो जान्छ धेरै। होटलहरूमा पनि मध्यस्तकर्ता हुन्छ। टेन्डर पनि हाल्नपर्ने हुनसक्छ। अहिले स्थानीय व्यापारीहरूलाई नै दिएर पुगिरहेको छ। घरायसीलाई त्यति धेरै सामान चाहिँदैन।’

झापामा जन्मिएका अशोक घरको कान्छो छोरा हुन्। नौ कक्षामा पढ्दा पढ्दै साथीको लहलहैमा लागेर काम गर्ने जोस भरियो। गाउँमै बसेर काम गर्ने पनि सोचे। काठमाडौं नै जान्छु भनेर त सोचेका पनि थिएनन्, रे!

‘गाउँमा अर्काको काम गर्न अफ्ठ्यारो लाग्यो। साथीहरूले काठमाडौं जाने कुरा गरे। घरमा मानिरहेको थिएनन्। एसएलसी यतैबाट दिन्छु भने अनि मात्र मान्नुभयो’, उनले हाँस्दै सुनाए।

पढाइ छुट्यो, पढ्न पर्ने रहेछ भन्ने मनमा रहिरह्यो
काठमाडौं आउँदा अशोकले पढाइ झापामै छाडेर आए। दाइहरू काठमाडौं नै बस्ने भएकाले उनले पनि काम खोज्न थाले। दाइकै सम्पर्कमा पाउरोटी फ्याक्ट्रीमा काम पाए।

डेढ/दुई वर्ष काम गर्दा धेरै कुरा सिक्न पाए। महिनाको तीन सय पाउँदा दङ्ग पर्थे। पछि कीर्तिपुरमा दाइहरूसँगै पनि काम गरे। बीचमा विरक्तिएर झापा पनि पुगे। तर, फेरि हानिएर काठमाडौं नै फर्किए।

छुट्टिएका साथीहरू भेटेपछि आफ्नै केहि गर्न सुझाव पनि भेटे। अनि ताहाचलमा सानो कोठा लिएर आफ्नै व्यवसाय थाले।

‘त्यतिबेलाको जोश, साथीभाइको हौसला अनि थोरै लगानी,’ उनले विगत सम्झिँदै भने, ‘केहि साथीहरूले नै लगानी गर्दिए। २० वर्षमा सानै भए पनि आफ्नै काम भयो।’

त्यतिबेलाबाट काम थालेका उनको अहिले पसल र गोदाममा गरेर करिब ३० लाखको सामान छ। लकडाउनले शिथिल भएको व्यापार अहिले विस्तारै उभो लाग्दै गरेको उनलाई भान हुन्छ।
अशोकलाई कहिलेकाहिँ सोच्दा नपढेकोमा भने दुःख लाग्दोरहेछ।

‘पढेको भए अर्को राम्रो काम पाइन्थ्यो जस्तो लाग्छ नि अहिले त,’ उनले हाँस्दै भने, ‘त्यतिबेला त ९ कक्षा पढेको पनि ठूलो नै मानिने रहेछ। कुनै सरकारी अफिसमा काम गरेको भए सानोतिनो भए पनि पाउने त रहेछ। तर, थाहा भएन। अब अर्को काम गर्नलाई पढेको हुनैपर्छ, नत्र फेरि सुरुदेखि काम गर्नुपर्छ।’

गएको भदौमा पसलमा बस्दाबस्दै ढले उनी। होस आउँदा अस्पतालमा थिए। हृदयघात भएर शल्यक्रिया नै गर्नुपरेछ। त्यहि शल्यक्रियाले अहिले पनि उनको शरीर गलाएको छ। औषधिको पोको पनि साथमै राख्छन्।

आफू कमजोर भएको र जीन्दगीको लामो समय पसलमै बितेको भएर अशोकले भविष्यको खासै ठूलो योजना बनाएका छैनन्।

बेकरीको काम पनि सबै जानेको भएर त्यो पनि खोल्ने कि! भन्ने सम्म सोचे। तर, एक्लैले नभ्याउने भएपछि त्यो सोच पनि छाडिदिए। 

‘अब बच्चाहरूलाई राम्रोसँग पढाउने हो। म त यहि गर्छु। बिरामी पनि भैयो। अर्को गर्ने भन्ने नै छैन। पछि त व्यापार पनि बढ्ला नि!’, उनले मधुरो आवाजमा भने।

आफ्नो व्यापार सन्तानले सम्हाल्छन् जस्तो लाग्दैन उनलाई। उनी आफैँ पनि नसम्हालुन् भन्ने चाहन्छन्। 

‘गाह्रो छ यो काम, हुँदैन। मान्छेको गाली खानुपर्छ, धुर्की सहनुपर्छ। उधारो लानेसँग रिस उठे पनि राम्रोसँग बोल्नुपर्छ। अहिलेको बच्चाहरू फेरि तुरुन्तै रिसाउने खालका हुन्छन्। हामीले सहेको जस्तो उनीहरूले सहँदैन नि!’

असार ११, २०८० सोमबार १६:२२:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।