जनकपुरका भित्ताका ९० प्रतिशत कलामा नाम कोरिएकी दीपा जसले फर्काउँदै छिन् मिथिला आर्टको रौनक

जनकपुरका भित्ताका ९० प्रतिशत कलामा नाम कोरिएकी दीपा जसले फर्काउँदै छिन् मिथिला आर्टको रौनक

जनकपुरको रामानन्द चोकबाट अलिकति भित्र छिरेपछि सानो तालिम केन्द्रमा पुगिन्छ। नजिकिँदै गएको दीपावलीले होला त्यहाँ भएकाहरू भटाभट पालामा मिथिला कलाको रङ्ग भर्न व्यस्त थिए। जति थिए ती सबै महिला। घरबाट बाहिर निस्कन हुँदैन भन्ने मान्यताले जरा गाडेको समाजमा दिदीबहिनी, बुहारी, आमा सबै ठट्टा गर्दै काम गरिरहेको दृश्य बढो रोचक थियो।

त्यो तालिम केन्द्र हो दीपा कर्णको। मिथिला संस्कार, सभ्यता र कलाको केन्द्र हो जनकपुरधामै हो। तर धनुषा बाहेक अन्य जिल्लामा यसको खासै प्रभाव देखिँदैन। तर अहिले यहाँ आउने विदेशी नागरिकहरूले कलामा नजर लगाउन थालेका छन्। त्यही देखेर दीपा अहिले आफ्नो कला स्थानीयलाई सिकाउन लागिपरेकी छिन्।

राम जानकीको विवाहमा शहरको भित्ताहरू मिथिला चित्रले रङिएको किम्बदन्ती मात्र थियो।  त्यहाँका भित्तामा त्यस्तो चित्र हराइसकेको थियो। अहिले भने ठुला भवन, जनकपुर, जयनगर रेल स्टेसन र पालिकातिर उस्तै कला देख्न थालिएको छ। यहाँको ९० प्रतिशत भित्तामा मिथिला चित्र उनैले बनाएकी हुन्।

भारत मधुवनीमा जन्मिएकी दीपाले साइकोलोजीमा बिएड गरेकी छिन्। घर, समाजमा मिथिला कलाको प्रभाव उनको लागि नौलो हैन। हुर्किँदै गर्दा मिथिला कलामा उनको हात बसिसकेको थियो।

तर, पढेर सरकारी जागिर खाने उनको इच्छा भयो। तर बिएड सक्किने बित्तिकै घरमा विवाहको कुरा सुरु भयो। भारतको मधुवनी र नेपालको जनकपुरबाट धेरै टाढा हैन। यहाँको सरकारी जागिरे केटाको तर्फबाट विवाहको प्रस्ताव आयो। स्वीकार पनि भयो। उनी दुलही बनेर नेपाल आइन्।

'ममी पापाले बिहे गर भन्नुभयो। सर हाम्रो सरकारी जागिरमा हुनुहुन्थ्यो। सरकारी काम भए पछि त्यो नै सबै भन्दा योग्यता भयो नि,' उनले हाँस्दै सुनाइन्।

विवाह भन्दा अगाडी उनी विभिन्न एनजिओमा काम गर्थिन्। नेहरु युवा केन्द्र सङ्गठनमा राष्ट्रिय सेवाकर्मी भएर उनले पाँच वर्ष काम गरिन्। यहाँको संस्कारमा भिज्न केही समय लाग्यो उनलाई। यहीको सरकारी कार्यालयमा काम गर्ने उनले सोचिन्। तर, उनलाई नेपाली भाषा आउँदैनथ्यो। लोक सेवाको परीक्षा दिने आँट गरिनन्।

डेढ वर्ष त्यत्तिकै बसे पछि गाउँ नजिकै बाल विकास केन्द्रमा काम त पाएकी थिइन्। तर, तलब जम्मा तीन हजार रुपैयाँ तोकियो। धेरैले पढेलेखेको बुहारीले जम्मा त्यति पैसा कमाउँछ रे ! भन्ने कुरा गरेको उनले सुनिन्। अनि उनले ढाई वर्ष पछि काम छोडिन्।

'भाषा सिक्न दिक्कत भयो। सधैँ घरमा बस्न मन लागेन। अनि आर्टमै ध्यान दिए। जानेको र आफ्नो पुस्तैनी काममै केही गर्छु भन्ने भयो। अनि यही काम सुरु गरेँ। भाषा बाहेक यसमा अरू केही पनि गाह्रो छैन,' उनले फटाफट मैथिली भाषामा भनिन्।

उनको कामको प्रशंसा हुन थाल्यो। 'आर्ट ग्यालरी' नै खोल्ने सुझाव आउन थाल्यो। घरबाटै मिथिला चित्र सप्लाई गर्दै आएकी उनले ग्यालरी खोलेर काम सुरु गरिन्।

उनले ग्यालरी खोलेको जम्मा तीन वर्ष मात्र भयो। लकडाउनको समयमा सबै काम ठप्प भइरहेको बेला उनले भने ग्यालरी खोलेकी थिइन्। लकडाउनको राम्रो उपयोग गरिन् उनले। अन्य संस्थामा जोडिएर महिलाहरूलाई तालिम दिन थालिन्।

नारी विकास संस्थादेखि लिएर जनकपुरमा रहेका सबै सानोतिनो आर्ट ग्यालरीमा उनले काम गरेकी छिन्। त्यसै क्रममा उनले भारतको मधुवनी र नेपालको जनकपुरको मिथिला कलामा केही अन्तर भएको अनुभव गरिन्।

बिस्तारै उनको सम्पर्क स्थानीय निकायहरूसँग हुन थाल्यो। जनकपुरधाम उपमहानगरपालिका र यहाँको मालपोतहरूको प्रोजेक्टमा उनले काम गर्न पाइन्। त्यही प्रोजेक्ट अन्तर्गत उनले जनकपुर रेल्वे स्टेसन, जयनगर रेल्वे स्टेसन, कटैया चौर र खजुरी मिथिला कलाले सजाइन्।

'हाम्रो पुस्तैनी काम यही हो। उता (माइती) मा हुँदा यो काम गर्न पर्छ भनेर सोचेको थिइन। बिहेपछि  नेपाल आएँ। अरू विकल्प देखिन अनि यही काम सुरु गरेँ’ उनले भनिन्।

९० प्रतिशत भित्ते चित्रमा उनकै नाम

जनकपुरमा भएको ९० प्रतिशत भित्ते चित्रहरूमा उनकै नाम भेटिन्छ। उनी दङ्ग छिन् त्यसमा। अनि सन्तुष्ट पनि।

'एनजिओमा काम गर्दा धेरै विदेशमा गए। पैसा पनि धेरै कमायो। तर, स्थानीयहरू त यसको बारेमा धेरै जानकार नै भएनन्। त्यै भएर बरु कम पैसा आओस् तर स्थानीयमा मिथिला कला भिजोस् भनेर काम गरेछु। धेरै ठाउँमा नि:शुल्क काम गरेर भए पनि यतैको बच्चाहरूले हेरोस्, सिकोस् भन्ने उद्देश्यले अब काम गरेछु,' उनले भनिन्। 

स्थानीयमाझ नै मिथिला कला लोप हुने हो कि ! भन्ने उनलाई डर रहेछ। त्यही भएर अहिले उनले विशेष गरी जनकपुरमा मात्र आफ्नो सामान दिने गर्छिन्। जनकपुरमै पनि राम्रो बिक्री हुन थालिसक्यो उनको कला।

'यहाँको मान्छेहरू विदेशीको हातमा बेच भन्छन्। बहुत पैसा आउँछ रे। तर, विदेशी सालमा एकबार हाम्रो सामान किन्छ। तर, देशीले त वर्ष भर किन्न सक्छन्। दिनमा एक जनाले दश रूपैयाँ मात्रको किने पनि हाम्रो दैनिक सप्लाइ त हुने भयो नि। त्यै भएर म विदेशीमा भन्दा देशी आदमीमा भर गर्छु ,' उनले भनिन्। 

सत्य युगकै कला

मिथिला कला सत्ययुग देखि नै रहिआएको मान्यता छ। राम सीताको विवाहमा यसको सबै भन्दा धेरै प्रयोग भएको दाबीहरू सुनिन्छ। त्यही भएर जनकपुर मात्र नभएर मिथिला राज्य भरी यो कलाको बलियो प्रभाव छ।

जनकपुर बाहेक इटहरीमा पनि उनको कलाले महत्त्व पाएको देखिन्। उनी पहिला जनकपुरहुँदै नेपालको अन्य जिल्लामा आफ्नो कला पुर्याउन चाहन्छिन्। अनि मात्र विदेश पठाउने उनको सोच रहेछ।

भारतमा मिथिला कलाको बजार नेपालको भन्दा राम्रो भएको उनको अनुभव छ। भारतमा कपडामा बनाइन्छ यो कला। तर नेपालमा भने नेपाली कागजमा बन्छन्।

'यति धेरै काम गरेँ तर इन्डियामा यसरी समुदायमा मिलेर काम गरेको देखिन। त्यता त हरेक महिला घर भित्र बसेर मिथिला आर्टको काम गर्छन्।  तर, यहाँ सबै जना मिलेर काम गर्छन्। पाँच हजार दियो, बनाउने अर्डर आयो भने हामीले यहाँ एक जनाले एक हजार बाँडेर काम गर्छन्। तर, इन्डियामा त एकमुस्ट काम गर्दैनन्,' उनले भनिन्।

विशेष गरी महिलाहरूलाई लक्षित गरेर काम गरे पनि उनले पुरुषलाई पनि मिथिला कला सिकाइरहेकी छिन्। तालिमपछि केही महिलाहरूलाई उनले काम पनि दिने गरेकी छिन्।

मिथिला कलामा विशेष चार वटा रङ्गको प्रयोग हुन्छ। रातो, पहेँलो, सेतो र कालो। विवाहमा कालो रङ्गको प्रयोग गर्न मिल्दैन। त्यसबाहेक भने आफूलाई मन पर्ने रङ् अनुसारको सामान, चित्र बनाउने गर्छन्। उनले यसबाट पाँच रूपैयाँ देखि ८० हजारसम्म आम्दानी गरेकी छन्।

जनकपुरमा कला क्याम्पसको रहर

काठमाडौँमा ललितकला क्याम्पस भएको जस्तै जनकपुरमा पनि एउटा कला सम्बन्धी क्याम्पस भएको हेर्न चाहन्छिन् उनी।

'आर्टको कलेज खुलोस्। त्यसमा पढाइ होस्। अनि हरेक स्कुलमा एउटा आर्ट टिचर भइदिए हुन्थ्यो भन्ने लाग्छ। धेरै महिलाहरूको लागि यस्तो तालिम दिएर रोजगारको अवसर मिलोस् भन्ने लाग्छ। त्यसपछि हाम्रो बच्चाहरू आफ्नो संस्कार, आर्टसँग रुबरु हुन्छ नि,' उनले भनिन्।

भुईँमान्छेका कथाहरु

१३ कात्तिक, २०८०, १८:४७:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।