महिनाको छ सयबाट काम थालेकी विष्णुमायाको आफ्नै फ्याक्ट्री, एउटै थाङ्काको मूल्य छ लाख

महिनाको छ सयबाट काम थालेकी विष्णुमायाको आफ्नै फ्याक्ट्री, एउटै थाङ्काको मूल्य छ लाख

भक्तपुर दरबार क्षेत्रको ठ्याक्कै पछाडि केहि महिलाहरू एक नासले विभिन्न चित्र कोरिरहन्छन्। बौद्ध धर्मसँग सम्बन्धित विशेष चित्र कोर्ने तिनै मध्ये एक हुन्, विष्णुमाया लामा। उनको समूहले बनाउने सो चित्रलाई ‘थाङ्का’ भनिन्छ। धार्मिक कलाका रूपमा थाङ्कालाई नेपाललगायत विश्वका धेरै देशहरूमा निर्यात गरिन्छ।

विष्णुमायाले थाङ्कामा आफ्नो जीवन समर्पित गरेको वर्षौं बितिसक्यो। सेतो कपडामा लाइन तान्दै, विभिन्न बुट्टा भर्दै उनी बुद्धको स्वरूप कोर्छिन् अनि त्यसमा रङ भर्न थाल्छिन्। एउटा थाङ्काको लागि एक जनाको मात्रै नभएर पूरै समूहकै साथ चाहिन्छ।

‘मैले मात्र गर्ने हैन नि! मैले एउटा कोर्यो भने अर्कोले अरू कोर्छ। अनि पो तयार हुन्छ,’ उनले सुनाइन्।

काभ्रेको दुर्गम गाउँमा जन्मिएका उनले विद्यालय टाढा भएको कारण पढ्न सकिनन्। घर र खेतको काम गरेरै उनको समय बित्थ्यो। घरकी जेठी छोरी भएपछि भाइबहिनी हेर्ने जिम्मा उनकै काँधमा थियो। न उनले आफ्नो बारेमा सोच्न पाइन् न पढ्न नै। पछि गाउँमै विद्यालयको सुविधा भए पनि तीन कक्षाभन्दा बढी पढ्न सकिनन्।

‘त्यतिबेलाको पढाइ। के पढ्यो भन्ने, के नभन्ने। सबै पर्वती(नेपाली) भाषामा पढ्न पर्थ्यो। हामी तामाङ भाषालाई पर्वती बोल्न गाह्रो भएको बेला, पढ्न का सजिलो थियो र!’, उनी मुसुक्क हाँसिन्। गाउँका सबै जना काम गर्नको लागि भनेर याम्बु(शहर) जान थाले।

विष्णु मायाको पनि बौद्धमा मामाहरू थिए। उनीहरू यहिँ थाङ्का बनाएर बेच्थे। गाउँमा बसेर खेतीपाती नै गर्ने कि, याम्बुमा आएर पैसा कमाउने भन्नेबाहेक उनीसँग अर्को विकल्पै थिएन। घरकी जेठी छोरी भएकाले उनले परिवारलाई सहयोग गर्ने सोचिन्।

याम्बु आउनु नै सपना
आमाबासँग कुरा गरेर केहि साथीहरूसँग काठमाडौं आइन् विष्णुमाया। तामाङ समुदायमा छोरी मान्छे बाहिर जानुहुँदैन भन्ने नभएकाले कमाउन जान्छु भन्दा आमाबाले पनि इन्कारेनन्। त्यसमाथि आफन्तकोमा भनेपछि झन् ढुक्कले पठाए।

‘पढाइ छैन। अरु केहि सीप छैन। ठाउँ पनि चिनेको छैन। बौद्धमा आउनु अगाडि काठमाडौं आएको नै छैन,’ उनले काठमाडौं आउँदाको पल सम्झिइन्, ‘हाम्रो गाउँमा गाडी पुगेको छैन होइ! त्यो बेला दाप्चासम्म हिड्नपर्थ्यो। त्यहाँ पनि कच्ची रोड थियो अनि हामी नमोबुद्ध हुँदै पनौतीसम्म हिँडेर आएको। त्यसपछि त गाडी छाडेर बौद्ध नै पुग्यो।’

राजधानीबाट त्यति नजिकको जिल्ला भए पनि उनको लागि काठमाडौं अर्को देशभन्दा कम थिएन। यहाँको सडक, गाडीको घुइँचो देखेर उनी दङ्ग परिन्। मामा नभेटेसम्म आफ्नै भाषामा बोल्न पाइनन्। त्यतिबेलासम्म बाटोमा जो भेटे पनि हाँसेर मात्र जवाफ फर्काइन्।

‘त्यतिबेला अचम्म लाग्थ्यो। बोल्न पनि नजान्ने। मान्छे देखेर पनि लाज लागेको जस्तो। कस्तो कस्तो’, उनले हाँस्दै भनिन्।

आफ्नो मामा भेटेको दिन देखिनै काम शुरू भइहाल्यो। उनलाई राम्रोसँग सिक्न पाँच महिनाजति लाग्यो। तर, मामाले काम गरेअनुसारको पैसा भने दिने गर्थे।

‘पछि कोहिले नसकेर फर्क्यो, कोहि-कोहि गलैँचा बुन्नेतिर पनि लाग्यो,’ उनले सुनाइन्, ‘हेर्दाखेरि त अहिले नै सक्ला जस्तो लाग्छ नि! तर, यो सिक्न धेरै गाह्रो छ। आफ्नो दिमागअनुसार हुने रहेछ। अलि बढी ध्यान दियो भने, छ महिनामा पनि सिकिन्छ। नत्र राम्रोसँग सिक्न त दुई वर्ष पनि लाग्छ। अलि-अलि सिकेर पनि काम त पाउने भएर सजिलो पनि हो।’

सेटिङको काम सिकेपछि उनले रङको काम पनि गरिन्। एउटा साधारण थाङ्का बनाउनको लागि एक महिनादेखि दुई वर्षसम्म लाग्ने उनको अनुभव छ। त्यसमा पनि होलसेलमा बिक्री गर्ने, फाइन आर्ट, अनि तिब्बतियन आर्ट हेरि-हेरि हुन्छ।

 ‘ओह वा ! केटीले पनि लेख्ने रहेछ’
उनले पाँच महिनामा थाङ्कामा हात बसाएसँगै तलब पनि पाइन्।

‘त्यो बेला छ/सात सय पाएको थिएँ। त्यो पनि धेरै हो नि! केहि नपढेको, सीप नजानेको मान्छेले याम्बुमा त्यति कमाउनु धेरै ठूलो कुरा हो। म त दङ्ग परेको थिएँ’, मख्ख पर्दै उनले सुनाइन्।

त्यसबेला सबै साथीहरू मिलेर एउटै थाङ्का बनाएको सम्झिँदा अहिले पनि उनी रमाइलो मान्छिन्।

अहिले पनि सबै मिलेरै थाङ्का बनाउने हो। तर, त्यतिबेलाको उत्साह नै बेग्लै भएको महसुस उनले गरेकी छन्। करिब बीस वर्षअघि गाउँबाट आएका ठिटीहरूको समूहले थाङ्का कोरेको देख्दा सबै जना दङ्ग पर्थे रे!

उनी सुनाउँछिन्, ‘हामीले थाङ्का लेख्दा, ओ आमा ! केटी मान्छेले पनि यस्तो लेख्ने रहेछ भन्थ्यो। ओह वा! केटीले पनि लेख्ने रहेछ भनेर अचम्म मान्थ्यो। केटीहरू हामी पनि एकदम थोरै थियो। अहिले त त्यस्तो छैन। अहिले त केटाले चैँ छोडेर गयो। सबै केटीहरू मात्रै छ।’

कला भनेको कला हो। कलामा लिङ्ग हेरिँदैन। तर, कलाकार देखेर भने पर्यटकहरू पनि दङ्ग परेर फोटो खिच्दै लागेको उनी सम्झिन्छिन्।

‘केटीहरूलाई सजिलो पनि छ। भारी बोक्न पर्दैन। पानीमा हिँड्न पर्दैन। त्यहि भएर मलाई यो एकदम रमाइलो लाग्छ। धेरै केटीहरूलाई पनि मैले सिकाएँ। उनीहरूले पनि हेरेर जानिसके। अहिले आफैँलाई पनि त्यति गाह्रो लाग्दैन’, उनी भन्छिन्।

बौद्धमा मामासँगै काम गर्दागर्दै उनको त्यहि काम गर्ने एकजना केटासँग प्रेम बस्यो अनि बिहे पनि गरिन्। श्रीमान् पनि यहि काम गर्ने भएकाले बिहेपछि पनि उनको कामले निरन्तरता पाइराख्यो। उनी काममा यति मग्न भइन् कि अर्को कामको बारेमा सोच्नै भ्याइनन् र त्यसको आवश्यकता परेन पनि। घरमा र काममा पनि उत्तिनै समय दिन भ्याउँछिन्। अहिले उनका दुई सन्तान् छन्।

आफ्नै फ्याक्ट्री, आफैँ ठेकेदार
बिहे भएको केहि वर्षपछि भने उनी परिवारसहित भक्तपुर गइन्। त्यहाँ आफ्नै फ्याक्ट्री खोल्न उनको लागि कम चुनौती भएन। तर, सब सम्हालिन्। लकडाउनअघिसम्म करिब तीस जना कर्मचारीहरू राखेकी थिइन्। तर, अहिले ठ्याक्कै त्यसको आधा मात्र छन्। फ्याक्ट्रीमा प्राय कर्मचारीहरू महिला छन्।

‘अहिले पनि गाउँमा एसएलसी दिएकाहरू काम सिक्ने भनेर आउँछ। केटी छ भने त झन् राखिहाल्छु। म जस्तै लाग्छ उनीहरू। काम गरेअनुसार धेर-थोर पैसा पनि दिने गरेको छु, खुशी हुन्छन्’, उनले भनिन्।

बौद्धमा धेरै थाङ्का पसल भएकाले व्यापारमा निकै प्रतिष्पर्धा हुने भएकाले भक्तपुर सरेको उनी बताउँछिन्। भक्तपुरमा भने प्रतिष्पर्धा विना नै राम्रो व्यापार भइरहेको उनको अनुभव छ।

अधिकांश महिलाहरूको सहभागिता हुने उनको थाङ्का फ्याक्ट्रीमा भगवानको काम भए पनि ‘महिनावारी’ बार्ने चलन भने छैन। जसलाई महिनावारी भए पनि सफा भएर काम गर्छन्।

‘मन चोखो भन्छ। त्यस्तो बेलामा आफैँलाई पनि थाहा भइहाल्छ। त्यहि भएर पर बस, काम नगर भन्दैनौँ। त्यसको बारेमा सोचेर बस्ने फुर्सद नै हुँदैन’, उनले भनिन्।

पछिल्लो समय भक्तपुरमा पर्यटकहरूको उत्साहजनक उपस्थितिले उनको व्यापारमा पनि उत्साह ल्याइदियो। लकडाउनले केहि असर गरे पनि अलि पछि फेरि त्यहि रफ्तार बढ्नेमा उनी विश्वस्त देखिइन्। त्यहि भएर आफ्नो काम प्रति उनी खुसी पनि छन्।

थाङ्का बनाउनको लागि प्राय सबै साधन आफैँले बनाउने गर्छिन् विष्णुमाया।

सामान बनाउने तरिकाबारे उनले भनिन्, ‘यो बनाउनको लागि कपडा चैँ कटनको हुन्छ। कटन पनि चरेस पकाएर सेतो माटोमा हालेर, मुछेर त्यसलाई फेरि दलेर ढुंगाले घोट्नपर्छ।’

अर्डर अनुसार १८/२४ इन्चदेखि ६ फिटसम्मको थाङ्का उनले बनाएकी छन्। कतिमा रङको मात्र प्रयोग हुन्छ भने कतिपयमा सुनकोसमेत प्रयोग गर्ने गरेकी छन् उनले। उनको फ्याक्ट्रीमा तीस हजारदेखि छ लाख रुपैयाँसम्मको थाङ्का बन्ने गर्छ।

समयले साथ दिएसम्म उनी यहि काम रमिरहन चाहन्छिन्।

भदौ २५, २०८० सोमबार १७:३८:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।