श्रममन्त्रीको सचिवालय सदस्यको ‘क्रुर’ रेकर्ड : थुक चाट्न लगाउनेदेखि नङ्ग्याएर नाच्न बाध्य पार्नेसम्मका हर्कत
काठमाडौं : अपहरणको आरोपमा प्रहरी हिरासतमा रहेका श्रममन्त्री रामजी यादवको सचिवालय सदस्य मुस्तकिम मिँयाको आपराधिक व्यवहार गम्भीर देखिएपछि प्रहरीले विस्तृत अनुसन्धान अगाडि बढाएको छ।
अपहरण गरेर लुटपाट गरेको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीको हिरासतमा रहेका मिँया थप दुई गम्भीर अपराधमा संलग्न देखिएका हुन्।
उनको आपराधिक रेकर्ड र कार्यशैली हेर्दा क्रुर गतिविधिमा रमाउने प्रवृत्ति देखिएको अनुसन्धानरत स्रोतले उकेरालाई बतायो।
व्यक्ति अपहरण गरी लुट्ने घटनासँगै व्यक्तिलाई जबरजस्ती कब्जामा लिएर सुनसान स्थानमा लगेर नाङ्गै बनाउने, गीत बजाएर नाच्न बाध्य पार्ने र त्यसको भिडियो खिच्ने तहको अति क्रुर मानवता विरोधी अपराधमा समेत उनी संलग्न देखिएका छन्।
व्यक्तीलाई नाङ्गै बनाएर राख्ने, बन्दुक देखाएर तर्साउँदै थुकेर थुक चाट्न लगाउने तहसम्मको गतिविधि गरेको भिडियो नै फेला परेको अनुसन्धानरत स्रोतले उकेरालाई बतायो।
‘प्रारम्भमा अपहरणको घटना देखिएको थियो। यसमा थप अमानवीय व्यवहार र साइबर क्राइमको थप दुई घटनासमेत जोडियो,’ अनुसन्धानरत स्रोतले भन्यो, ‘मिँयाको शैली र गतिविधि अति क्रुर र अमानवीय देखिएपछि उनको सम्बन्ध र संलग्नताबारे विस्तृत अनुसन्धान शुरू भएको छ।’
उनको अपराधको शैली अति गम्भीर देखिएपछि प्रहरी प्रधान कार्यालयले यसबारे प्रधानमन्त्रीको कार्यालयममार्फत प्रधानमन्त्री वालेन्द्र शाहलाई यसबारे जानकारी गराएको छ।
अपराध प्रकृति अति गम्भीर देखिएपछि प्रधानमन्त्रीको सचिवालयले समेत यसमा चासो राखेको छ। सचिवालय स्रोतका अनुसार मिँयाबारे विस्तृत अनुसन्धान गर्न र यसमा मन्त्री यादवको भूमिकाबारे समेत हेर्न सचिवालयले प्रहरी महानिरीक्षक दान बहादुर कार्कीलाई आग्रह गरेको छ।
‘घटना सामान्य तहको नदेखिएकाले मन्त्रीसँग यसबारे मिँयाको नियुक्ति र उनको संलग्नताबारे बुझ्ने काम भएको छ,’ सचिवालय स्रोतले भन्यो, ‘यसबारे विस्तृत अनुसन्धान गर्न प्रहरीलाई पनि आग्रह गरेका छौँ।’
श्रममन्त्री दीपक शाह बर्खास्त भएपछि सोही मन्त्रालयमा चैत्र २७ गते नियुक्त भएका यादवले मिँयालाई आफ्नो सचिवालयमा हलुका सवारी चालकको रूपमा नियुक्त गरे पनि उनले आफूलाई मन्त्रीको स्वकीय सचिव भएको दाबी गर्ने गरेका छन्।
मन्त्रीमा नियुक्त भएकै दिन नियुक्त गर्नु, नियुक्ति पत्रमा मन्त्रीले नै हस्ताक्षर गर्नु जस्ता घटनाक्रमले मिँया मन्त्री यादवको अति निकट रहेको देखिन्छ।
वैशाख ३०, २०८३ बुधबार १४:३३:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।