संसद्मा कांग्रेसको अवरोध कायमै, प्रधानमन्त्रीको उपस्थितिका लागि रुलिङको माग
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन' उपस्थित नहुँदा विपक्षी दलहरूले विरोध गरेपछि १५ मिनेटका लागि स्थगित गरिएको प्रतिनिधिसभाको बैठक सुरु भएपछि पुनः अवरोध भएको छ। १५ मिनेटका लागि स्थगित भएको बैठक एक घण्टापछि सुरु भएको थियो।
बैठक सुरु भएपछि केही सांसदलाई सभामुख डोल प्रसाद अर्यालले आफ्नो धारणा राख्न दिएका थिए। त्यसपश्चात् प्रधानमन्त्री शाहको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सदनमा आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका प्रारम्भ गरियोस् भनी प्रस्ताव पेस गर्न अनुमति दिए।
प्रस्ताव पेस भए लगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले उभिएर विरोध जनाए। त्यसपछि सभामुख अर्यालले कांग्रेस संसदीय दलका नेता नेतामा भीष्मराज आङ्देम्बेलाई समय दिए। उनले आफू संसद् बैठकको निरन्तरता चाहिरहेको बताए। तर, बैठकमा प्रधानमन्त्री शाह उपस्थित नहुन्जेल आफ्ना विमति उभिएर राखिरहने बताए।
"छलफलमा उहाँको उपस्थिति हुनै पर्छ," आङ्देम्बेले भने, "उहाँहरूले तय गरेर लैजाने नीति तथा कार्यक्रम हो। यसको सफलतामा उहाँहरूको भविष्य छ। त्यसमा उपस्थिति भएर आफ्ना विचार राख्नको लागि उठेका प्रश्नको जवाफ दिनको लागि के अप्ठेरो पर्यो ?"
उनले सदनमा प्रधानमन्त्रीको उपस्थितिको लागि रुलिङ गर्न सभामुख अर्याल समक्ष आग्रह गरे। यसअघि प्रधानमन्त्री शाह अनुपस्थित भएपछि विपक्षी दलहरूले तीव्र विरोध र अवरोध गरेका थिए।
वैशाख ३०, २०८३ बुधबार १५:२४:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।