लालीबजार : वादी समुदायलाई पराइ बनाएर समाजलाई देखाउन खोजेको विभेदको ऐना

लालीबजार : वादी समुदायलाई पराइ बनाएर समाजलाई देखाउन खोजेको विभेदको ऐना

फिल्म लालीबजार रिलिज हुनु अगाडि नै कानुनी झमेलामा पर्यो। वादी समुदाय फिल्मले आफ्नो समुदायबारे गलत दृष्टिकोणले प्रस्तुत गरेको दाबीसहित अदालत जाँदा प्रारम्भमा प्रदर्शनै रोकिए पनि पछि अदालतले रिलिज फुकुवा गर्यो र गत शुक्रवारबाट हलमा रिलिज भयो। हलमा फिल्म रिलिज भए पनि वादी समुदाय निरन्तर आन्दोलनमै छन्।

समस्या एकै भए पनि त्यसलाई पीडकको दृष्टिकोणबाट हेर्ने कि पीडितको दृष्टिकोणबाट भन्ने मुख्य पक्ष हो। पीडित पक्षको दृष्टिकोणबाट सामान्य लाग्न सक्ने घटनाक्रम पनि पीडितको पक्षबाट हेर्ने हो भने त्यो अमानवीय देखिन सक्छ। फिल्म लालीबजारबारे भइरहेको बहसको मुख्य केन्द्र नै यही दृष्टिकोण नै हो।

फिल्म निर्माण पक्षले वादी समुदायमै बसेर यसको कथाको निर्माण गरिएको दाबी गरिएको थियो। तर त्यही समुदायमै घुलमिल भएर कथा लेख्दैमा त्यो पीडितकै दृष्टिकोणबाट लेखिन्छ भन्ने हुन्न। फिल्मले वादी समुदायका सदस्यहरूले आफ्नो पहिचानका लागि जुन तहको आन्दोलन गरेका थिए त्योमाथि न्याय गर्न सकेको देखिएन। वादी समुदायले समाजबाट जुन तहको क्रूर व्यवहार भोगे त्यो यथार्थलाई लालीबजारले कताकता अलि बढी नै ‘फिल्मी’ र ‘ग्ल्यामरस’ बनाउने प्रयास गरेको अनुभव हुन्छ।

वास्तविक वादी समुदायले भोगेको तीतो विगतको तुलनामा फिल्मको दृश्यहरू अलि बढी कलात्मक देखिँदा समुदायको वास्तविक पीडाको गहिराइ कताकता ओझेल परेको अनुभव हुन्छ। फिल्मको मूल पात्रले उमा वादीहरूको त्यो साहसिक सङ्घर्षलाई न्याय गर्न सकेको देखिँदैन।

कुनै समुदायको कथा भन्दा महत्त्वपूर्ण पक्ष भनेकै त्यो समुदायले फिल्मलाई ‘यो मेरै कथा हो’ भनेर पूर्ण अपनत्व महसुस गर्न सक्छन् या सक्दैनन् भन्ने नै हो। फिल्म लालीबजारको प्रचार सुरु भएदेखि नै नामदेखि लिएर यसको विषयवस्तुसम्मको विरोधमा उत्रिए वादी समुदायका चेतनशील सदस्यहरू।

यसको मुख्य कारक उही फिल्ममा कतिपय ठाउँमा मिसाइएको कमर्सियल मसला नै देखियो। समुदायको कथा बोक्दा हिजोको कहालीलाग्दो दिनको कथाले उनीहरू ट्रमामा नफर्किउन् अनि सङ्घर्षले बदलेको पहिचान पुन धुमिल हुने जोखिम नबढोस् भन्ने पक्षमा सचेत हुनै पर्छ। त्यसमा निर्माण टिममा केही कमजोरी देखिए।

अब सामाजिक अवस्थाबाट फिल्मभित्र प्रवेश गरौँ।

पश्चिम नेपालको उराठ बस्ती, जहाँका देहहरू वर्षौँदेखि अरूको मनोरञ्जनका लागि लिलाम भइरहेका छन् त्यही ‘लालीबजार’ को एउटा साँघुरो कोठाबाट सुरु हुने एउटी आमाको संघर्ष यो फिल्मको मुख्य कथावस्तु हो। त्यहाँ मधुबाला (स्वस्तिमा खड्का) आफ्नी कलिलो छोरीलाई स्कुल भर्ना गर्न कानुनी पहिचानको लडाइमा छिन्। समाजले ‘बाबुको नाम’ को तगारो तेर्स्याउँदा उनको छोरीले पाउनु पर्ने न्यूनतम कानुनी सुविधा समेत पाउन सकिरहेकी छैनन्।

निर्देशक यम थापाले फिल्ममा स्वस्तिमाका मौन आँसु र विद्रोहले शक्तिशाली कम्पन पैदा गर्ने प्रयास गरेका छन्। फिल्मलाई उनले वि.सं २०४५ देखि २०६३ सम्मको नेपाली समाज र वादी समुदायमाथि राज्यसत्ताले गरेको विभेदको ऐना बनाउने प्रयास गरेका छन्, समाजको 'सभ्य' भनिने समाजमा रहेका पुरुषको कुरूप चरित्र उतार्ने प्रयास गरेका छन्।

कथा र पृष्ठभूमि

वादी समुदाय ऐतिहासिक रूपमा गायन र नृत्यका माध्यमबाट राजपरिवार र सामन्तहरूलाई मनोरञ्जन दिने कलात्मक समुदाय थियो। तर, समयक्रममा यी कलाकार समुदाय बिस्तारै देहव्यापारको दलदलमा फस्दै गए। फिल्म लालीबजारको मूल कथा यही समुदायभित्रको अमानवीय ‘नत्थी’ प्रथा (किशोरीहरूको कुमारीत्वको पहिलो लिलामी) मा केन्द्रित छ।

मधुबाला (स्वस्तिमा खड्का) आफ्नी बिरामी आमा र भाइ मदनको गर्जो टार्न शरीर बेच्न बाध्य छिन्। गाउँका शक्तिशाली 'राजा साहेब' शम्सेर (रवीन्द्रसिंह बानियाँ) को दबदबा छ, जसले यो समुदायलाई आफ्नो मनोरञ्जनको साधन मात्र ठान्छन्।

फिल्मको सुरुवातमा मधुबाला र हुलाकी नारायण (विशाल सापकोटा) बीचको प्रेमले दर्शकलाई प्रेमको संसारमा लैजाने प्रयास गर्छ। तर, जब मधुबाला नारायणसँग भागेर बाहिरी समाजमा पुग्छिन्, त्यहाँको तिरस्कार र घृणाले उनलाई फेरि त्यही लालीबजारको अँध्यारोमै फर्किन बाध्य बनाउँछ।

अभिनय

अभिनयका सवालमा स्वस्ति पटक पटक डिस्टिङसनमा पास भइसकेकी अभिनेत्री हुन्। बुलबुलबाट उनले आफू पात्र अनुसारको अभिनय गर्न परिपक्व भइसकेको अभिनेत्री हुँ भनेर पुष्टि गरिसकेकी छिन्। लालीबजारमा पनि उनको अभिनय निकै परिपक्व देखिन्छ। एउटी विवश यौनकर्मीदेखि आफ्नो सन्तानका लागि बन्दुक उठाउनेसम्मको चुनौतीपूर्ण चरित्र उनले सफलतापूर्वक निभाएकी छिन्।

नारायणको भूमिकामा रहेका विशाल सापकोटाले एक प्रेमीको विवशतालाई न्याय गरेका छन्। रवीन्द्रसिंह बानियाँ थोरै संवाद तर शक्तिशाली उपस्थितिका साथ एक हिंस्रक शोषकको रूपमा पर्दामा जमेका छन्।

बाल कलाकार समाइरा थापाले ‘महारानी’ को भूमिकामा दर्शकको मन पगाल्ने काम गरेकी छन्। भाइको भूमिकामा रहेका कलाकारले नागरिकता नहुँदाको पीडा पोख्दै भान्जीको बुबा बन्न तयार भएको दृश्य फिल्मको सबैभन्दा शक्तिशाली दृश्य हो।

सबल पक्ष

वादी समुदायको ‘नत्थी’ जस्तो कुप्रथा र उनीहरूको आत्मसम्मानको लडाइँलाई फिल्मले निकै संवेदनशील ढंगले प्रस्तुत गर्ने प्रयास गरेको छ। नेपाली समाजमा रहेको कालो क्रूरतालाई पर्दामा उतारेर समाजलाई सम्झाउने प्रयास भएको छ।

मधुबालाले शोषकबाटै बन्दुक चलाउन सिक्नु र अन्त्यमा त्यही सिप आफ्नो रक्षाका लागि प्रयोग गर्नु महिला सशक्तीकरणको एउटा उत्कृष्ट बिम्ब हो। यसमा निर्देशकको सिप देखिएको छ। यम थापाले सम्भव भएसम्म वादी समुदायको पीडा पर्दामा 'बेच्ने' काम नगरी उनीहरूको दबिएको स्वरलाई होसियारीका साथ पस्कने प्रयास गरेको देखिन्छ।

दुर्बल पक्ष:

फिल्मको सबैभन्दा कमजोर पक्ष नै दृष्टिकोण हो। फिल्मको मूल पात्र वादी समुदायकै प्रतिनिधीहुँदा यो क्रूर प्रथालाई उनीहरूको दृष्टिकोणबाट जसरी शक्तिशाली रूपमा प्रस्तुत गर्न सकिन्थ्यो त्यो कमजोर देखियो।

लेखक वादी बस्तीमा बसे होलान्, वादी समुदायका सदस्यले भोकेका क्रूर व्यवहार सुने होलान्, पढे होलान्। तर स्वस्तिमाको समग्र चरित्र चित्रणले त्यसलाई कथानकमा ढाल्दा दृष्टिकोणमा वादी भन्दा लेखक आफैँ हाबी भएको अनुभव गराउँछ।

कथा करिब दुई दशकको समय अन्तरालमा बगेको छ तर शोषक पात्रको हुलियामा कुनै परिवर्तन नदेखिनु निर्देशकको प्राविधिक ज्ञानको कमी हो।

फिल्मको पहिलो भाग केही सुस्त छ। नारीलाई शक्तिशाली देखाउने धुनमा नारायण जस्तो पात्रलाई बिचमै मारिदिनु र कतिपय रुवाबासीका दृश्यहरू लामो हुनुले दर्शकको इमोसनल फ्लो बिचैमा ब्रेक हुन्छ। पात्रबीचको लामा अनि पट्यारलाग्दा संवाद छिमल्न सक्ने पर्याप्त ठाउँ भए पनि फिल्ममा इमोसनल डोज बढाउने चक्करमा चिप्लिएको अनुभव गराउँछ।

वादी आन्दोलनको वास्तविक क्रूरता र बीभत्सतालाई फिल्मले कतिपय ठाउँमा बढी फिल्मी र ग्ल्यामरस बनाउन खोज्दा पनि वास्तविक पीडाको यथार्थ कताकता हराएको भान हुन्छ। यसले पर्दाका पात्रहरूसँग कनेक्ट भएका दर्शकहरूको मनको सम्बन्ध पटक पटक टुट्छ।

गंगुबाई काठियावाडीसँगको सम्बन्ध

सञ्जय लीला भन्साली निर्देशित फिल्म गंगुबाई काठियावाडी नेपाली फिल्म लालीबजारबीच तुलना गर्दा केही रोचक समानताहरू देखिन्छन्।

विषयवस्तु र परिवेश उस्तै उस्तै देखियो दुवै फिल्मको। लालीबजार वादी समुदायको कथामा आधारित छ, जहाँ जीविकोपार्जनका लागि महिलाहरू यौन पेसा अपनाउन बाध्य छन्। गंगुबाई मुम्बईको कामाठीपुराको कथा हो, जहाँ महिलाहरू देहव्यापारमा संलग्न हुन्छन्।  दुवै फिल्मले समाजको किनारामा पारिएका 'रेड-लाइट एरिया' को सङ्घर्षलाई चित्रण गरेका छन्।

लालीबजारमा मधुबाला (स्वस्तिमा खड्का) एक साधारण युवतीबाट परिस्थितिले गर्दा यौनकर्मी र पछि आफ्नो समुदाय र सन्तानको हकका लागि लड्ने विद्रोही पात्रमा रूपान्तरण हुन्छिन्। गंगुबाईमा गंगा नामकी युवती धोका पाएर वेश्यालयमा पुग्छिन् र पछि गंगुबाई बनेर त्यहाँका महिला र बालबालिकाको अधिकारका लागि लड्ने शक्तिशाली नेता बन्छिन्।

लालीबजार फिल्मको मुख्य द्वन्द्व मधुबालाले आफ्नी छोरी महारानीलाई पढाउन खोज्नु, स्कुलमा नाम दर्ता गर्दा बाबुको नाम खोजिनु र कागजातको अभावमा भोग्नुपरेको सास्तीमा केन्द्रित छ। गंगुबाईले पनि कामाठीपुराका बालबालिकाहरूलाई विद्यालयमा भर्ना गर्न र उनीहरूलाई शिक्षाको मूलधारमा ल्याउन ठूलो संघर्ष गरेकी छन्।

लालीबजार नागरिकता नहुँदा काम नपाउनु, छोरीको विद्यालय भर्नामा बाबुको पहिचान खोजिनु र वादी भनेर हेपिनु फिल्मको मुख्य पक्ष हो। यौनकर्मीका छोराछोरीले समाजमा पहिचान नपाउनु र विद्यालयबाट निकालिनु जस्ता समस्यालाई गंगुबाईमा प्रमुख मुद्दा बनेको छ।

लालीबजारमा गाउँका 'राजासाब शम्सेर' (रवीन्द्रसिंह बानियाँ) ले वादी समुदायमाथि दमन गर्छन् र नत्थी तोडाउनु (कुमारीत्वको लिलामी) जस्तो कुप्रथा मार्फत शोषण गर्छन् उता गंगुबाईमा समाजका टाठाबाठा र वेश्यालय सञ्चालकहरूबाट महिलाहरू शोषित हुन्छन्, जसका विरुद्ध मुख्य पात्रले विद्रोह गर्छिन्।

यसमा स्वस्तिमा खड्काले चञ्चले युवतीदेखि आमासम्मको भूमिकामा आफूलाई निकै सुधारेकी छन्। गंगुबाईमा आलिया भट्टले आफ्नो करियरकै उत्कृष्ट र परिपक्व अभिनय दिएकी थिइन्। अनि यी दुवै फिल्म महिला प्रधान हुन्।

यी दुवै फिल्मको कमजोरी हेर्दा 'लालीबजार' मा नारीलाई शक्तिशाली देखाउने धुनमा केही महत्वपूर्ण पुरुष पात्र (नारायण) लाई बिचमै मारिदिने वा केही दृश्यलाई आवश्यकताभन्दा बढी तन्काइएको छ।

'गंगुबाई' मा पनि कतिपय ठाउँमा पात्रलाई यति धेरै 'लार्जर द्यान लाइफ' बनाइएको छ कि वास्तविक पीडितको वास्तविक लाचारी कताकता हराएको अनुभव गराउँछ।

यौन पेसा र त्यसभित्रको शोषणलाई कहिलेकाहीँ गीत-संगीत र भव्य सेट (विशेष गरी गंगुबाईमा) मार्फत यति सुन्दर देखाइन्छ कि त्यसले वास्तविक जीवनको कुरूपता र पीडालाई 'ग्ल्यामरस' बनाइदिने खतरा रहन्छ। त्यसको केही संकेत लालीबजारमा पनि देखिन्छ।

धेरैजसो यस्ता फिल्ममा पीडित वर्ग आफैँ सक्षम हुनुभन्दा पनि कुनै एउटा नायकको भर पर्नुपर्ने गरी कथा बुनिन्छ। 'लालीबजार' मा पनि मधुबालाको व्यक्तिगत विद्रोहलाई जोड दिँदा समग्र समुदायको सामूहिक आन्दोलन केही ओझेलमा परेको देखिन सक्छ।

यद्यपि 'लालीबजार' मा नेपाली राजनीतिक द्वन्द्व (माओवादी जनयुद्ध) र वादी समुदायको विशिष्ट सांस्कृतिक पीडा मिसाइएको छ। यसको मूल मर्म यौन पेसामा रहेका महिलाको आत्मसम्मान, उनीहरूका सन्तानको शिक्षा र राज्यसँगको कानुनी लडाइँको पक्ष 'गंगुबाई काठियावाडी' सँग निकै मिल्दोजुल्दो देखिन्छ।

तर यी दुवै फिल्मको सबल पक्ष भनेको पीडित वर्गलाई दयाको पात्र मात्र नबनाई अधिकारको दाबेदार बनाउने प्रयास गर्नु पनि हो। दुर्बल पक्ष कथालाई बढी प्रभावशाली बनाउने लोभमा कतिपय यथार्थपरक विवरण र समयको प्रवाहलाई बेवास्ता गर्नु हो।

अन्त्यमा,

‘लालीबजार’ लाई हलबाट बाहिर निस्कँदा मनोरञ्जन मात्र नभई एउटा भारी मन र केही गम्भीर प्रश्नहरू बोकेर दर्शन बाहिरिनु भनेर मिहिनेत गरिएको छ। यो एउटा समुदायको कथा मात्र नभई बाबुको नाम खोज्ने हाम्रो पितृसत्तात्मक संरचनाप्रति ठूलो प्रश्न उठाउने प्रयास गरिएको छ।

विवाद र सङ्घर्षबीच पर्दामा आएको लालीबजारले व्यावसायिक मसलामा केन्द्रित फिल्महरूकाबीच सामाजिक दस्ताबेज निर्माण गर्ने प्रयास गरेको छ। मुम्बईको कामाठीपुरामा गंगुबाईले बालेको विद्रोहको झिल्को र नेपालको लालीबजारमा मधुबालाले सल्काएको आगोको ताप एकै देखिन्छ पनि। समस्या उही कथा पस्कने दृष्टिकोण अनि फिल्मी मसलाको घोलघाल मात्र हो।

वैशाख २९, २०८३ मंगलबार १४:१४:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।