२५ वर्षदेखि सुनको मसीले लेखिरहेका हेमरत्न

२५ वर्षदेखि सुनको मसीले लेखिरहेका हेमरत्न

मलमासको कारण ललितपुर पाटनको हिरण्यवर्णा महाविहार (स्वर्ण मन्दिर)मा पाठ हुन सकेन। हरेक दिन बिहान नौ बजेदेखि १२ बजेसम्म सुनौलो अक्षरमा लेखिएको प्रज्ञा पारमिताको पाठले गुञ्जयमान हुने महाविहार एक महिना शून्य भयो। विहारका सदस्यहरू त्यहि मौका पारेर प्रज्ञा पारमिताको पाण्डुलिपि मर्मतमा जुटे।

प्रज्ञा पारमिता शाक्यमुनि बुद्धको बोधिसत्वको महायान मार्गको बारेमा लेखिएको धार्मिक ग्रन्थ हो। जसलाई हरेक तीन वर्षमा विशेष पूजा गरेर मर्मत गरिन्छ। यसको मर्मतका लागि मलमास नै हुनुपर्छ भन्ने छैन। बिग्रिएको खण्डमा तीन वर्ष नपुग्दै मर्मत गर्दा पनि हुन्छ।

छ जनाको टोलीले सुनौलो अक्षरको ग्रन्थमा फेरि सुनकै बुट्टा भरेर मर्मत गर्छन् यो पाण्डुलिपि। तीनै मध्ये एक हुन्, हेमरत्न बज्राचार्य। करिब २५ वर्षदेखि यसको मर्मतसँगै पूजापाठमा पनि सक्रिय छन् उनी। उनको पुर्ख्यौली काम नै हो यो।

उनीभन्दा अघि उनको हजुरबा र बाले पनि यहि काम गर्दै आएका थिए। बाको मृत्युपछि उनले नै कामलाई अगाडि बढाए। सानैदेखि धार्मिक माहोलमा रहेका उनले बा र गुठिबाट नै सबै काम सिके।

केहि वर्षअघिसम्म तिब्बतियन हस्तकलालाई प्रमुख पेशा बनाउँदै आएका उनको पूजापाठमै धेरै समय जान थालेको धेरै भएको छैन।

तन्त्रविधि अनुसार पूजा गरेर पढ्ने
महाविहार सर्वसंघको सदस्य भएपछि बज्राचार्य प्रज्ञा पारमिताको मर्मतसम्भारमा १२ पटकसम्म सहभागी भइसके। यो बनाउन र यसमा लेख्नको लागि सर्वसंघको सदस्य हुन र यसमा ज्ञान भएको हुन आवश्यक छ। त्यसबाहेक शाक्य र बज्राचार्य भए पनि फरक पर्दैन।

एक महिना लाग्ने मर्मतसम्भार यसपाली भने पाँच दिन अगाडि नै सकियो। प्राण प्रतिष्ठासहित तन्त्र विधिले राखेको यस ग्रन्थलाई निकालेर कलशमा राखेर गन्नकोटीभित्र राखिन्छ।

काम सकिएपछि पुनः तन्त्रविधि अनुसार पूजा गरेर पढ्नको लागि सुरु गरिन्छ। यो पढ्नको लागि भने महाविहारको बज्राचार्य गुरुनै हुनुपर्छ। उनले आफ्नो बासँग यो पढ्न पनि सिके।

‘कुनै–कुनैमा जोडिएको अक्षर पनि हुन्छ। त्यो छुट्टाएर पढ्नुपर्ने हुन्छ। प्रज्ञा पारमिता भनेको ज्ञानको खोजी हो,’ उनी भन्छन्, ‘जुन यो शुत्रमा लेखेको छ। त्यो ज्ञानलाई आफ्नो जीवनको व्यवहारमा उतार्न सक्यो भने बुद्धत्व प्राप्त गर्न सकिन्छ भन्ने मान्यता छ।’

यो ग्रन्थ अभय मल्लको पालादेखि यहाँ रहेको पनि उनले सुनाउन भ्याइहाले।

आठ सय वर्ष पुरानो, आठ हजार वटा श्लोक
उनका अनुसार प्रज्ञा पारमिता हजारौं वर्ष पुरानो ग्रन्थ भए पनि पाटनमा राखिएको भने आठ सय वर्ष भयो। यसमा आठ हजार वटा श्लोक छन्। यस्तै प्रज्ञा पारमिता काठमाडौं उपत्यकाको धेरै ठाउँमा रहेको उनी बताउँछन्।

‘आठसय वर्ष अगाडि पनि सुनले नै लेखेको हो। केहि लिपिहरू अलि तलमाथि होला। पहिलाकै जस्तो नहोला। तर शुत्र र अक्षर त्यहि हो। थपघट भएको छैन’, उनले सरासर भने।

यसको मर्मत भने सिद्धिनरसिंहको पालादेखि नै भइरहेको इतिहास रहेको उनको भनाइ छ।

उनले थपे, ‘यसपाली त्यति धेरै बिग्रेको पाएनौँ। पाना पनि दुइटा मात्र फेर्यौं। अरु त्यसमै थप्यौं।’

यसको लागि खर्च पनि गुठिले नै दिन्छ अनि भक्तजनहरूले पनि आफ्नो इच्छाअनुसार श्रद्धाले सुन दिने गरेको पनि हेमरत्नले देखेका छन्।

यसपटक मात्र एउटा महिलाले आफ्नो सुनको झुम्का दिएकी थिइन्। प्रज्ञा पारमिताको पाण्डुलिपि लेख्न यतिनै सुन चाहिन्छ भन्ने हुँदैन।

‘कति बिग्रेको छ, भन्नेमा भरपर्छ। पहिला पाँच तोलासम्म प्रयोग भएको थियो। कहिले एक तोलाले नै पनि पुग्छ’, उनले सुनाए।

संस्कृत भाषा, रन्जना लिपिमा रहेको यसमा बाँसको कलम र सुनको मसीले लेखिन्छ।

आफ्नै साधन, आफ्नै विधि
‘सुन चैँ टीका जस्तो हुन्छ। त्यसलाई आलस, सालकको कत्ला राखेर थोरै पानी हालेर तरल बनाउने,’ सामग्रीको बारेमा सुनाउँदै गए बज्राचार्य, ‘पेपर चैँ नील पेपर भन्ने हुन्छ। पहिला त तिब्बतबाट मगाउन पर्थ्यो। यसपाली त हामीले नै कपडा, लोक्ता कागज, कपर सल्फेट राखेर त्यो पनि बनायौं।’

उनले अगाडि थपे, ‘प्रज्ञा पारमिताको काम गर्दा वा पूजा गर्दा चोखो भएर बस्नुपर्ने हुन्छ। कहिलेकाहिँ काम गर्दा लामो समय लाग्ने भएकाले अहिले चैँ चियासम्म खाने गरेका छौँ।’

त्यस्तै पढ्दा भने रातो भोटो लगाएर छड्के काखै वस्त्र लगाइँदो रहेछ। अनि चामल, फलफुल, बत्ति धुप, दहि राखेर पूजा गर्नुपर्ने चलन रहेछ। मासु र रक्सी भने प्रयोग गर्न नमिल्ने उनले सुनाए।

प्रज्ञा पारमिताको मर्मत भएसँगै यसको पाठले महाविहार फेरि गुञ्जयमान हुन थालिसकेको छ। यसको पाठ गराउनलाई भक्तहरूले नाम दर्ता गर्नुपर्छ। अनि एउटा पाठ गराए बापत एघार हजार रुपैयाँ गुठिलाई शुल्क बुझाउनुपर्छ। त्यसै अनुरुप एक जनाको पालो आउन चार महिना लाग्ने सम्मको भीड लाग्छ।

तीन सय पृष्ठको प्रज्ञा पारमिता दश जना धर्म गुरुहरूले पढ्नुपर्छ। सुन्न भने सबै भक्तजनले पाउँछन्। पहिला हिरण्यवर्णा महाविहारमा यो ग्रन्थ नभएको उनको भनाइ छ।

तर, कापित नगरमा एकजना राजाको छोरी भएको र उनले पढ्न नजानेपछि भने यहाँ जान्ने गुरु भएको थाहा पाएर ल्याएको बताइन्छ। यद्यपितर, कापित नगर भनेको कहाँपर्छ भनेर कतै उल्लेख नबहेको पनि उनले बताए।

छोरालाई पनि सिकाउनको लागि माहोल बनाउँदै
हेमरत्न बिहानको समय विहारमा  पूजा पाठसँगै ज्योतिष शास्त्रको काम पनि गर्छन्। घरमा चिना देखाउनेहरूको लाइन हुन्छ। लगनखेलमा जन्मिएका उनको ब्रतबन्ध पनि यहि गुठिबाटै भयो। त्यसपछि उनी यहाँको सदस्य भए।

बीबीएसम्म पढेका उनले धर्मकर्ममै समय बिताइरहेका छन्। ज्योतिष, आयुर्वेदिक अनि तान्त्रिकसँगै बेलुकाको समय भने नृत्य पनि सिकाउने गर्छन्। उनी चर्या नृत्यको गुरु हुन्।

यो नृत्य धार्मिक कार्यक्रममा मात्र गरिन्छ। उनी पछिसम्म यहि काम गरिराख्न चाहन्छन्। उनको एउटा छोरा छ। छोरालाई पनि उनले पुजापाठ सिकाउन थालिसकेका छन्।

‘उसलाई पनि यो पढाउने र किनाउने गर्दैछु। केहि इच्छा त देखाएको छ। अहिले स्नातक मा पढ्दैछ। माहोल बनिरहेको पनि छ। उसले गर्छ पनि होला’, उनले खुसी हुँदै सुनाए।

४ भदौ, २०८०, १६:१३:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।