झलनाथलाई मृगौला दिएकी मेरिना जो वार्षिक पाँच हजारमा १५ वर्षदेखि कोर्दैछिन् चित्र

झलनाथलाई मृगौला दिएकी मेरिना जो वार्षिक पाँच हजारमा १५ वर्षदेखि कोर्दैछिन् चित्र

यस वर्षको सेतो मच्छिन्द्रनाथको जात्रा आइतबार (हिजो)मात्र सकियो। सधैं झैँ यसपटक पनि उत्तिकै श्रद्धाका साथ मेरिना चित्रकारले सेतो मछिन्द्रनाथको रथको चारवटै पाङ्ग्रामा आँखाको चित्र कोरिन्।

काठमाडौंकै सबैभन्दा विशेष मानिने जात्राहरूमध्येको एक ‘इन्द्रजात्रा’मा गुडाइने रथ पनि उनै ले सिँगार्छिन्। हरेक पल्ट चित्र कोर्दा उनको अनुहारमा उत्तिकै उत्साह देखिन्छ। अनि हातहरू एकनासले चलिरहन्छ।

मेरिनाले जात्रामा आफ्नो चित्र कोर्न थालेको बच्चैदेखि हो। तर, सम्पूर्ण जिम्मा लिएर गर्न थालेको चाहिँ १५ वर्ष भयो। यो उनको पुर्ख्यौली पेशा हो।

इन्द्रजात्राको तीनवटै रथ होस् या सेतो मछिन्द्रनाथको रथ या श्वेत भैरव। यी सबमा विशेष गरी आँखा बनाउनुपर्दा उनैलाई बोलाइन्छ। उनलाई गुठी संस्थानले चित्र बनाएबापत वार्षिक पाँच हजार रूपैयाँ दिन्छ।

आँखा अनि भैरव !
दुवै जात्रामा धार्मिक र सांस्कृतिक महत्व अलग–अलग भए पनि रथको पाङ्ग्रामा लेखिने आँखा र त्यसअघि भएको ‘धमा’मा लेखिने भैरव भने एउटै हुन्छ। सेतो मच्छिन्द्रनाथमा एउटा मात्र रथमा लेख्नुपर्ने हुँदा उनी छिट्टै सक्छिन्।

तर, इन्द्रजात्रामा कुमारी, गणेश र भैरवको अलग–अलग रथ हुने भएकाले उनी दिनभर वशन्तपुरमै हुन्छिन्। भैरवको आँखा लेखेपछि पाङ्ग्रा राम्रोसँग गुड्ने, दुर्घटना नहुने उनी बताउँछिन्।
उनी भन्छिन्, ‘रथलाई हाँक्ने नै भैरव हो, त्यसैले भैरवको पूजा गरेपछि हामी चित्र बनाउँछौँ।’

मेरिनाले जात्रामा आफ्नो चित्र कोर्न थालेको बच्चैदेखि हो। तर, सम्पूर्ण जिम्मा लिएर गर्न थालेको चाहिँ १५ वर्ष भयो। यो उनको पुर्ख्यौली पेशा हो।

हजुरबुबाको समयदेखि जात्रामा सहभागी भएकी उनले बुवासँग पनि लामो समय सहकार्य गरिन्। सानो बेलामा बाजेसँग जात्रामा आएर श्वेत भैरवमा दिनभर बस्ने गरेको अहिले पनि सम्झन्छिन् उनी।

कला हस्तान्तरण
चार छोरीमध्ये कान्छी मेरिना। उनको एउटा भाइ पनि छ।

तर, अरुभन्दा अग्रसर भएकैले बुवाले उनलाई विश्वास गरे गुठी संस्थानमा गएर आफ्नो सट्टामा छोरीको नाम लेखाइदिए। त्यसै समयदेखि हो, उनले काठमाडौंमा हुने जात्रामा व्यावसायिक रूपमै चित्रहरू कोर्न पाएको।

दिदीबहिनी धेरै भएको घर, त्यै माथि जताततै रंग अनि चित्र। उनको बाल्यकाल रमाइलो नहुने कुरै भएन। स्कुलमा हुँदा कार्टुनहरू बनाउने गरेको भए पनि उनलाई चित्रकलामै अगाडि बढ्छु जस्तो भने लागेको थिएन रे।

तर, उनको त्यै क्षमता देखेर बुवाले पनि चित्रमै जोड दिए। अनि त के चाहियो। फुरुङ्ग भएर एसएलसीपछि ललितकला क्याम्पसमा भर्ना भइन् मेरिना।

सानैदेखि चित्रकलाको पारिवारिक पृष्ठभूमिमा रहेको भए पनि पहिलोपटक आफैंले जिम्मा लिएर काम गर्दा उनले अप्ठ्यारो महसुस गरिछन्।

परम्परागत चित्र कोर्दा कम्तिमा पनि एक चोटीमा ४/५ घण्टा निरन्तर बस्नुपर्छ। बिहेपछि लगातार त्यति समय दिन सकिनँ। अहिले संस्कृति र लोक कल्याणका चित्र कोर्छु।’

‘सिधै फिल्डमा आउँदा त गाह्रो भयो नि! बुवाले निर्देशन दिनु र आफू डाइरेक्ट जानुमा धेरै फरक हुने रहेछ,’ उनले भनिन्, ‘तर, गर्दै गएपछि यसमै रम्न थालियो।’

त्यसअघि मेरिनाले परम्परागत चित्रकला गर्थिन्। उनले बुवाबाटै चित्रकलाका सम्पूर्ण ज्ञानहरू सिकिन्।

भीमसेनस्थानमा जन्मिएकी उनले जात्रामा दिइने प्रसादलाई नै आफ्नो पहिलो पारिश्रमिक भन्ने गर्छिन्। इन्द्रजात्रामा श्वेत भैरव आफ्नो मातहत आउने र प्रसाद बाँड्न पाउने भएकाले उनलाई त्यो समय विशेष रमाइलो लाग्दो रहेछ।

विवाहपछि फेरिएको कला
पच्चीस वर्षमा इन्द्रचोकको स्थानीयसँग मागी विवाह भयो मेरिनाको। तर विवाहपछि उनले परम्परागत चित्र बनाउन छाडिन्। धेरै समय दिनुपर्ने भएपछि परम्परागत चित्र बनाउन छाडेको उनी बताउँछिन्।

‘परम्परागत गर्दा कम्तीमा पनि एक चोटिमा ४/५ घण्टा निरन्तर बस्नुपर्ने हुन्छ’ उनले भनिन्, ‘बिहेपछि लगातार त्यति समय दिन सकिँन, अहिले संस्कृति र लोक कल्याण चित्र कोर्छु।’

उनले पहिलोपटक ५१ सालमा रंगीन चित्र बनाइन्, त्यो पनि परम्परागत। त्यसमा लगाव धेरै भए पनि समय नभएकाले छाडेको उनी दोहोर्याउँछिन्।

त्यस समय आफूले चित्रकला प्रदर्शनीमा भाग लिएको सम्झिन्छिन् उनी। तर, अहिले भने आफ्नो चित्रको कुनै प्रदर्शनी गर्न पाएकी छैनन् उनले। अहिले भने उनि लोककला सम्बन्धी चित्र बनाउने गर्छिन्। यसको लागि विभिन्न पुरस्कारहरू समेत प्राप्त गरिसकिन्।

लोककला सम्पूर्ण जात्राहरूसँग र विभिन्न कर्म काण्डको समयमा प्रयोग हुने गर्छ। नेवार समुदायमा हुने ब्रतबन्ध, बेलविवाह, विवाह हुँदै चिनासम्ममा लोककला हुन्छ।

मेरिना जर्मनीको सहयोगमा खुलेको उज्यालो भन्ने एनजीओमा पनि आवद्द छिन्। त्यसबाहेक उनी जात्रा, पूजा र घर–घरमा गैर कर्मकाण्डको लागि चित्र कोर्नमै व्यस्त हुन्छिन्।

गुठी संस्थानको पारिश्रमिक
जात्रामा चित्र कोरेबापत उनलाई अहिले गुठी संस्थानले वार्षिक पाँच हजार पारिश्रमिक उपलब्ध गराउँछ। सुरुवातीमा भने १५ सय पाइन्थ्यो रे।

‘अहिले बल्ल–बल्ल बढेको नि! हामी कत्ति पारिश्रमिक थोरै भयो भनिराखेका हुन्छौं। तर, सुनेको जस्तै गर्नुहुन्न,’ उनी भन्छिन्, ‘पहिला त रंग पनि थोरै किन्न पाइन्थ्यो। अहिले धेरै किन्नुपर्छ। त्यति पैसाले रङमा खर्च गर्ने कि आफ्ना लागि राख्ने?’

कहिलेकाहिँ पारिश्रमिक सम्झिँदा नगरौँ जस्तो लाग्ने भए पनि संस्कृति बचाउनुपर्छ भन्ने सोचले जित्दोरहेछ।

‘कहिलेकाहिँ त नगरौँ कि जस्तो पनि लाग्छ,’ उनी थप्छिन्, ‘तर हामीले नगरे फेरि कसले गर्ने भन्नेजस्तो लाग्छ अनि फेरि गर्छु।’

आफूले बनाएको चित्रहरू उनले बुवाको साथीहरू मार्फत विदेशमा पनि पुर्याएकी छन्। लकडाउनपछि भने त्यसको बजार पनि सुकेको छ। उनलाई सबैभन्दा गाह्रो लाग्ने चित्र बनेको मण्डलाको रहेछ।

मैले त एउटा मात्र मृगौला भन्ने बिर्सन्छु बेला-बेलामा। कहिलेकाहिँ गह्रुँगो सामान उठाउन लाग्दा घरमा अरुले नउठाउ भन्दा सम्झिन्छु।

दिदीहरू पनि उनि सँगै बेला–बेला जात्राहरूमा सँगै जाने हुँदा उनलाई काममा केही सहयोग भने हुन थालेको छ। बुवा नभएको पाँच वर्ष भइसक्यो। तर, हरेक पटक चित्र कोर्दा उनी बुवालाई सम्झिने गर्छिन्।

‘खड्किन्छ नि मनमा। कहिलेकाहिँ धेरै कुरा खेल्छ। बुवाले सिकाउनुभएको काम सकुञ्जेल गर्छु’, उनी एकनासले बोलिरहिन्।

‘एउटा मृगौला नभएको नै बिर्सिसकेँ’ 
मेरिना अहिले ४८ वर्षकी भइन्। विवाह भएर चित्रकलाबारे खासै ज्ञान नभएको घरमा जाँदा सुरुमा केही गाह्रो भए पनि पछिल्लो समय श्रीमानले सहयोग गर्न थालेका छन्।

अहिलेको जात्रालाई धेरैले पहिलाको भन्दा फरक भन्न थाले पनि उनले बनाउने चित्रमा भने अझै पनि पुरानै संस्कृति कायम छ। रथमा प्रयोग हुने काठहरूमा फरक आएको कारण चित्र पनि अलग देख्न सकिन्छ। तर, चित्रमै भने फरक नआएको उनको अनुभव छ।

मेरिना उनै हुन् जसले पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई आफ्नो एउटा मृगौला समेत दिइन्। प्रत्यारोपण पश्चात् उनको जीवन, कला र स्वास्थ्यमा केही फरक आएको छैन रे।

‘मैले त बिर्सी पनि सकेँ। कहिलेकाहिँ गह्रुँगो सामान उठाउन लाग्दा घरमा अरूले नउठाउ भन्दा सम्झिन्छु,’ उनी सुनाउँछिन्, ‘त्यसबाहेक आफ्नै मान्छेलाई एउटा अंग दिएको त हुँ। त्यस्तो केही लागेन। सबै सामान्य नै छ।’

नेता खनालसँग पारिवारिक सम्बन्ध भएको कारण उनले त्यसलाई त्यति ठूलो रूपमा हेरेकी छैनन्।

चैत २०, २०७९ सोमबार १३:५६:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।