‘त्यतिबेला हामीलाई प्रयोग गरेको भए युवाहरू बेरोजगार भएर खाडीमा जान्थेनन्’

‘त्यतिबेला हामीलाई प्रयोग गरेको भए युवाहरू बेरोजगार भएर खाडीमा जान्थेनन्’

शिक्षण पेशाबाट सेवानिवृत्त भएको ११ वर्ष भए पनि उत्तिकै फुर्तिला देखिन्छन् सुवर्ण मानन्धर।

उनीसँगैका केही साथी के गरेर समय बिताउने ? केही काम पाए गर्नुहुन्थ्यो भनेर अझै पनि अल्मलिरहेका छन्। केही त 'डिप्रेसन’ मै पुगिसकेका सुवर्ण बताउँछन्। 

तर, उनलाई भने बाँकीको समय कसरी बिताउने भनेर कहिल्यै चिन्ता भएन। कारण, उनी आफै प्राविधिकतर्फका विद्यार्थी हुन्। हातमा सीप छ उनको। र त इलेक्ट्रोनिक्स पसल खोलेका छन्। 

२०४१ सालमा उनले जम्मा ३५ सय रुपैयाँमा सुरु गरेको गरेका हुन अहिलेको पसल। त्यसबेला कालिमाटीमा इलेक्ट्रोनिक पसल जम्मा दुइटा मात्र खुलेका थिए। त्यै भएर पनि आम्दानी राम्रै हुने गरेको उनी सुनाउँछन्। अहिले भने लगानी बढ्दै गए पनि आम्दानी भने शून्य बराबर छ उनको।  

'भाडा तिर्न पर्ने भए त सायद पसल छोडेर भाग्थेँ होला,’ उनले विवशता सुनाए, 'मैले पसल राख्दा पहिलो दिनमै सात सय रुपैयाँ कमाएको थिएँ। त्यो भनेको धेरै हो नि। जबकि मेरो मासिक तलब नै प्राविधिक भत्तासमेत गरेर २ सय ५५ थ्यो।’

उनको अनुपस्थितिमा आमाले पसलको सबै काम सम्हाल्थिन्। अहिले दिनभर पसलमा बस्ने र सप्ताहान्ततिर भने घुम्न जाने गरेर उनको समय बित्ने गर्छ। 

करिब ७१ वर्षअघि काठमाडौँको कोर एरियामा जन्मिएका उनका बुवाका दुई वटी श्रीमती थिए। उनकी आमा भने कान्छी हुन्। जेठी आमापट्टि एउटा दाइ र ५ जना दिदी थिए। अनि कान्छीपट्टि उनका एउटा दाइ र उनी मात्र। दाइ भने सानोमै बिते। उनले देख्न पनि पाएनन्। अनि सुवर्ण जन्मिनुभन्दा ठ्याक्कै दुई महिनाअघि उनका बुवा पनि बिते। 

मामाघरमै हुर्किए

'हाम्रो एउटा गुठी हुन्छ। देवाली गुठी। म जन्मेपछि मलाई पनि अंश त दिनुपर्यो। त्यै भएर दाजुले हेर्नुपर्ला भनेर देवालीमा झगडा गरेर हामीलाई निकालिदिए’, उनी भावुक भए, 'कालिमाटी चै मेरो आमाको माइतीघर। यो नभएको भए हामी पहिला नै सडकमा हुन्थ्यौं। मेरो हुर्काइ सबै यतैको हजुरआमाहरूबाट भयो। त्यो बेला हाम्रो आर्थिक अवस्था एकदम कमजोर थियो।’ 

त्यहाँ पनि जिजुबज्यै, हजुरआमा र उनकी आमाबाहेक अरू कोही थिएनन्। जिजुबज्यैले सानो तरकारी पसल चलाउँथिन्। त्यसैबाट सबैको गुजारा चल्थ्यो। जिजुबज्यै बितेपछि भने त्यो पसल हजुरआमाले चलाइन्।

आर्थिक अवस्था कमजोर भए पनि जसोतसो उनको पढाइ भने बढी नै रह्यो। ४ कक्षामा पुग्दा २ रुपैयाँ तिर्न नसकेर २ वर्षसम्म अध्ययन नै रोकियो। पछि हजुरआमा पनि बितेपछि भने परिवारमा आमा र सुवर्ण मात्र बाँकी भए। 

'आमा र मैले तातोपानी मात्रै पिएर पनि महिनौँ बितायौं होला। छिमेकीहरूले कहिलेकाहीं पीठो दिन्थे,’ उनले विगतका नमीठा अनुभव सुनाए, 'छिमेकीले पीठो मात्र होइन, कहिलेकाहीँ तीखो वचन र बच्चालाई स्कुल नपठाएर काममा लगाउन सल्लाह पनि दिन्थे।'

तर उनकी आमाको इच्छा उनलाई पढाउने नै थियो। 

एसएलसीको समयमा पनि उनलाई पढाइमा कठिनाइ भयो। २८ रुपैयाँ तिर्न नसकेर २ वर्ष पर्खिनुपर्यो। जसोतसो गरेर आफैले साथीभाइहरूसँग सापट लिएर भने पनि फारम भरेर जाँच दिए। र पास पनि भए।

बीएसईडीसम्म पढे उनले। जसलाई शिक्षाको विज्ञान पनि भन्ने गरिन्छ। प्राविधिक विषय भएकाले त्यसका विद्यार्थीहरू एकदम  थोरै मात्र हुन्छन्। 

इन्जिनियर भए पनि काम नपाएपछि शिक्षण पेशामा

​​​​​ 'अध्ययन गरेपछि खासमा प्राविधिकले हामीलाई लिनुपर्नेथियो। तर, लिइएन। एउटा त हामी कुनै पहुँच नभएको साधारण व्यक्ति। त्यै भएर पनि त्यस बेला नै धेरै साथी विकल्पका काममा लाग्न बाध्य भए,’ उनले भने। उनका केही साथी प्रहरीतिर गए। तर उनी भने पढाउनतिर लागे। 

'मेरो सानोदेखि नै दुइटा इच्छा थियो। एउटा इन्जिनियर हुने, अर्को पढाउने। इन्जिनियर पनि भएँ। तर, त्यसको केही महत्व नै भएन त्यतिबेला। त्यसका लागि घरमै इलेक्ट्रिक पसल खोलेँ। अनि पढाउने मौका पनि पाएँ।’

उनले सुरुमा भानु माध्यमिक विद्यालयमा ४३ दिनको प्याकेज पढाए। आफ्नो इच्छाको विषय पढाउन पाउँदा भने उनी दंग छन्। विद्यार्थीहरूले उनलाई रुचाए। र त्यहाँका प्रधानाध्यापकले अझै पढाउने प्रस्ताव पनि गरे। 

'विद्यार्थीले सारै मन पराए। त्यसकारण तपाईंलाई कोटा मिलाउँछु बस्नु है, भन्नुभयो हेडसरले। मैले पनि जागिर पाइरहेको थिइनँ। ठिकै हो। कोटा मिलाउनुहुन्छ कि भनेर बसेँ। तर, मिलाउन सक्नुभएन। डेढ वर्षसम्म निःशुल्क पढाएँ,’ उनले सुनाए, 'पछि उहाँलाई पनि अफ्ठ्यारो लाग्यो होला। मैले कोटा मिलाउन सकिनँ, सरी भन्नुभयो। जति इच्छा लाग्छ पढाउनू, अरू कतै हेर्नुभएको छ भने प्लिज भन्नू भन्नुभयो।’ 

त्यसपछि उनले थोकर्पा भन्ने ठाउँमा नियुक्ति पाए। जुन सिन्धुपाल्चोक जिल्लाको दुर्गम ठाउँमध्ये एक हो। दुर्गम भए पनि विशेष भत्ता पाउने व्यवस्था भने थियो। त्यसैअनुरूप सुवर्णले आफूलाई तयार पारिसकेका पनि थिए। त्यत्तिकैमा जनप्रभात विद्यालय कालिमाटी उनका लागि प्रस्ताव आयो।

नजिकैको विद्यालयले प्रस्ताव गरेको कारण उनलाई थोकर्पाभन्दा त्यहीँ नै जान सहज लाग्यो। अनि थोकर्पालाई बिर्सिदिए।

६ वर्षसम्म त्यहाँ पढाएपछि भने सीताराम उच्च माविमा उनले पढाए। त्यहाँ भने स्थायी नियुक्ति पनि भए र झन्डै तीन दशक पढाए। 

उनका अनुसार हरेक विद्यालयमा प्राविधिक शिक्षाका लागि ठाउँ थिए। अहिले भने त्यो छैन। 'त्यतिबेला उत्पादित हामीजस्ता प्राविधिकहरूलाई प्रयोग गरिदिएको भए, अझै धेरै प्राविधिकहरू उत्पादन हुन्थे। बेरोजगार भएर खाडी मुलुकमा जानु पर्दैन थ्यो। हाम्रो आफ्नै कामदार उत्पादन हुन्थ्यो,’ उनले भने। 

२८ सालमा विद्यार्थी आन्दोलन हुँदा उनले पनि धेरै ठाउँमा सहभागिता जनाए। 'दौडधुपमा रत्नपार्कमा तीर खुट्टाभित्र घुसेको उनी सम्झिन्छन्। 'खुट्टामा हेर्दा बोसो नै देखिन्थ्यो। बिस्तारै त्यो खुट्टा निकालेर रत्नपार्कबाट भद्रकालीमा पुगे। त्यहाँ पुगेपछि एउटा दाइले घरसम्म पुर्याइदिए।’

राज्यविरुद्ध विद्यार्थी आन्दोलन पनि चर्किरहेका बेला चोट लागे पनि उनले आन्दोलन छाडेनन्। खुट्टाको प्राथमिक उपचार गरेर फेरि आन्दोलनमा होमिन पुगिहाल्थे। 

बाँकी समय आमालाई

सुवर्ण ४ वर्षको हुँदा घरमा अंशवण्डाको मुद्दा परेको थियो। करिब ४८ वर्ष सम्म चलेको मुद्दामा उनले ५५ सालमा आएर मात्र आफ्नो घर पाए। जे जसरी भए पनि आफ्नो इच्छाको काम गर्न पाएकोमा उनी एकदम खुशी छन्।

केही पुस्तकहरू पनि उनले प्रकाशित गरिसकेका छन्। छोराछोरीहरू सबै आफ्नो काममा रमाउन थालिसकेका कारण उनलाई अब उनीहरूबारे सोचिराख्न पर्ने त्यति धेरै चिन्ता छैन। आफ्नो पसललाई उनीहरूले निरन्तरता दिँदैनन् भन्ने पनि उनलाई थाहा छ। 

त्यै भएर अब बाँकीको समय उनी ९५ वर्षीय आमासँगै यही पसललाई दिन चाहन्छन्। अनि इलेक्ट्रिकसम्बन्धी कुनै विद्यार्थीले बुझ्न चाहे सिकाउन पनि तयार छन्।

२९ जेठ, २०८०, १५:४१:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।