ऋतिक रोशन काण्डले चालिस वर्षदेखि काठमाडौं बसिरहेका मोहनलाई बिहार लखेट्यो

ऋतिक रोशन काण्डले चालिस वर्षदेखि काठमाडौं बसिरहेका मोहनलाई बिहार लखेट्यो

मोहन साह काठमाडौं आएको चालिस वर्ष भयो। यी चालिस वर्षमा उनको पेशा फेरिएको छैन। सुरुका केही वर्ष साइकल कुदाएर गल्ली-गल्लीबाट कवाडीका सामान किन्ने गरेका उनी अहिले बोरा व्यापारी भएका छन्।

आफ्नै पसल खोलेका छन्। त्यहाँ व्यक्तिसँग बोरा किनेर कम्पनीलाई बेच्छन्। चार दशकमा उनको व्यापारमा धेरै उतारचढाव आए। काठमाडौंको वस्ती, हावापानी र मान्छे बदलिएको देखे तर उनी आफ्नै पेशामा लागिरहे।

काठमाडौंबासी र काठमाडौंप्रति मोहनको निकै आत्मियता छ। माओवादीको सशस्त्र द्वन्द्वदेखि भूकम्प, कोरोनाकालसम्मलाई उनले यहिँ काठमाडौँमा बसेर सामना गरे।

तर, उनको लागि कहिल्यै नबिर्सिने र आफू ‘पराया’ भनेर झस्काइरहने घटना बस्यो ‘ऋतिक रोशन काण्ड’। २३ वर्षअघिको त्यो घटना सम्झँदा मोहनलाई अझै पनि डर लाग्रे रहेछ। फेरि त्यस्तै घटना होला कि भनेर डराउँछन् उनी।

भारतीय अभिनेता ऋतिक रोशनले नेपाल मन पर्दैन भनेको भन्दै एकाएक नेपालमा विरोध शुरु भयो। त्यसको सबैभन्दा ठुलो प्रभाव काठमाडौँमा पर्यो। ऋतिक रोशनको फिल्मको मात्रै हैन भारतीय नागरिक जस्तो देखिने मधेसवासी नेपालीहरुले पनि दुख पाए त्यो बेलामा।

कतै पुष्टी नभएको घटना उग्र बन्दै गयो। भारतीय नागरिकसँगै भारतीय नागरिकसँग हाउभाउँ मिल्ने नेपाली नागरिकहरु पनि कुटिए। उनीहरुको पसल लुटिए।  अराजक बन्यो प्रदर्शन।

ऋतिक रोशन प्रकरणको समयमा मोहन काठमाडौं आएको १८ वर्ष भएको थियो। त्यतिबेला उनी ताहाचल–कालीमाटी क्षेत्रमा बस्थे। एकपछि अर्को आफ्नो साथीहरुले कुटाई खान थालेपछि धेरै भागे। यता बसे मार्छन् भन्न थाले साथीहरुले उनी डराए। अनी भागेर बिहार पुगे।

'आँधी आउने बेलामा को राम्रो को नराम्रो कसले चिन्छ र! एक महिनासम्म सबै काम बन्द गरेर म त गाउँ गएँ' उनी सुनाउँदै गए, ‘यहाँ खतरा थ्यो। कसले कतिखेर के भन्ला भन्ने डर भयो। धेरैले पिटाइ पनि खाए। अन्य पनि गए। म पनि गएँ।'

जब हल्ला शान्त भयो अन्य पनि फर्किए। अनी उनी पनि काठमाडौं फर्किए।  त्यो बेला उनले क्षति त बेहोरे नै मनमा नराम्रो महसुस पनि भयो। 

गरिबीले काठमाडौं ल्यायो
मोहनको घर भारत बिहारको नयूडी सिर्किया नाम गरेको दुर्गम गाउँमा छ। तीनजना दाजुभाइ र दुइजना दिदीबहिनीमध्ये उनी सबैभन्दा जेठो।

केही समय स्कुल पढ्न पनि गए तर जिम्मेवारीले बेरेपछि पढाइमा बिराम लाग्यो। उनको आमाबा हाटबजारमा सामान बेच्थे। उनी पनि बेला–बेला हाटबजारमा सानो पसल कुरेर बस्थे अनि कहिले तेल, मट्टीतेल, डिजेल बेच्न पुग्थे।

बिहारबाट भारतको भन्दा नेपालको राजधानी नजिक पर्ने भएकाले रोजगारीका लागि धेरै यतै आउँथे। मोहनका आफन्त प्राय यतै थिए। गफैगफमा एक दिन काम गर्ने भए काठमाडौं जाऔं भन्ने कुरा भयो। मोहनले नाइनास्ती गरेनन् र आए नेपाल।

‘तर, पनि आयो फर्केर गयो। कमाइ भएन। काम भएन। दुईचोटी त फर्केर गयो। भाडा मात्र खत्तम भयो’, उनले भने।

तेस्रोपटक आउँदा मोहनलाई काठमाडौंले बाँधेर राख्यो। पहिलो दुईपटक जस्तो चाँडै  घर फर्कनुपरेन। अनि साइकल किनेर बोरा, बोत्तल खोज्दै हिँड्न थाले।

‘सिमेन्ट बोरा धेरै थ्यो। कसैले गिट्टी राख्छ। बालुवा राख्छ। केहि सामान प्याक गर्छ। जसको जे व्यापार हुन्छ। उनीहरूले लिएर जान्छ। आफ्नो खुशीले प्रयोग गर्छ,’ उनले एकै श्वासमा भने।

काठमाडौंमा सुरुका पाँच वर्ष उनलाई धेरै गाह्रो भयो। यहाँको भाषा अनि रहनसहनमा भिज्न।

मोहन काठमाडौं आउँदा धेरै घरहरु बनिसकेको थिएन। छिटफुट घर अनि खोलाको छेउछाउमा छाप्रोहरू थिए। त्यस्तो वातावरणमा पनि अहिले भन्दा धेरै सामान पाउने गरेको उनको अनुभव छ।

त्यसबेला धेरैजसो जुटको बोरा प्रयोग हुन्थे अनि मूल्य पनि बढी आउँथ्यो। त्यसैले उनले सकेसम्म जुटको बोरामै बढी जोड गर्थे। प्लास्टिकको बोरा आउन थालेपछि भने धेरै बोरा संकलन गर्नुपर्ने भयो।

‘जुटको बोरा नै पाउन गाह्रो भइसक्यो’

उनी बोरा खोज्नै बोरा खोज्नकै लागि उनी दोलखाको चरिकोटदेखि पोखरा र नारायणगढसम्म पुगेका छन्। तर हिजोआज जुटको बोरा लगभग हराइसक्यो। उनको मनमा भने अझैँ त्यही जुट रहेछ।

‘प्लास्टिकको निस्क्यो धेरै। अनि जुट कम भयो। जुटको राम्रो हो। त्यो धेरै प्रयोग हुन्छ। प्लास्टिक छिट्टै फाटिन्छ। जुटको सजिलो पनि हुन्छ। फाट्यो भने रिपेयरिंग गर्दा पनि हुन्छ। फाइदा पनि जुटमा नै धेरै हुन्छ,’ उनले भने।

आफ्नो काममा उनलाई सबैभन्दा गाह्रो लाग्ने पाटो भनेको बोरा छान्न हो रे।
‘अहिले पनि बोरा आउँदा छान्न धेरै समय लाग्छ। फाटेको छ भने सिलाउन पनि पर्छ’ उनले भने।

पछि सामान थुपार्दै जान थालेपछि उनले आफ्नै पसल पनि खोले। आफ्नो काम गर्न थालेपछि ‘अलि बढी आम्दानी हुन थालेको हो कि!’ जस्तो अनुभव गरे उनले।

अरुलाई बेच्दा बोराको हिसाबले एक सुका, घरि दश पैसा मात्र पाउँथे उनले। त्यसरी महिनाको दुई सय जति कमाइ हुन्थ्यो। त्यति पैसाले आफ्नो खर्च टारे पनि घर पठाउन पुग्दैनथ्यो। पछि आफ्नै काम सुरु गरेपछि भने घरमा पनि पैसा पठाउन सके उनले।

लामो समय काम गर्दा पनि आम्दानी भन्दा बढी खर्च भएको उनको अनुभव छ। तर पनि अर्को काम गर्नेबारे उनले सोचेनन्।

‘अर्को काम गर्नको लागि लगानी चाहिन्छ। लगानी नै नभएपछि विचार गरेर पनि के गर्ने?’, उनी अलि गम्भीर सुनि।

पहिलाको भन्दा पनि अहिले व्यापार कम भएको उनले अभुनव छ।

‘पहिले अलि राम्रो थ्यो। राम्रो चलेको थ्यो। अहिले थोरै काम हो। त्यै भएर कामदार राखेको छैन। कामदार राख्यो भने तलब लिन्छ बीस–पच्चीस हजार। त्यै भएर जति सक्छ आफैँ गर्ने’, उनले भने।

मोहनको पसलमा अहिले एउटा जुटको बोराको बीसदेखि पच्ची रुपैयाँ पर्छ। प्लास्टिकको बोरा भने दुईदेखि दश रुपैयाँमा बेच्छन्। उनले पसल राख्दासम्म कालिमाटी वरपर जम्मा दुई वटा मात्र बोरा पसल थिए रे। अहिले भने साठी वटासम्म रहेको उनी बताउँछन्।

मोहनको व्यापारमा कमी आएको चाहिँ २०७२ सालको भूकम्पपछि रहेछ। त्यो बेलामा पनि उनी गाउँमा एक महिनासम्म बसे।

लकडाउनको समयमा भने परिवार यतै भएकाले पसल बन्द गरेर बसे। गाउँ नै जान भने परेन। अहिले उनी विभिन्न बोरा, कापी, पत्रिका, बियर बक्सा र स्याउको बक्सा पनि लिने र बेच्ने गर्छन्। कागजको प्रयोगमा कमी भएकाले पनि व्यापारमा कमी आएको हो कि! भन्ने उनलाई लाग्छ।

तीन छोरा र एक छोरीका पिता मोहनको अब कान्छो छोराको मात्र बिहे गर्न बाँकी छ। छोराछोरीको पनि खासै चिन्ता छैन उनलाई। सक्ने बेलासम्म व्यापारलाई निरन्तरता दिन चाहन्छन्।

‘छोराहरूले अब गर्दैन यो काम। यो कामबाट म खुशी छु। जति छ त्यतिमै सन्तुष्ट छु। बोराको व्यापार गरे पनि परिवारलाई पुगिरहेको छ। ठिकै छ’, उनले भने।

८ साउन, २०८०, १८:१०:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।