काठमाडौंको सडकमा जुत्ता पालिस गर्ने छेदी राम, जो नगरप्रहरीसँग डराउँदैनन्

काठमाडौंको सडकमा जुत्ता पालिस गर्ने छेदी राम, जो नगरप्रहरीसँग डराउँदैनन्

बागबजारको पद्मकन्या क्याम्पसको गेटनिर बसेर छेदी राम वर्षौँदेखि आफ्नो पसल चलाइरहेका छन्। अहिले काठमाडौं महानगरको निशाना फुटपाथ व्यवसायीमाथि भइरहेको बेला उनलाई भने आनन्द छ। 

कारण- नगरप्रहरीहरू उनीमाथि झम्टिन आउँदैनन्। उनलाई क्याम्पसले नै स्वीकृति दिएको छ पसल चलाउन।

छेदी रामको पसल जुत्ता पालिस गर्ने हो। क्याम्पसका विद्यार्थीदेखि बटुवासम्म उनका ग्राहक हुन्।

उनले यहाँ बसेको, पसल चलाएको पैसा पनि तिर्नुपर्दैन। 'सरहरू माया गर्छन् सबैले। अहिले त बालेनले सबैलाई खेद्छ। भर्खर पनि आएको थियो नगरप्रहरी। तर मलाई त केही गर्दैन। कलेजले चिठ्ठी पनि दिएको छ। त्यही देखाउँछु पहिला। अहिले त देखाउनु पनि पर्दैन',  दङ्ग पर्दै उनी सुनाउँछन्।

वरपरका अरू सडक व्यापारी नगरप्रहरी आएको देख्नासाथ भाग्दा आफू भाग्न नपरे पनि छेदी रामलाई आफ्नो विगत भने याद आउँदो रहेछ।

नगरप्रहरीले उनलाई पनि लखेटेर सामान जफत गरेको रहेछ।

'एक दिन मेरो धेरै सामान लग्यो। यहाँ नेता केटीहरू छन्। मैले उनीहरूलाई दिदी मलाई यस्तो गर्यो भनेँ', उनले हास्दै भने, 'अनि उनीहरू ट्याक्सीमा गएर मेरो सबै लिएर आइदियो।' 

त्यसपछि नै हो रे उनलाई क्याम्पसले पसल चलाउने स्वीकृति पत्र दिएको। त्यही एक पटक रहेछ उनको सामान जफत भएको। 

२० वर्षदेखि बसेकाले होला उनलाई अहिले यो ठाउँकै माया लाग्छ। उनले यहाँ बसेको, पसल चलाएको पैसा पनि तिर्नुपर्दैन।

'सरहरू माया गर्छन् सबैले। अहिले त बालेनले सबैलाई खेद्छन्। भर्खर पनि आएको थियो नगरप्रहरी। तर मलाई त केही गर्दैन। कलेजले चिठ्ठी पनि दिएको छ। त्यही देखाउँछु पहिला। अहिले त देखाउनु पनि पर्दैन',  दङ्ग पर्दै उनी सुनाउँछन्।

बिहानै चिया खाएपछि खाना पकाएर टिफिनमा हाल्छन् अनि आठ बजे पसल खोल्न आइपुगिहाल्छन् उनी। साँझ ६ बजे डेरा फर्किन्छन्। 

छेदी रामभन्दा अघि उनको दाइ यहाँ बसेका रहेछन्। दाइ बिते। अनि छेदी रामले यो ठाउँ पाए।

कतारमा आठ वर्ष, कमाएको सबै पैसा छोरीको विहेमा खर्च
बीचमा आठ वर्ष उनी कतार पनि गए। त्यस अवधिमा  उनको भतिजा यो ठाउँमा बसे।

उनी सुनाउँछन्, 'अहिले त्यो (भतिजा) बहराइन गयो। एक न एक जना हाम्रै आफन्त हुन्छ यहाँ।'

कतारमा आठ वर्ष बस्दा उनले पैसा त कमाए तर कमाएको जति सबै छोरीको विहेमै खर्च गरे।

उनी रामको भक्त भएकाले नामको पछाडि राम राखेको रे। त्यही भएर नै उनी अब राम नवमीमा महोत्तरी जान आतुर छन्। उनी गाउँ जाने भनेकै राम नवमी र छठको समयमा रहेछ।

'आठ वर्षमा तीनचोटी घर आएँ। हरेक चोटी एउटा छोरीको विहे गरेँ। अनि भन्नु, सकिँदैन पैसा?', उनले प्रश्न गरे।

एउटा छोरीको विहेमा त दाइजो र विहेखर्च गरेर १०/१२ लाख सकिएको छेदी राम बताउँछन्। अब दुई छोराको विहे गर्न बाँकी छ।

'सबै भन्छन् छोरीको विहेमा धेरै खर्च हुन्छ। तर, छोराको विहेमा पनि हुन्छ। बुहारीले जति दहेज (दाइजो) ल्याउँछ हामीले त्यति नै उसलाई दिनपर्छ। तर, छोरीको विहेमा जान्छ, छोराको विहेमा घरमै हुन्छ भन्ने मात्र हो' उनले भने।

रामको भक्त भएर थर नै परिवर्तन गरे
उनको घर महोत्तरी हो। बुवाको समयसम्म थर 'महरा' लेख्ने गरेको भए पनि उनको नागरिकतामा भने छेदी राम मात्रै छ। 

उनी रामको भक्त भएकाले नामको पछाडि राम राखेको रे। त्यही भएर नै उनी अब राम नवमीमा महोत्तरी जान आतुर छन्। उनी गाउँ जाने भनेकै राम नवमी र छठको समयमा रहेछ।

'रामायणको पाठ हुन्छ। १५ दिनको मेला हुन्छ। त्यसमा जान्छु। १५ दिन सम्ममा १५ ठाउँमा बस्ने। रमाइलो गर्ने। पिकनिक खाने। बराती (जन्ती) आउँछ अयोध्याबाट। अनि जनकपुरमा विवाह भएपछि सकिन्छ', उनले भने।

उनी त्यहाँ चाड मात्र मनाउँदैनन्। व्यापार पनि गर्छन्।

'खासै हत्तपत्त नजाने। घर बसेर के काम भन्नु न! ३०-४० लाख विदेशमा कमाएर छोरीहरूलाई बाँडियो। अब आफू त सुक्खा भयो', छेदी रामले सुनाए।

'धेरै मेनपावर घुमेँ। एउटा एजेन्टले त हुन्छ भनेर जोर पनि लगायो। तर, मलाई त्यो एजेन्टको विश्वास लागेन। त्यै पनि एजेन्टले मिलाइदिन्छु भन्यो', एकनासले उनले सुनाए, 'मैले मिलाउने भए तिमी आफ्नै पैसा हाल, जाने बेलामा एयरप्लेन चढेको बेला तिम्रो सबै पैसा दिन्छु भनेँ। ऊ भन्छ हुँदैन। अनि हुँदैन त छोडिदिएँ। मेरो बुढी भन्छे जानू एकचोटी। म भन्छु- के जानु बुढेसकालमा।'

उनी सन् २००६ मा कतार गएका रहेछन्। ५० हजार ऋण गरेर कतार पुगेका उनलाई त्यो ऋण तिर्न नै दुई वर्ष लागेछ। 

एजेन्टले यताबाट महिनाको आठ हजार दिने बताए पनि आफूले भने चार हजार मात्र पाएको उनले बताए।

बल्ल बल्ल उनले ३० हजार महिनाको कमाउन थालेका थिए। पछि त कम्पनी नै डुब्यो।

'अहिले त यहाँ एक दिनमै चार हजार कमाउँछु', दङ्ग पर्दै उनले सुनाए।

उमेर भए एकचोटी विदेश जाने इच्छा
'उमेर भएको भए अहिले पनि विदेश जान्थेँ' भन्छन् छेदी राम। फेरि विदेश जानको लागि उनले कोसिस नगरेका पनि होइनन्। 

४५ वर्षको उमेरमा विदेश जान गाह्रो हुने थाहा पाए पनि श्रीमतीले एकचोटी जानू भनेकाले उनले 'इन्टरभ्यू' दिए। पास पनि भए। तर, उता गएपछि भने फर्काइदेला कि जस्तो लागेछ उनलाई।

अनि गएनन्। अहिले त उनी ५१ वर्षका भए।

'धेरै मेनपावर घुमेँ। एउटा एजेन्टले हुन्छ भनेर जोर पनि लगायो। तर, मलाई त्यो एजेन्टको विश्वास लागेन। त्यै पनि एजेन्टले मिलाइदिन्छु भन्यो', एकनासले उनले सुनाए, 'मैले मिलाउने भए तिमी आफ्नै पैसा हाल, जाने बेलामा प्लेन चढेको बेला तिम्रो सबै पैसा दिन्छु भनेँ। ऊ भन्छ हुँदैन। अनि हुँदैन त छोडिदिएँ। मेरो बुढी भन्छे जानू एकचोटी। म भन्छु- के जानु बुढेसकालमा।'

घरको एक्लो छोरा भएकाले १३ वर्षमै उनको विहे भएको रहेछ। उनीभन्दा एक वर्षको सानी हुन् उनकी श्रीमती। त्यही भएर विहे भएको पाँच वर्ष उनी माइतमै बसिन्।

'पछि बहिनीको विहे पनि मैले गर्दिएँ। कम्ती कुरा हो! तीनटा छोरीको विहे गरेँ। तराईमा विहेमा नै धेरै खर्च हुन्छ। आम्मामा, हजारमा खेल्ने मान्छेले लाखमा खेल्नुपर्छ', उनले भने।

छेदी रामले पढ्न पाएनन्। बुवा बितेपछि आमा, श्रीमती, बहिनी सबै उनकै भरमा बसे। 

'हामी पनि केहि नाजान्ने। सीप केही थिएन। जग्गा अलिकती थियो। त्यसैमा खेतीपाती गर्यो अनि बस्यो', उनले सुनाए। 

यहीबीचमा उनी काम खोज्दै काठमाडौं आए।

'धेरै समस्या त भएन। तर, पछि आमा बितेपछि झन् दुःख भयो। नत्र, आमाले पनि धेरै मलाई सहयोग गर्नुहुन्थ्यो', आवाज सानो पार्दै उनले सुनाए।

सुरुका दिनमा उनले कालिमाटीमा पान मसला बेचे। त्यसपछि बाँसबारी छाला उद्योगमा जुत्ता सिलाउने सीप सिक्न गए। गार्मेन्टको काम गरे। गाउँमै अटो पनि चलाए केही वर्ष। फेरि यतै सामान बोकेर ठाउँ-ठाउँ डुले।

सुरुमा काठमाडौं आउँदा 'धोती', 'मधिसे' भन्दै धोती लगाउनेहरूको धोती तानिदिएको सम्झिँदा अहिले मान्छेहरू सभ्य र शिक्षित भएछन् कि भन्ने लाग्दो रहेछ उनलाई। अझ क्याम्पस परिसरमा शिक्षितहरूको वरपर बस्न पाएकोमा खुशी छन् उनी।

'पहिला झोला बोकेर ठमेलमा जान्थेँ। कुइरेहरूलाई 'शु शाइनिङ्ग' भन्दै कमाउँथे', उनी भन्छन्, 'विस्तारै विस्तारै पसलहरू राख्न सुरु गरेको। पाँच सय रुपैयाँमा गाउँमा नाक, कानको टपहरूको पसल गरेँ। अहिले लाखसम्म पुर्याएको छु।'

गाँउको व्यापार श्रीमतीले सम्हाल्छिन्
श्रीमतीलाई पनि पसलमा राखेको सुनाउँदै उनी भन्छन्, 'गाउँघरको केटीको त्यति हठ हुँदैन। अहिले पनि मुख लुकाउने चलन त छ', उनले हास्दै सुनाए, 'तर, मैले बुढी र बहिनीलाई बाहिर निकालेँ। काम लगाइदिएँ। राम्रै भयो। अहिले त मलाई फुर्ती लगाउँछन्। आफैँ कमाएर खान्छु भन्छन्।'

श्रीमती महोत्तरीमै छिन्। जलेश्वर मन्दिरअगाडि कस्मेटिक र पूजाको सामानको व्यापार गरेर बस्छिन्। चुरा, पोते, सिन्दूर, टीका, कपडाहरू पाइन्छ उनको पसलमा।

मेलाको समयमा धेरै भीड हुनेहुँदा छठ र राम नवमीमा छेदी राम पनि उनलाई सघाउन पुग्छन्। 

मान्छेहरू सभ्य भएछन् कि !
सुरुमा काठमाडौं आउँदा 'धोती', 'मधिसे' भन्दै धोती लगाउनेहरूको धोती तानिदिएको सम्झिँदा अहिले मान्छेहरू सभ्य र शिक्षित भएछन् कि भन्ने लाग्दो रहेछ उनलाई।

अझ क्याम्पस परिसरमा शिक्षितहरूको वरपर बस्न पाएकोमा खुशी छन् उनी।

उनी अहिले मन लाग्दा घुम्न जान्छन्। काममा मन नलाग्दा गर्दैनन्। प्रायः चाहिँ आउँछन्। काममा नआउँदा बढी खर्च हुने भएकाले धेरै बाहिर पनि जाँदैनन् उनी।

उनको एउटा छोरा मलेसिया र अर्को छोरा बैंगलोरमा छन्।

'छोराछोरी नभएपछि श्रीमती एक्लैलाई गाह्रो हुने भयो नि! मैले छोडिदेऊ सबै अब भन्छु। तर, अहिले नआउने भन्छे। अब आफ्नो व्यवस्थित भएपछि पुँजी भएपछि खोल्ने पसल। अनि परिवारलाई पनि यतै ल्याउने। पाँच वर्ष अझै मेहेनत गर्नुपर्ने छ मैले। बुढाबुढी मात्र भएपछि झन् मेहनत गर्नुपर्ने भएको छ', उनले सुनाए, 'अब छोराहरूले कमायो भने एउटा पसल राखेर आनन्दले पसल चलाएर बस्ने हो।'

२३ माघ, २०७९, १३:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।