कोकाकोलाले समेत छुन नसकेको सुरेशको पुर्ख्यौली बिजनेस !

कोकाकोलाले समेत छुन नसकेको सुरेशको पुर्ख्यौली बिजनेस !

सबेरै उठेर, पूजापाठ गरी स्यूचाटारबाट सिधै पसल आइपुग्छन्, सुरेश सुवाल। गर्मीमा ६ बजे नै पसल आइसक्छन् उनी तर चिसो काठमाडौंमा चिसो बढेसँगै उनको पसलमा पुग्ने समय पनि बढ्दै गएको छ।

चिसो मौसम सुरु भएसँगै उनको व्यापारमा पनि गिरावट आएको छ। उनी यो मौसमलाई ‘आराम गर्ने समय’ भनेर बुझाउन रुचाउँछन्।

रञ्जना गल्लीको सोडाको बारेमा त्यति धेरै बयान गरिराख्नैपर्दैन। त्यहि स्वादलाई बचाइराख्न सुरेश दिनभर यतै हुन्छन्। बेलुका आठ बजेसम्म पसल खुल्छ आजकल। सिजनमा त दश बजेसम्म खुल्ने गरेको उनी बताउँछन्।

पहिलाको तुलनामा ग्राहक कम आउने भएको कारण आफ्नो पुरानो दिनहरू सम्झिने फुर्सद पनि पाउँछन्, उनले।

‘पहिला त बिहानै आएर धारामा पानी पनि थाप्न पर्थ्यो। त्यहि धाराको पानी फिल्टर गरेर सोडा बनाउने गर्थ्यौं,’ विगतका कुरा सम्झँदै उनी भन्छन्, ‘पहिला धाराकै पानी पनि शुद्ध हुन्थ्यो। अहिले त जारको पानीलाई पनि शुद्ध मानिदैन नि! अब अहिले त धारा छैन, सबै जारकै पानी चलाउनु परेको छ।’

उनलाई थाहा भएसम्म सोडा बनाउन २०५६ सालसम्म धाराकै पानी प्रयोग भए। त्यसबेला दिनको १५-१६ सय लिटरसम्म पानी प्रयोग हुने गरेको उनलाई अझै सम्झना छ।

‘सस्तो पनि त थियो। अनि पहिला त ग्यासको स्वाद पनि कडा थियो। अब अहिले पो ग्याँसको स्वादमा पनि परिवर्तन हुँदै आयो,’ उनी थप्छन्, ‘अहिले धेरैले सोडामा पहिलेको जस्तो ग्याँस भएन भन्छन्।’

सोडामा किन पहिले जस्तो कडापन छैन ?
‘अब त ग्याँसको फ्याक्ट्रीहरू पनि परिवर्तन हुँदै आयो। पहिला त कोइला बाली त्यसको धुँवा जम्मा पारेर त्यसलाई फिल्टर गरेर ग्याँस बनाइन्थ्यो,’ उनले भने, ‘तर, अहिले त सुगर केनको फ्याक्ट्रीबाट निस्केको धुँवाबाट ग्याँस बनाइन्छ। स्वादमा फरक त हुने नै भयो नि!’

पहिलाको सोडा एउटा मान्छेले पिउनै नसक्ने बताउँदै उनी भन्छन्, ‘अहिले त बच्चादेखि बुढो सम्मले पिउने भयो सोडा।’

२०३४ सालमा उनी ग्याँसको फ्याक्ट्री हेर्नको लागि इन्डिया पनि गए अनि फर्केर यतै ग्याँस बनाउन सकिन्छ कि भनेर बुझे। तर, त्यसको लागि लगानी र स्थानको जोहो गर्न सकेनन्। अहिले पनि उनको पसलमा गोरखपुरदेखि ग्याँस सप्लाइ हुन्छ।

अहिले सोडा कडा नहुनुमा पानी पनि कारण भएको उनको अनुभव छ।

‘अहिले मिनरल वाटर त सफ्ट हुन्छ। त्यसले गर्दा पनि स्वादमा फरक आउँछ। झन् जार कतिको गुणस्तर हो भन्ने त सधैँ प्रश्न उठिरहेकै छ नि’, उनले भने।

अहिले दिनको अन्दाजी १०/१५ जार पानी उनले खपत गर्छन्। सिजनको समयमा चैँ २५-३० जारसम्म जान्छ रे।

उनले आफ्नो बिजनेसको लागि क्यालेन्डर पनि बनाएका रहेछन्। फागुन १५ देखि जेष्ठ १५ सम्म उनको भव्य व्यापार हुन्छ। यहि तीन महिनाले वर्ष भर कहाँ-कति खर्च गर्ने भनेर योजना बनाउने गरेको उनले बताए।

बा’ले बनाएको त्यो सोडा
उनको क्यालेन्डरअनुसार अहिले आराम गर्ने समय हो। कार्तिक १५ गतेदेखि व्यापार घट्दै जान्छ उनको। यो क्रम माघ महिनासम्म चल्छ।

सिन्धुपाल्चोकको बाह्रबिसेबाट सुरेशका बुवा काठमाडौं आएको उनको सुनाए। १९८६ सालमा उनको बा यहाँ आएको रे। काठमाडौंको ओमबहालमा डेरामा बसेका उनका बुवाले छिमेकी सुबेदारसँग कामको लागि प्रस्ताव गरेछन्।

‘शुबेदारसाप त्यसबेला छाउनी संग्रहालय भएको ठाउँमा मुखिया हुनुहुन्थ्यो। उहाँले राणाहरूबाट सोडा बनाउने मेशिन बकस पाउनुभएको रहेछ। त्यो बेलामा पनि रक्सी खाएपछि सोडा खान्थे रे। राणाहरूले महँगो-महँगो रक्सी खाने हुँदा सोडा मेसिन पनि राखेको रहेछ अनि उहाँले चै त्यो मेशिननै बकसमा पाउनुभएको रहेछ। उहाँले नै पहिला बालाई सोडा बनाउन सिकाउनु पनि भएको रहेछ’, उनले फटाफट भने।

त्यसबेला सोडा बेच्ने चलन आइसकेको थिएन। सोडा खानुपर्छ भन्ने नै थिएन। किनभने राणा र दरबारको मान्छे बाहेक सर्वसाधारणहरूमा त्यसको जानकारी नै थिएन।

उनको बा’ले मेशिन पाएसँगै सोडा बनाए, अनि सुबेदारलाई नै खुवाए। आफूले बनाइरहेको भन्दा फरक र कडा स्वाद पाएपछि उनै सुबेदारले नियमितजसो सोडा खान थालेको सुरेशले बताए।

‘त्यो बेला हाम्रो बा’ले त जनसेवा हलमा धेरै मान्छे आएको देखेर त्यहाँको बोर्ड मेम्बर दयाराम सुब्बालाई त्यतै सानो ठाउँ दिन भनेछन्। पछि २००३ सालमा  बा’ले त्यतै सोडा बेच्न थाल्नुभयो। धेरैले मन पराए,’ उनी सुनाउँदै गएँ, ‘हाकिमकै जम्मा तीन सय तलब हुन्थ्यो। त्यो भन्दा बढी त बा’ले सोडा बेचेर कमाउनुभयो। त्यै पनि त्यसबेला सोडा जम्मा ५ पैसामा पाइन्थ्यो।’

जनसेवा हलमा उनको बा’ले २०१९ सालसम्म सोडा बेचे।

‘पछि थिमीको कुमालेले सुबेदारनीलाई छोयो भनेर बबाल गरे! राजनीतिक चहलपहल  बढेको कारण हल नै जलाइदियो।’

त्यसबेला सुरेश जम्मा चार वर्षका मात्र थिए।

‘त्यहाँ ठाउँ नभएपछि बा’ले फेरी रन्जना हल ताक्नुभएछ। त्यसबेला त हलमा मान्छे अत्यधिक हुन्थे! सबै जना गर्मीले असिनपसिन भएको बेला सोडा खाएर मुख पड्काउँदै हिँड्थे। त्यहि बेलादेखि सोडाको पैसा बढाएर दश पैसा पुर्याइएको थियो।’

अनि ‘रन्जना सोडा’ भनेर चिनियो
रन्जना हलमा व्यापार गर्दा ठेला पनि राखेको थिएन। खर्पनहरूमा सामान राखेर उभिएर बस्थे, उनको बा। सोडाले पाचन प्रक्रियामा मद्दत गरेको थाहा भएपछि झन् धेरै व्यापार बढ्दै गयो। नेवारी भोज खाएर आउनेहरू त झन् अन्तिममा सोडाको लागि ‘कोटा’नै छुट्याउथे रे।

‘चिउरा खाएर पेट ढाडिएको हुन्थ्यो! एक गिलास सोडा खाएपछि त आनन्द भयो भन्थे।’

सुरेश घरको जेठा छोरा। भाइहरू भन्दा अगाडि नै उनले बालाई सघाउन पर्यो। स्कुल जानुअघि पसल खोलेर जान्थे, दिनभर पसलमा बा हुन्थे। स्कुल सकेपछि उनी पनि पुगिहाल्थे। स्नातक दोश्रो वर्षमा पढ्दा-पढ्दै आमा बितेपछि, बा’को सहारासँगै घरको जिम्मेवारी पनि उनको काँधमा आयो अनि पढाइ छाडे उनले।

‘जेठो छोराले सबै हेर्ने भन्ने चलन छ नि हाम्रो। फेरि त्यसबेला परिवार पनि धेरै ठूलो थियो। बा पछि पूर्ण रूपमा मैले नै सम्हाले। अब यसमै सबै समय दिने भएपछि यसलाई अझै कसरी बढाउने भनेर ध्यान दिन थालेँ,’ उनले भने।

नजिकको शहर कीर्तिपुर, पाटन, भक्तपुरदेखि जिरीसम्मका ग्राहक छन् उनको। अहिले पनि धेरैपछि शहर आउनेहरू सोडा नखाइ नजाने उनी बताउँछन्।

रन्जना गल्लीपछि उनले धेरै ठाउँमा पसल राखे। केहिमा घरबेटीले साथ दिएनन्, अनि केहिमा छिमेकी व्यापारीले। अहिले भने फेरि रन्जना गल्लीमै आइपुगेका छन्। अहिलेको ठाउँमा बसेको १९ वर्ष भइसक्यो। २०७२ सालमा उनको बा पनि बिते। अनि भाइहरूले पनि छुट्टिएर सोडा पसल राख्न थाले।

उनको पसलमा नयाँ पुराना धेरै ग्राहक आउने हुँदा ग्राहकको बारेमा धेरै याद गर्न पाएका छैनन्। तर, नारायण गोपाल भने उनी सम्झन्छन्।

‘एक दिन गीत गुनगुनाएर एक जनाले सोडा माग्नुभयो। मैले दिइन। अनि उहाँले नै ‘म को हो चिनेको छ?’ भन्नुभयो। मैले ‘छैन’ भनेर मुन्टो हल्लाएँ। त्यसपछि उहाँले ‘म नारायण गोपाल’ भन्नुभयो,’ उनले सम्झिँदै भने, ‘सोडा मिठो छ, भन्नुभएको थियो। पछि त सधैँजसो आउनुभएको थियो। उहाँले नै आफ्नो परिचय भनेकाले चिन्न पाएँ। नत्र त हरेक दिन यति धेरै ग्राहक आउँछन्, को के हो भनेर हेर्ने पाउँदिन नि!’

कोकाकोलाले समेत नबिगारेको बिजनेस!
धेरै ठाउँमा रन्जना सोडा भनेर लेखेपछि ग्राहकहरू झुक्किन थालेका छन्। यद्यपि उनले कसैलाई पनि ‘रन्जना सोडा’ भनेर नाम राख्न अनुमति भने दिएका रहेनछन्।

‘केहि पसलहरू र चितवन र लालबन्दीमा चैँ सप्लाई गर्छु। तर, मैले नाम सहितको सोडा कतै दिने गरेको छैन। एकदिन त जय नेपाल हलतिर गएको थिएँ। त्यहाँ रन्जना सोडा भनेर राखेको रहेछ। मैले सोधे, मलाई चिन्छौँ? तर, उसले चिन्दिन भने। अहिले जस्तो भएको भए त मैले रोयल्टी तिराउँथे नि!’, केहि आक्रोशका साथ उनले भने।

सोडालाई धेरैले रुचाइरहँदा बजारमा कोकाकोला आएको पनि उनले थाहा पाइसकेका थिए।

‘२०२७ सालमा काठमाडौं एकजना बंगालीले कोक बेच्ने भनेर आएका थिए। पछि उनीहरूले डिलर पनि लिए। मलाई पनि राख भनेका थिए। मेरो सोडा नै धेरै जान्छ किन कोक बेच्नपर्यो भन्ने लाग्यो,’ उनी भन्दै गए, ‘त्यसबेला इन्डियाबाट जुटको बोरामा बाँधेर ल्याउँथे। एक बोरामा ७५ वटा सिसी हुन्थ्यो। काठको क्यारेटमा ल्याउँथ्यो। त्यो बेला कोकाकोलाको टेस्ट भिटामिनको जस्तै थ्यो। बाक्लो हुन्थ्यो, हातमा राख्यो भने हातनै कालो हुन्थ्यो।’

नेपालमा कोकाकोलाको उद्योग नै चले पनि त्यसले आफ्नो व्यापारमा असर नगरेको उनी बताउँछन्।

‘पछि फ्याक्ट्री राखे! अहिले कोकाकोलाको पनि ठूलो बजार भइसक्यो। तर, जति बजार बिस्तार भए पनि मेरो सोडालाई त केहि असर गरेको छैन। अझ चितवन तिर त सोडानै धेरै बिक्रि हुन्छ भनिन्छ।’

अहिले बाहिरी जिल्लातिर पनि सोडाको माग बढिरहेको छ। त्यसैले उनी अब गुणस्तरको लोगो सहित धरान, बिराटनगर, बुटवल, इटहरी र नेपालगञ्ज लगायतको जिल्लामा सोडा सप्लाइ गर्ने योजनामा छन्। सोडा बोतलमा आफ्नै लोगो राख्ने, बिर्कोमा सिल हाल्ने लगायतको काम गर्ने तयारी भएको उनी बताउँछन्।

उनलाई काममा उनको श्रीमतीसँगै छोराहरूले पनि सहयोग गरिरहेका छन्। त्यै भएर पनि यो काम त्यत्तिकै मर्दैन भन्नेमा ढुक्क छन् सुरेश। उनले अहिले सोडाकै २२/२३ वटा स्वाद राखेका छन्।

२० कात्तिक, २०८०, १८:३२:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।