हर्बोबाट शुरू भएको जीबीको ‘ठगी साम्राज्य’ ग्यालेक्सीमा पुगेर ढल्दै, कास्कीपछि पर्सामा पनि पक्राउ पुर्जी

हर्बोबाट शुरू भएको जीबीको ‘ठगी साम्राज्य’ ग्यालेक्सीमा पुगेर ढल्दै, कास्कीपछि पर्सामा पनि पक्राउ पुर्जी

काठमाडौं : अवैध नेटवर्किङ व्यवसाय हुँदै सहकारीको आवरणमा सर्वसाधारण वचतकर्ताको रकम दुरुपयोग गरेर मिडिया लगायतका क्षेत्रमा संलग्न भएका जीबी राई भनिने गितेन्द्रबाबु राईको ठगी घटनामा एकपछि अर्को अदालतबाट पक्राउ पुर्जी जारी हुन थालेको छ।

हर्बो इन्टरनेशलको सामान्य कामदारको रूपमा नेटवर्किङ व्यवसायमा प्रवेश गरेर अर्बौंको सम्पत्ति जोडेका उनी अहिले ग्यालेक्सी टेलिभिजनका अध्यक्षसमेत हुन्।

सात भन्दा धेरै सहकारीमा संलग्न रहेका उनको समूहले वचतकर्ताहरूको १६ अर्ब बढी रकम अपचलन गरेको आरोप लाग्दै आएको थियो। अहिले कानूनी रूपमा फरार रहेका जीबीविरुद्ध जिल्ला अदालत कास्कीबाट पक्राउ आदेश जारी भइसकेको छ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीका वचतकर्ताहरूको रकम अपचलन गरी डेढ अर्ब बढी ठगी गरेको आरोपमा फरारै रहेका जीबीविरुद्ध जिल्ला अदालत पर्साबाट समेत पक्राउ आदेश जारी भएको छ।

जीबी सूर्यदर्शनको संस्थापक अध्यक्ष थिए भने यता सानो पाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पनि उनी संस्थापकै हुन्। अदालतबाट उनीसहित उनका दुई दाजुको नाममा समेत पक्राउ आदेश जारी भएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार अदालतबाट सानो पाइला सहकारीका संस्थापक गितेन्द्र बाबु राई (जीबी), वर्तमान अध्यक्ष अनन्तबाबु राई, उपाध्यक्ष सुनिता श्रेष्ठ, पूर्व उपाध्यक्ष नेहा पौडेल, सचिव देवेन्द्रबाबु राई, पूर्व सचिव तस्विरन मियाँ, कोषाध्यक्ष कुमार रम्तेल, पूर्व कोषाध्यक्ष सृष्टि श्रेष्ठ (मानन्धर), सदस्य थान बहादुर बुढा मगर, धिरज कुमार दास, पूर्व सदस्य अशोक यादव, प्रबन्धक असरफ अली सिद्धिकी र कर्जा अधिकृत राधेचन्द्र यादव विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।

प्रदेश ४ का पूर्व प्रमुख तथा प्रहरी महानिरिक्षक वशन्त कुँवरका पारिवारिक सदस्य बाबुराम कुँवर, नेपाल प्रहरीका पूर्व डिआइजी छविलाल जोशीसँग कुमार रम्तेलसहितका टोली।जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता कुमार थापाका अनुसार राधे चन्द्र पक्राउ परिसकेका छन्। अन्यको खोजी जारी छ।

पक्राउ आदेश जारी भएका अनन्तबाबु र देवेन्द्रबाबु जीबीका आफ्नै दाइहरू हुन्। जीबीको मुख्य सहयोगी तथा ग्यालेक्सी टेलिभिजनको माउसंस्था गोरखा ग्रुप अफ कम्पनी लिमिटेडका उपाध्यक्ष कुमार रम्तेल यसअघि पोखराकै घटनामा पक्राउ परिसकेका छन्।

वीरगंज महानगरपालिकाले भदौ ४ गते सानो पाइला सहकारीलाई समस्याग्रस्त घोषणा गर्दै सञ्चालकहरूको चल/अचल सम्पत्ति रोक्का गरेर पक्राउ गर्न पत्राचार गरे पनि उनीहरू पक्राउ परेका थिएनन्।

वचतकर्ताहरूले रकम नपाएको गुनासो गरेपछि महानगरले सञ्चालकहरूको खोजी गरेको थियो। सञ्चालकहरू सम्पर्कमा नआएपछि महानगरको सहकारी, रोजगार तथा उद्यम प्रवर्द्धन शाखाले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, प्रहरी प्रधान कार्यालय र नेपाल राष्ट्र बैंकमा पत्राचार गरेका थिए।

प्रवक्ता थापाले सहकारीका वचतकर्ताहरू प्रहरी कार्यालयमा आएर उजुरी दिने क्रम जारी रहेकाले अहिले नै कति रकम ठगी भएको खुल्न नसकेको बताए। जीबी समूहले सहकारीको आवरणमा चलाएको ठगी सञ्चालबारे उकेराले निरन्तर सामाग्री प्रकाशित गर्दै आएको छ।

सात वटा सहकारीको १६ अर्ब बढी जोखिममा
पोखरामा रहेको सूर्यदर्शन जीबी समूहको पहिलो सहकारी हो। सानो पाइलासँगै जीबी समूहको काठमाडौंमा स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था, बुटवलमा सुप्रिम बचत तथा ऋण सहकारी संस्था, नेपालगञ्जमा समानता बचत तथा ऋण सहकारी संस्था, चितवनमा सहारा चितवन बचत तथा ऋण सहकारी संस्था समेत समस्याग्रस्त छन्।

जीबी ‘हाम्रो सहकारी’मा समेत आवद्ध देखिएका छन्। यो सहकारीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसमेत जोडिएको देखियो। जीबी समूहको पकडमा रहेको सात सहकारीमध्ये स्वर्णलक्ष्मीसहित तीनवटामा राई नै अध्यक्ष छन्।

उनको मुख्य सहयोगी कुमार रम्तेल अधिकांशमा कोषाध्यक्ष छन्। रम्तेल ४ वटा सहकारीको अध्यक्ष नै छन्। जीबीको दाई अनन्तबाबु राई र  देवेन्द्रबाबु राईको नाममा समेत विभिन्न सहकारी रहेको छ।

अधिकांश सहकारीमा प्रारम्भमा जीबी अध्यक्ष बन्छन्। अनि सहकारीको बचत रकम आफ्नो नाममा रहेको विभिन्न कम्पनीको नाममा ऋण निकालेपछि आफ्नो समूहका अन्य व्यक्तिहरूलाई विस्तारै नेतृत्व दिने गरेको देखिन्छ।

स्वर्णलक्ष्मीमा मात्र बचतकर्ताहरूको तीन अर्ब बढी रकम जोखिममा परेको छ। चितवनको सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताहरूले पटक-पटक आन्दोलन गर्दा पनि रकम फिर्ता पाउन सकेका छैनन्। सहारामा सात हजार बचतकर्ताको ६५ करोड बढी बचत रहेको देखिन्छ।

काठमाडौंको खुसिबुमा रहेको लालिगुँरास सहकारी र नेपालगञ्जमा समानता सहकारी पनि जीबी समूहकै नियन्त्रणमा छ। समानतामा बचतकर्ताहरूको १७ करोड रुपँया वचत छ। प्रहरीले अनुसन्धान शुरू गरेको सानो पाइलामा वचतकर्ताहरूको एक अर्ब बढी वचत रहेको देखिन्छ।

सहकारीको पैसा निकालेर टेलिभिजन
जीबी हर्बो इन्टरनेशनदेखि नै अवैध गतिविधिमा संलग्न रहेको भन्दै विवादमा तानिदै आएका थिए। उनी एकाएक ग्यालेक्सी टेलिभिजनको अध्यक्ष भएपछि चर्चामा आए।

प्रारम्भमा ग्यालेक्सी टेलिभिजन सञ्चालनमा ल्याउन न्यूज २४ टेलिभिजनमा कार्यक्रम चलाएर चर्चा र विवादमा आएका रवि लामिछाने सक्रिय थिए। पछि अध्यक्षको रूपमा जीबी देखिए भने नेपाल प्रहरीका उच्च तहका अधिकारीहरू जीबीको सहयोगीमा देखिएका थिए।

परिवर्तनको सहकार्य ! रविलाई ग्यालेक्सीमा स्वागत गर्दै जिबी राई।सार्वजनिक रूपमा टेलिभिजनको हर्ताकर्ता रवि नै देखिएका थिए। उनले आफ्ना सहयोगीहरूलाई टेलिभिजनमा लग्नेदेखि लिएर अति महत्वाकांक्षी कार्यक्रमहरूसमेत सञ्चालनमा ल्याए।

मासिक खर्च डेढ करोडभन्दा बढी भएपछि आम्दानीले धानेन। जीबीले आफ्नो नियन्त्रणमा रहेको सहकारीमा रहेको सर्वसाधारणको वचत रकम टेलिभिजन सञ्चालनमा खर्च गर्दै गए। गोरखा समूह लगायत अन्य कम्पनीहरू थिए नै।

ग्यालेक्सी टेलिभिजनको प्रशारण शुरू भएदेखि नै जीबी अवैध नेटवर्किङ व्यवसायमा संलग्न रहेको भन्दै विवादमा तानिएका थिए। तर, रविले साथ दिँदै आए।

जीबीको आर्थिक स्रोत घट्दै गयो। टेलिभिजन घाटामा लामो समय चल्न नसक्ने देखेपछि रवि राष्ट्रिय स्वतन्त्र पार्टी बनाएर राजनीतिमा सक्रिय भए। रवि राजनीतिमा सक्रिय रहँदा पनि उनले जीबीलाई सहयोग गर्दै आएको निकट स्रोतले उकेरालाई जानकारी दियो।

हर्बो इन्टरनेशनलबाट उदय, ग्यालेक्सीबाट पतनोन्मुख
जीबी सामान्य कर्मचारीको रूपमा हर्बो इन्टरनेशनमा संलग्न भए र पछि त्यसकै अध्यक्ष भए। युनिटी इन्टरनेशनल धरासायी भएपछि हर्बो पनि डुब्यो।

जीबीले गोर्खा समूह बनाए। हर्बोको सम्पत्ति र दायित्व गोर्खामा सारियो। गोरखा विकास बैंक डुबाउने प्रमुख पात्र डीबी बम्जनमार्फत जीबी सहकारीमा जोडिए। पोखराको सहकारी जीबीको पहिलो सहकारी रहेको जानकारहरू बताउँछन्।

गोर्खा ग्रुपमा रहनेगरी नेचर हर्ब्स इन्टरनेशनल नामक प्रत्यक्ष वस्तु बिक्री गर्ने नेटवर्किङ कम्पनी सक्रिय गराए। यो कम्पनी अहिले पनि सक्रिय देखिन्छ। जीबी पहिला गोर्खा ग्रुपको अध्यक्ष थिए भने पछि कुमार रम्तेल अध्यक्ष भएका थिए।

नेचर हर्ब्स र नेचर नेस्ट कम्पनीको कार्यालय नेपालसँगै भारत, युइई, हङकङ, सिंगापुर, मलेसियार कतारमा समेत छ। ती कम्पनीमार्फत जीबीले सहकारीको वचतकर्ताहरूको रकम विदेश पुर्याउने गरेको जीबीबारे जानकार स्रोतले दाबी गरे पनि उकेराले प्रमाण भने फेला पारेको छैन।

रम्तेल समात्ने प्रहरीले जीबी फेला पारेन
उता कास्कीबाट पक्राउ आदेश जारी भएलगत्तै प्रहरीले कुमार रम्तेललाई पक्राउ गरेर पोखरा पठायो। तर, काठमाडौंमै रहेका जीबी भने अझै पक्राउ परेका छैनन्। उनी अध्यक्ष रहेको टेलिभिजन पनि सञ्चालनमै छ।

जानकार स्रोतका अनुसार ठगी प्रकरणबाट जोगिन उनी निरन्तर शक्ति केन्द्रहरूको सम्पर्कमा छन्। काठमाडौंमा सक्रिय रहेका जीबीले सिंगापुरमा समेत आफ्नो व्यवसाय स्थापना गरेकाले तत्काल पक्राउ नगरे उनी भाग्नसक्ने जोखिमसमेत देखिन्छ।

राज्य व्यवस्था समिति सभापति रामहरीको साथ

साउन २३ गते कम्पनी रजिस्टार कार्यालयले जीबी राई संलग्न रहेको सबै कम्पनीको कारोबार रोक्का गर्यो। उता कास्की प्रहरी सहकारी ठगीमा अनुसन्धानमै थियो।

यता भदौ ११ गते सानेपाको हेरिटेज गार्डेनमा जीबीले नेचर हर्ब्स इन्टरनेशनको तेस्रो वार्षिकोत्सव मनाए। प्रहरीको अनुसन्धानको दायरामा रहेका जीबीको कार्यक्रमको प्रमुख अतिथि थिए राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा।

नेचर हर्ब्सको कार्यक्रममा राज्य व्यवस्था समितिका सभापती खतिवडा जिबी र रम्तेलहरुसहितको कार्यक्रममा।यसअघि पनि जीबीको कार्यक्रमहरूमा राज्य सत्तामा प्रभाव पार्नसक्नेहरू अतिथि र प्रमुख अतिथिको रूपमा सहभागी हुने गरेका थिए। तर, राज्यको कुनै संयन्त्रले उनीबारे अनुसन्धान सुरु गरेको थिएन।

गृह मन्त्रालयको गतिविधिबारे समेत निगरानी र निर्देशन गर्ने शक्तिशाली संसदीय समितिका सभापति रहेका रामहरि भने प्रहरीकै अनुसन्धानको दायरामा रहेका जीबीको कार्यक्रममा गएर सम्बोधन गरे, उनीसँगै उभिएर दियो बाले, जीबीले दिएको ब्याच लगाए।

सम्बन्धित समाचार:

११ असोज, २०८०, १९:२५:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।