ग्यालेक्सी फोरकेका प्रमुख जीबी राईको सात कम्पनीको सम्पत्ति रोक्का, सहकारीका बचतकर्ताहरूको १६ अर्ब जोखिममा

ग्यालेक्सी फोरकेका प्रमुख जीबी राईको सात कम्पनीको सम्पत्ति रोक्का, सहकारीका बचतकर्ताहरूको १६ अर्ब जोखिममा

काठमाडौं : ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक गितेन्द्रबाबु राई(जीबी)ले सहकारीका बचतकर्ताहरूको रकम दुरूपयोग गर्दै खोलेका कम्पनीको सम्पत्ति रोकिएको छ।

उनी प्रमुख रहेका कम्पनीहरू सहकारी ठगीको अनुसन्धानमा रोकिएका हैनन्, बैंकिङ कसुरमा रोकिएका हुन्। बैंकिङ कसुरमा जीवीको सात कम्पनीको सम्पत्ति रोक्का प्रक्रियाबारे उकेराले सोमवार समाचार प्रकाशित गरेको थियो।

राई सञ्चालक रहेको जीबी ग्रुप अफ कम्पनिज् प्रालि, गोर्खा ग्रुप अफ कम्पनी लिमिटेड, नेचर हर्बस् प्रालि, नेचर नेष्ट प्रालि, हर्बो इन्टरनेशनल प्रालि, गोर्खा आयुर्वेद प्रालि र गुप्ती टी इस्टेट प्रालिको सम्पत्ति कम्पनी रजिष्ट्रारको कार्यालयले रोक्का गरेको हो।

कम्पनी रजिष्ट्रार कार्यलयका कानून अधिकृत परासर खरेलका अनुसार बारा प्रहरीले पत्र पठाएपछि ७ कम्पनीको सम्पत्ति रोक्का राख्ने निर्णय गरिएको हो।

‘प्रहरीको पत्रको आधारमा सम्पत्ति रोक्का भइसकेको छ,’ उनले उकेरासँग भने, ‘अब उनले ती कम्पनीका सम्पत्ति केही गर्न पाउँदैनन्।’

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक जयकृष्ण कुर्मीले कम्पनी रजिष्ट्रार कार्यालयमा साउन ९ गते पठाएको पत्रमा ‘गितेन्द्र बाबु राईसमेत सञ्चालक रहेको ७ वटा कम्पनीको लगानी स्रोत के हो? सो को विवरण खुलाई कम्पनीहरूको कसुरजन्य सम्पत्ति साधन रोक्का, नियन्त्रण र जफत ऐनबमोजिम रोक्का राख्न’ भनिएको थियो।

राईविरुद्ध बारा जिल्लाकी नेहा संघाईं, रोहित हालान, मोहित हालान र राधा हालानले ५६ लाख भन्दा बढी रकमको चेक नसाटिएको भन्दै बैंकिङ कसुरमा जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दिएका थिए। सोही पत्रको आधारमा कम्पनी रजिष्ट्रारको कार्यालयले पहिलो चरणमा सम्पत्ति रोक्का राखेर दोस्रो चरणमा सम्पत्तिको स्रोतबारे अनुसन्धान अगाडि बढाएको छ।

१६ अर्ब बढी रकम जोखिममा
राईको कम्पनीको सम्पत्ति रोक्का भएपछि उनी संलग्न गोर्खा ग्रुपका हजार बढी सेयर होल्डरसँगै सातभन्दा बढी सहकारीको बचतकर्ताको रकम भने जोखिममा परेको छ।

राई समूहले देशभर विभिन्न नाममा सहकारीहरू खोलेर त्यसका बचतकर्ताहरूको रकम नीजी कम्पनीमार्फत लगानी गर्दा बचतकर्ताहरूले रकम फिर्ता पाउन सकेका छैनन्।

अवैध नेटवर्किङ कारोबारबाट उदायका जीबी र उनका मुख्य सहयोगीहरू सात वटा सहकारीमा आवद्ध छन्। ती सबै सहकारी अहिले संकटमा छन्।

काठमाडौंमा स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था। पोखरामा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था, बुटवलमा सुप्रिम बचत तथा ऋण सहकारी संस्था, नेपालगञ्जमा समानता बचत तथा ऋण सहकारी संस्था, चितवनमा सहारा चितवन बचत तथा ऋण सहकारी संस्था र वीरगञ्जमा सानो पाइला बचत तथा ऋण सहकारी संस्था जीबी समूहको हो।

योसँगै हाम्रो सहकारी संस्थामा समेत जीबी आवद्ध रहेको विश्वस्त स्रोतले बतायो। हाम्रो सहकारीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसमेत जोडिएको देखियो।

सात सहकारीमध्ये स्वर्णलक्ष्मीसहित तीनवटामा राई नै अध्यक्ष छन्। उनको मुख्य सहयोगी कुमार रम्तेल कोषाध्यक्ष। रम्तेल हर्बोदेखि ग्यालेक्सी फोरकेसम्म जीबीसँगै संलग्न छन्। रम्तेल ४ वटा सहकारीमा अध्यक्ष छन्।

आफ्नो दाइ लगायतकाहरूको नाममा जीबीले थप चार वटा सहकारी चलाइरहेको देखियो। जीबीको दाई अनन्तबाबु राई र भाइ देवेन्द्रबाबु राईको नाममा समेत सहकारी छ।

जीबीले प्रारम्भमा आफू अध्यक्ष भएर सहकारी खोल्ने, सहकारीको बचत रकम आफ्नो नाममा रहेको विभिन्न कम्पनीको नाममा ऋण निकालेर दुरुपयोग गर्ने अनि आफ्नो परिवारका सदस्य वा आफ्नो विश्वासिलो व्यक्तिलाई सहकारीको नेतृत्वमा ल्याउने गरेको देखिन्छ।

जीबी संलग्न रहेका सबै सहकारी अहिले संकटमा छन्। स्वर्णलक्ष्मीका बचतकर्ताहरूले आफ्नो बचत रकम फिर्ता पाएका छैनन्। स्वर्णलक्ष्मीमा बचतकर्ताहरूको तीन अर्ब बढी रकम रहेको देखिन्छ।

चितवनको सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताहरूले पटक-पटक आन्दोलन गर्दा पनि रकम फिर्ता पाउन सकेका छैनन्। सहारामा सात हजार बचतकर्ताको ६५ करोड बचत रहेको देखिन्छ। चितवनको भरतपुर र टाँडीमा यसको कार्यालय रहेको छ।

सहारामा केसीसँगै हेमन्त अधिकारीसँगै जीबीको पारिवारिक सदस्य भूपेन्द्र राई र भाइ देवेन्द्रबाबुसँगै आशिष आनन्द, दाइ अनन्तबाबु राई र छत्रमणी भट्टराई छन्। सहाराको समस्या समाधान गर्न कुमार रम्तेलले संयोजन गरिरहेका छन्।

काठमाडौंमा रहेको स्वर्णलक्ष्मीको कालीमाटी, न्युरोड र महाराजगञ्जमा शाखा थियो। अहिले कालिमाटीमा मात्र छ। काठमाडौंको खुसिबुमा रहेको लालिगुँरास सहकारी र नेपालगञ्जमा समानता सहकारी पनि जीबी समूहकै संलग्नता देखिन्छ। समानतामा बचतकर्ताहरूको १७ करोड रहेको छ।

जीवी राईबारे उकेराले सोमबार प्रकाशित गरेको समाचार।

अनन्तबाबु राई संलग्न रहेको सानोपाइला सहकारीमा बचतकर्ताहरूको एक अर्ब बढी रकम रहेको देखिन्छ।

सहकारी विभागै संरक्षक
एक व्यक्ति एकभन्दा बढी सहकारीको कार्यसमितिमा बस्न नमिल्ने कानून मिच्दै जीबी र कुमार रम्तेल एकभन्दा बढी सहकारीको कार्यसमितिमा रहे पनि सहकारी विभाग अनि प्रदेश सरकारी विभागले वास्ता गरेका छैनन्। बचतकर्ताहरू सहकारीविरुद्ध निवेदन बोकेर जाँदा विभागका अधिकारीहरूले उल्टो फकाएर पठाउने गरेको देखिन्छ।

उकेराले तीन महिनाअघिबाट प्रदेश सहकारी र केन्द्रमा रहेको सहकारी विभागमा जीबी संलग्न रहेका सहकारीको अवस्थाबारे जानकारी माग्दा औपचारिक जानकारी नै पाउन सकेन। केन्द्रले प्रदेशलाई देखायो भने प्रदेशले केन्द्रलाई।

जीबी समूहको कार्यशैलीबारे जानकारस्रोतका अनुसार केन्द्रको विभागदेखि प्रदेशहरूमा रहेको सहकारी विभागमा जीबीको बलियो नेटवर्क छ। उनीहरूकै संरक्षणमा जीबीले लामो समयदेखि सामान्य बचतकर्ताहरूको रकम अपचलन गरिरहे पनि उनीहरूले देखेको नदेख्यै गरिरहेका छन्।

बागमती प्रदेश, बुटवल अनि गण्डकी प्रदेशको सहकारी विभागमा जीबी संलग्न रहेको सहकारीबारे बचतकर्ताहरूले जानकारी गराउँदा बागमतीबाहेक अन्यले वास्ता गरेका छैनन्।

पोखराको शुर्यदर्शन सहकारीका बचतकर्ताहरू त दुई पटक काठमाडौं आइसकेका छन्। स्वर्णलक्ष्मीका बचतकर्ताहरूले बारम्बार कार्यालय घेरेका छन्। तर, सम्बन्धित निकाय मौन देखिन्छन्।

अवैध नेटवर्किङबाट उदय
जीबीको उदय अवैध नेटवर्किङ व्यवसायबाट भएको हो। उनी नेटवर्किङ सम्बन्धी काम गर्ने हर्बो इन्टरनेशनलमा सामान्य कर्मचारीको रूपमा संलग्न भएका थिए। त्यही उनको भेट पुष्पराज पुरुष र कुमार रम्तेल लगायतकासँग भयो। युनिटी इन्टरनेशनल धरासायी भएसँगै हर्बो समेत संकटमा पर्यो।

बिचमा गोर्खा समूहको जन्म भयो। हर्बोको सम्पत्ति र दायित्व गोर्खामा सारेर पुष्पराजसहितको एक समूह अलग भए। पछि यो समूहबीच जग्गा किर्तेको विवाद अदालतसम्म पुग्यो। यो अझै टुङ्गिएको छैन।

जीबी गोरखा विकास बैंक डुबाउने प्रमुख पात्र डीबी बम्जनसँग समेत जोडिएको देखियो। बम्जनमार्फतै उनी सहकारीमा आए। उनी पहिला पोखराको स्वर्णलक्ष्मीमा संलग्न हुँदै गए।

गोर्खा ग्रुपमा रहनेगरी नेचर हर्ब्स इन्टरनेशनल नामको प्रत्यक्ष वस्तु बिक्रीको अनुमति पाएर पुन नेटवर्किङ व्यवसायमा सक्रिय भए।

नेचर्स हर्बमा अवकासप्राप्त प्रहरीहरूले समेत साथ दिए। नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी जीबीका साझेदार भएका थिए। जोशी ग्यालेक्सी टेलिभिजनको व्यवस्थापन समूहमा समेत आवद्ध थिए।

जोशीले उकेरासँग अहिले जीबीसँग आफ्नो कुनै साझेदारी नभएको दाबी गरे। जीबीले पछि नेचर नेस्ट नामक कम्पनी पनि दर्ता गरे। पहिला जीबी नै गोर्खा ग्रुपको अध्यक्ष थिए। पछि कुमार रम्तेल यसको अध्यक्ष भए।

उकेरासँगको भेटमा रम्तेलले आफू गोर्खा ग्रुपसहित केही सहकारीहरूमा संलग्न रहेको स्वीकार्दै जीबी र आफू संलग्न सहकारी मात्र नभई अहिले सबै सहकारीहरू संकटमा रहेको र व्यवस्थापनमा काम गरिरहेको दाबी गरेका थिए।

सहकारीमा अपचलन गरेको रकम विदेशमा !
नेचर हर्ब्स र नेचर नेस्ट कम्पनीको कार्यालय नेपालमा मात्र छैन। नेपालीको बाक्लो संख्या भएको भारत, युइई, हङकङ, सिंगापुर, मलेसियार कतारमा समेत उनीहरुले कार्यालय खोलेका छन्।

उनीहरूले सौन्दर्य प्रशोधनको साधन अनि चियाको आवरणमा नेटवर्किङ शैलीमा व्यवसाय गर्दै आएको देखिन्छ।

जीबीको आर्थिक गतिविधिबारे जानकारहरूका अनुसार उनले सहकारीबाट आफू, आफ्ना परिवारका सदस्यसँगै कर्मचारीहरूको नाममा समेत ऋण निकालेर चलाएका छन्।

सो रकम उनले विदेशमा रहेका कम्पनीहरूमा विभिन्न बहानामा लगिसकेको र उनी ग्यालेक्सी फोरके बिक्री गरेर सिंगापुरमै बस्ने तयारीमा छन्।

ग्यालेक्सी फोरके पछिल्लो समय आर्थिक संकटमा पर्दा धेरै सञ्चारकर्मीहरूले छाडिसकेका छन्। टेलिभिजनको मुख्य योजनाकार रवि लामिछाने टेलिभिजन छाडेर राजनीतिमा सक्रिय भएसँगै उनी निकटहरू पनि बाहिरिए।

पछिल्लो समय टेलिभिजनको व्यवस्थापनमा रम्तेल हावी भएका छन्। टेलिभिजनको मासिक खर्च एक करोड हाराहारी रहेको र आम्दानी ४० लाख हाराहारी मात्र रहेपछि पछिल्लो समय जीबी टेलिभिजन बिक्री गर्ने तयारीमा रहेको र केही समूहसँग छलफल समेत भएको जानकारस्रोतले उकेरालाई बतायो।

सम्बन्धित समाचार:

२३ साउन, २०८०, १६:४०:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।