सहकारी डुबाएको आरोप लागेका राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष भन्छन्' म हुँदा समस्या थिएन'

सहकारी डुबाएको आरोप लागेका राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष भन्छन्' म हुँदा समस्या थिएन'

काठमाडौँ : गतिशील  बचत तथा ऋण सहकारीका पुर्वअध्यक्ष एवं राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष बलराम पाठकले आफू सहकारीको अध्यक्ष हुँदा सहकारीमा कुनै समस्या नभएको दाबी गरेका छन्।

उकेराको रिपोर्टिङमा पाठकले सहकारीको रकम व्यक्तिगत रूपमा अन्यन्त्र लगानी गरी जोखिममा पारेकोबारे समाचार प्रकाशित गरेको थियो। पाठकको कार्यकालमा विभिन्न व्यक्तिको नाममा जग्गामा लगानी गर्दा सहकारी जोखिममा परेको आरोप लागेको थियो।

सहकारीको नाममा ८३ रोपनी जग्गा आएको देखिन्छ। पाठकले उकेरासँग कुरा गर्दै सो जग्गा धितो मार्फत आएको दाबी  गरे। सहकारीको बचतलाई व्यक्तिगत रूपमा जग्गा किन्न प्रयोग गरेको हो भन्ने प्रश्नमा उनले आफूहरूले सहकारीको रकम दुरुपयोग नगरेको दाबी गरे।

‘अहिले सहकारीले पैसा दिन सकेको छैन भन्ने सुनेको छु। अहिले त वित्तीय सङ्कट जताततै छ। सबै एकै पटक रकम माग्न गए बैङ्कले त दिन सक्दैन भने सहकारीले सक्ने कुरै आएन,’उनले भने, ‘मैले विकास थापालाई कार्यकारी अध्यक्ष बनाएको थिएँ। अहिले उहाँ निर्वाचित अध्यक्ष हो। उहाँहरूले हिसाब किताब मिलाउन खोज्दै हुनुहुन्छ।’

पूर्व अध्यक्ष पाठकले बचतकर्ताको रकम दुरुपयोग गरी आफ्नो नाममा घरजग्गामा लगानी गरेका बचतकर्ताहरूको आरोपको खण्डन गरे।

केही समयअघि जग्गाको कित्ताकाट रोकिएपछि बचतकर्ताको रकम डुबेको देखिएको थियो। यसअघि बिमा संस्थानको सञ्चालकसमेत भइसकेका पाठक पाटन क्याम्पसका पार्ट टाइम लेक्चररसमेत हुन्।

जनार्दन शर्मा अर्थमन्त्री हुँदा उनी माओवादी केन्द्रको कोटामा राष्ट्रिय वाणिज्य बैङ्कको अध्यक्षमा नियुक्त भएका थिए। सहकारीले अधिकांश लगानी व्यापारमा गरेको भेटिएको छ। सहकारीले घरजग्गामा १ अर्ब ८७ करोड ३५ लाख रुपैयाँ लगानी गरेको छ।

सहकारीले गाडीमा ६८ लाख ५८ हजार, मुद्दती रसिद धितो कर्जामा ३ करोड ५१ लाख २ हजार र कर्मचारीलाई ७ लाख ८ हजार रुपैयाँ कर्जा लगानी गरेको सहकारीकै प्रतिवेदनमा लेखिएको छ।

संस्थाको कुल पुँजी तथा दायित्व भने २ अर्ब ७६ करोड ४ लाख ९ हजार रुपैयाँ छ ।

संस्थामा बचतकर्ताको कुल २ अर्ब २६ करोड ५७ लाख ३ हजार रुपैयाँ निक्षेप छ । गत आर्थिक वर्षको असार मसान्तसम्म सहकारीले सवा २ अर्ब रुपैयाँ लगानी गरेको देखिएको छ।

२८ बैशाख, २०८०, १५:४०:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।