ठूला बचतकर्तालाई जग्गा दिएर हिसाब मिलाउँदै बुटवलको सुप्रिम सहकारी, साना हेरेको हेर्‍यै

ठूला बचतकर्तालाई जग्गा दिएर हिसाब मिलाउँदै बुटवलको सुप्रिम सहकारी, साना हेरेको हेर्‍यै

बुटवल : गत वर्षको कार्तिकदेखि समस्याग्रस्त बनेको बुटवलको सुप्रिम सहकारीले अहिलेसम्म पनि बचतकर्ताहरुको रकम फिर्ता गर्न सकेको छैन। 

रकम फिर्ता गर्न नसकेको सहकारीले केही ठुला बचतकर्ताहरुसँग भने जग्गा दिएर हिसाब मिलाउन थालेको छ। साना बचकर्ताहरुले भने कहिले रकम फिर्ता पाउने हुन् अत्तोपत्तो छैन।

सहकारीका अध्यक्ष ओम गुरुङले केही बचतकर्ताहरुलाई जग्गा दिएर भए पनि हिसाब मिलान गरेको बताए। उनले १५ जना भन्दा बढीलाई जग्गा दिएर दिनुपर्ने रकमको हिसाब मिलान गरेको उकेरालाई बताए। 

गुरुङले यसै असार २२ गतेसम्म सहकारीलाई मर्ज गरेर लैजाने र त्यसपछि बचतकर्ताको बाँकी रकम फिर्ता गर्ने योजना रहेको बताए।

समस्याग्रस्त रहेको सहकारी मर्ज प्रक्रियामा जानु अस्वाभाविक मानिन्छ। तर सुप्रिमले भने मर्जमा गएपछि सबैको रकम फिर्ता गर्ने भन्दै बचतकर्ताहरुलाई थामथुम पारिरहेको छ।

उता सहकारीले हाल ठुला बचतकर्ताहरुलाई राम्रो जग्गा दिएर भित्र भित्रै हिसाब मिलान गराइरहेको भए पनि साना बचतकर्ताहरु तर्फ भने रकम फिर्ता गर्न चासो देखाएको छैन। अहिले पनि सहकारीमा रकम फिर्ताका लागि पुग्नेहरु रित्तो हात फर्कने गरेका छन्।

अध्यक्ष गुरुङका अनुसार सुप्रिम सहकारी 'हाम्रो नयाँ कृषि सहकारी'मा मर्ज हुने अन्तिम तयारीमा छ। समस्याग्रस्त सहकारी कसरी मर्ज हुन्छ भन्ने जिज्ञासामा अध्यक्ष गुरुङले त्यो सबै प्रक्रिया आफूहरुले मिलाइरहेको बताए।

‘सहकारी मर्जमा गएपछि धेरै सहज हुनेछ। हामीले पनि ऋण नतिर्नेहरुको धमाधम सम्पत्ति लिलामी गर्दैछौं। त्यसैले कसैको पनि पैसा डुब्दैन । केही समय मात्र लागेको हो,’ उनले दाबी गरे।

सामान्य अवस्थामा २ हजार ५ सय सदस्य रहेकोमा सहकारी समस्यामा परेपछि ३ सय बढीले खाता बन्द गरिसकेका छन्। 

‘यो घटना तिहारमा भयो। हामीले तिहारको बेला केही पेमेन्ट दिन सकेनौं। बैंक बन्द भइसकेका थिए। त्यसपछि एक सातासम्म तिहारले सबै बन्द भयो। तर सुप्रिमले पैसा नदिई भाग्यो भनेपछि कार्यालय खुलेपछि सबै बचतकर्ताहरु रकम माग्न आएपछि समस्या आएको हो,’ उनले भने।

सहकारीका कार्यकारी प्रमुख सागर केसी भने अहिले दैनिक २ लाख ५० हजार रुपैयाँ बचतकर्तालाई दिइरहेको बताउँछन्। तर कार्यकारी प्रमुखले यसो भने पनि अहिले पनि धेरै बचतकर्ताहरु रकम नपाएको बताउँदै आएका छन्।

धेरै बचत गर्नेहरुलाई जग्गा दिएर हिसाब मिलान गरेपछि उनीहरुले सहकारीका विषयमा नबोले पनि सानो रकम सहकारीमा हुनेहरुले भने अहिलेसम्म रकम फिर्ता नपाएको बताएका छन्।

बुटवल चौराह स्थित सहकारीको कार्यालयमा अहिले २/३ जना कर्मचारी मात्र छन्। जहाँ प्रमुख कार्यकारीले भने जस्तो दैनिक ५० जनालाई दैनिक २ लाख ५० हजार रुपैयाँ फिर्ता गरेको पाइएको छैन।

बुटवलका न्यौपाने थरका एक बचतकर्ताले सहकारीबाट पाउनुपर्ने ५ लाख रकम अझै फिर्ता नपाएको बताए। ‘जग्गा छ, जग्गा लिनुस् भनेर पनि भन्नुभएको छ। केही पैसा पनि फिर्ता आएको छ। तर दुई महिनादेखि पैसा फिर्ता भएको छैन,’ उनले भने।

बुटवलका मनोज अर्याल आफूले सानो व्यवसायबाट बचत गरेको थोरै रकम सहकारीमा फस्दा समस्यामा परेको बताउँछन्। ‘सहकारीले कहिले पैसा दिन्छ टुंगो छैन। भएको पैसा सहकारीले खायो। अहिले अप्ठ्यारोमा परेको छु,’ उनले भने।

सुप्रिम सहकारीले बुटवल बजारबाट मात्रै १ अर्ब २० करोड रुपैयाँ संकलन गरी सहकारी ऐन विपरीत लगानी गरेको थियो। सो रकम लगानीकर्ताबाट फिर्ता नआएपछि समस्या परेको देखिन्छ।

सुप्रिम सहकारीले बुटवलमा रकम संकलन गरे पनि काठमाडौंका मिटरब्याजीहरूलाई लगानी गरेको र सरकारले मिटरब्याजीहरूलाई कडाइ गरेपछि रकम उठ्न नसकेको आशंका सहकारी अभियन्ताहरूको छ।

लुम्बिनी प्रदेश सहकारी रजिष्टार भीमप्रसाद तिवारीले सुप्रिमका बारेमा गुनासो आएपछि सहकारीको स्थलगत निरीक्षण गरेको बताए। उनले सहकारीलाई कसरी बचतकर्ताको रकम फिर्ता गर्ने भन्ने बारे कार्ययोजना माग गरेको र सहकारीले आगामी पुस भित्र सबैको रकम तिर्ने गरी कार्ययोजना पेस गरेको बताए।

‘कार्ययोजना पेस गरेको भए पनि विश्वसनीय आधार छैन। त्यसैले कारबाहीका लागि सिफारिस गर्ने पनि सोचेका छौ,’ उनले भने।

उनले समस्याग्रस्त रहेका सहकारीहरुलाई कार्यालयमा ल्याएर रकम फिर्ताको कागज गराउने, हर हिसाब हेर्ने र भुक्तानीका लागि दवाव दिने काम पनि भइरहेको बताए।

यसका संस्थापक अध्यक्ष जिवी राई हुन्। उनी हर्वोसँगै नेचर्स हर्ब र ग्यालेक्सी टेलिभिजनमा संलग्न छन्। सहकारीको अधिकांश वचत उनले विभिन्न ब्यक्तीको नाममा ऋणको रुपमा निकालेर नीजि ब्यवसायमा लगानी गरेको जानकारस्रोतकझ दाबी छ।

सहकारी ठगी सम्बन्धि समाचार

१४ असार, २०८०, ११:५६:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।