इच्छाराजलाई पत्याउँदा डिल्ली दम्पतीको राष्ट्र सङ्घको जागिरकालको बचत सिभिलमा फस्यो, पैसा फिर्ता पाउने छैन संकेत

इच्छाराजलाई पत्याउँदा डिल्ली दम्पतीको राष्ट्र सङ्घको जागिरकालको बचत सिभिलमा फस्यो, पैसा फिर्ता पाउने छैन संकेत

काठमाडौँ : डिल्ली भट्टराई उमेरले ७० पुगिसके। ३५ वर्षे जागिरेकालमा उनी नेपालभन्दा धेरै विदेशमै रहे।

संयुक्त राष्ट्रसंघमार्फत उनले विभिन्न १६ मुलुकमा पुगेरै काम गरे। उनकी श्रीमती मिरा पनि भिजिटिङ प्रोफेसर। 

केही वर्षअघि मात्रै डिल्ली र मिराले अवकाश पाए। उमेरमा कमाएको पैसाको ब्याजैबाट भए पनि बुढेसकालमा घर खर्च चलाउने योजना बनाएका थिए उनीहरूले। तर, उनीहरूको त्यो योजना भाताभुङग बनाइदिए इच्छाराज तामाङले।

बुढेसकालमा आरामले घरमा बस्नुपर्ने बेला उनीहरू अहिले माइतीघर मण्डलामा आफ्नै बचत रकम पाउन दबाब दिन धाइरहेका छन्।

२०७३ सालमा भट्टराईले इच्छाराज तामाङ अध्यक्ष रहेको सिभिल बचत तथा ऋण सहकारीमा जीवनभरको बचत रकम जम्मा गरे।

सांसद समेत भइसकेका, सहकारीको कार्यालय कुनै बैङ्कको भन्दा कम नभएको देखेपछि भट्टराई दम्पतीले सिभिलमा रकम जम्मा गरेका थिए।

बैङ्कमा  ब्याजदर त्यतिबेला १२ प्रतिशत थियो। सहकारीमा १२.५ प्रतिशत। परिवारले सहकारीमा राख्दा हुन्छ भन्ने सल्लाह दिए। उनी पनि सहमत भए।

नेपालको चर्चित हाउजिङ कम्पनी। सांसद भइसकेका। अनि बैङ्कका अध्यक्ष पनि रहेका इच्छाराजले आफ्नो इच्छा पुरा गर्ने झोकमा यसरी दुख देलान् भन्ने भट्टराई दम्पतीले सोच्दै सोचेनन्। ठगी गिरोह चिन्न नसकेको अहिले दुःखी छन् दुवै।

‘मलाई त सिभिल सहकारीबारे केही थाहा थिएन। यो सहकारीले ठगी गर्छ भन्ने गाइँगुइँ भइसकेको रहेछ। म नेपाल धेरै नबस्ने भएर कुन सहकारी कस्तो भन्ने पनि थाहा थिएन,’ उनले भने’आफन्तले सिभिल राम्रो छ पैसा राख्दा हुन्छ भनेर राखेँ। पछि थाहा भयो। तामाङको नियत त सहकारीको आवरणमा ठगी गर्ने पो रहेछ।’

 भट्टराईका अनुसार उनको नाममा २० लाख, मिराको नाउँमा ५० लाख रुपैयाँ सिभिल सहकारीमा बचत छ। उनीहरू सहित परिवारको अन्य सदस्यको समेत गरेर २ करोड १० लाख बराबरको रकम सिभिल सहकारीमा फसेको उनले बताए।

‘काठमाडौँ जिल्ला अदालत, विशेष अदालत, उच्च अदालत जताततै मुद्दा छ उनीहरूको। हामी बचतकर्तालाई उच्चस्तरीय संयन्त्र बनाएर रकम फिर्ता गरिदिए जीवन सहजताका साथ चल्थ्यो,’उनले भने, ‘सरकारले यतातर्फ वास्तै गरेन।  न त अहिले कमाउन सक्छौँ न पुरानो पैसा साथमा छ। बिचल्लीमा पर्यौ।’

साधारण सभा गरेर चोखिन खोजे इच्छाराज

 अहिले इच्छाराज पुर्पक्षका लागि हिरासतमा छन्।  तर उनले जेलभित्रबाट सिभिल सहकारीको साधारण सभा गर्ने तयारी गरिरहेको सूचना पाएका छन् भट्टराइले। केही बचतकर्ताहरू उनको प्रलोभनमा फसेको उनको आशङ्का छ।

‘केही बचतकर्तालाई लोभ्याएर साधारण सभामार्फत हिसाब किताब मिलाउन जेलमै बसेर काम हुँदै छ भन्ने सुनेको छु,’भट्टराईले भने,‘आफूले ठगेको रकम चोख्याउन प्रपञ्च हुँदैछ।’

बचत गरेको रकम सिभिल सहकारीले नदिएपछि केही बचतकर्ता केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा  उजुरी दिन पुगेका थिए।

त्यसपछि २०७८ असोज १८ गते इच्छाराज पक्राउ परे। सुरुवातमा केहीले उजुरी दिए पनि पछि उजुरी दिनेको सङ्ख्या १ हजार ५ सय ३३ जना पुग्यो।

तामाङ  सहित उनकी श्रीमती सिर्जना शाक्य र केशवलाल श्रेष्ठ अहिले पनि कारागारमै छन्। कारागारबाटै सहकारीको सम्पत्ति हिनामिना गरिरहेको भट्टराइको आरोप छ।

प्रहरी अनुसन्धानमा २ हजार १ सय बचतकर्ताको ८ अर्ब ५७ करोड रुपैयाँ इच्छाराज  तामाङ र केशवलाल श्रेष्ठले आफ्नो  निजी कम्पनीका लागि बिना धितो ऋण लिएर, रकम नतिरी सहकारीलाई टाट पल्टाएका थिए।

इच्छाराज र केशवले सिभिल सहकारीका जग्गामा करिब ११०० घर वा अपार्टमेन्ट बनाएर करिब ११ अर्ब रुपैयाँमा बेचेर सो रकम बेपत्ता बनाएका थिए।

उनीहरूले सिभिल सहकारीको सोल्टिमोडमा रहेको १ अर्ब रुपैयाँ भन्दा बढी पर्ने हेड अफिस बिल्डिङ निजी कम्पनी सिभिल ग्रुपमा लगेका छन्।

करिब १० अर्ब रुपैयाँ पर्ने सिभिल इस्टेट्स प्रालि (सिटिसी मल र सिभिल लक्जरी सिडेन्स) मा रहेको सिभिल सहकारीको सबै सेयर गैर कानुनी तवरले इच्छाराजको नाममा सारेको भट्टराईको आरोप छ। 

तामाङले विभिन्न सहकारी तथा सिभिल नाम गरेका s/lj २२ वटा निजी कम्पनी मार्फत विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब भन्दा बढी रुपैयाँ ऋण लिएर सिभिललाई ऋण बोकाएका थिए।

सिभिल सहकारीको सबै चल तथा अचल सम्पत्ति (करिब ३५ अर्ब रुपैयाँ) मध्ये इच्छाराजले ९०% र केशवलालले करिब १०% आफ्नो निजी बनाउने खोजेको बचतकर्ताको आरोप छ।

तामाङले गैर कानुनी रूपमा सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण गरेको सम्पत्ति लुकाउन २०७४ सालमा आफ्ना श्रीमती र दुई छोरीलाई अंशबन्डा गरेको उनको दाबी छ । 

२०७९ साल भदौ १६ गते सम्पत्ति शुद्धीकरण विभागले ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३ सय ९७ रुपैयाँ कसुरबाट आर्जित गैर कानुनी सम्पत्ति रहेको औँल्याएको थियो।

सर्वसाधारणको रकम आफ्नै कम्पनीमा लगानी गरेको र तामाङले अंशबन्डा गरी रकम अपचलन गरेको पुष्टि गर्दै विशेष अदालतमा मुद्दा दायर भएको थियो। यो मुद्दा अहिलेसम्म किनारा लागिसकेको छैन। 

६ असार, २०८०, १७:१७:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।