सूचना टाँसेर शिव शिखर सहकारीका सञ्चालक सम्पर्कविहीन, बचतकर्ता तनावमा

सूचना टाँसेर शिव शिखर सहकारीका सञ्चालक सम्पर्कविहीन, बचतकर्ता तनावमा

सुर्खेत: सुर्खेतस्थित शिव शिखर सहकारीका सञ्चालकहरू सुरक्षा र आर्थिक मन्दीको कारण देखाएर सहकारी र मार्ट बन्द गरेर सम्पर्कविहीन भएका छन्।  कार्यालयको सटरमा सूचना टाँसेर उनीहरू सम्पर्कविहीन भएका हुन्।

एक महिनायता शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाबाट बचत फिर्ता माग्नेहरूको सङ्ख्या बढेको थियो। सहकारीकोे सुर्खेत शाखाका सेवाग्राहीले सहकारीप्रति विश्वास नभएको भन्दै आफ्नो बचत रकम फिर्ता मागेका थिए।

‘दुई हजार रुपैयाँको चेक साट्न माघ १८ गतेदेखि निरन्तर आइरहेकी छु। अर्को दिन आउनू आज पैसा छैन भन्दै सहकारीका कर्मचारीले कुराउनुभयो’, कार्यालयमै पुगेकी बचतकर्ता नवीता शाहीले भनिन्, ‘अहिले त सूचना टाँसेर बन्द नै गरिएको छ। अब कसरी पैसा असुल्ने होला भन्ने चिन्ता बढेको छ।’

वीरेन्द्रनगर–४ की सावित्री परियारले पनि चेक साट्न तीन पटक धाउँदा समेत नगद नपाएको र चौथो पटक आउँदा सहकारी नै बन्द भएको गुनासो गरिन्। उनले उक्त सहकारीमा बाल बचत र मुद्दती खातामा एक लाख १२ हजार बढी जम्मा गरेकी छन्।

‘कमाएको केही रकम छोराछोरीको नाममा बाल बचत खातामा जम्मा गरेको थिएँ’, उनले भनिन्, ‘धाउँदा– धाउँदा पनि  रकम फिर्ता पाएनौँ। अहिले सहकारी नै बन्द छ। त्यत्रो पैसा कसरी असुल गर्ने होला?’

शाही र परियार मात्रै होइन, पछिल्लो सयम शिव शिखर सहकारीप्रति अविश्वासका कारण बचत रकम फिर्ता माग्नेहरूको सङ्ख्या बढ्दो छ।

पछिल्लो समय सहकारीहरूमा बेथिति रहेको भन्दै सडकदेखि सदनसम्म आवाज उठिरहेका छन्। जसका कारण बचतकर्ताहरू ब्याजभन्दा पनि साँवा कसरी असुल्ने भन्ने चिन्तामा छन्।

शिव शिखर सहकारीको सुर्खेत शाखामा विभिन्न सात किसिमका बचत खातामा कारोबार हुने गरेको थियो। जसमा करिब सात हजार बचतकर्ता छन्।

दैनिक ५० लाखदेखि एक करोडसम्मको कारोबार गर्ने सहकारीका सञ्चालकहरू एकाएक कार्यालयमा ताला ठोकेर सम्पर्कविहीन भएका हुन्।

फागुन १५ गते सहकारीद्वारा जारी सूचनामा भनिएको छ, ‘हाल देशमा चलिरहेको आर्थिक मन्दीको कारण सम्पूर्ण सङ्घ संस्थाहरूले मार खेपिरहेको वर्तमान अवस्थामा आर्थिक तरलताको चपेटमा सञ्चालित शिव शिखर सहकारी संस्थाको सुर्खेत शाखामा पनि प्रभाव परेको हुँदा यस सहकारी संस्थाले पुँजी व्यवस्थापन नभएसम्म कार्यालयको सेवामा केही कठिनाइ भएको हुँदा सहकारीद्वारा सञ्चालित गार्डेन मार्ट स्टोरमा सेवाग्राहीले लुटपाट गर्ने तथा कर्मचारीमाथि हातपात एवम् अङ्गभङ्ग गरिदिने लगायतका धम्की आइरहेकाले स्टोरलाई केही दिनका लागि बन्द गरिएको जानकारी गराउन चाहन्छौँ।’

१८ फागुन, २०७९, २१:०६:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।