शिव शिखर सहकारीको ठगी जालो : ३५ जिल्लाको शाखाबाट १० अर्ब वचत गराएर आफ्नै ३५ उद्योगमा लगानी

शिव शिखर सहकारीको ठगी जालो : ३५ जिल्लाको शाखाबाट १० अर्ब वचत गराएर आफ्नै ३५ उद्योगमा लगानी

काठमाडौं : सहकारीको आवरणमा बदनियत राख्नेहरुले कतिसम्मको फट्याई गर्नसक्छन् भन्ने केस स्टडीको नमुना नै देखियो शिव शिखर बहुद्देश्यीय सहकारी संस्था लिमिटेड। अनि राज्य संयन्त्र सर्वसाधारणको हितको संरक्षणप्रति कति गैर जिम्मेवार छ भन्ने उदाहरण पनि यही सहकारी बनेको छ। 

वचत मात्र हेर्ने हो भने पनि यस सहकारीमा सर्वसाधारण नागरिकको १० अर्ब ७७ करोड रकम रहेको देखिन्छ। एक लाख ६८ हजार वचतकर्ता देखिएका छन्।

यस संस्थाले ३५ जिल्लामा शाखा विस्तार गरेर सर्वसाधारणको रकम वचतको रुपमा उठाएर विभिन्न व्यवसायमा लगाइ व्यक्तिगत प्रयोजनमा खर्चियो। जब लगानी जोखिममा पर्यो सञ्चालक भागे।  

यसको बदमासीबारे अनुसन्धान गरिरहेको सीआईबीका अनुसार यसले डोटी, धादिङ, गुल्मी, दोलखा, इलाम, कैलाली, दैलेख, अर्घाखाँची, नुवाकोट, कपिलवस्तु, रुपन्देही, नवलपरासी, कास्की, गोरखा, काठमाडौं, ललितपुर, काभ्रेपलान्चोक, मकवानपुर, चितवन, भक्तपुर, रामेछाप, सिन्धुली, ओखलढुङ्गा, ताप्लेजुङ लगायतका ३५ जिल्लामा एकीकृत संस्थाको कार्यक्षेत्र फैलाएको थियो। 

यसका सञ्चालकहरुले सहकारीमा रहेको वचतको लगानीबाट ४३ वटा कम्पनी खोलेको थिए। ती कम्पनीहरुको नाममा मात्र २ सय ८९ वटा सवारी साधनहरु छन्।

ब्यूरोका अनुसार सहकारी सञ्चालकहरुले सदस्यको बचत ऐन नियम, विनियम बमोजिम बाहेक अन्य प्रयोजनको लागि प्रयोग गरेको, तोकिएको भन्दा बढी रकम ऋण दिंदा जमानत वा सुरक्षण नराखी ऋण दिएको, समितिको सदस्य, व्यवस्थापक समेतले सहकारी संस्थाको सम्पत्ति, बचत वा शेयर रकम हिनामिना गरेको उल्लेख छ।

यसैगरी सहकारीले ऋण असुल हुन नसक्ने गरी समितिका सदस्य, नातेदारलाई ऋण दिएको, समितिका पदाधिकारीहरु र व्यवस्थापक समेतको मिलेमतोमा सहकारी संस्थाको शेयर वा बचत रकम आफू खुसी परिचालन गरेको ब्यूरोको दाबी छ।

सहकारीले ऐन र ऐन अन्तर्गत बनेका नियम विनियम विपरीत लगानी गरेको वा लगानी गर्ने उद्देश्यले रकम उठाएको, सर्वसाधरणहरुलाई विभिन्न सुविधाको लोभमा पारी वचत गर्न लगाई ठगी गरेको, संस्थाको विनियममा नियामक निकायवाट स्वीकृत शेयर पुँजी ६ लाख २८ हजार भए पनि उनीहरुले ६६ करोड ६५ लाख शेयर पुँजी संकलन गरेका थिए। 

बल्ल फन्दामा परे मास्टर माइन्ड 

रकम दुरुपयोगको मुख्य योजनाकार केदारनाथ शर्मा न्यौपाने देखिएका छन्। तर उनी सहकारी समस्यामा परे लगत्तै फरार भएका थिए। भागेर भारत पुगेका उनलाई सीआईबीले पक्राउ गरेर मंगलबार नेपाल ल्याइसकेको छ।

सहकारीको जालो फैलाउनेदेखि यसको रकम दुरुपयोगसम्ममा यिनै केदार मास्टर माइन्ड हुन्। उनले शिखर अर्गनाइजेशन नै बनाएर त्यसको निर्देशक आफ्नी श्रीमती गीता शर्मालाई बनाएका थिए। उनले विभिन्न कम्पनी खोलेर लगानी यसैबाट गर्थे। 

सहकारीको वचत रकमबाट उनले दर्जनौ कम्पनी खोलेका थिए। तर ती कम्पनीहरु भने शिखर अर्गनाइजेसनका थिए। अर्गनाइजेसन अन्तर्गत शिव शिखर खाद्य उद्योग, शिखरदीप फुड इन्डस्ट्रिज, गोरखा टी एन्ड कफी, गोरखा वेभरेज, तुलसी मोटर पम्प, त्रिवेणी आयल एन्ड फ्लोर, शिखर दीप एग्रो, नटराज एग्रो, गार्डेन मार्ट, टेक्नो डाउन, शिव शिखर एग्रो अनुसन्धान केन्द्र, नेपा शिखर अर्गनाइजेसन, न्यु गोल्डेन, एभरेस्ट, शिखर इलेक्ट्रोनिक्स एन्ड अटोमोबाइल्स, उपकार गार्मेन्ट, शिव शिखर खाद्य उद्योग आदी खोलेका थिए।

यसैगरि आधुनिक शिवशक्ति कृषि अनुसन्धान केन्द्र, डिजिटल शिखर प्रालि, हिमालयन लायन कन्स्ट्रक्सन एन्ड मल्टी सोलुसन प्रालि, काइन्डल्ली केयर इन्ड्रस्ट्री, शिव शिखर इन्भेस्टमेन्ट, उपकार हाइड्रो इन्ड इनर्जी, उपकार मिडिया, उपकार आयल इन्ड्रस्टिज र तुलसी एग्रो समेत सहकारीकै रकमबाट खोलेको देखिएको छ।

बजारमा चल्तीको चामलको ब्राण्ड उपकार यही समूहको उत्पादन हो। उनले उपकार ब्राण्डका लागि भारतको राजस्थानबाट धान किन्ने गर्थे। उनले यही सम्बन्ध प्रयोग गरेर राजस्थानमा समेत लगानी गरेको भेटिएको प्रहरीको दाबी छ।

११ जना प्रतिवादी, चार जना पक्राउ

सहकारी ठगीमा ११ जना प्रतिवादी छन्। त्यसमध्ये प्रहरीले गीतासहित पुष्कर मल्ल र अमिश राजभण्डारीलाई पक्राउ गरिसकेको थियो। यी तीनै जना अहिले पुर्पक्षका लागि थुनामा छन्। 

केदारनाथ सोमबार पक्राउ परेकाले प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान अगाडि बढाउने तयारी गरेको छ। 
ब्यूरोका अनुसार हालसम्म एक हजार २ सय ९२ जना वचतकर्ताबाट १ सय नौ वटा जाहेरी आएका छन्। त्यसको कुल बिगो ६६ करोड ३१ लाख हुन आउँछ। अन्य वचतकर्ताहरुले जाहेरी दिएका छैनन्।

१२ असार, २०८०, १४:३८:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।