सहकारी सञ्चालकबीच बचतकर्ता ठग्ने प्रतिस्पर्धा : ६ अर्बबाट सुरू भएको ठगी रकम पुग्यो १५ अर्ब

सहकारी सञ्चालकबीच बचतकर्ता ठग्ने प्रतिस्पर्धा : ६ अर्बबाट सुरू भएको ठगी रकम पुग्यो १५ अर्ब

काठमाडौं : ओरियन्टल सहकारीले बचतकर्ताहरूको डुबाएको रकमको मात्रा सार्वजनिक हुँदा धेरैले जिब्रो काटेका थिए। त्यसका प्रमुख सुधीर बस्नेतमाथि करिब ६ अर्ब घोटाला गरेको आरोप लागेको थियो। उनी पक्राउ परे। केही समय जेल पनि बसे। अहिले बाहिरै छन् उनी।

बस्नेत हाउजिङ व्यवसायमा जोडिएका थिए। हाउजिङकैक्रममा सहकारी समेत खोलेका उनको सहकारीमा बचत भएका अधिकांशहरू उनकै हाउजिङका क्रेता थिए। उनले समयमा हाउजिङको निर्माण गर्न सकेनन्। न बचतकर्ताको रकमै फिर्ता गर्न सके।

जब सिभिल सहकारीको ठगी सार्वजनिक भयो ओरियन्टल छायामा पर्यो। सिभिल होम्सको रूपमा हाउजिङ अनि सिभिल बैङ्कमार्फत वित्तीय क्षेत्रमा सक्रिय इच्छाराज तामाङमाथि बचतकर्ताको नौ अर्ब बढी रकम अपचलन गरेको अभियोग लाग्यो।

उनी हाउजिङ र अपार्टमेन्टसँगै सपिङ मलको व्यवसायमा समेत संलग्न थिए। उनले बचतकर्ताहरूको रकम फिर्ता गर्न सकेनन्। लामो समय राजनीतिक संरक्षणमा जोगिएका उनी विरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरेपछि उनी अहिले पुर्पक्षका लागि कारागारमै पुगे।

यहीबिचमा टेकुमा रहेको अर्को सहकारी गौतम श्री सहकारीका अध्यक्ष रामबहादुर गौतम पनि बचतकर्ताको रकम फिर्ता नगरेको विवादमा तानिए। उनको सहकारीमा सर्वसाधारणको पाँच अर्ब बढी रकम बचत रहेको खुलेको थियो। सहकारी विभागमा बचतकर्ताहरूले उजुरी दिएका थिए।

यी सबैलाई माथ गरिदिए शिव शिखर सहकारीका अध्यक्ष केदारनाथ शर्मा न्यौपानेले। केन्द्रीय अनुसन्धान ब्युरोले मङ्गलवार पक्राउ गरेको न्यौपानेमाथि बचतकर्ताको १६ अर्ब बढी रकम जोखिममा पारेको आरोप छ।

उनको श्रीमती यही अभियोगमा कारागार गइसकेकी छिन्। उनी भने भागेर भारत पुगेका थिए। प्रहरीले उनलाई भारतमै पुगेर पक्राउ गरेर नेपालमा ल्याएको हो।

प्रहरीको अनुसन्धानमा यसका बचतकर्ताहरू मात्र एक लाख ६८ हजार रहेको देखिन्छ।

सहकारीले ३५ जिल्लामा शाखा विस्तार गरेर सर्वसाधारणको रकम बचतको रूपमा उठाएको थियो। सहकारीमा रहेको सर्वसाधारणको बचतको दुरुपयोग गर्दै उनले ४३ वटा कम्पनी खोलेको ब्युरोको अनुसन्धानमा देखिएको छ।

सरकारीको रकम निजी कम्पनीमा लगानी

उनले शिखर अर्गनाइजेशन नामक प्राली स्थापना गरेका थिए। यो उनको निजी कम्पनी हो। उनले आफ्नी श्रीमती गीता शर्मालाई निर्देशक बनाएर यही अर्गनाइजेशनको नाममा ४३ वटा निजी कम्पनी खोलेका थिए।

अर्गनाइजेसन अन्तर्गत शिव शिखर खाद्य उद्योग, शिखर दीप फुड इन्डस्ट्रिज, गोरखा टी एन्ड कफी, गोरखा वेभरेज, तुलसी मोटर पम्प, त्रिवेणी आयल एन्ड फ्लोर, शिखर दीप एग्रो, नटराज एग्रो, गार्डेन मार्ट, टेक्नो डाउन, शिव शिखर एग्रो अनुसन्धान केन्द्र, नेपा शिखर अर्गनाइजेसन, न्यु गोल्डेन, एभरेस्ट, शिखर इलेक्ट्रोनिक्स एन्ड अटोमोबाइल्स, उपकार गार्मेन्ट, शिव शिखर खाद्य उद्योग लगायतका कम्पनी खोलेर सहकारीका बचतकर्ताको रकम निजी कम्पनीमा लगानी गरेका थिए।

उनले ती कम्पनीहरूका लागि भनेर विभिन्न बैङ्कहरूमाझ पाँच अर्बभन्दा बढी ऋण लिएको समेत प्रहरी अनुसन्धानमा खुलेको छ। बचतकर्ताको बचत त जोखिममा पर्यो नै बैङ्कहरूमा रहेको निक्षेपकर्ताहरुको निक्षेप समेत जोखिममा परेको छ।

उनले भारतको राजस्थानमा सहकार्य गरेर उपकार चामलको उत्पादन गर्ने गरेका थिए। यही क्रममा उनले ६ अर्ब बढी रकम भारत पूर्याएर लगानी गरेको देखिएको छ।

बचतकर्ताहरूको रकम फिर्ता नदिएका सहकारीहरूको सङ्ख्या हेर्दा यो क्रम यही रोकिने भने देखिँदैन। अहिले पनि चितवन, काठमाडौँ, पोखरा अनि ललितपुर लगायतका जिल्लामा रहेका केही सहकारीहरूले बचतकर्ताको रकम फिर्ता दिन सकेका छैनन्।

अब कसको पालो ?

चितवनको सहारा चितवन बचत बहुउद्देश्यीय सहकारीमा बचतकर्ताहरूको ६५ करोड बढी रकम रहेको देखिन्छ। बचतकर्ताहरूले चितवनको तीन स्थानमा रहेको सहकारीको कार्यालयमै गएर आफ्नो रकम माग्दा पाएका छैनन्।

चितवनको भरतपुर, टाँडी अनि पर्सामा यसको कार्यालय रहेको छ। सागर केसी अध्यक्ष रहेको यो सहकारीको उपाध्यक्ष हेमन्त अधिकारी हुन्। भूपेन्द्र राई, देवेन्द्रबाबु राई, आशिष् आनन्द, अनन्तबाबु राई र छत्रमणी भट्टराई यसका सञ्चालक हुन्।

पोखराको सुदर्शन बहुउद्देश्यीय सहकारी लिमिटेड, कालीमाटीमा रहेको  स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीका बचतकर्ताले पनि आफ्नो बचत रकम पाएका छैनन्। बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारी, सानो पाइला बचत तथा ऋण, कल्याण उपकार सेभिङ एन्ड कोअपरेटिभ लिमिटेड, लालिगुँराश बचत तथा ऋण सहकारी पनि सङ्कटमा छन्।

भ्रष्टाचार विरोधी अभियन्ताका रूपमा परिचित भरत जङ्गम अध्यक्ष अनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी श्रीमती निकिता पौडेल उपाध्यक्ष रहेको साई स्वागत बचत तथा ऋण सहकारी संस्था विरुद्ध काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा उजुरी नै परिसकेको छ। यो सहकारीमा बचतकर्ताको पाँच करोड बढी रकम रहेको खुलेको छ।

केही सहकारी सञ्चालकहरूको व्यवसायको मोडल हेर्दा ठ्याक्कै शिव शिखरकै शैली देखिन्छ, विभिन्न सहकारी खोल्ने, बचतकर्ताको रकम लगेर निजी व्यवसाय गर्ने।

ब्यूरोस्रोतका अनुसार यी सहकारीहरू पनि प्रहरीको निगरानीमा छन्। भाग्न नपाउन भनेर केही विवादमा आएका केही ठुला सहकारीका सञ्चालक आन्तरिक रूपमा निगरानीमा छन्। केही सहकारीका बचतकर्ता प्रहरीको सम्पर्कमा पनि नआएका हैनन्। तर अधिकांश सहकारीका बचतकर्ता प्रहरीको सम्पर्कमा नआएको अनुसन्धानस्रोतले उकेरालाई जानकारी दियो।

सहकारी ठगी सम्बन्धि समाचार

१२ असार, २०८०, २१:२९:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।