महानगरले ललितपुरका १० सहकारी खारेज गर्‍यो, कारोबार नगर्न सार्वजनिक सूचना

महानगरले ललितपुरका १० सहकारी खारेज गर्‍यो, कारोबार नगर्न सार्वजनिक सूचना

ललितपुर : लेखा परीक्षण प्रतिवेदन र साधारण सभाबारे विवरण नबुझाएको भन्दै ललितपुर महानगरपालिकाले ललितपुर क्षेत्रमा रहेका १० वटा सहकारी संस्थाको अनुमति खारेज गरेको छ। पाँच वर्षदेखि प्रतिवेदन नबुझाएको भन्दै उसले १० सहकारी खारेज गरेको सार्वजनिक सूचना निकालेको हो।

सूचना अनुसार महिला सिप विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, बडीखेल पर्यटन सहकारी संस्था लिमिटेड, प्रयास पर्यटन सहकारी संस्था लिमिटेड, एभरग्रिन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कुसुन्ती बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, पारसीदेवी महिला विकास बचत तथा ऋण सहकारी संस्था, राजवृक्ष जडीबुटी सहकारी, एभरेस्ट कृषि सहकारी, रात सूर्य सूचना तथा सञ्चार सहकारी र भृगेश्वर उपभोक्ता सहकारी खारेज भएका हुन्।

महानगरको सहकारी ऐन, २०७५ अनुसार ५ वर्ष भन्दा बढी अवधिदेखि लेखा परीक्षण तथा साधारण सभा नगर्ने र विवरण नबुझाउने सहकारी संस्था खारेज गरेको सूचनामा उल्लेख छ। सम्पर्कका लागि बोलावट भएका सहकारीहरूबाट सम्बन्धित पक्ष सम्पर्कमा नआएकोले २९ माघको बैठकले उक्त सहकारी संस्थाहरू खारेज गर्ने निर्णय भएको महानगरले जनाएको छ।

खारेज भएका १० वटा सहकारी संस्थाहरूले तिर्नु बुझाउनु पर्ने कुनै दायित्व भए सम्बन्धित व्यक्तिले प्रमाण सहित साबिकका सञ्चालक समितिका पदाधिकारीहरूसँग सम्पर्क गरी फरफारख गर्न र अव उप्रान्त उक्त संस्थाहरूको नामबाट कुनै पनि कारोबार नगर्न/नगराउनु भनेको छ।

१४ फागुन, २०७९, १४:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।