​​​​​​​पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेश र ग्यालेक्सी टिभीका कुमारको 'ठगी जालो' ! सहारा दिनेको घर-जग्गा लिएर मुद्दा

​​​​​​​पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेश र ग्यालेक्सी टिभीका कुमारको 'ठगी जालो' ! सहारा दिनेको घर-जग्गा लिएर मुद्दा
कुमार रम्तेललाई विक्री गर्दा दुख पाइरहेको घर हेर्दै सिंह।

काठमाडौं : उमेरले ८४ वर्ष पुगिसके माधवलाल सिंह। गोदावरीमा बस्ने उनी अवकाश प्राप्त प्रशिक्षक पाइलट हुन्। २०५९ सालमा अवकाश हुँदा उनी तत्कालीन शाही नेपाली वायुसेवा निगमको निर्देशक थिए। दुई वटा विवाह गरेका माधवलालको अवकाशप्राप्त जिन्दगी विभिन्न देश पुगेका छोराछोरी भेटेर सुखका साथ बितिरहेको थियो।

जसै उनकी कान्छी श्रीमती राजेश्वरी सिंहको नाममा रहेको घर छेउकै जग्गा बेचियो, तब सुरू भयो उनका दु:खका दिन।

आफ्नै जग्गा बेच्दा मुद्दा मामिला अनि धम्की त कति-कति। जग्गा बेच्दा गरेको कागजअनुसार पैसासमेत पाएका छैनन् उनले।

जिल्ला अदालत अनि उच्च अदालतले पैसा दिन आदेश दिइसक्यो। तर, प्रतिवादी कुमार रम्तेलले अझै तिरेका छैनन्।
उल्टो रम्तेलले यसबीच अन्यलाई जग्गा बेचिसके। अहिले तेस्रो व्यक्ति १९ वर्षीया किशोरीको नाममा जग्गा पुगेको छ। जग्गाधनी मुद्दा खेप्न बाध्य छिन्।

कसरी रोपियो झगडाको बिउ?
कुमार रम्तेल शंकर रम्तेलका छोरा हुन्। शाही नेपाल वायुसेवा निगमको स्थायी जागिरे माधवलाल सिंहको घरमा काम गर्थे शंकर। उनै सिंहले शंकर रम्तेललाई नेपाल वायुसेवा निगमको स्थायी जागिरे बनाए।

नेपालगञ्जमा निर्देशक भएर बसेको बेला शंकरले माधवलाल सिंहको घर कुरिदिएका थिए। त्यतिबेला सानै थिए कुमार।
‘त्यही घरमा बस्थे उनीहरू। म नभएको बेलामा घर पनि कुर्थे। कुमार यही आँगनीमा खेलेको छ। अहिले उसैले मुद्दा हाल्यो’, दिक्क मान्दै सिंहले भने।

परिवारै चिनेका सिंहले कुमारले घर सहितको जग्गा चाहिएको भनेको बताउँछन्। गोदावरीमा अहिले रहेको सिंहको मूल घरभन्दा अघिल्तिर सिंह आफैँले अर्को घर बनाएका थिए। सिंहले १२ आना जग्गासहित घर रम्तेललाई बेचे।

८४ वर्षका माधवलाल सिंह र उनले बिक्री गरेको जग्गासहितको घर।

‘१२ आना जग्गासहित घर बेचेपछि उसले पैसा सहकारीमा राखिदिएको छु भन्यो। होला त नि भनेर सही पनि गरिदिएँ। कागजमा २० लाख पैसा अलिपछि दिने भनेर उल्लेख गरियो’, उनले भने, ‘आफ्नै आँगनीमा हुर्केको मान्छे, दिइहाल्छ नि भनेर विश्वास गरेँ। तर ऊ त अर्कै भइसकेको रहेछ।’

२०६६  साल चैत ३० गते ललितपुर जिल्ला तत्कालीन किटनी गाविसको वडा नम्बर ४ को १२ आना जग्गा राजेश्वरी सिंहले कुमार रम्तेललाई ४९ लाखमा बिक्री गरेको देखिन्छ। कुमार रम्तेललाई बिक्री गर्दाको समयमा पछि कुनै विवाद वा झमेला नपरोस् भनेर १२ आना जग्गा र त्यहाँ भएको घर समेतलाई कम्पाउण्ड लगाइ बेचविखन गरेको सिंह परिवारको दाबी छ।

अनि प्रवेश भयो दीपेश पुनको
सिंह परिवारले घर-जग्गा रम्तेललाई बिक्री गरेका थिए। पैसा लिन बाँकी नै थियो। यहीबीचमा घर-जग्गा धनीको रूपमा निस्किए दिपेश पुन।

हो उनै दीपेश पुन जो पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा अनि माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) महासचिव।

बाबु उपराष्ट्रपति नै भएको बेलामा २०७३ वैशाख ६ गते रम्तेलबाट उनले ६३ लाख ५२ हजार १ सय ६ रूपैयाँमा घर-जग्गा किनेको देखिन्छ। सिंहले बिक्री गरेको ७ वर्षपछि पुनले सो घरजग्गा किनेको देखिन्छ। यद्यपि लामो समय सो घरजग्गा दीपेशको नाममा रहेन।

पुनले २०७५ जेठ १६ गते कली घिमिरेलाई १ करोड ५३ हजारमा बिक्री गरे। कली घिमिरे जग्गा किन्दाको बखत १९ वर्षकी मात्रै थिइन्।

दिपेश पुनले रम्तेलबाट घर-जग्गा किनेको लालपुर्जा

यो प्रकरणबारे जानकारहरू कली र  दीपेश निकट रहेको र उनलाई डमी बनाएर जग्गा कारोबार गरेका थिए।

बाबु उपराष्ट्रपति। उनकै छोरा दीपेश भने विचौलियाको रूपमा बदनाम हुँदै गइरहेका थिए। माओवादीका मन्त्रीपुत्रहरूको समूह बनाएर त्यसलाई परिचालन गर्न दीपेश नै सक्रिय थिए।

लामो समय जग्गा आफ्नो नाममा राखिराख्दा पोल खुले अप्ठ्यारो हुन्छ भन्दै रम्तेल र पुन मिलेर किशोरीको नाममा जग्गा पास गरिदिएको देखिन्छ।

‘ती किशोरीलाई जग्गाबारे केही जानकारी थिएन। रम्तेल र पुन मिलेर उनको नाम मात्र प्रयोग गरेका थिए,’ जग्गा कारोबारबारे जानकारस्रोतले भन्यो, ‘उनलाई मुद्दामामिलामा प्रयोग गर्न उनको नाममा जग्गा बिक्री गरेका थिए।’

घटनाक्रमले पनि स्रोतको दाबी पुष्टि गर्छ। सिंह परिवारले रम्तेलसँग २० लाख रूपैयाँ लिन पटक-पटक ताकेता गर्दा पैसा नपाएपछि सिंह परिवारले २०७५ साउन ३१ गते लेनदेनको मुद्दा हाल्यो।

त्यसको केही समयमै सिंहविरुद्ध पनि मुद्दा शुरू भयो। जग्गाको सधिँयार रहेका राजेश्वरी सिंहको परिवारले आफ्नो जग्गा मिचेको दाबी गर्दै घिमिरेले जिल्ला अदालत ललितपुरमा २०७७ मंसिर १९ गते घिमिरेले मुद्दा दर्ता गरिन्।

‘हामीले जग्गा बेचेको रम्तेललाई हो। त्यतिबेला जग्गा किनेको रम्तेलले नभई रम्तेलले बिक्री गरेको दिपेश पुन र दिपेश पुनले पनि बिक्री गरेको कली घिमिरेले मुद्दा हाल्नुभएको छ,’ सिंहले भने, ‘रम्तेलले पैसा नर्तिन कली घिमिरेलाई मुद्दा हाल्न लगाएका हुन्।’

कुमार-दीपेश अनि जीबीको जालो
कुमार रम्तेल उनै हुन् जो हर्बो, नेचर हर्बदेखि  लिएर अहिले ग्यालेक्सी फोरके टेलिभिजनसँग समेत जोडिएका छन्। उनी ग्यालेक्सी फोरके टेलिभिजनका प्रमुख जीबी भनिने गितेन्द्रबहादुर राई अति निकट हुन्। उनीहरु गोर्खा ग्रुप अफ कम्पनीमा पनि सँगै छन्। जता जिवी उतै रम्तेल अनी दिपेशको संलग्नता देखिन्छ।

कुमार जीबीको लगानी भएको टेलिभिजनमा मात्रै हैन, नेटवर्किङ शैलीको नेचर्स हर्ब इन्टरनेशन प्रालिमासमेत आबद्ध थिए। पहिला यसको ९० लाख रूपैयाँको सेयर जीबीको नाममा रहेकोमा पछि त्यो ललितपुरका कुमार रम्तेलको नाममा हस्तान्तरण भएको थियो।

कुमार रम्तेलले घर-जग्गा पास गरेको लालपुर्जा

जीबी अनि कुमार यसअघि हर्बो इन्टरनेशनमा समेत संलग्न थिए। जीबी संलग्न रहेको सहकारीमा दीपेश पुन समेत संलग्न छन्। कुमार रम्तेलले घर-जग्गा किन्ने अनि त्यही घर-जग्गा दीपेश पुनको नाम पास हुनुले यी तीन जनाको नेक्सस खुल्छ नै।

यी तीन जनाको सम्बन्धबारे जानकार स्रोतले दिएको जानकारीअनुसार जीबी एक दर्जन सहकारीमा संलग्न छन्। अधिकांश सहकारीमा जीबीसँगै कुमार र दीपेश पनि संलग्न छन्। दीपेश नभएको सहकारीमा दीपेशको श्रीमती रहेको स्रोतको दाबी छ।

वचतकर्ताको रकम फिर्ता गर्न नसकेको सुप्रिम सहकारीको अध्यक्षमा जिवी राई थिए। रकम फिर्ताको विवाद भएपछि उनी संरक्षक बसे। पुन यसको सचिव हुन्। 

यो बाहेकअधिकांश ती सहकारीहरू अहिले बचतकर्ताको रकम फिर्ता नगरेको भन्दै विवादमा आइरहेका छन्। रम्तेल कालो सूचीमा परेको सूर्यदर्शन सेभिङ एण्ड क्रेडिट को-अपरेटिभका सञ्चालक समेत हुन्। उनीहरू संलग्न रहेको सहकारीको नालीबेलीबारे उकेराको खोज जारी छ।

यो प्रकरणमा कुमार रम्तेल अनि दिपेश पुनसँगै कलिबीच सम्बन्ध देखिन्छ। १९ वर्षकै उमेरमा एक करोड बढी रकम खर्चिएर घर-जग्गा किन्ने कली घिमिरेको पारिवारिक पृष्ठभूमि के हो भन्नेबारे खुल्दैन।

कुमार सहकारीमा समेत संलग्न छन्। दीपेश अहिले पनि माओवादी केन्द्रको विध्यार्थी राजनीतिमा सक्रिय छन्। कली को हुन्? कतै खुलेन।

यसबारे दीपेश र कलीसँग उकेराले सम्पर्क गर्ने प्रयास गर्दा सफल भएन। *कली जिवी राइको आफन्त रहेको खुलेको छ।दिपेशको मोबाइल बन्द थियो। कुमारले पहिला फोन उठाएनन्। सम्पर्क गर्न खोज्नुको प्रयोजन खुलाएर एसएमएस गरेपछि कल गरे।

*उनले सिंहको घरजग्गा किन्दा २० लाख रकम पछि तिर्ने सहमती भएको र सो सहमती अनुसार पाँच-पाँच लाख गरेर दुई पटक रकम तिरेको र १० लाख तिर्न बाँकी रहेको बताए। पछि सिंह अदालत गएर २० लाख तिर्नुपर्ने भन्दै अदालतबाट फैसला आएपछि सो फैसलाविरुद्ध पुनरावेदनमा गएको र झगडिया झिकाउने आदेश भइसकेको उनले बताए।

'मैले १० लाख तिर्न बाँकी छ त्यो स्विकार्छु तर ठगी जालो भनेर लेखेकोमा मेरो आपत्ती छ,' उनले भने' २० लाखमध्ये १० लाख तिरिसक्दा पनि उहाँहरु अदालत जानुभयो। अदालतले २० लाखै तिर्न आदेश दिएपछि अहिले म पुनरावेदनमा गएको छु। कसैलाई ठगी गरेको छैन।'

उनले आफू संलग्न रहेको सहकारी मात्र नभई देशैभर रहेको सहकारीमा समस्या रहेको बताए।

*अपडेट गरिएको

अन्य सामग्री

७ असार, २०८०, १९:५८:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।