एन्फा र क्यान अनलाइन जुवा खेलाउने कम्पनीको कब्जामा, आर्थिक प्रलोभनमा जानाजान गरिरहेछन् अवैध काम

एन्फा र क्यान अनलाइन जुवा खेलाउने कम्पनीको कब्जामा, आर्थिक प्रलोभनमा जानाजान गरिरहेछन् अवैध काम

काठमाडौं : नेपाल क्रिकेट संघ अनि अखिल नेपाल फुटबल संघका पदाधिकारी जानाजान अनलाइन जुवा खेलाउने कम्पनीको प्रवर्द्धनमा सक्रिय छन्।

वानएक्सबेट र डाफाबेट खेल केन्द्रित भएर जुवा खेलाउने कम्पनी हुन्। उनीहरूले जुवा खेलाउन नपाउने कानुन भएका नेपाल जस्तो देशका लागि प्रचार गर्न समाचारको आवरण लिन्छन्।

यसबारे एन्फा अनि क्यानका पदाधिकारी जानकार नभएका हैनन्। तर, खेलप्रेमी नेपालीलाई अनलाइन जुवाको लत लगाउन उनीहरू कुतर्क गर्दै यी कम्पनीको प्रवर्द्धनमा मस्त देखिए।

दशरथ रङ्गशालामा भइरहेको नेपाल सुपर लिगको प्रारम्भमा वानएक्सबेटको सहायक कम्पनी वानएक्सन्युज अन्तर्राष्ट्रिय मिडिया पार्टनरको रूपमा प्रवेश गरेको थियो। त्यसबारे उकेराले निरन्तर समाचार प्रकाशित गरेपछि आयोजकले रङ्गशालाबाट वानएक्सन्युजको प्रचार सामाग्री हटायो।

लाइभ गर्दै आएको हिमालय टिभीले पनि वानएक्सन्युजको लोगो हटाएको थियो। तर, हिमालय प्रिमियम टिभीले भने अझै अनलाइन जुवा प्रवर्द्धन गरिनै रहेको छ।

यस्तै शैलीमा क्रिकेटमा डाफाबेट घुसेको छ। नेपाल क्रिकेट संघ (क्यान)को स्वीकृतिमा पर्सा क्रिकेट संघले आयोजना गरेको नेपाल प्रो क्लब च्याम्पियनसिपमा अनलाइन जुवा खेलाउने कम्पनी डाफाबेटको सहायक कम्पनी डाफान्युज मिडिया पाट्नरको रूपमा प्रवेश गरेको हो।

वीरगञ्जको नारायणी क्रिकेट मैदानमा अहिले दोस्रो संस्करणको नेपाल प्रो क्लब च्याम्पियनसिपका खेल भइरहेको छ। यसको आयोजक पर्सा क्रिकेट संघ हो भने सह-आयोजक जोरा इन्टरनेशनल। खेलको सम्पूर्ण आर्थिक पाटोको जिम्मेवारी जोरा इन्टरनेशनलको हो। मैदान तथा प्राविधिक जिम्मेवारी पर्सा क्रिकेट संघले लिएको खुल्यो।

मैदानमा खेल चलिरहँदा साइड स्क्रिन, मैदान सबैतिर डाफान्युजको प्रचार सामाग्री छ। डाफान्युज प्रतियोगिताको मिडिया पार्टनर बनेको खुल्यो। डाफान्यूज डाफाबेटको सहायक कम्पनी हो। अनलाइन जुवा प्रतिबन्धित भएका नेपाल, भारत जस्ता देशमा अनलाइन जुवा प्रवर्द्धन गर्न उनीहरूले डाफान्युजलाई अगाडि सार्छन्।

खेल मैदानमा डाफाको प्रचार।योबारे खेल पदाधिकारी जानकार नभएका हैनन्। तर, थाहा नभएजस्तै गर्दै कुतर्क गर्छन्। सो प्रतियोगिताका संयोजक दाउद अन्सारीले डाफान्युजले अनलाइन जुवाको प्रवर्द्धन नगर्ने दाबी गर्दै आईसीसीको आयोजना भएका अन्य प्रतियोगितामा पनि डाफान्युजको प्रचार भएको तर्क गरे। उनी पूर्व क्यान सदस्य, पर्सा क्रिकेट संघको पूर्व अध्यक्ष तथा हाल पर्सा क्रिकेट संघको सदस्य हुन्।

‘डाफान्युजले बेटिङ गर्ने भए त आईसीसीबाट मान्यता पाएको अन्य खेलहरूमा काठमाडौंमा पनि हुन्छ नि! डाफान्युजले बेटिङ गर्दैन, वाएक्सब्याटले बेटिङ गर्दैन। डाफाबेट र वाएक्सबेटले हो बेटिङ गर्ने’, उनले भने।

अन्सारीले डाफान्युजले अनलाइज जुवा नलेखाउने र यो अवैधानिक कम्पनी नभएको दाबी मात्र गरेनन् ग्यारेन्टी नै लिए। आफूहरूलाई जोरा इन्टरनेशलले विश्वास दिलाएको र डाफान्युजले अनलाइन जुवा नखेलाउने उनले बताए।

‘हामीलाई आएको जानकारी अनुसार त्यो इल्लिगल कम्पनी होइन। दाफान्यूज भनेको एउटा न्यूज पोर्टल हो। हामीलाई जोराले विश्वास दिलाएको छ। दाफान्यूजले बेटिङ गर्दैन। हन्ड्रेन्ड पर्सेन्ट कन्फर्म।’

डाफान्युज डाफबेटको सेरोगेट कम्पनी भएको विषयमा आफूलाई जानकारी नभएको र त्यतिभित्र पनि नपुगेको भन्दै उनले डाफान्युज वैधानिक कम्पनी भएको दाबीसमेत गरे।

उनले अगाडि भने, ‘डाफान्यूज चाँही लिगल कम्पनी हो।’

नेपाल क्रिकेट संघले गरेको कार्यक्रममा पनि डाफान्युजको प्रचार भएकाले आफूहरूले पनि मान्यता दिएको उनले बताए।

डाफान्युज सो प्रतियोगितामा मिडिया पार्टनरको रूपमा सहभागी छ। उसको उदेश्य प्रतियोगिताको कभरेज गर्ने हो भने डाफान्युजको पोर्टलमा प्रतियोगिताको एउटा पनि समाचार किन छैन? अन्सारीसँग जवाफ छैन।

पर्सा क्रिकेट संघ अध्यक्ष मनिस सिंह जोरा इन्टरनेसनलसँग खेलको लागि सहमती गरेको र उसले डाफान्यूजलाई ल्याएको बताउँछन्। 

'नेपाल सरकारको कानुनभन्दा बाहिर गएर कुनै काम भएको छ भने हामी उक्त कम्पनीलाई न्यूज पार्टनरको रुपमा मात्रै होइन जोरा इन्टरनेसनलसँगको सम्झौता पनि तोड्छौं' उनले भने। 

जोरा इन्टरनेसनल नेपाली कम्पनी हो। यसको अध्यक्ष आमिर अख्तर हुन्। उनी एभरेष्ट प्रिमियम लिग खेलाउने व्यक्ति समेत हुन्।

सेरोगेट कम्पनी भएको पुष्टि भए खेलबाट हटाउँछौं : चतुरबहादुर चन्द
यता नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द डाफान्युज सेरोगेट कम्पनी भएको पुष्टि भए खेलबाट उसको प्रचार हटाउने बताउँछन्।

उकेरासँगको कुराकानीमा उनले पनि डाफान्युज गैरकानुनी कम्पनी नभएको दाबी गर्दै डाफाबेटको सेरोगेट कम्पनी भए खेलबाट उसको प्रचार हटाउने बताए।

उनले डाफान्युज गैरकानुनी भएको पुष्टि हुनुपर्ने तर्क गरे। उनको तर्कबाटै उनी डाफान्युज डाफाबेटको सरोगेट कम्पनी हो भन्ने जानकार भएको देखिन्छ नै।

‘डाफान्युज गैरकानुनी कम्पनी नै होइन। डाफबेट चाहिँ बेटिङ कम्पनी हो। यदि डाफान्यूज बेटिङ कम्पनी हो भने हामी त्यस्तो कम्पनीसँग काम गर्दैनौँ। नेपालमा डाफान्युज इल्लिगल छ भन्ने एउटा आधार दिनुपर्ला नि त?’ चन्दको तर्क छ।

यदि बेटिङ्ग कम्पनीको सेरोगेट कम्पनी रहेछ भने के गर्नुहुन्छ भन्ने उकेराको प्रश्नमा उनले भने, ‘कारबाही गछौं। अहिले भएको भएको खेलबाट हटाउछौँ।’ 

वानएक्सन्युज सरोगेट कम्पनी भएको प्रमाण
नियत सफा भएकाहरूका लागि डाफान्युज डाफाबेटको सरोगेट कम्पनी रहेको र यसको उदेश्य नेपाली खेलप्रेमीलाई जुवाको लत लगाउने हो भन्ने प्रमाणित गर्न उसको नामै काफी छ। नियतै खराब भएका खेल अधिकारीले डाफाबेटले जुन कानुनी बाटो छल्न डाफान्युजको आवरण बोकेको छ त्यसैलाई बल पुर्याउने तर्क गर्छन्।

डाफान्युज हेर्दा अनलाइन न्युजपोर्टल देखिने भएकाले प्रत्यक्ष नेपालको जुवा ऐन विरुद्धको गतिविधि देखिन्न भन्नेमा क्यानमा पदाधिकारी जानकार छन्। अनि डाफान्युज डाफाबेटको सरोगेट कम्पनी हो भन्ने उनीहरू जानकार नभएका हैनन्। तर, आफ्नो कुनियत छल्न प्रमाण माग्छन्।

कानुनी रूपमा कुनै उत्पादन वा कम्पनीको प्रचार गर्न प्रतिबन्ध लागेको अवस्थामा कानुनले रोकेको उत्पादनको प्रचार गर्न उस्तै लोगो अनि उस्तैउस्तै नाम राखेर प्रचारका लागि बैध कम्पनी खोलिन्छ। त्यो नै सरोगेट कम्पनी हो। 

जस्तो मदिराजन्य पदार्थको प्रचार बन्द छ। तर संगीत, पानी लगायतको विज्ञापन त गर्न पाइन्छ। अनि मदिरा उत्पादकहरू विज्ञापन गर्न नरोकिने उत्पादनमा आफ्नो मदिराजन्य उत्पादनको नाम र लोगोमा कतै पानी, कतै सोडा त कतै म्युजिक जोडेर प्रचार गराउँछन्।

भारतमा यस्तो प्रशस्त देखिन्छ। जस्तो रोयलस्ट्यागको प्रचारका लागि उस्तै नाम र लोगोसहित उनीहरूले रोयलस्ट्याग म्युजिकको प्रचार गरिरहेको देखिन्छ। यस्ता धेरै छन्। नेपालमा पनि पछिल्लो समय मदिराको प्रचारमा प्रतिबन्ध लागेपछि मदिरा उत्पादकका केही सरोगेट कम्पनी देखिएका छन्।

क्यानले नदेखेको प्रमाण : डाफान्युज र डाफाबेटको लोग, डाफान्युजको पोर्टलमा रहेको डाफाबेटको विज्ञापन। जुवा खेलाउने उदेश्य बोकेका कम्पनीका लागि जुवा वैध भएका देशमा त कुनै समस्या भएन। तर, जुवा अवैध रहेको तर जुवाको बजार राम्रो रहेका नेपाल, पाकिस्तान, भारत जस्ता देशमा सिधै बेटिङ कम्पनीलाई आधिकारिक प्रतियोगितामा सहभागी गराउन सम्भव हुन्न। अनि उनीहरूले समाचारको आवरणमा जुवा प्रवर्द्धन गर्न सरोगेट कम्पनी खेलेर प्रतियोगितामार्फत जुवा प्रवर्द्धन गर्न थाले।

वानएक्सबेट  वानएक्सब्याट अनि वानएक्सन्युजको आवरणमा आयो। क्यानका केन्द्रीय सदस्यले अवैध हैन भनेको वानएक्सब्याट खोल्दा अहिले वानएक्सबेट नै खुल्छ। यसले उनको बेटिङको ज्ञानको स्तर देखाउँछ नै।

डाफाबेट डाफान्युजको आवरणमा आयो। यसले नेपालसँगै पाकिस्तान अनि भारतमा समेत खेल प्रतियोगितामा स्पोन्सर गरेर डाफाबेटको प्रचार गर्ने गरेको छ।
डाफान्युज डाफा बेटको सरोगेट कम्पनी भएको पहिलो प्रमाण यसको नामको प्रकार हो। सरोगेट कम्पनीको पहिलो विशेषता उस्तै देखिने नाम र फन्टको डिजाइन हो। डाफाबेट र डाफान्युजको नाम उस्तै छ।

डाफाबेट २००४ मा फिलिपिन्समा जुवा कानुन अनुसार दर्ता भएको कम्पनी हो। उसले आफ्नो साइटमा अनलाइन जुवा खेलाउने कम्पनी भएको उल्लेख गरे पनि कहाँ दर्ता भएको लगायतका महत्वपूर्ण विवरण खुलाएको छैन।

डाफान्युजले आफू समाचार पोर्टल भएको उल्लेख गरेको छ। यो कुन कम्पनीले चलाएको हो लगायतका विवरण छैन।

उसले  एसियन लजिक ग्रुप नामक प्यारेन्ट कम्पनी समेत दर्ता गरेको छ जुन एसिया क्षेत्रमा अनलाइन जुवा प्रवर्द्धनमा सक्रिय छ। यसको कार्यालय हङकङ, फिलिपिन्स र ब्रिटिस भर्जिनिया आइसल्याण्डमा रहेको देखिन्छ।

यसको सम्बन्ध डाफान्युजसँग रहे पनि क्रिकेट पदाधिकारी जानाजान कुतर्क गर्दै खेलबाट अनलाइन जुवाको प्रवर्धनमा संलग्न भइराखेका छन्।

डाफान्युजमा डाफाबेटको विज्ञापनदेखि पर्याप्त लिंकहरू रहेका छन्। यसबाट डाफान्युज डाफाबेटको सरोगेट कम्पनी भएको पुष्टी हुन्छ नै।

जुवा प्रवर्द्धनमा मिडिया पनि
रङ्गशालामा भइरहेको नेपाल सुपर लिग फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार हिमालय टेलिभिजनले पायो। उसले खेल प्रशारणसँगै वानएक्सन्युजको विज्ञापन प्राथमिकताका साथ देखाउने गरेको थियो।

उकेरामा सो प्रतियोगिताबारे समाचार प्रकाशन भएपछि हिमालयले च्यानलबाट वानएक्सन्युजको विज्ञापन हटायो तर आफ्नो अर्को च्यानल हिमालय प्रिमियममा भने प्राथमिकताका साथ देखाइरह्यो।

पर्सामा भइरहेको क्रिकेट प्रतियोगिता कान्तिपुर सिनेप्लेक्सले प्रत्यक्ष प्रशारण गरिरहेको छ। कान्तिपुरले हिमालयले जस्तै डाफाबेटको सरोगेट कम्पनी डाफान्युजको विज्ञापन प्रशारण गरेको त छैन तर बढो चलाखीका साथ मैदानमा रहेको डाफान्युजको प्रचार सामाग्री जुम गरिगरी पुरा स्क्रिन देखाइरहन्छ।

यसले नेपाली खेलप्रेमीलाई जुवामा प्रेरित गर्न कम्पनीहरूले चोरबाटोबाट आफ्नो प्रचार गर्न मिडियालाई समेत आर्थिक प्रभावमा पारेको देखिन्छ।

सम्बन्धित समाचार

१० पुस, २०८०, १३:३०:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।